भर्खरै :

उपेक्षित माटोमा ! विनाशको बाटोमा !

गाँस, बास, कपास र औषधि मानिसका जीवन रक्षासम्बन्धी अनिवार्य आवश्यकता हुन् । यीविना मानिसको अस्तित्व नै नरहने हुँदा प्रत्येक मानिसले यसप्रकारको अनिवार्य आवश्यकता त पूरा गर्न पाउनुपर्छ नै । यसबाट अगाडि बढेर कार्य क्षमता बढाउने र सहज जीवनशैली दिलाउने आरामदायी वस्तु तथा सुविधा पनि प्रयोग गर्न पाए अझै राम्रो हो । यस्तो अवसर कुनै पनि देशका जनताले आफ्नै देशको माटोमा पाउन सके सबैभन्दा राम्रो हो । तर, यस्तो अवसर त्यस्तो देशमा मात्रै पाइन्छ जहाँको नेतृत्व सदैव देश र जनताप्रति उत्तरदायी हुन्छ । शासनमा जवाफदेहिता, पारदर्शिता र सदाचार हुन्छ । प्रतिभा र क्षमताको कदर गरिन्छ । विश्व भूमण्डलीकरणको यो जमानामा जुन देशमा यी कुराहरूको अभाव हुन्छ, त्यहाँबाट प्रतिभाहरू पलायन हुन्छन् । जुन देशमा कुनै पनि कामलाई ठूलो र सानो मानिँदैन, नियम कानुनको पूर्णरूपमा पालना गरिन्छ, हरेक काम देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गरिन्छ, कामका आधारमा कसैलाई पनि भेदभाव गरिँदैन, कर तिरेअनुसार जनताले राम्रो सुविधा पाउँछन्, नेताहरू पनि पदमा रहुञ्जेलमात्र सरकारी सुविधा लिन्छन् र पदमुक्तपछि सामान्य जनतासरह काममा रमाउँछन्, त्यस्तो देशप्रति जोसुकैको पनि आकर्षण बढ्नु स्वाभाविकै हो ।
हाम्रो देशमा पनि उहिलेदेखि नै कतिपय असल शासक नभएका होइनन् । इतिहासमा लिच्छवीकाललाई ‘स्वर्णयुग’ भनिन्छ । मल्लकालमा सारा जनताले नखाइकन आफू नखाने महीन्द्र मल्लजस्ता राजा पनि थिए । राणाहरूको जहाँनिया शासन कालमा समेत आफूआफूमा मारामार गरे पनि कतिपय काम देश र जनताको पक्षमा काम हुन्थ्यो । कम्तीमा पनि पापधर्मको ख्याल गरिन्थ्यो । तर, यहाँ व्यवस्था, शासन र शासकीय प्रणाली परिवर्तन हुने क्रममा पछिल्लो समयमा आफू, आफ्नो परिवार, आसेपासे, हनुमान र धुपौरेले मात्र हसुर्न मन पराउने शासकहरू उम्रिए । प्रणाली नै ‘संस्थागत भ्रष्टाचार’ को विकास गर्ने हिसाबले स्थापना गरियो । त्यसैको परिणामस्वरूप आज यो स्वर्गजस्तो देश आत्मनिर्भर भएर गरिखाने होइन, पूरै परनिर्भर भई किनिखाने र मागिखाने अवस्थामा पुगेको छ । मरीमरी काम गर्दा पनि हाम्रा चेतनशील मनले आरामदायी जीवन बिताउन पनि नपाउने अनि कुनै क्षमता र प्रतिभाको कदर पनि नहुने भएपछि हाम्रो समग्र ‘राष्ट्रचिन्तन’ र ‘विदेश चिन्तन’ मा बदलिएको छ । आफ्नै माटोमा ‘के गर्दा हुन्छ ?’ र ‘के गर्न सकिन्छ ?’ भन्ने सोचाइ राख्नुको सट्टा, ‘कुन देशमा कति लागतमा जान सकिन्छ’, ‘त्यहाँ गएर के काम गर्नुपर्छ ?’ र ‘कति कमाइन्छ ?’ भन्ने चिन्तनमै आजको युवावर्ग केन्द्रित देखिन्छ ।
शिक्षा, स्वास्थ्य, यातायातका क्षेत्रमा पहिलाभन्दा विकास त धेरै भएको छ । सबभन्दा बढी विकास सूचना प्रविधिमै भएको छ । तर, यी सबै आफ्नै लगानी, जनशक्ति र प्राविधिक ज्ञानबाट भएको छैन ।
त्यसो त विकासकै कुरा गर्ने हो भने सङ्घीयतापछि देशको बजेट र विकास गाउँतिर जाँदै छ । तर, शिक्षा र जागिरको खोजीमा गाउँबाट सहर आउनेहरू बढ्दै छन् । यहाँ रोजगारी नपाएर दिनहुँ विदेसिनेको सङ्ख्या घटाउन सकेको छैन । त्यसैले हाम्रा गाउँहरू खण्डहर बन्दै छन् । उब्जाउशील जग्गा बाँझिन थालेका छन् । सहरमा जनसङ्ख्या बढेको त छ तर सहरकाहरू पनि विदेश जान थालेको हुँदा यहाँ कतिपय घरहरू रित्तै छन् । रित्ता नभएकामा पनि बाबुआमामात्रै । गाउँबाट सहर, गाउँबाट विदेश अनि सहरबाट पनि विदेश ! नेताका छोराछोरी विदेश ! कर्मचारीका छोराछोरी विदेश ! अन्य धनीमानीका छोराछोरी पनि विदेश ! तीमध्ये सबैजसोको घर नै उतै भइसकेको छ । आखिर सबैको लक्ष्य र रहर त विदेशै रहेछ ! यहाँ घर रुँगेर बसेका बुढाबुढी आफ्नो अशक्त अवस्थामा पनि आफ्ना छोराछोरीको विदेशी जीवन, तिनीहरूको पढाइ, कमाइ इत्यादिका बारेमा तँछाडमछाड गरी गफ गरेर सुनाउँदै मख्ख पर्ने गरेका छन् ।
कक्षा ६ को अन्तिम परीक्षा नेपाली विषयको प्रश्नपत्रमा ‘मेरो जीवनको उद्देश्य’ शीर्षकमा निबन्ध लेख्न दिइएको रहेछ । निबन्धमा एकजना विद्यार्थीले आफ्नो जीवनको उद्देश्य कोरिया जाने भएको र त्यसका लागि अहिलेदेखि नै कोरियन भाषा सिक्न थालेको कुरा दोहो¥याई दोहो¥याई लेखेको पढ्न पाउँदा अचम्म लाग्यो । ६ कक्षामा पढ्ने बा¥ह ते¥ह वर्षीय बालकको बुझाइ र उद्देश्य कसरी त्यस्तो भयो !
हुन पनि हामीकहाँ विदेश जान, विदेशमै बनेको लाउन र विदेशमा उब्जेको कुरा खान नै विकास, शान र मान हो भन्ने ठान्न थालिएको छ । यो अवस्थामा सानैदेखि विदेशी सोच र त्यहाँ हुने भनिएको आनन्दको कल्पना गरी रमाउन थाल्नु स्वाभाविकै हो । नयाँ नयाँ देशमा श्रम सम्झौता गर्न, विदेशी ऋण लिन, अनुदान माग्न र चाहिने÷नचाहिने सामान किनेर कमिसन खान रौसिँदै आएको सरकारी प्रवृत्ति, कतिपय सच्चा देशभक्त नेपालीका लागि टाउको दुखाइको विषय भएको छ । तर, यसले सूचना प्रविधिमार्फत संसार बुझेका आजका सौखिन युवावर्गका लागि ‘बाँदरलाई लिस्नु’ को काम गरेको छ ।
परिणामतः हिमाली÷पहाडी क्षेत्रका मात्र होइन, तराई र काठमाडौँ उपत्यका नजिकका उब्जाउशील र बा¥है महिना सिँचाइ सुविधा उपलब्ध हुने जमिन पनि बाँझा रहन थालेका छन् । मान्छे बाँच्ने भनेकै माटोमा उब्जेको चीज खाएर हो । तर, माटोलाई नै वास्ता गर्न छोडेपछि हाम्रो अवस्था कसरी सुध्रिन सक्छ ?
प्राकृतिक सम्पदामा संसारकै धनी भएको हुँदा जनताले जीविकोपार्जन त गर्न सक्लान् । तर, पूरै स्वाभिमानमा गर्व गरेर नेपाली भई बाँच्ने दिन हराउँदै गएको छ । ‘यो देशमा पनि केही राम्रो काम गर्न सकिन्छ’, ‘यो देशलाई अझै पनि सुधार्न सकिन्छ’ भन्ने खालको आशा र विश्वास कसैमा पनि छैन । एकपछि अर्को गरी नदीनाला भारतलाई सुम्पिँदै आएका दलाल शासकहरूले एमसीसीमार्फत देशै अमेरिकालाई सुम्पेका छन् । अब एसपीपीमार्फत झन् सजिलो बाटो बनाइदिने उपक्रम जारी छ । भर्खरै ‘नागरिकता विधेयक’ पारित गरेर भविष्यमा शासकीय गन्जागोल निम्त्याउने काम पनि ‘सम्पन्न’ भइसक्यो । यो अर्को राष्ट्रघाती निर्णयलाई लिएर आफूले ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै भारतप्रति भक्तिप्रदर्शन पनि गरिसके हाम्रा एकजना ‘महान् नेता’ ले !
क्रान्ति गर्नका लागि भोकानाङ्गा जनता आक्रोशित हुनुपर्छ । त्यहाँ युवावर्गको सक्रियता अपरिहार्य हुन्छ । तर, हाम्रा त युवाजति विदेश छन् । भएका बूढापाकाहरूलाई भत्ता दिइएकै छ । लाउनखानका लागि आयातीत वस्तु किन्न पाइहालिन्छ ! जनता अलमलिएको यस्तो अवस्थामा दलाल नेताहरूलाई खुब ठूलो मौका परेको छ । ठूलाठूला भ्रष्टाचार, अपराध, अपचलन हुँदा पनि कारबाही नहुने यो देशको अवस्था झन्झन् बिग्रँदै गएपछि निराशा पनि चुलिँदै गएको छ । नेतृत्व सुध्रिएला भन्ने आशा कसैमा पनि छँदै छैन । यस्तो कहालीलाग्दो अवस्थामा देशलाई माया गर्ने मन र मुटुहरू कहिले जन्मिएलान् ? यो उपेक्षित माटोमा कोरिएको विनाशको बाटोमा हिँडेर हामीले कहिलेसम्म छोडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु भन्ने गीत गुनगुनाएर भावुक भइरहने होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *