भर्खरै :

सुनभन्दा नुन पाउन मुस्किल

सुनभन्दा नुन पाउन मुस्किल

सुन प्रशस्त किन्न पाउने यो देशमा नुन पाउन मुस्किल भएको देखेर पीडित जनता आक्रोशित छन् । यो नुन पनि रासायनिक मलझैँ वर्षैपिच्छे अभाव हुन्छ । जनतालाई चाहिने नुन पनि सरकारले पर्याप्त पु¥याउन सकेन । नुनको अभाव डोल्पा, मुगु, कालीकोटमा मात्र होइन जुम्लामा पनि देखियो । नुनको विषयमा जुम्लामा त ठूलो झडपै भयो । नुन लिन आएका सेवाग्राही र प्रहरीबिच झडप भएको थियो । झडपको क्रममा साल्ट ट्रेडिङ भवन नै तोडफोड भयो । उपभोक्ताहरू एकदुई दिन लगाएर सदरमुकाममा नुन लिन आउँछन्, महँगो भाडा खर्च गर्छन् । टाढाबाट सधैँ नुन किन्न आउन सक्दैनन् । दिनभरि लाइन बसेर ५ किलो उनीहरूले बल्ल नुन पाउँछन् । खर्चको हिसाब गर्दा एक किलो नुनको २ सय रूपैयाँभन्दा बढी पर्ने उनीहरू बताउँछन् ।
डोल्पा, मुगु, कालीकोट र जुम्लाका बासिन्दाहरू नुन जतिको सस्तो वस्तु पनि नपाउने भयो यो देशमा भनी गुनासो गर्छन् । सरकार सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको फुक्छ । सरकार गठनमा, मन्त्री बन्नमा तँछाडमछाड गर्न पछि नपर्ने सत्तारुढ दलका नेता र मन्त्रीहरूले जनतालाई दैनिकी चाहिने नुन पनि पर्याप्त दिन सकेनन् । साल्ट ट्रेडिङले हप्ताको एकदिन प्रतिव्यक्ति ५ किलो नुन बिक्री गर्ने गरेको छ । साल्ट ट्रेडिङले आ–आफ्ना जिल्ला, नगर या गाउँमा मागअनुसारको नुन बिक्री वितरण गर्नुपर्छ । नुन बिक्री हप्ताको एकचोटि होइन हरेक दिन गर्नुपर्ने देखिन्छ । हरेक दिन बिक्री भए, नुनको समस्या हुँदैनथ्यो, नुनकै कारण जनता आक्रोशित हुँदैनथे र साल्ट ट्रेडिङको भवनमा ढुङ्गा हानाहान हुँदैनथ्यो । यसबारे जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।
डोल्पा, मुगु, कालीकोट, जुम्लाका धेरै बिकट र दुर्गम स्थानहरू छन् । त्यहाँका बासिन्दाहरू सदरमुकाम पस्न भिर पाखा, डाँडाकाँडा भएर आउनुपर्छ । वर्षाको समय छ । बाढी पहिरो आउने सम्भावना छ । वर्षाको कारण बाटो चिप्लो हुन्छ । यात्रा जोखिमपूर्ण हुन्छ । कति ठाउँमा भिरबाट ढुङ्गा खस्ला र लाग्ला भन्ने चिन्ता हुन्छ । खुट्टा चिप्लिएर कतै खसे बाँच्ने ठेगान हुँदैन न त खसेको व्यक्ति खोज्न नै सजिलो हुन्छ । बाटोमा आउँदा आउँदै यस्ता पिर समस्याको पोको लिएर आएका सेवाग्राहीहरू साल्ट ट्रेडिङमा पुगेर ५ किलोभन्दा नुन पाउँदैनन् । जनताको यो समस्या सरकार किन बुभ्mदैन ?
दुर्गम र विकट स्थानका जनतालाई नुनको मात्र समस्या होइन, झाडापखाला लाग्दा जीवन जलको अभाव हुन्छ, खाद्यान्नको अभाव हुन्छ । रासायनिक मल पुग्दैन । त्यस्तै अन्य समस्या त कति छ कति ! बाटोघाटोको समस्याले आवतजावत गर्न कठिन । बाढी पहिरोको समस्या त छँदै छ । यस्ता समस्यै समस्या भोगेका स्थानीय जनताले नुन पाउन पनि ज्यानको बाजी राखेर सदरमुकाम पस्नुपर्छ । तर, पसेर पनि सेवाग्राहीले पर्याप्त नुन पाउँदैन । जनताको दुःख जस्ताको तस्तै छ । विगतको यो समस्या अब नदोहोरियोस् । जनतालाई समयमै राहत दिनुपर्छ । यसमा स्थानीयदेखि केन्द्रीय सरकारको ध्यान पुग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *