भर्खरै :

किसान समस्या र रोपाइँबारे युवाहरूको विचार

किसान समस्या र रोपाइँबारे युवाहरूको विचार
नेपालले चीनबाट सिक्नुपर्छ
– तुल्सीदास दुमरु
किसानहरूलाई सरकारले कहिले पनि समयमा मल र जलको व्यवस्था गरेको छैन । किसान जमिनसँग सङ्घर्ष गरेर अन्न उत्पादन गर्नमा लागेको हुन्छ । यदि अन्न उत्पादन भएन भने देशको अर्थतन्त्रमा असर पर्छ । उदाहरणको लागि छिमेकी देश चीन र भारतलाई लिन सकिन्छ । चीनले किसानको लागि बीउबिजन, कृषि औजार र मलजलको राम्रो व्यवस्था गरेको हुन्छ र कृषिको लागि वैज्ञानिकहरू दिनरात खटिरहेका हुन्छन् । त्यहाँ एक रोपनीमा २२ मुरीसम्म धान फलेको कुरा समाचारमा आएको छ । पहिले त्यहाँका जनतालाई खान पुग्दैनथ्यो । अहिले धान चामल निर्यात गर्ने देशमा पर्दछ चीन । भारतमा पनि सरकारबाट कुनै न कुनै मल र जल व्यवस्था गरेको कुरा समाचारमा सुनेको छु । तर, हाम्रो देशमा शासकहरूले जहिले पनि  कमिसन खाने भएर मल कारखाना स्थापना गर्ने काम गरेका छैनन् । हाम्रो देशमा आकाशको भरमा खेती गर्नुपर्छ । कहिले वर्षा समयमा नहुँदा खडेरी लाग्छ । कहिले मल समयमा आउँदैन । संसारमा सबैभन्दा बढी किसान छन् । किसानको समस्या समाधान भएन भने गरिबी बढ्दै जान्छ । त्यसकारण, सरकारले किसानको लागि चाहिने मल, जल, कृषिऔजार, बीउबिजनको व्यवस्था गरिदिनुपर्छ । अहिले हाम्रो देशमा पहाड तथा तराईको अधिकांश ठाउँमा खेती बाँझो छ । खेत बाँझोे हुनुको मुख्य कारण मल र जल समयमा नहुनु र खेतीपातीमा आम्दानीभन्दा घाटा हुनु हो । हुन पनि हामी पहिलेदेखि खेतीपातीमा काम गर्दा जसोतसो खान पुग्थ्यो । धेरै मेहनत गर्नुपर्ने हुन्छ । शासक दलहरूले किसानहरूको हितको लागि काम गरेका भए आजको स्थिति आउने थिएन ।
पहिले पहिले मल नै हुँदैनथ्यो । खेतमै कालो माटो निकाल्ने (काँ कायेगु) चलन थियो । त्यसबेला बढीमा रोपनीको ३ मुरी धान फल्थ्यो । जग्गा धनीलाई बाली तिर्दा आफूलाई भुसमात्र बाँकी हुन्थ्यो । नेपालका किसानहरूको लागि छिमेकी देश चीनबाट हाइब्रीड धान जितुजीबाट सरकारले सधैँ व्यवस्था गरेको भए किसानहरूको लागि फाइदा हुन्थ्यो । पहिला टाइचिन धानको बीउ नआएको बेला किसानहरूलाई धेरै दुःख हुन्थ्यो र पछि टाइचिन धानको बीउ ल्याएर रोप्दा धान धेरै फल्यो । अनि भूमिसुधार पनि भयो । त्यसबाट किसानहरूलाई अलि फाइदा भएको थियो । हाइब्रीड धान रोप्दा आधी धान खानलाई पुग्थ्यो, आधी बेच्न पाउँथ्यो । यसको लागि नेपालले छिमेकी देश चीनबाट सिक्नुपर्छ । हाइब्रीड धानको बीउको सुरुमा एक रोपनीमा १३ मुरीसम्म फलेको थियो ।
अहिले पनि राज्यबाट किसानहरूको लागि कुन ठाउँमा कुन किसिमको धानको बीउ राख्नुपर्छ भन्ने कुरा कृषि वैज्ञानिकबाट अनुसन्धान गरेर किसानहरूको लागि व्यवस्था गरेको खण्डमा हाइब्रीड धानबाट हामी नेपालीको लागि पुग्ने धान यहाँ उत्पादन गर्न सकिन्छ । तर, अहिले १० किलो मल लिन लाइन बस्नुपर्ने अवस्था छ । तरकारी बाली गर्ने किसानको पनि मेहनत धेरै हुन्थ्यो तर आखिरमा हातमा शून्य भएको अवस्थामा छ ।
किसानहरूको लागि चाहिने मल, जल तथा बीउबिजन व्यवस्था गरेको खण्डमा राम्रो अन्न उत्पादन हुन्थ्यो । मानिसहरू खुसी हुन्थे ।
देश परनिर्भर
– मेनुका ख्याजू
नेपाल कृषिप्रधान देश हो । यहाँका मानिसहरूको प्रमुख पेसा खेती हो । यहाँका अधिकांश जनता खेतीको उब्जाउमा निर्भर छन् । तर, दुःखको कुरा यहाँ आजभोलि खेती गर्ने पेसा कमैले अपनाएका छन् । यसको मुख्य कारण कृषि क्षेत्रमा देखिएको समस्या हो । किसानहरूले आफूले गरेको मेहनतअनुसार प्रतिफल पाएका छैनन् । आवश्यक मल तथा सिँचाइको राम्रो व्यवस्था भएको छैन । यसकारण, किसानहरूको कृषि पेसामा ध्यान गएको देखिँदैन । फलस्वरूप हाल जग्गा प्लटिङको योजनाले तीव्रगति लिइरहेको देख्न सकिन्छ ।
सरकारले कृषि क्षेत्रको विकास गर्नको लागि विशेष योजना निर्माण तथा कार्यान्वयन गर्न जरुरी देखिन्छ । यसो नभए छिमेकी देशको भरमा हामी बस्न बाध्य हुनेछौँ ।
खडेरी देशको अर्काे समस्या
– मोनालिसा शिल्पकार
नेपालको कृषि क्षेत्रमा भएको मुख्य समस्या पानीको कमी हुनु तथा खडेरी पर्नु हो । मलको कमी हुनु, मलखाद् थोरै हुनु र वर्षा नहुनु अर्काे समस्या हो । माटोमा पानीको अभावले बाली र पशुधनको उत्पादकत्वमा हानि पु¥याउँछ । पानीको कारणले खडेरी पर्छ, खडेरीले बाली, पशुधनको क्षेत्रमा समस्या निम्त्याउँछ ।
मलको अभावले अधिकांशको खेतमा बाली उत्पादनमा कमी आएको छ । किसानहरूसँग मलखाद् पनि थोरै भएकाले आवश्यक मल आपूर्ति गर्न समस्या भइरहेको छ । धेरै किसानहरूको रोपाइँमा समस्या भइरहेको छ । कृषकहरू मनसुनको वर्षामा निर्भर हुन बाध्य छन्, जुन भरपर्दाे छैन । पानी ल्याउन २÷४ दिन बास बस्नुपर्ने कृषकको ठूलो समस्या हो । वर्षा पर्याप्त नभएकोले रोपाइँ ढिला भएको छ ।
अनुदानको मल खोइ ?
– कृष्ण गारु
आज असार २० गते भइसकेको छ । तर, देशभरि रोपाइँ भएको छैन । सरकारले किसानको हितमा स्पष्ट नीति नल्याउँदा उनीहरूलाई ठूलै मर्का छ । राजनैतिक दृष्टिकोण स्पष्ट नहुँदा र जलवायु परिवर्तनले गर्दा आज यो अवस्था आएको हो ।
धानको ब्याड लगाइसकेपछि पानी नपर्नु, खडेरीले गर्दा बीउ राम्रो नहुर्केको कारणले किसानहरू चिन्तित छन् । नहरमा पानी नहुनु र भए तापनि पालो कुर्दा ब्याड सुकेकोले किसानहरू मर्कामा परेका हुन् ।
सरकार मलको अभाव छैन भनिरहँदा कृषकले घण्टौँसम्म लाइन बसेपछि बल्ल पाँच के.जी. वा १० के.जी. मल पाउँछ । किसानहरू खाऊँ भने दिनभरिको शिकार नखाऊँ भने कान्छा बाबुको अनुहारझैँ भएका छन् । सरकारले अनुदानको मल खासै ल्याउन सकेको छैन । ट्याक्टर भाँडा महँगो छ । बोरिङ गरेर पानी निकालौँ भने तापनि महँगो हुन्छ ।
अतः यसपालिको रोपाइँमा सरकारको पूर्वतयारी नहुनु, कामभन्दा भाषणमा जोड दिनु र जलवायु परिवर्तनले गर्दा धान उत्पादनमा कमी हुने भएकाले किसानहरू चिन्तित छन् ।
खेतालाको समस्या
–रामेश्वरी लवजू
नेपालका अधिकांश क्षेत्रमा कृषियोग्य जमिन छ । नेपाल जलस्रोतको धनी देश पनि हो । यहाँ विभिन्न किसिमका खाद्य वस्तुको उत्पादन हुन्छ । जस्तैः धान, गहँु, मकै, कोदो आदि । तर, नेपाल कृषिप्रधान र जलस्रोतको देश भए पनि किसानले खेती गर्ने बेला विभिन्न समस्याहरू भोग्नुपरेको छ । असारको धान खेतीको बेलामा प्रायः सबै किसानहरूले धान रोपाइँ गरेका छैनन् । सरकारले समयमै पुग्दो मात्रामा मलको आपूर्ति गर्न सकेको छैन । मलको अभावमा किसानले धान रोप्नसकेका छैनन् । यस पालि मनसुन ढिला सुरु भएकोले र धानको बीउ सुक्नाले पनि उनीहरूले समयमै धान रोप्न सकेका छैनन् । लामो समय खडेरी भएको, सिँचाइको पनि राम्रो व्यवस्था नभएकोले किसानलाई धेरै समस्या छ । खेत जोत्न गोरुको समस्याले खेतालाको भरमा रोपाइँ गर्नुपर्ने समस्या छ ।
खडेरीको कारण फसल नष्ट
– आर्यन कोजू
नेपाल कृषिप्रधान देश हो । जहाँ किसानहरूको मुख्य पेसा खेतीपाती नै हुन्छ र पशुपालन पनि हुन्छ । नेपालमा कृषिजन्य जमिन छ । कृषिजन्य जमिन भए पनि नेपालमा किसानहरूको धेरै समस्या यथावत छ ।
किसानहरूको एक मुख्य समस्या पानीको अभाव हो । नेपाल जलस्रोतमा विश्वको धनी देशमा पर्छ । तर, पनि किसानहरूलाई पानीको अभाव भइरहेको छ । नेपालको विभिन्न सुक्खा र अर्धसुक्खा क्षेत्रहरूमा पानीको मुहान सीमित छ । कृषिको लागि पानी पुग्दैन । नेपालमा मौसम परिवर्तनका कारण पुग्दो मात्रामा वर्षा हुँदैन । कहिले वर्षा नहुने त कहिले अति वर्षाले गर्दा फसलहरू नष्ट हुने हुन्छ ।
नेपालको किसानहरूको अर्को मुख्य समस्या रासायनिक मलको अभाव हो । किसानहरूको खाद्यान्न सस्तोमा बिक्री हुन्छ । किसानहरूले सुपथ मूल्यमा रासायनिक मल किन्न पाएका छैनन् ।
खडेरीका कारण किसानको फसल नष्ट भइरहेको छ ।  वर्षाको कमीले गर्दा खडेरी परेको हो । तापमानको वृद्धि, अनियमित मौसम र जलवायु विकासमा बदलाव आदिको कारण खेतीमा अर्धसुक्खा हुन्छ । यसले बाली सप्रँदैन, सप्रे पनि फल पाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *