विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
(जन्मः २००९/३/३ मृत्यु : २०६२/४/२४)
सामान्य मानिस युगसँगै जन्मन्छ र मर्छ । महान् मानिसले युगलाई जन्माउँछ । युगलाई जन्माउने, समाजको कायापलट फेर्ने, देश र समाजको लागि सदा समर्पित प्रेरक व्यक्तित्व नै इतिहासमा स्वर्णाक्षरले सुशोभित हुन्छ । जनताको सेवा नै सर्वोपरि ठान्ने, शिक्षाप्रेमी, न्यायप्रेमी, विकासप्रेमी र प्रेरक व्यक्तित्व जयराम बासुकला पनि यस्तै व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो । भक्तपुर जिल्लाकै परिचित जयराम बासुकलाको जन्म वि.सं. २००९ असार ३ गते भक्तपुर जिल्ला ताथली गाविस वडा नं. ७ सौडोलमा पिता गोपीलाल बासुकला र माता सानुमाया बासुकलाको जेठा छोरा हुन् । किसान परिवारमा जन्मिनुभएका जयराम बासुकलाको शिक्षारम्भ गणेश प्रावि (हाल गणेश मावि) ताथलीबाट भयो । शारदा मावि, भक्तपुरबाट मावि शिक्षा पूरा गरी उहाँले महेन्द्ररत्न क्याम्पस, ताहाचल काठमाडौँबाट आई.एड. उत्तीर्ण गर्नुभयो र उहाँले नियमित स्वअध्ययनलाई आजीवन निरन्तरता दिनुभयो ।
राजनीतिक परिवेशको पारिवारिक वातावरणमा हुर्कनुभएका बासुकला कम्युनिस्ट विचारले प्रभावित भई वि.सं. २०२२ देखि कम्युनिस्ट आन्दोलनका विभिन्न चरणहरूमा सक्रिय हुँदै आउनुभयो । वि.सं. २०२७ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध भई वि.सं. २०३१ सालदेखि नेमकिपा (तत्कालीन नेपाल मजदुर किसान सङ्गठन) ताथलीका अध्यक्ष रही सक्रियतापूर्वक अगाडि बढ्नुभयो ।
‘सादा जीवन, उच्च विचार’ का मृदुभाषी बासुकला सबैसँग सरल र प्रेमपूर्ण व्यवहार गर्नुहुन्थ्यो । राजनीतिक सिद्धान्तलाई मात्र अनुसरण गरेर समाजका व्यवहारिक पक्षहरूमा ध्यान नदिनेहरूका लागि उहाँ उदाहरण नै हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “जनता हाम्रा परिवार हुन् । समाज हाम्रो घर हो । देश हाम्रो गौरव हो । त्यसैले समाजको विकास र जनताको समस्यामा ध्यान दिनु नै राजनीतिको मर्म हो, मूल हो ।” बालकदेखि वृद्धसम्म सबै उहाँका साथी र सहयोगी हुन्थे । यस्ता अनुकरणीय मानवीय गुणका धनी बासुकला गरिब जनताको शिक्षा र जीवनस्तर उठाउन लागिपर्नुहुन्थ्यो । निरन्तर गरिब वर्गको उत्थान, गाविस क्षेत्रभित्रको भौतिक विकास, शिक्षण सङ्घसंस्थाको स्थापना, बृहत् ताथली खानेपानीको स्थापना, गाविसको सिँचाइ योजना निर्माणजस्ता महत्वपूर्ण पक्षमा नेतृत्व गर्नुभएका बासुकलाले ताथलीमा नेमकिपाको विस्तार गर्नुभयो । कम्युनिस्टहरू भौतिक लोभलालचमा फस्नु हुन्न भन्ने मान्यता राख्ने उहाँ घरमा बस्दा पनि पशुपालन, कृषि आदि काममा लगनशील हुनुहुन्थ्यो ।
शिक्षा विकासको पूर्वाधार र जीवनको आधारशीला हो भन्नुहुने बासुकलाले वडा नं. ७ मा रहेको भूत मन्छिने डाँडालाई पन्छाएर स्कूल स्थापना गर्ने भनी टोलका गुठियारहरू सबैलाई प्रेरित गरी डाँडा पन्छाएर वि.सं. २०२५ साल मङ्सिर १९ गते देवी माईको नामकरणबाट देवी राष्ट्रिय प्राइमरी स्कूलको स्थापना गर्ने काममा सफलता हासिल गर्नुभयो । वि.सं. २०२५ सालदेखि सोही विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा काम गर्नुभयो । नयाँ शिक्षा योजना (रा.शि.प.) २०२८ को सिलसिलामा वि.सं. २०३० मा स्थायी प्राथमिक शिक्षकको रूपमा नियुक्ति पाई २०३८ चैत मसान्तसम्म निरन्तर लगनशील, अध्ययनशील, उत्तरदायी शिक्षक रहनुभएका बासुकला शिक्षणमा मात्र नभई सामाजिक र राजनीतिक कार्यमा उत्तिकै ध्यानपूर्वक लाग्नुभएको थियो । अरूलाई राजनीतिक सिद्धान्तमा प्रेरित गर्दा ममतापूर्ण व्यवहार गर्ने, झूटो आश्वासन र मीठो सपना नबाँड्ने अनि आफ्नै खुट्टामा उभिन र निराश नहुन प्रेरित गर्ने उहाँको बानी थियो ।
वि.सं. २०४३ सालदेखि नेमकिपा भक्तपुर जिल्ला समितिको सदस्य रहनुभएका बासुकला वि.सं. २०५२ साल मंसिर ७ गते नेमकिपा भजिसका संयोजक रहनुभयो । वि.सं. २०५५ भदौ २४ गते भएको दोस्रो भक्तपुर जिल्ला सम्मेलनबाट कोषाध्यक्षमा निर्वाचित हुनुभयो यसैगरी वि.सं. २०५८ को तेस्रो जिल्ला सम्मेलन र वि.सं. २०६१ को चौथो जिल्ला सम्मेलनबाट सदस्यमा निर्वाचित हुनुभयो । वि.सं. २०५५ मा नेक्राकिसङ्घको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष र वि.सं. २०५९ मा सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित हुनुभयो । पछिल्लो समय उहाँ नेमकिपा भक्तपुर जिल्ला समितिका कोषाध्यक्ष, नेमकिपा ताथली गाउँ एकाइ समितिका सल्लाहकार हुनुहुन्थ्यो ।
वि.सं. २०३९ सालमा स्थायी शिक्षक पदबाट राजीनामा दिई ‘प्रतिक्रियावादी सङ्घसंस्थाभित्र रहेर पनि देश र जनताको सेवा गर्नुपर्छ’ भन्ने लेनिनवादी सिद्धान्त र पार्टीको नीतिअनुरूप उहाँ गाउँका प्रधानपञ्च चुनिनुभयो ।
वि.सं. २०४६ सालसम्म निरन्तर गाउँ पञ्चायतका प्रधानपञ्च र वि.सं. २०४६ सालपछि बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा वि.सं. २०५४ सालसम्म निरन्तर ताथली गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसैगरी वि.सं. २०४९ सालमा जिल्ला विकास समितिमा इलाका नं. ५ का इलाका सदस्यको रूपमा निर्वाचित हुनुभयो । वि.सं. २०५२ सालमा राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्नुभएका बासुकला आफ्नो गाउँ र जिल्लाका सम्पूर्ण जनताको हृदयमा रहन सफल हुनुभयो ।
उहाँ एक सङ्घर्षशील, उत्तरदायी, कर्तव्यपरायण, सहनशील, मेहनती, सिद्धान्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो उहाँमा साच्चै एउटा असल कार्यकर्तामा हुनुपर्ने गुण थियो । त्यसैले, कुनै पनि राजनीतिक कार्यकर्ताको निम्ति उहाँलाई एक उदाहरणीय स्वच्छ व्यक्ति, दृढ इच्छाशक्तियुक्त, निःस्वार्थी खुला पुस्तकको पानासरह मान्नैपर्छ किनभने जनताका समस्या समाधान गर्न उहाँ जहिले पनि अगाडि रहनुहुन्थ्यो । सामाजिक कार्य (बाटोघाटो, खानेपानी, इनार, कुवा, सिँचाइ, नहर, विद्युत्, टेलिफोन, कृषि, हुलाक विकास आदि) ले गर्दा आफ्नो आलोचना, विरोधबाट कहिल्यै नरिसाउने अनुकरणीय स्वभावको र कसैले पनि बिर्सन नसक्ने गुण उहाँमा थियो । कुनै पनि सामाजिक कार्य गर्दा विपक्षीहरूले आलोचना गरे तापनि सबैलाई चित्त बुझाएर काम गर्ने, व्यक्तिगत स्वार्थ, पद र प्रशंसाप्रति कहिले पनि लालायित नहुने, कुनै समस्याबाट नआत्तिने, धैर्यवान, सरल र मिजासिलो स्वभावका त्यागी, जनताका सहयोगी, निश्छल, लगनशील, विकास निर्माण कार्यमा जोड दिने, सामाजिक चेतना र जागरणमा निरन्तर लाग्नु आफ्नो प्रमुख काम ठान्ने एक होनहार समाजसेवीको भौतिक शरीर नभए पनि उहाँको अविस्मरणीय कार्यलाई कसैले भुल्न सक्दैन ।
वि.सं. २०३२ सालमा स्थानीय जालीफटाहाविरुद्धको सङ्घर्षको क्रममा चार दिन हिरासतमा बिताउनुका साथै समय–समयमा पार्टीको निर्देशनानुसार बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, सुस्तामाथि भारतीय हस्तक्षेपविरुद्धको सङ्घर्ष, भियतनाममाथि अमेरिकी आक्रमणविरुद्धको सङ्घर्ष, भूमिकरविरुद्ध सक्रिय हुनुभयो । नेमकिपालाई वि.सं. २०४५ सालमा भक्तपुरकाण्ड रची तहसनहस गर्ने राज्यस्तरको षड्यन्त्रमा १५ महिना जेल जीवन बिताइरहेको समयमा उहाँलाई भेट्न जाने आफ्ना कार्यकर्ता साथीहरूलाई विचलित नहुन र पार्टीको नीतिअनुरूप गतिविधि चलाउन सल्लाह र सुझाव दिनुहुन्थ्यो । वि.सं. २०४६ सालमा पनि पटक–पटक जेल र घरमै नजरबन्दमा पर्नुभएको थियो । प्रतिगमनविरोधी विभिन्न संयुक्त कार्यक्रममा उहाँ जहिले पनि अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।
वि.सं. २०५५ देखि वि.सं. २०५९ सम्म र वि.सं. २०६१ मा देवी माविको व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका जयराम बासुकला देवी माविलाई उच्च मावि बनाउने दूरगामी लक्ष्य लिई अघि बढिरहनुभएको थियो । शिक्षाप्रेमी जयराम बासुकला डाँडापाटी प्रावि, दक्षिणकाली प्रावि, फैढोका प्राविका संस्थापक, हिमालयन ग्लोरी इ. स्कूलका संस्थापक सदस्य, शारदा क्याम्पसका संस्थापक सदस्य एवं व्यवस्थापन समितिका आजीवन सदस्य, ख्वप कलेज, ख्वप इन्जिनियर कलेज, व्यवस्थापन समितिका सदस्य हुनुहुन्थ्यो । अनौपचारिक शिक्षालाई समेत विशेष प्राथमिकता दिनुहुने जयराम वासुकला ताथली गाविसलाई पहिलो पूर्ण साक्षर गाविस बनाउन दत्तचित्त भई निरक्षरता उन्मूलन कार्यक्रममा सक्रियतापूर्वक लाग्नुभयो । उहाँको पहलमा सो कार्यक्रमका लागि स्व. सानुमाया बासुकला स्मृति अक्षयकोषको व्यवस्था गरिएको थियो । देवी माविको भवन विस्तार गर्ने क्रममा डाँडो पन्छाउने कार्यमा वि.सं. २०४९ भदौ २० गते अकस्मात् माटोको ढिस्कोले पुरिएर दिवंगत हुनुभएका शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष वासुकलाको स्मृति दिवस मनाउन अक्षयकोषको लागि चन्दा सङ्कलन गर्न विद्यालय हातामा सालिक स्थापना गर्न उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
बहुआयामिक व्यक्तित्व बासुकला नेपालभाषा साहित्य तःमुंज्याका सदस्य, विविध भाषा साहित्य सम्मेलनका सहयोगी, देवी महिला बचत तथा ऋण सहकारी संस्था, देवी युवा क्लव र कँडेलापाखा वन उपभोक्ता समितिका सल्लाहकार, ताथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षको रूपमा सेवारत हुनुहुन्थ्यो । परम्परागत कृषि प्रणालीमा सुधार गरी तन्तु (टिस्यु कल्चर) प्रविधिको प्रचारप्रसारमा (तत्कालीन रोनास्ट) नास्टसँग उहाँले सहकार्य गर्नुभयो । भक्तपुर नाला सडक सुधार समितिका सदस्य रहनुभएका जयराम बासुकलाले भक्तपुर नाला सडकलाई अरनिको राजमार्गको सहायक राजमार्गको रूपमा स्थापनाका लागि आजीवन क्रियाशील रहनुभयो । स्थानीय बासिन्दाको विरोध हुँदाहुँदै पनि ताथलीको तेडोलमा सञ्चालन गर्न खोजिएको डम्पिङ साइटको विरुद्धमा गठित प्रतिकार समितिको नेतृत्व गरी सफलता प्राप्त गर्नुभयो ।
वि.सं. २०६२ साल साउन २१ गते मृत्युको दुई दिनअघि उहाँ आफू खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष भएर पनि मुहान र पाइप मर्मत गर्न लाग्नुभएको थियो । पद र नामभन्दा काम प्रमुख हो भन्ने सिद्धान्तमा विश्वास राख्ने कर्मयोगी जयराम बासुकलालाई मृत्युले पछ्याइरहेको कसैलाई थाहै भएन । मृत्युले उहाँलाई लामो समयसम्म हाम्रोमा बस्न दिएन र वि.सं. २०६२ साउन २४ गते बिहान हामी सबैलाई स्तब्ध तुल्याउँदै सदाको लागि संसारबाट बिदा लिनुभयो ।
अकस्मात् हामी सबै शोकमा डुब्यौँ । हामी र हाम्रो गाउँ, जिल्ला र उहाँलाई चिन्ने नजिकका शुभचिन्तक, राजनीतिकर्मी, समाजसेवी शोकमा भावविह्वल भई टुहुरो हुन पुग्यौँ । आज उहाँको योगदान, बलिदान र प्रेरणामात्र बाँकी छ । त्यो हाम्रो निम्ति एउटा मार्गदर्शन हो । आज ताथलीका हरेक विकास निर्माण र प्रगतिपथमा उहाँको अविस्मरणीय योगदान रहेको छ धैर्य, साहस, कर्म र सेवाका प्रतिमूर्ति जयराम बासुकलाका बारेमा मुक्तकण्ठले जति प्रशंसा गर्दा पनि पुग्दैन ।
अन्तमा, विश्व कम्युनिस्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सले अरूको प्रशंसा गरेर समय खेर फाल्नुभन्दा बरु उसका गुण अनुसरण गर भन्नु भएजस्तै जयराम बासुकलाबाट धेरै सिक्नु छ । मिलनसार भई सबैलाई समेटी काम गर्ने सिद्धान्तप्रति दृढ रहने, सामाजिक कार्यमा निरन्तर अग्रसरता देखाउने, शिक्षा क्षेत्रलाई अगाडि बढाउन तल्लीन रहने र विकास निर्माणमा लगनशील भई लाग्ने उहाँका गुणहरूको अनुसरण गरी उहाँका अधुरा सपना साकार पार्न अग्रसर भएर लाग्नु नै हाम्रो कर्तव्य हो । यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
जयराम स्मृति अक्षयकोष ताथली, भक्तपुर २०६३
Leave a Reply