भर्खरै :

के मासु उत्पादनको कारण खानेपानीको अभाव भएको हो ?

  • असार २०, २०८०
  • साजना खागी
  • विचार
के मासु उत्पादनको कारण खानेपानीको अभाव भएको हो ?

तपाईँले याद गर्नुभएको छ ? जब जब कुनै पशुपन्छी बलि दिएर चाड पर्व मनाउने दिन आउँछ अनि मासुबाट हुने हानिबारे प्रकाश पार्दै सुरु हुन्छ शाकाहारी अभियान । अहिले शाकाहारीहरूले मांसाहारीहरूको विरोधमा एउटा अभियान नै थालेका छन् । १ किलो मासु उत्पादन गर्न पानीको आवश्यकता देखाउँदै यदि मासु नखाने हो भने पर्याप्त मात्रामा पानी बच्ने रहेछ भनेर । तिनीहरू मासु नखान वा शाकाहारी बन्न सुझाव दिने कोशिश गर्छन् । पानी पदचिह्न (Water Footprint) को सहयोगमा शाकाहारी यसको विश्लेषण गर्छ । उनीहरूका अनुसार तरकारीको तुलनामा मासु उत्पादनमा बढी पानी चाहिन्छ । बेलायतको इन्स्टिच्युट अफ मेकानिकल इन्जिनियर्स (आईएमई) ले १ किलो कुखुराको मासु उत्पादन गर्न ४ हजार ३ लिटर पानी र १ किलो चामल उत्पादन गर्न ४ हजार लिटरसम्म पानी आवश्यक पर्ने बताएको छ । तर, यो कुरा लुकाएर सिधै गाईको मासु १ केजी उत्पादन गर्न १५,४१५ लिटर पानी चाहिने कुरा बाहिर ल्याइन्छ । हाम्रो देशकै कुरा गर्ने हो भने हामी गाईको मासु खान्दैनौँ, पाल्छौँ मात्र । पानी पदचिह्नलाई पछ्याउने हो भने हामीले गाईपालन गर्नु भएन । यी खानाले दिने मानिसको स्वास्थ्यको लागि नभई नहुने प्रोटिन र क्यालोरीको मात्राको कुरा पनि आउँछ । उदाहरणको लागि कुखुराको मासु १ किलोले ३१० प्रोटिन दिन्छ भने हरियो साग १ किलोले मात्र ३० ग्राम दिन्छ । त्यसैगरी, क्यालोरी कुखुराको मासुले १८०० क्यालोरी दिन्छ भने हरियो सागले २३० दिन्छ । त्यसकारण, यी खानाको पानी पदचिह्नलाई मात्र हेरेर तुलना गर्न मिल्दैन, त्यसले दिने पौष्टिकताको कुरा पनि आउँछ ।
के हो वाटर फूटप्रिन्ट ?
‘वाटर फूटप्रिन्ट’ शब्दले कुनै व्यक्ति, समुदाय वा संस्थाद्वारा वस्तु तथा सेवाहरूको उत्पादन र उपभोगमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रयोग हुने ताजा पानीको कुल मात्रालाई जनाउँछ । यो उत्पादनको सम्पूर्ण आपूर्ति श्रृङ्खलामा प्रयोग गरिएको पानीको मात्राको मापन हो । ‘वाटर फूटप्रिन्ट’ को अवधारणा २००२ मा नेदरल्याण्ड्सको ट्वेन्ट विश्वविद्यालयका अनुसन्धानकर्ता ए. होइक्स्ट्रा र एम. मेकोनेनद्वारा बनाइएको थियो । वाटर फूटप्रिन्ट एक वातावरणीय सूचक हो जसले समाजले माग गरेको वस्तु र सेवाहरू उत्पादन गर्न आवश्यक ताजा पानीको मात्रा मापन गर्छ । पानी पदचिह्न गणना गर्नाले विभिन्न गतिविधिहरूमा प्रयोग गरिएको र सम्भावितरूपमा खेर गएको वा प्रदूषित पानीको मात्रा पहिचान गर्न मद्दत गर्दछ । यसले व्यक्ति, व्यवसाय र नीति निर्माताहरूलाई तिनीहरूको पानीका उपयोग ढाँचाहरू अझ राम्ररी बुझ्न र पानी संरक्षण र दिगो पानी व्यवस्थापन अभ्यासलाई मद्दत गर्छ ।
पानीको उपभोग पिउने, नुहाउने र सिँचाइजस्ता प्रत्यक्ष पानीको प्रयोगभन्दा बाहिर हुन्छ भन्ने तथ्यलाई सम्बोधन गर्नको लागि वाटर फूटप्रिन्ट अवधारणा ल्याइयो । यसले बाली उत्पादन, उत्पादन प्रक्रिया, ऊर्जा उत्पादन र वस्तु तथा सेवाहरूको आपूर्ति श्रृङ्खलामा प्रयोग हुने पानीलाई ध्यानमा राख्छ । यसमा उपभोग गरिएको पानी (अर्थात्, अन्य प्रयोजनको लागि उपलब्ध नहुने) र उत्पादनको क्रममा प्रदूषित पानी दुवै समावेश हुन्छ ।
पानी पदचिह्न कसरी गणना गरिन्छ ?
सामान्य बुझाइमा अचम्म लाग्न सक्छ, १ किलो गाईको मासु उत्पादनमा १५ हजार लिटर पानी कसरी खपत हुन्छ भनेर ? मासुको पानी पदचिह्न अन्तिम उत्पादनको आपूर्ति श्रृङ्खलाभित्र प्रत्येक प्रक्रिया चरणमा पानी खपत र प्रदूषणद्वारा निर्धारण गरिन्छ । पानीको खपत र प्रदूषणको परिप्रेक्ष्यमा सबैभन्दा महत्वपूर्ण प्रक्रियाहरू दाना उत्पादन, जनावरहरूद्वारा पिउने र पशुपालन फार्ममा र सरसफाइको लागि वधशालामा पानीको प्रयोग हो । पशु उत्पादनको आपूर्ति श्रृङ्खलामा दाना बनाउने, जनावरले पिउने र पानीले खेत सफा गर्नेभन्दा अरू धेरै प्रक्रियाहरू छन् । यी प्रत्येक प्रक्रियाहरूमा सामग्री र ऊर्जा पर्दछ जुन आफैँमा फेरि एक आपूर्ति श्रृङ्खला र पानी पदचिह्न रहेको हुन्छ । तर, यी सबै कारणहरू धेरै साना छन् । अर्थात्, अन्तिम पशु उत्पादनको कुल पानी पदचिह्नको थोरै प्रतिशत मात्र हुन आउँछ । यहाँ अध्ययन गरिएका तीन प्रक्रियाहरूमध्ये – दाना उत्पादन, पिउने र सफा फार्महरू र वधशालाहरू पहिलो मुख्य कारक हो ।
जलस्रोतको कुल उपयोगमा खाद्यान्नले महत्वपूर्ण हिस्सा लिन्छ । वनस्पति मूलको खाद्यान्नको तुलनामा पशु उत्पादनको लागि विशेषरूपमा धेरै पानीको आवश्यकता हुन्छ । उदाहरणको लागि बदेलको कुल पानी पदचिह्न दालको पानी पदचिह्न भन्दा दुई गुणा ठूलो र अन्नको पानी पदचिह्नभन्दा चार गुणा ठूलो छ । आज पशु उत्पादनको विश्वव्यापी पानी पदचिह्न कुल कृषि उत्पादनको पानी पदचिह्नको लगभग एकतिहाइ हो ।
अधिक खाद्य उपभोग ढाँचामा परिवर्तन हुँदै गर्दा विश्वव्यापीरूपमा अधिक पशु उत्पादनहरू भइरहेको छ । विश्वका धेरैजसो क्षेत्रमा आर्थिक विकास भइरहँदा क्रयशक्तिमा वृद्धि भएको छ । परिणामस्वरूप थप खाद्यान्नको माग मात्र होइन, खानाका प्रकारहरूमा पनि परिवर्तन भइरहेको छ । हालका दशकहरूमा मासु, दूध र अण्डाजस्ता पशुजन्य उत्पादनहरूको माग बढेको छ । विशेषगरी पशुजन्य उत्पादनहरूको अत्यधिक खपतको कारणले धनी देशहरूमा प्रोटिनको सेवन सामान्यतया आवश्यकताभन्दा ठूलो हुन्छ । सामान्यतया मासु र अन्य पशुजन्य उत्पादनहरूको प्रतिव्यक्ति खपत सन्तुष्टिको स्तरमा नपुग्दासम्म औसत प्रतिव्यक्ति आयसँगै उपभोग पनि बढ्दै जान्छ । एकातिर विकासोन्मुख देशहरूमा जनसङ्ख्या वृद्धि भइरहेको छ भने अर्कोतिर आर्थिक वृद्धिको कारण पशु उत्पादनहरूको माग बढ्ने हुँदा थप पानीको आवश्यकता हुन्छ ।
तलको तालिकाले केही महत्वपूर्ण खाद्य पदार्थहरू उत्पादन गर्न आवश्यक पानीको मात्राको मान देखाउँछ । १ किलोग्राम उत्पादन गर्न १७ हजार १९६ लिटर पानी आवश्यक पर्ने चकलेट सूचीको शीर्ष स्थानमा छ । गाईको मासु, भेँडा र सुँगुरको मासुलाई पनि उत्पादनको लागि उच्च मात्रामा पानी चाहिन्छ । मासुको उत्पादनको तुलनामा तरकारी खाद्य पदार्थहरूलाई धेरै कम पानी चाहिन्छ । उदाहरणका लागि १ किलो हरियो सागको लागि ५०० लिटर पानी चाहिन्छ ।समग्रमा, शाकाहारीहरूले भनेजस्तै मासु नखाने हो भने पानीको समस्या समाधान भइहाल्ने होइन । यद्यपि, शाकाहारी हुने हो भने धेरै हदसम्म पानी पदचिह्न निश्चितरूपमा घटाउन सकिन्छ । औद्योगिक देशहरूमा शाकाहारी आहारतिर लाग्दा मानिसहरूको खानासम्बन्धी पानीको पदचिह्न ३६ प्रतिशतले घटाउन सकिने अनुमान छ । दाना उत्पादन गर्न आवश्यक पर्ने पानी नै पशु उत्पादनको पानीको पदचिह्न पछाडिको प्रमुख कारक हो । त्यसैले, मासु र दुग्ध उत्पादनको निम्ति पानीको पदचिह्न कम गर्ने उपायहरू खोज्नको लागि दाना उत्पादनको संरचना र दाना अवयवहरूको उत्पत्तिको समीक्षा गर्नु आवश्यक छ ।

(लेखक ख्वप कलेजमा वातावरण विषय प्राध्यापन गर्नुहुन्छ ।)

One response to “के मासु उत्पादनको कारण खानेपानीको अभाव भएको हो ?”

  1. Prakash Ajaat says:

    साजगीजी, त्यसै कारण विश्व वातावरण जोगाउनका लागि र पशुकल्याणकै लागि समेत शाकाहारी बनौँ। यहाँले प्रोटिनको कुरा त गर्नुभयो तर प्लान्ट प्रोटिनको कुरा गर्नु भएन। मासुभन्दा पनि बढी प्रोटिन भटमासलगायतका दलहन उत्पादनमा पाइन्छन्। त्यसबारे पनि कुरा गर्न थालौँ। पृथ्वी जोगाउँ, ख्वप संस्कृतिमा पनि मासु र पशु क्रुरता कम गर्नेबारे बहस चलाउँ। लाल सलाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *