भर्खरै :

आमालाई घरभित्र नआउनू भन्ने पनि हुन्छ र ?

आमालाई घरभित्र नआउनू भन्ने पनि हुन्छ र ?

आज म समयमै खाना खाएर वडा कार्यालय पुगेको थिएँ । प्रथम प्रहर भएकोले सेवाग्राहीहरूको अलि भिड थियो । म कुर्सीमा बस्नेबित्तिकै सेवाग्राहीहरूसँग कुराकानी गर्न थालेँ । एक जना ज्येष्ठ महिलासँग पनि छलफल सुरु गरेँ । उहाँको नाम मलाई थाहा नभए पनि म राम्ररी चिन्थेँ । उहाँका तीनै जना छोरीहरूसँग मेरो चिनजान र बोलचाल थियो । माइली छोरी त मेरो एस.एल.सी. ब्याचको साथी नै थिइन् र तत्कालीन समयमा राम्रो मित्रता थियो । त्यस ज्येष्ठ नागरिकलाई म राम्ररी चिन्थे । तापनि, उहाँको घरायसी समस्याको सम्बन्ध मलाई त्यति जानकारी थिएन । मैले उहाँलाई प्रश्न गरेँ, “आमा, तपाईँ किन वडा कार्यालयमा आउनुभयो ? घरमा केही समस्या प¥यो कि ? छोरी मन्दिराको हाल खबर के छ ? तपाईँको छोरीसँग भेट नभएको पनि धेरै भयो । पहिला कति सङ्गत गरियो । तर, अहिले कार्यव्यस्तताले गर्दा भेटघाट छैन । मन्दिराको सन्तानहरू कति जना भए ?” मेरा प्रश्नहरू ओइरो लाग्नुको कारण जान पहिचान भएकोले नै हो । अनि बाटामा भेट्दा पनि उहाँ आमा र छोरीहरूलाई म शिष्टाचारपूर्वक बोल्दथेँ । आमाले मलाई भन्नुभयो, “बाबु मलाई ठीक छैन । बिरामी पनि छु । घरमा छोरा बुहारीहरूले धेरै दुःख दिए । मलाई घरबाट निस्केर जानू भन्छन । बुहारी त झन् बोल्दै बोल्दैन । त्यस्ता बुहारीले मलाई हेरविचार के गर्ला र ? हेरविचार गराउनु पनि छैन । अस्ति तीन जना छोराहरू र छोरीहरू राखेर सम्पत्ति बाँडफाँडको छलफल भएको थियो । त्यस छलफलमा मलाई टोलको घर र आठ लाख रूपैयाँ राख्ने सल्लाह भएको थियो । तर, मलाई अब सम्पत्ति पुग्दैन । छोरीहरूको व्यवहार गर्नुपर्दछ । फेरि घर मलाई नदिने भन्छ छोराहरू । के गर्ने बाबु ? बाबुले एकचोटि छोराहरू तीनै जनालाई वडामा बोलाई छलफल गर्नुप¥यो ।”
मैले आमाको घरायसी समस्याको सम्बन्धमा सामान्य जानकारी पाएँ । तर, उहाँले मेरो सबै प्रश्नहरूको उत्तर दिनुभएको थिएन । मैले फेरि आमालाई सोधेँ, “मेरो साथी अनि तपाईँकी छोरी मन्दिराको के हाल खबर छ भन्नुस् न ?” त्यसपछि बल्ल उहाँले छोरीको बारेमा भन्नुभयो, “मन्दिरालाई पनि सन्चो छैन । अस्तिमात्र पत्थरको अपरेसन भएको थियो । त्यही भएर माइतीमा आएकी छैन । तर, नाति नातिनाहरू कहिलेकाहीँ आउँछन् ।”
त्यसपछि मैले बुढी आमालाई सोधेँ, “घरमा सल्लाह भएअनुसार कागज गर्नुभएको छ कि ? अनि सबै निर्णय सबैको सहमतिमा भएको भए फेरि किन वडामा आउनुभयो ? अब घरमै कुरा गर्नुपर्ला कि ? केही कागजमा हस्ताक्षर गर्नुभएको छ कि ?” बुढी आमाले फेरि भन्नुभयो, “छोराहरूले तीन चार वटामा हस्ताक्षर गराएका छन् । खोइ के कागजमा हस्ताक्षर गराएको हो थाहा छैन । जेठो र माइलो छोरा त झनै गतिलो छैन । म तिनीहरूको घरमा जाँदा म फोहरी र गन्हाउने बुढी भनेर छोरा र बुहारीले मलाई बाहिरै राखे । मलाई धेरै चित्त दुःखेको छ । मैले लगेको मन्दिरको प्रसाद लिने अनि मलाई फोहरी र गन्हाउने बुढी भनेर अहिलेसस्म्म घर भित्याएको छै्रन बाबु ।”
आमाको कुराले मलाई अलिकति छोराहरूले अन्याय गरेको हो कि जस्तो लाग्यो । हुन त छोरीहरू भएकोले त्यस्तो नचाहिने कागजमा त पक्कै हस्ताक्षर नगराएको होला भनी अनुमान लगाएँ । आमाले मन्दिरा बिरामी भएकोले छलफलमा नआएको जानकारी दिनुभयो । छोरी पनि शालिन र भद्र स्वभावकी भएकोले मलाई छोरीमाथि पूरा विश्वास थियो । मैले आमाको मोबाइलबाट छोरा र छोरीहरू सबैका नाम र नम्बर टिपेँ । अनि कार्यालय सहयोगीलाई बोलाई आमाको एउटा घरायसी समस्याको छलफल गर्नको लागि वडामा अनुरोध गर्ने निवेदन लेख्न लगाई आमालाई हस्ताक्षर गराएँ । त्यसपछि आमाकै अगाडि मन्दिरालाई फोन गरँे । मन्दिराले फोनमा भन्नुभयो, “अपरेसन गरेकोले म छलफलमा माइती आउन पाइन । दाइहरूले मलाई पनि बोलाएका थिए । दिदी र बहिनीहरू छलफलमा थिए । उनीहरूको भनाइअनुसार आमालाई टोलको घर एउटा र आठ लाख सहकारीमा राख्ने सहमति भएको थियो । अनि सबै खेतहरू छोराहरू तीनै जनालाई भाग लगाउने सहमति भएको थियो रे । तर, अहिले आमालाई घर नराख्ने भन्छ रे खोइ । तपाईँ एकचोटि बुझेर हेर्नुस् ।” मन्दिरको मुखबाट पनि त्यहीँ कुरा आएकोले मैले तीनै जना छोराहरूलाई भोलि प्रथम प्रहरमा वडामा आउन अनुरोध गरेँ ।
भोलिपल्ट तीनै जना छोराहरू र आमा वडामा आउनुभयो । मैले सबैलाई नमस्कार गरी बैठक सुरू गर्दैै भनेँ, “तपाईँहरूको घरायसी छलफलअनुसार आमालाई घर र आठ लाख राख्ने सहमति भएको थियो रे । अब तपाईँहरू आमालाई घरबाट निस्केर जानु भन्छ रे हो ? छलफल के भएको थियो ?” मैले सबभन्दा पहिला जेठो छोरालाई बोल्न अनुरोध गरेँ । जेठो छोराले भन्नुभयो, “मेरो नाम राजेन्द्र अवाल हो । हाल म कमलविनायकमा बस्छु । मैले घरको सम्पत्ति नलिकनै आफ्नै मेहनतले घर बनाएको छु । त्यसैले मलाई घरको सम्पत्तिको लोभ छैन । तर, पनि पुर्खाको सम्पत्ति भागबन्डामा परेको त लिनैप¥यो । छलफलअनुसार आमालाई घर परेको हो । अनि आठ लाख हामीले राखिसकेका छौँ । तर, आमालाई घरको आवश्यकता छैन । कान्छा छोराको घर छैन । त्यसैले कान्छाको नाममा घर राखिदियो भने ढलान गरी बनाउँछ कि भनेर आमालाई घर नदिने भनेको हुँ । आमा नमरून्जेल बस्दा हुन्छ । तर, आमा घर पनि चाहिन्छ । अनि आठ लाख पुग्दैन, बीस लाख राख्नुपर्छ भन्छ सर ।”
त्यसपछि माइलोले भन्नुभयो, “मेरो पनि नयाँ घर भइसकेको छ । कान्छाको घर नभएकोले गर्दा उसलाई दिने कि भनेर पछि सल्लाह भएको हो । २०७२ सालको भूकम्पले गर्दा घर पुनः निर्माण आवश्यक भएकोले कान्छालाई दिँदा घर पुनः निर्माण होला कि भन्ने आशय हो । फेरि आमालाई घर किन चाहियो ? बस्नलाई एउटा कोठा दिए पुग्दैन र ?”
कान्छाले केही बोलेन । आफूले घर पाए हुने मनसाय व्यक्त गर्नुभयो । फेरि मैले जेठो र माइलोको अनुहार हेरेर प्रश्न गरेँ, “तपाईँहरूले आमालाई व्यवहार पनि राम्रो गर्नुभएन रे । तपाईँहरू हेर्दा त शिक्षित र भलाद्मी देखिनुहुन्छ । अनि आमालाई घर भित्र नआउनु भन्ने पनि हुन्छ र ?” मेरो प्रश्नले जेठो र माइलोको अनुहार अलि रातो देखियो । अनि जेठोले अलि अनकनाउँदै भन्नुभयो, “हो, हामीले प्रसाद दिन ल्याउँदा घर भित्र नआउनु भनेको हो । यही कुरा सबैलाई सुनाएर हिँड्छ आमा । जमाना कहाँबाट कहाँ पुगिसक्यो । अहिले पनि हाकुपटासी लगाएर हिँड्नुहुन्छ । घरमा सरसफाइ भनेको फित्तिकै छैन । न लुगा धोएर लाउने भन्ने छ । त्यसैले गन्हाउने भएकोले नआउनु भनेको हो ।” मलाई जेठो छोराको जवाफले रिस उठ्यो । अनि अलि कडा भाषामा भनेँ, “तपाईँलाई सानो छँदा आमाले फोहरी र लुगा लगाउन नजाने भनेर घर बाहिर राखेको भए के हुन्छ ? बुढाबुढी भनेको तपाईँ हामीजस्तै कहाँ हुन्छ ? बुढाबुढी भनेको बालबच्चाजस्तो भएर जान्छ । तपाईँहरू आफ्नै आमालाई फोहरी भयो भनेर घर भित्र नआउनु भन्ने ? तपाईँ र तपाईँको श्रीमतीहरूलाई आमाले कुल घरमा फोहर छ, घरभित्र नआऊ भनेका भए कति चित्त दुख्छ ? तपाईँ हामी मात्र कति सभ्य र शिष्ट छौँ र ?”
मेरो जवाफले दुवै दाजुभाइको अनुहार अँध्यारो देखियो । अनि कान्छालाई हेर्दै भनेँ, “आमालाई घर नराख्ने भनेको पनि हुन्छ र ? त्यसमाथि तीनै दाजुभाइले सहमति गरिसकेपछि बेइमानी कुरा गर्ने ? तपाईँ त भर्खरको पच्चीस वर्षको मान्छे । आमा असी वर्ष हुनुभयो होला । तपाईँको श्रीमती र छोराले घर नभएका बुढी निस्केर जा भनेमा भोलि आमा कहाँ जाने ? के त्यसबेला वडामा ल्याएर पाल्ने हो ? तपाईँहरू तीनै जना नयाँ घरमा बस्ने अनि आमा पाटीमा बस्न जाने हो ? त्यसैले, तपाईँहरूको घरायसी छलफलअनुसार आमालाई घर दिने हो । अनि आमालाई पन्ध्र लाख बैङ्कमा राखिदिनुस् । त्यसको ब्याज आमाले आफूखुसी खर्च गर्न पाउने र सावाँको हकमा एक जना छोराको मन्जुरीले बिरामी भएमा निकाल्न पाउने गरी स्थानीय सहकारीमा आमाको नाममा जम्मा गर्ने र बाँकी सबै खेत छोराहरूले बराबर भागबन्डा गर्नुस् । मेरो कुरामा छोराहरूले विरोध गरेनन् । अनि आमाले पनि सहमति जनाउनुभयो । सोही अनुसार निर्णय भयो । सबैले हस्ताक्षर गरी बैठक समापन गरेँ ।
एक हप्तापछि आमा फेरि वडामा आउनुभयो । वडामा अलि भिड थियो । मैले केही बेर कुर्न अनुरोध गरेँ । उहाँ रोएर आएको स्पष्ट देखिन्थ्यो । सबै गइसकेपछि मैले आमालाई किन रोएको भनी सोधेँ । जवाफमा उहाँले भन्नुभयो, “घर त मेरो नाममा हुने भयो । तर, बाबुले भनेको पन्ध्र लाख त मैले ब्याज, सावाँ लिन छोराहरू तीनै जना आवश्यक हुने गरी सहकारीमा राखिदियो भन्छन् । मलाई त्यही भएर हिजोबाट निद्रा लागेका छैन । हिजो मन्दिरा घरमा आएकी थिइन् । अनि छोरीले कागज हेरेपछि यही भन्यो । त्यहीँ भएर मन्दिराले वडामा पठाएको हो । मलाई सहकारीमा सँगै लगेको थियो । तर, केही भनेनन् । आखिरमा यस्तो गर्न पो रहेछ । मन्दिराले भनेको हो कि होइन, हेर्नुस् त कागज ।” मैले मुद्दति खाताको रसिद हेरेँ । रसिदको कैफियतमा तीनै जनाको उपस्थितिमा ब्याज र सावाँ लिन सकिने लेखिएको थियो । वडामा गरिएको निर्णयविपरीत छोराहरूले पैसा राखिदिएको रहेछ । मैले जेठो छोरालाई तत्काल फोन गरेँ र भनँे, “वडाको निर्णयविपरीत किन आमालाई ब्याज र सावाँ प्रयोग गर्न नपाउने गरी पैसा राखिदिनुभयो ?” जवाफमा उहाँले भन्नुभयो, “वडाध्यक्षले हाम्रो घरमा भएको सहमतिमा हस्तक्षेप गर्न पाइँदैन । हामी आमा छोराहरूको सहमति भएपछि तपाईँलाई मतलबको कुरा होइन नि । आमाको पनि सहमति छ । सहमति भएकोले त आमाको नाममा पैसा बढाएर राखेँ । अनि तपाईँलाई केको चासो ?”
मैले भनेँ, “आमाको सहमति भएको भए यहाँ वडामा उजुरी लिएर फेरि आउने थिएन । आमा मेरै अगाडि हुनुहुन्छ । तपाईँहरू दुई दिनभित्र माइन्युटअनुसार गरेर ल्याउनुस् । होइन भन्ने वडाले सिफारिस रोक्छ । नभए वडामा भएको सहमतिअनुसार गर्नुस् ।”
फोनमा कुरा गर्र्दै थिएँ । कान्छा छोरा टुप्लुक्क आई पुगे । कान्छा छोरा जग्गा नामसारीको लागि सिफारिस लिन आएको थियो । मैले छोरालाई माइन्युटको सहमतिअनुसार नभएकोले सिफारिस दिन नमिल्ने बताएँ । त्यसपछि कान्छा छोराले आमा र बहिनीहरूलाई गाली गर्न थाले । कान्छा छोरा सिफारिसले दिन धेरै अनुरोध गर्नुभयो ।
मैले सिफारिस रोकेँ । शुक्रबारको निर्वाचित समितिमा पनि छलफल गरेँ । स्थानीय पार्टी कार्यकर्ता र भद्रभलाद्मीहरूसँग पनि छलफल चलाएँ । विशेषगरी, आमाको टोलका जनप्रतिनिधिसँग यस विषयमा सघन छलफल भयो । उहाँहरूकै सल्लाह र सुझावअनुसार सिफारिस तीन महिनाजति रोकेपछि बल्ल तीनै जना छोराहरू वडामा आएर माफी माग्न आउनुभयो । आमाको नामको रसिदमा उहाँहरूले कैफियत हटाएर ल्याउनुभयो । त्यसपछि बल्ल मैले नामसारीको सिफारिस दिएर पठाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *