भर्खरै :

एसईई परीक्षा, उत्कृष्ट नतिजा र मेरा कुरा

एसईई परीक्षा, उत्कृष्ट नतिजा र मेरा कुरा

एसईई परीक्षा २०७८ का परीक्षार्थीहरूमध्ये एकजना म पनि हुँ । मैले वागीश्वरी मावि च्याम्हासिंह, भक्तपुरकी छात्राका रूपमा परीक्षा दिएकी थिएँ । नतिजा निस्कँदा देशभरिबाट ४ जीपीए ल्याउने ४२ जना सर्वोत्कृष्ट विद्यार्थीहरूमा म पनि पर्न सफल भएँ । यो परिणामले मलाई धेरैको बधाई दिलायो । मेरो यो उच्च सफलताको रहस्य के हो भन्नेबारेमा धेरैले जिज्ञासा पनि राखे । आज म लोकप्रिय ‘मजदुर’ दैनिकमार्फत तिनै जिज्ञासा मेटाउने गरी केही कुरा उल्लेख गर्दै छु ।
मेरो पढाइको सुरुआत प्ले ग्रुपबाट यही विद्यालयबाट भएको हो । ममा पनि खास प्रतिभा रहेछ क्यारे ¤ घरमा पनि आमाबाबाले सिकाएको कुरा छिट्टै सिक्थेँ रे । त्यही भएर धेरै विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदाहुँदै पनि म प्ले ग्रुपबाट प्रथम भएर नर्सरीमा गएकी रहेछु । मैले प्राप्त गरेको सफलताबाट खुसी भएर बाआमाले मलाई अझ हौसला दिनुभएछ । पछिल्ला कक्षाहरूमा पनि मैले सधैँ उत्कृष्ट स्थान हासिल गरिरहेँ ।
स्कूलमा भर्ना गर्ने बेला भाइ सानै भएकोले दिदीभाइ सँगै पढून् भनेर कक्षा ३ देखि मलाई घरनजिकैको मिनर्वा इङ्गिलश स्कूलमा भर्ना गरियो । पछि भाइ पनि स्कूल आउजाउ गर्न सक्ने भएपछि फेरि म कक्षा ८ मा यही विद्यालयमा भर्ना गरिएँ । यस कक्षाको अन्तिम परीक्षामा मैले छात्रातर्फ जिल्लाकै सर्वोत्कृष्ट स्थान प्राप्त गरी छात्रवृत्तिसमेत प्राप्त गरेकी थिएँ ।
एकैछिनको थोरै मिहिनेतले मात्र जीवनका कुनै पनि क्षेत्रमा सफलता प्राप्त नहुँदो रहेछ । त्यसको लागि निरन्तर र कठोर मिहिनेतको खाँचो पर्दो रहेछ । एसईईमा मैले पाएको सफलता कक्षा १० मा मात्र मिहिनेत गरेको परिणाम हो भन्ने मलाई लाग्दैन । हुन त एसईई परीक्षामा सोधिने प्रश्न कक्षा १० मा निर्धारित पाठ्यपुस्तकबाट मात्रै हो । तर, हरेक विषयका प्रश्नको उत्तर प्रभावकारी ढङ्गले दिनका लागि तल्लो कक्षादेखिकै पढाइको जग राम्रो हुनुपर्छ । कक्षा १० मा पुगेपछि बढी मिहिनेत गर्नु त छँदै छ । यस्तो मिहिनेत पनि परीक्षाको ठीक अघि मात्रै खान सुत्नै छोडेर गर्ने होइन, कक्षा सुरु हुँदादेखि नै कार्यतालिका बनाएर एकनासले गरेको हुनुपर्दछ ।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पाएको सफलताले मेरो मिहिनेत गर्ने बानीलाई थप हौसला दिएको हो । विद्यालयमा हप्तैपिच्छे हाजिरीजवाफ, वक्तृता, वादविवाद, निबन्धलेखन, हिज्जे, हस्तलेखनजस्ता प्रतियोगिताहरू भइरहन्थे । ती सबैमा मैले राम्रो स्थान हासिल गर्थेँ । हरेक सफलतापछि गुरु वर्गको बधाई र आमाबाबाको मायालु हौसलाले थप ऊर्जा मिलेको महसुस गर्थेँ । मेरो बाबा शिक्षकका साथै राम्रो अक्षर सिकाउने कलाका प्रशिक्षक पनि भएको हुँदा, सानैदेखि मेरा अक्षर राम्रा भएछन् । हस्तलेखन प्रतियोगितामा म नगर, जिल्लाबाट छानिएर राष्ट्रिय स्तरसम्म पुगेकी हुँ । मलाई लाग्छ— स्पष्ट र आकर्षक अक्षरले पनि मलाई सफलता दिलाउन सहयोग गरेका हुन् ।
वागीश्वरी भक्तपुरको मात्र होइन, नेपालकै चर्चित विद्यालय हो । सरकारी विद्यालय भए पनि यहाँ अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ । कोभिड महामारीको बेलामा पनि हाम्रो विद्यालयले अनलाइन कक्षाको राम्रो प्रबन्ध गरेको थियो । एसईई परीक्षालाई लक्षित गरी तिहारपछि नै व्यवस्थित किसिमको अतिरिक्त कक्षा सञ्चालन गरिएको थियो र त्यस्तो कक्षा चैतको दोस्रो सातासम्म निरन्तर चलेको थियो । त्यहाँ हामी खाना खाजा खाने र फ्रेस हुने समयबाहेक दिनभरि नै शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन्थ्यौँ । हरेक शनिबार अनिवार्य विषयको परीक्षा लिइन्थ्यो । विद्यालयको यसप्रकारको कुशल शैक्षिक व्यवस्थापन र गुरुवर्गको मायालु व्यवहारसहितको सिकाउने शैलीले हाम्रो पढाइ सुधार्न उल्लेखनीय मद्दत गरेको कुरा अन्य साथीहरूले पनि बिर्सेका छैनन् ।
कक्षा १० मा हामी २७८ जना विद्यार्थी थियौँ । अन्य साथीहरू पनि मिहिनेती र जेहेनदार भएको हुँदा मैले हासिल गर्दै आएको प्रथम स्थानलाई एसईई नतिजामा पनि सुरक्षित राख्न सकुँला कि नसकुँला भन्ने लागिरहेको थियो । तर, अहिले आएर म सन्तुष्ट छु । तर, एसईईमा सर्वोत्कृष्ट स्थान हासिल गर्नुमात्र ठूलो कुरो होइन । थोरै जीपीए प्राप्त हुँदैमा निराश हुनुपर्ने कारण पनि छैन । अझै धेरै पढ्नु छ । धेरै परीक्षा पनि दिनु छ । धेरै असल भएर समाज र देशका लागि केही गर्ने सपनाहरू छन् । मिहिनेत गरेर अगाडि बढ्दै गयौँ भने हामी सबैजना असल र सफल बन्न सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *