लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
कोरियाली प्रायःद्वीप एसियाको सुदूर पूर्वमा छ । त्यहाँ प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर) र गणतन्त्र कोरिया (दक्षिण) गरी दुई देश छन् । दोस्रो विश्वयुद्ध अघिसम्म कोरिया एउटै थियो । कोरियालाई उपनिवेश बनाएको जापानी साम्राज्यवादविरूद्ध कोरियाली देशभक्त जनता लडिरहेका थिए । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकी सेना अचानक कोरियाको दक्षिण भागमा उत्र्यो र जापानी साम्राज्यवादको ठाउँ लिन खोज्यो । कोरियाली देशभक्त जनता र कोरियाली जनताका महान नेता किम इल सङलगायतले धेरैपटक अमेरिकी सेना फिर्ता लान अमेरिकी शासकहरूलाई आग्रह गरे । अमेरिकी शासकहरूले भने कोरिया छाडेर भागेका र अमेरिकालगायत विभिन्न देशमा बसिरहेका केही कोरियालीहरूलाई जम्मा गरेर डलरको लोभ देखाएर नक्कली दक्षिण कोरियाली सरकार बनाउन लगाए र अपराधीहरू जम्मा गरेर दक्षिण कोरियाली सेना गठन गर्न लगाए । जापानी साम्राज्यवादविरूद्ध लामो युद्ध गरेका कोरियाली जनताले युद्ध चाहेका थिएनन् तर अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियामाथि हमला सुरू गरेपछि १९५०–५३ को कोरियाली युद्ध भएको थियो । कोरिया युद्धमा संयुक्त राष्ट्र सङ्घको नाममा २६ देशका सेना जम्मा गरेर अमेरिकी साम्राज्यवादले नवस्थापित प्रजग कोरिया र देशभक्त कोरियाली जनतामाथि हमला गरेको थियो । कोरिया युद्ध कुनै निष्कर्षमा पुगेन । तत्कालीन सोभियत सङ्घ र संयुक्त राष्ट्र सङ्घको पहलामा ३८ औं देशान्तर रेखालाई सिमाना मानेर युद्धविराममात्र भएको थियो ।
आज पनि दक्षिण कोरियामा आणविक अस्त्रसहित २५ हजारभन्दा बढी अमेरिकी सेना प्रजग कोरियामाथि हमला गर्ने तयारीका साथ तैनाथ छन् । हरेकजसो अमेरिकी राष्ट्रपति, विदेशमन्त्री र रक्षामन्त्रीहरूले प्रजग कोरियामाथि निर्मम हमला गर्ने धम्की दोहो¥याउने गरेका छन् । वर्षको कम्तीमा दुईपटक अमेरिकी र दक्षिण कोरियाली सेना सहभागी गराएर प्रजग कोरियामाथि आक्रमणमा केन्द्रित ठुलो आकारको युद्धअभ्यास गर्दै आएको छ । त्यस्ता सैन्य युद्धअभ्यासहरूमा कुनै कुनै वर्ष जापानी सेनालाई समेत सहभागी गराउने गरेका छन् । प्रजग कोरियाले आफूविरूद्धका त्यस्ता युद्धअभ्यास बन्द गर्न, अमेरिकी विदेश नीति परिवर्तन गर्न र शान्ति वार्ताका लागि पटकपटक अनुरोध गर्दै पनि आएको छ । प्रजग कोरियाका सर्वोच्च नेताहरू किम इल सङ र किम जङ इलले दक्षिण कोरियाली राष्ट्रपतिहरूलाई प्रजग कोरियामा निमन्त्रणा गरेर, शान्तिवार्ता गरेर तनाव मत्थर गर्न र कोरियाको शान्तिपूर्ण एकीकरणका लागि पहल गर्नुभयो । उहाँहरूले कोरियाको शान्तिपूर्ण एकीकरणका लागि एक देश –दुई राजनीतिक व्यवस्थाको प्रस्ताव पनि गर्नुभएको थियो । उक्त प्रस्तावलाई कोरियाको दुवै भागमा बसोबास गर्ने अत्यन्त बहुमत कोरियाली जनताले निकै उत्साहका साथ स्वागत गरेका थिए तर अमेरिकी साम्राज्यवादले नै त्यसमा तगारो हाल्ने काम ग¥यो । कोरियाको एकीकरण चाहने दक्षिण कोरियाली राजनीतिज्ञहरूविरूद्ध षडयन्त्र, चरित्रहत्या र हत्या गराउनसम्म अमेरिकी साम्राज्यवादीहरूले छोडेनन् । अमेरिकी साम्राज्यवादीहरूले दक्षिण कोरियामा आफ्नो कठपुतली शासन चलाइरहेका छन् र नमान्ने नेताहरूलाई सेनाको आडमा सिध्याउने खेल खेलिरहेका छन् ।
कोरियामाथि आणविक बम हमला गर्ने धम्की दिने अमेरिकी साम्राज्यवादलाई जवाफ दिनको लागि प्रजग कोरियाका देशभक्त जनताले आफ्नो गाँस, बास र कपासको खर्च कटाएर पनि आणविक परीक्षण र आणविक अस्त्र निर्माणमा लगानी गरे र सफलता प्राप्त गरेका छन् । प्रजग कोरियाले छोटो, मध्यम र लामो दूरी क्षेप्यास्त्रहरू, आणविक बम, हाइड्रोजन बम र अमेरिका र युरोपका कुनै भागसम्म पनि मार हान्न सक्ने अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरिसकेको छ । त्यसले अमेरिकी शासकहरू तर्सेका छन् तर आफ्नो व्यापारिक स्वार्थका कारण साम्राज्यवादी नीतिबाट पछि हट्न सकिरहेका छैनन् । प्रजग कोरियाले अग्रीमरूपमा अनुरोध, आग्रह र चेतावनी दिँदादिँदै पनि अमेरिका र दक्षिण कोरियाले आफ्ना हवाई र जल सेना सामेल गरेर १५ दिन लामो प्रजग कोरियाविरूद्धको युद्ध अभ्यास चलाइरहेको छ । त्यसको जवाफमा प्रजग कोरियाले दक्षिण कोरियामा रहेका अमेरिकी सेना र दक्षिण कोरियाली सेनाको आधारको सटीक दूरी बराबर हुनेगरी समुद्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ । पछिल्लोपटक अमेरिकी हिन्द प्रशान्त कमान्डको मुख्यालय सटिक दूरीमा आईसीबीएम प्रहार गरेपछि अमेरिकी र पश्चिमा सञ्चारमाध्यममा कोकोहोलो मच्चाइएको छ । सुदूरपूर्व एसिया र कोरियाली प्रायःद्वीपमा तनाव सिर्जना गरेको आरोप प्रजग कोरिया र कोरियाली जनताका सर्वोच्च नेता किम जङ उनमाथि लगाइरहेका छन् । तर, कोरियाबारे जानकारी राख्ने विश्वका हरेक मानिसलाई थाहा छ– कोरियाली प्रायःद्वीपमा तनावको वास्तविक कारक अमेरिकी साम्राज्यवाद र त्यसका दक्षिण कोरियाली र जापानी कठपुतलीहरू हुन् ।
Leave a Reply