भर्खरै :

कजाख घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक छैन–राष्ट्रपति

नुर सुल्तान, ३० जनवरी । कजाखस्तानका राष्ट्रपति कस्यम–जोमर्ट तोकाऐभले जनवरीमा कजाखस्तानमा भएको उपद्रवबारे अन्तर्राष्ट्रिय क्षेत्रबाट अनुसन्धान ‘अनावश्यक’ भएको बताएका छन् ।
कजाखस्तानको स्थानीय सञ्चारमाध्यम खबर २४ सँग कुराकानी गर्दै उनले भने,“कजाखस्तानको घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धानको जहाँसम्म कुरा छ, मेरो विचारमा त्यस्तो अनुसन्धानको कुनै खाँचो छैन । हामी आफैले त्यो काम सम्हाल्न सक्छौँ । अनुसन्धानको निम्ति बन्ने आयोगको नेतृत्व गर्ने हामीसँग इमानदार र स्वतन्त्र व्यक्तिहरू छन् । त्यस्तो अनुसन्धान आयोगमा न मैले न मेरो सरकारले हस्तक्षेप गर्नेछ । उनीहरू अनुसन्धान र निर्णय गर्न स्वतन्त्र रहनेछन्”, उनले भने । तोकाऐभले युरोपेली सङ्घले हालै कजाखस्तानको विषयमा पारित गरेको प्रस्तावलाई ‘पूर्णतः पक्षपाती, अपरिपक्व र पक्षधरको दबाबमा परेर गरेको निर्णय’ बताएको छ ।
कानुनीरूपमा बाध्यकारी नभएको सो प्रस्तावले कजाखस्तानको घटनामाथि अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ ।
जनवरी महिनाको सुरुमा इन्धनको मूल्यवृद्धिको विषयलाई लिएर कजाखस्तानका विभिन्न सहरमा विरोध प्रदर्शनहरू चर्किएको थियो । प्रदर्शनले हिंसात्मक रूप लिँदा कम्तीमा २२५ जना मानिसको निधन हुनुका साथै ४ हजार ५ सत्न्दा बढी मानिस घाइते भएका थिए ।
राष्ट्रपति तोकाऐभले धेरै पटक सो प्रदर्शन केही पोख्त मानिसहरूले योजनाबद्धरूपमा उछालेको र त्यसमा विदेशी शक्तिको हात भएको बताएका छन् ।
“मेरो विचारमा त्यो हिसाबकिताब उछालिएको घटना हो । प्रदर्शनको सुरुवात शान्तिपूर्ण विरोध प्रदर्शनबाट भए पनि त्यसले अन्तिम परिणाम भने हुलदङ्गा र लुटपातमा पुग्यो”, तोकाऐभले भने, “केही सिद्धहस्त योजनाकारहरूले योजनाबद्ध रूपमा त्यो काम गरेको र त्यसको कार्यान्वयनको लागि पनि त्यस्तै मानिस लागेका छन् । शान्तिपूर्ण प्रदर्शन भएको थियो । शान्तिपूर्ण प्रदर्शनमा मात्र सीमित भएको भए प्रदर्शनकारीहरूविरुद्ध शक्ति प्रयोगको कुनै आवश्यकता पर्ने थिएन ।”
उनले मुख्य रूपमा प्रदर्शन चर्किएको अलमाटी सहरका अधिकांश लडाकुहरू भागेर छिमेकी देशहरूमा पुगिसकेको बताए ।
सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) को शान्ति सेनालाई कजाखस्तानमा बोलाएको विषयमा टिप्पणी गर्दै उनले त्यसरी सेना बोलाउन वैधानिक भएको र उनीहरूले एउटा गोली पनि नचलाएको बताए ।
उनले सीएसटीओको शान्ति सेनाले कजाखस्तनाको घरेलु अवस्थालाई शान्त बनाउन कजाख सुरक्षाकर्मीहरूलाई मद्दत गरेको बताए । सीएसटीओ सेना जनवरी १९ मा कजाखस्तानबाट बिदा भएको थियो ।
अन्तर्वार्तामा उनले आफू दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति पदमा नबस्ने र संविधान पनि संशोधन नहुृने बताए ।
“म कति समय कजाखस्तानको राष्ट्रपति बन्छु, मलाई थाहा छैन । तर, म संविधानअनुसार दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति पदमा बस्दिनँ । संविधान वा कानुनमा कुनै परिवर्तन आवश्यक छ जस्तो मलाई लाग्दैन”,उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *