भर्खरै :

शासक पार्टीहरूको भ्रष्टाचार र कमिसनतन्त्रका कारण पुँजीवादी प्रजातन्त्र जनताबिच बदनाम

शासक पार्टीहरूको भ्रष्टाचार र कमिसनतन्त्रका कारण पुँजीवादी प्रजातन्त्र जनताबिच बदनाम

भक्तपुर, १९ असार । भ्रष्टाचारविरोधी आन्दोलन सन्दर्भमा मङ्गलबार नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले एक कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सभा सदस्य प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारी भए देश र जनतालाई दुःख हुने बताउँदै बहुदलीय प्रजातन्त्र पुनः स्थापनायता पाँच पटक मन्त्री भएकाले अर्बाैँ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख गर्नुभयो । उहाँले राजा महाराजा, सामन्त र जमिनदारहरूले जग्गा जमिन कब्जा गरी शासन गरे भने पुँजीपतिवर्गले उद्योग – व्यापार कब्जा गरी शासन गर्दै छन् भन्नुभयो ।
मन्त्रिपरिषद्ले गरेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न दिने गिरीबन्धु र स्टेटको हदबन्दीभन्दा बढी अर्बाैँ अर्ब रुपैयाँको जग्गा बिक्री गर्न दिने गोकर्ण रिसार्टको २७ रोपनी जग्गा अवधि छँदै ५० वर्षको लागि पुनः लिजमा दिनेलगायत निर्णय नीतिगत हुन नसक्ने बताउँदै उहाँले यसका दोषीहरूलाई कानुनबमोजिम कारबाही हुनु जरुरी छ भन्नुभयो ।
सांसद सुवालले अगाडि भन्नुभयो, “एनसेलको खर्बाैँ रुपैयाँ कर नउठाउने प्रधानमन्त्री, अर्थमन्त्री र कर प्रशासकहरू एनसेललाई १८ अर्ब कर घटाइदिने न्यायाधीशहरू सगरमाथा राष्ट्रिय निकुञ्ज र सार्वजनिक कमलपोखरी, पर्ती जग्गा, जङ्गल व्यक्तिको नाममा दर्ता गरिदिनेहरू सरकारी अधिकारीमाथि भ्रष्टाचारको मुद्दा चलाउनुपर्दछ ।
कार्यवाहक प्रधानन्यायाधीश छँदा नागरिकता प्रमाणीकरण गर्नेविरुद्ध अल्पकालीन अन्तरिम आदेश गरेकाले प्रधानन्यायाधीश भएपछि अल्पकालीन आन्तरिक आदेश खारेज गर्नु देशको हितमा नभएको उहाँले बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “प्रम र अर्थमन्त्रीले आआफ्नो अनुकुल खर्च गर्न अर्थ विविध शीर्षकमा ७३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको अनियमितता नै हो । सत्ता पक्षको कतिपय पार्टीका सांसदहरूलाई यही बजेट भागबन्डा पु¥याउने वाचा गरी प्रम र अर्थमन्त्रीले संसद्बाट बजेट पारित गराएको सार्वजनिक भयो ।”
बजेटमा कृषि, शिक्षा, जलविद्युत् उत्पादन, स्वास्थ्यलाई पर्याप्त बजेट राखी प्राथमिकता नदिइएको बताउँदै उहाँले दाल, चामल, तरकारी, भारतबाट आयात गरेर सरकारले धान दिवस मनाउनुको औचित्य छैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भूमिमाथिको सामन्ती एकाधिकार तोडेर वास्तविक जोताहा किसानलाई जमिन बाँडफाँट नगरिएसम्म किसानको वास्तविक समस्या समाधान नहुने विचार राख्नुभयो । उहाँले २०२५ र २०२६ सालमा भक्तपुरमा भएको ऐतिहासिक किसान आन्दोलन अघि २००९ सालदेखि नेपालको पूर्वी तराईमा भएको किसान आन्दोलन भएको चर्चा गर्नुभयो । उहाँले भक्तपुरमा बाली तिरिसकेपछि भर्पाई लिने आन्दोलन चलेजस्तै तराईमा उतिबेला नक्कली तमसुक च्यात्ने आन्दोलन चलेको भन्दै किसानहरूले जमिन जोत्नेको, बेठबेगारी खारेजी, कर्जाको निम्ति धर्मभकारीजस्ता नारा लगाइएको किसान आन्दोलनको इतिहास स्मरण गर्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले भ्रष्टाचारविरोधी आन्दोलन आफैमा भ्रष्टाचारविरुद्धको आन्दोलन हो भन्नुभयो । उहाँले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छाया बराबर हुने भएकोले पुँजीवादी व्यवस्थाविरुद्धको आन्दोलनलाई तीव्र बनाउनुपर्ने विचार राख्नुभयो ।
नेक्राकिसङ्घ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष केशव तिमिल्सिनाले भ्रष्टाचारविरुद्धको किसान आन्दोलन नै नेमकिपाको स्थापनाको एक आधार हो भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेक्राकिसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले नयाँ पुस्तालाई भ्रष्टाचारविरुद्धको सङ्घर्षमा उतार्नुपर्ने विचार राख्नुभयो । कार्यक्रममा नेक्राकिसङ्घका नारायणभक्त न्हेम्हाफुकीले पनि भ्रष्टाचारविरोधी आन्दोलनको महत्वबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *