भर्खरै :

लघुवित्त र ऋणीहरूबिच बढ्दो अविश्वास

पिछडिएका समुदाय र महिलाहरूको उत्थान विकासको र नाममा आएका लघुवित्त संस्थाहरूले आज लगानी गरेका पैसा उठाउन अनेक दुःखकष्ट खेप्नु परेका छन् । पछिल्लो समयमा समूह सदस्य सङ्ख्या बढाउने, धेरै ऋण लगानी गरेर ब्याज असुलेर पैसा कमाउने सोचमा जथाभावी पैसा लगानी भएको थाहा भएको छ । यसको परिणाम आज लघुवित्त संस्थाले भोग्नुपरेको हो । समूहमा बसेर ऋण लिएका कति महिला दिदीबहिनीहरूले मासिक किस्ता तिर्न नसकेर घरबार भताभुङ्ग बनेको पनि समाजमा देख्न पाइन्छ ।
गाउँ समाजमा अझै अशिक्षित मानिसहरू छन् । त्यस्ता मानिसहरूमा पैसाको प्रयोग गर्ने ज्ञान अरूमा भन्दा कम हुन्छ । उनीहरूलाई लगानी गर्ने क्षेत्रहरू निर्धारण गर्न गाह्रो हुन्छ । ऋण लिएको पैसा अनावश्यकरूपमा खर्च हुन्छ । आम्दानीको स्रोत नभएमा मासिकरूपमा ब्याजसहितको किस्ता तिर्न गा¥हो हुन्छ । सर्वप्रथम ग्रामीण इलाकाका महिलाहरूलाई सीपमूलक तालिम, लगानी गर्ने क्षेत्रहरूको पहिचानको विषयमा शिक्षा दिनुपर्ने विज्ञहरूको सुझाव छ । लघुवित्त लगानीकर्ताहरूको जसरी हुन्छ पैसा धेरै कमाउने सोच बन्दा दुबै पक्षले समस्या खेप्नु परेको हो । परिश्रम गरेर खाइरहेको परिवारमा लघुवित्तले बिनाधितो ऋण दिँदा जाँडरक्सी खाएरै बसिदिने, काम नगर्ने समस्या पनि आएको जनगुनासो छ । जुवातास खेलेर पैसा उडाइदिने, घर परिवारमा झैझगडा, कोलाहल हुने गरेको समाजका सचेत नागरिकहरूबाट बुझ्न सकिन्छ ।
आजभोलि ऋणीहरूले अराजक क्रियाकलापसमेत गर्न थालेका छन् । गाउँघरमा लघुवित्त संस्थाहरूलाई प्रवेश निषेध भनी बाटोमा कालो ब्यानर झुन्ड्याएर, कर्मचारी थर्काएर सशङ्कित र त्रासदीपूर्ण वातावरण सिर्जना भएका छन् । समूहमा बसेर ऋण तिर्न नसकेपछि उछृङ्खेल व्यवहार देखाउने, उपद्रो गर्न उक्साउनेहरू गाउँका बाठाटाठा टोपलिने व्यक्तिहरू नै अग्रसर देखिन्छन् । महँगो ब्याज असुल्ने लघुवित्त संस्थाहरू बहिष्कार गरौँ भन्दै बजार, सदरमुकामहरूमा विरोध जुलुस र आन्दोलन हुन थालेका छन् । यस्ता गतिविधि हुनुलाई कतिपय मानिसले अराजक क्रियाकलाप बताउने गरेका छन् ।
एकआपसको सम्बन्ध, सामाजिक सद्भाव बिग्रने र मनमुताव बढ्नाले समाज विकासमा अवरोध पुग्न जान्छ । कसैको कार्य, व्यवहारले समाजलाई खलल पु¥याउनु हुन्न भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *