भर्खरै :

देशभक्त जनता एक हुनुपर्छ

केही नयाँ खोलिएका पार्टी र प्रतिनिधि सभामा सानो सङ्ख्यामा सदस्य भएका दलहरूका नेता कार्यकर्ताहरू भन्ने गर्छन्, “साना पार्टीहरू एकै ठाउँमा आउनुपर्दछ । सत्तासीन दलहरूको मनपर्दो काम कुराको विरूद्धमा साना दलहरू एक हुनुपर्दछ ।”
पुँजीवादी शासक दलहरूबाट आजित भएका सामान्य जनताबाट शासक दलहरूको गलत आचरणको विरूद्धमा साना दलहरू एकजुट हुनुपर्ने कुरा आउनु स्वाभाविक हो ।
शासक दलहरूले गरेका देशघाती एमसीसी सम्झौता, विदेशीलाई नेपाली नागरिकता दिने देश हितविपरीत नागरिकता विधेयक, नदीनाला बेचबिखन बढ्दो भ्रष्टाचार, आर्थिक अनियमिततालगायत गलत क्रियाकलापले जनता आक्रोशित र असन्तुष्टि भइरहेको यथार्थ हो । सत्तासीन दलहरूको विरूद्धमा नयाँ पार्टीहरू पनि खुल्न थाले । तर, कति राजनैतिक दल दर्तामै सीमित भए भने केही दलहरू जिल्लाका सदरमुकामहरूमा प्रतिनिधिको रूपमा देखापर्दै छन् । तिनै दलका कार्यकर्ताहरू साना पार्टीहरू एक हुनुपर्ने बताउँछन् ।
राजनैतिक दृष्टिकोण, सिद्धान्त र विचारबिना निर्मित यी नयाँ दलहरू कतिखेर हराउने हुन् ? आफैलाई थाहा हुँदैन । तिनीहरू नैराश्यता आउने कुरा गर्दछन् । पुँजीवादी व्यवस्था सिर्जित राजनैतिक विकृति र विसङ्गतीविरूद्ध सङ्घर्ष गर्न थाक्छन् । पुँजीवादी आचरणविरूद्ध सङ्घर्ष गर्न समाजवादी राज्य व्यवस्था चाहनेहरू एक हुने हो । राजनैतिक सिद्धान्त र विचार अघि नसारिकन राजनैतिक दल हुनैसक्दैन र एक बन्न पनि सक्दैन । रिस र आवेगमा बनेको राजनीतिक सङ्गठन नभइ विद्रोही समूह वा दबाब समूहमात्र हुन्छ ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलाल पुँजीवादी शासक दल र नेताहरूविरूद्ध देशभक्त जनता एक हुनुपर्दछ । भ्रष्टाचार अन्त गर्न र राजनैतिक सुशासनको निम्ति समाजवादी शासन व्यवस्था स्थापना गर्न सङ्घर्ष गर्नु नै एकमात्र विकल्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *