भर्खरै :

धर्ममा लैङिक समानता

-सुनिता गाइसी
२१ औं शताब्दीको नारी अझ पनि लैङिक हिंसा र असमानताका शिकार भएका छन् । वास्तवमै नारी समानताको नारा नारामै सीमित भएको देखिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने आधा आकाश ढाक्ने जनसङ्ख्या महिलाको छ । २०६८ को जनगणनाले नेपालको कूल जनसङ्ख्याको ५१ प्रतिशत महिला रहेको तथ्याड्ढ सार्वजनिक गरेको छ । तर महिलाको साक्षरताको कुरा गर्ने हो भने जम्मा ५७ प्रतिशत महिलामात्र शिक्षित छन् । कूल जनसङ्ख्याको आधाभन्दा बढी प्रतिशत रहेका महिला शिक्षा, स्वास्थ्य र सम्पत्तिको अधिकारबाट बञ्चित छन् । यसले देशको विकास निर्माणमा असर परेको छ । जबसम्म लैङिक समानता हुँदैन तबसम्म देश विकासको गति तीव्र बन्न सक्दैन ।
नेपाली समाजलाई विभिन्न धार्मिक क्रियाकलाप र संस्कारले बाँधेको छ । आज लैङिक असमानता हुनुको पछाडिका कारण खोतल्ने हो भने हाम्रो धर्म, संस्कृति परम्परा इत्यादि कुराहरू आउँदछन् । ‘छोरा नभए स्वर्ग पुगिँदैन, पिण्ड खान पाइँदैन’ भनी समाजले पुरुषलाई बढी मान्यता दिएको छ । वास्तवमै विभिन्न धर्ममा लैङिक समानतासम्बन्धी विषयलाई अध्ययन गर्ने हो भने केही धर्मले लैङिक समानतालाई जोड दिएको छ भने केही धर्मले लैङिक विभेदलाई अझ बढाएको छ । सबै धर्मले महिला र पुरुष समानताको कुरा गरे पनि धर्म प्रचारक र पुजारी पुरोहितले यसको गलत प्रचार–प्रसार गरेकोले लैङिक असमानता झन् बढेको छ ।
हिन्दू धर्म र महिला
वेदकालीन समयमा महिलाहरू स्वतन्त्र थिए भन्ने कुरामा सबै सहमत देखिन्छन् । उनीहरू छोरीको विवाहभन्दा शिक्षणमा प्राथमिकता दिन्थे । त्यसैले महिलाहरू पनि वेदका प्रकाण्ड विद्वान् थिए । आत्रेयीले दक्षिण भारतमा गई वेद र भारतीय दर्शन पढेकी थिइन् । उभय भारती वेदकी प्रकाण्ड विद्वान् थिइन् । वेदकालमा महिलाहरू या त सिद्ध बन्धु हुन्थे जो विवाह गरी घरजम गर्दथे अथवा ब्राह्मणबधिनी हुन्थे । उनीहरू धार्मिक हुन्थे । त्यसबेला महिलाहरू पुरुषको अर्धाङनी मात्र नकहलिएर पुरुषको सहयोगी मानिन्थे । यसरी पुरुष परदेश गएका बखत आवश्यक पाठ, होम, कर्मकाण्ड, छोरा सन्तानको उपनयन, श्राद्धजस्ता कर्मकाण्ड महिलाले चलाउँथे । ऋग्वेदमा महिलाको शारीरिक अवयवको विकास भएपछि विवाह गर्न योग्य मानिने र कन्या विवाहको उमेरको निर्धारण यति नै भनी यकिन नभएको पाइन्छ । महिलालाई जया, जनी र पत्नी भनी सम्बोधन गरिन्थ्यो । जया भन्नाले पतिको मायाको हकदार, जनी भन्नाले आमा र पत्नी भन्नाले अर्धाङनी बुझिन्थ्यो ।
हिन्दू धर्म र वेदमा सम्बन्धविच्छेदबारे केही उल्लेख गरिएको छैन । हिन्दू धर्ममा विवाहलाई दुई आत्माको मिलन, जुन मृत्युपछि समाप्त हुने भन्ने विश्वास छ । हिन्दू धर्ममा महिलाहरूलाई सङ्कीर्णताका साथ हेर्नुको कारण आर्यहरू जब एसियामा आए, तिनीहरूले स्थानीय द्रविडहरूसँग युद्ध लड्नु परेको थियो । यसरी बसोबासको क्रममा उनीहरूले स्थानीय द्रविड महिलाहरूसँग बिहेवारी गर्न थाले । आर्य महिलाहरू विद्वान थिए, स्वतन्त्र र शिक्षित थिए तर द्रविड महिलाहरू ‘अज्ञानी’ थिए । पढे–लेखेका थिएनन् । द्रविड महिलासँग विवाह गरेका आर्यहरू पढेलेखेका थिएनन् । द्रविड महिलाहरूसँग विवाह गरेका आर्यहरूको चिन्ता अनपढ, अशिक्षित ती महिलाहरूलाई पनि आर्य महिलालाई दिएको अधिकार दिने हो भने तिनले महिलाले गर्ने कर्मकाण्डको नाममा द्रविड संस्कृतिलाई आर्यहरूको संस्कृतिमा मिलाएर दुषित बनाउलान् कि भन्ने थियो । त्यसकारण आर्य महिलाको स्वतन्त्रता, तिनले गर्न पाउने पुरुषसरहको धार्मिक, सामाजिक अनुष्ठानहरू गर्न रोक लगाइएको थियो । यसपछि आर्य महिलाहरू पनि सबै स्वतन्त्रताबाट बञ्चित हुन पुगेका थिए । त्यहीबेलादेखि महिलाहरू धार्मिक कर्मकाण्डको वास्तविक साक्षीमात्र मानिएका थिए । साथै महिलाहरूको काम पूजाआजा गर्ने, उपवास बस्ने, मन्दिर जाने कार्यमा मात्र सीमित रह्यो । यसरी विस्तारै हिन्दू धर्ममा महिलाको सन्दर्भमा सक्दो सङ्कीर्ण व्याख्या हुँदै गयो ।
ब्राहमणवादी युग महिलाको हकमा अरु कठोर युगको रुपमा देखिन थाल्यो । मैत्रनीसंहितामा महिलाहरूलाई तास–जुवाको खालमा जान, जाँड रक्सी खान रोक लगाइयो । यसरी यस युगमा महिलालाई मानव समाजको दोस्रो दर्जाको रुपमा हेर्न थालियो । अतरिया ब्राह्मणले छोरीको बारेमा यस्तो अभिव्यक्ति दिएका थिए ः– ‘पत्नी मित्र हो, छोरी दुःख हो, छोरा स्वर्ग जाने उच्च प्रकाश हो ।’ यो भनाइबाट पनि त्यतिबेलाको समाजमा महिलाको स्थान उच्च नभएको थाहा पाउन सकिन्छ । कविरले महिलाको बारेमा यसरी व्याख्या गरेका थिएः– ‘ढोल सुद्ध, पशु, नारी यस सब है ताडनाके मारी’ । हिन्दू धर्ममा महिलाको सन्दर्भमा सङ्कीर्ण सोच रहेको भए तापनि अरु धर्मको तुलनामा फरक संस्कारहरू पाइन्छन् । अन्य धर्ममा महिलालाई देवताको रुपमा पूजनीय भएको उदाहरण अत्यन्त कम पाइन्छ । तर हिन्दू धर्ममा नरमात्र होइन, नारी पनि देवीको रुपमा सम्मानित छन् । नरनारी दुवैको देवीदेवताको रुप संयुक्त पूजा हुने गरेको पाइन्छ । जस्तैः विष्णु–लक्ष्मी, ब्रहमा–सरस्वती, शिव–पार्वती, राधा–कृष्णलाई समान आदर हिन्दूहरूले प्रदान गर्ने गरेका छन् । यस्तै शक्तिको प्रतीक मानिएको काली लाई महादेव र इन्द्रले पनि आराधना गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा हिन्दूधर्ममा आर्यकालमा महिलाहरू पुरुषसरह स्वतन्त्र थिए । महिलाहरू पनि व्याकरणका ज्ञाता थिए । शास्त्रका ज्ञाता र वादविवादमा पुरुषभन्दा कम थिएनन् । उपनिषद्का अनुसार मैत्रेयीले आचार्य पदवीसम्म पाएकी थिइन् । त्यसबेला वेदले बहुविवाहको कल्पना गरेको थिएन । ऋग्वेदअनुसार दुई पत्नीको पति हुनु भनेको जीवनको अर्थ उद्देश्यहीन हुनु हो । यसरी हिन्दूहरूको विशाल संस्कृति छ जहाँ महिलाहरू सम्मानित छन्, पुजिएका छन् ।
बौद्ध धर्म र महिला
बुद्ध धर्मसम्बन्धी अध्येताहरूका अनुसार बुद्धकालमा भगवान बुद्धले भिक्षुणीहरूलाई समेत स्तुपामा पूजाआजा र यसको सङ्गठनमा भाग लिन लगाएका थिए । त्यसबेला यो एउटा प्रगतिशील प्रयोग नै थियो । यसरी भिक्षुणीहरूको लगनशीलता र परिश्रमका कारण बौद्ध धर्मसम्बन्धी प्रचार–प्रसारमा त्यसबखत प्रशस्त प्रगति भएको थियो । भिक्षुणीहरू सामाजिक काममा लागेका थिए । डा.मेतानन्दो सामाजिक काममा पनि सक्रिय थिए । डा. मेतानन्दो भिक्षुका अनुसार बुद्ध भगवानका अनुयायी महाकस्यप र त्यस बखतका अन्य भिक्षुहरू भिक्षुणीहरूका प्रशंसनीय प्रतिष्ठाको डाहा गर्न थालेका थिए । जुन इष्र्याले नकारात्मक प्रभाव पार्न थाल्यो । तसर्थ भिक्षुहरूले महिला भिक्षुणीउपर नियन्त्रण गर्नका निम्ति अठ्ठगुरुधामसम्बन्धी नियम बनाएका थिए । उक्त अठ्ठगुरुधाममा यस्ता नियमहरू उल्लेख छन् –
– भिक्षुणीहरू जति समयसम्म सङ्घमा बस्छन्, उनीहरू साना–ठूला भिक्षुहरूको अगाडि झुक्नुपर्ने,
– प्रवचन सुन्नका निम्ति भिक्षुणीहरूले भिक्षुहरूको अनुमति लिनुपर्ने,
– कुनै पनि कारणबाट भिक्षुणीहरूले भिक्षुहरूलाई गाली गर्न नहुने आदि ।
बुद्ध धर्ममा भिक्षु–भिक्षुणीको समान अस्तित्व कायम भएको देखिन्छ । तर व्यवहारमा महिला भिक्षुणीलाई पुरुष भिक्षुसरहको समान हकको व्यवस्था गरेको पाइँदैन । बुद्धको पालादेखि नै भिक्षुणीहरू असुरक्षित नहोऊन् भनी विशेष ध्यान पु¥याइएको थियो । वास्तवमा बौद्ध भिक्षुणीहरूको नाममात्रको समानता कायम थियो । तर थोरै सङ्ख्यामा भिक्षुणीहरू उच्च स्थान हासिल गर्न सफल भएको पाइएको छ । बुद्ध भगवानले परिनिर्वाण प्राप्त गरेपछि उनको प्रथम भिक्षुणी आफ्नै सानी आमा महाप्रजापति गौतमी थिइन् । उनले गौतम बुद्धको आफ्नी आमाको मृत्युपश्चात् नाबालक बुद्धको लालनपालन गरेकी थिइन् । गौतमले दीक्षा पाएपछि भिक्षुणीहरूको सङ्घ निर्माण भएको देखिन्छ । बौद्ध धर्ममा महिलाको स्थितिका बारेमा अध्ययन गर्दा तिब्बती समुदायमा तान्त्रिक महिलाहरू जस्तै खान्द्रो, रिम्पोचे पनि थिए । समग्रमा हेर्दा बौद्ध धर्ममा महिलाको स्थान रामै्र देखिन्छ ।
मुस्लिम धर्म र महिला
इस्लाम धर्ममा मोहम्मदले बनाएको सरियत कानुन महिलाको लागि उदार थियो । तर समय परिवर्तन सँगसँगै यसमा अनुदार व्यवहार भित्रियो । मुसलमान महिलाहरूले अनिवार्य बुर्का लगाउन पर्दछ भनी आजसम्म पनि कट्टर धर्मपन्थीहरू जोड दिइरहेका छन् । आज पनि पारिवारिक सम्मानका निम्ति छोरी–बुहारीलाई मृत्युदण्डको चलन कायमै छ । मुस्लिम धर्ममा देखिएको बढ्दो कट्टरपनका बारेमा मुसलमान महिला अधिकारवादीहरूले विरोध गरिरहेका छन् । मुसलमान महिलाले लैङिक समानताका बारेमा ग
रेको आन्दोलन दुई धारमा बाँडिएको छ । प्रथम, युरोप, अमेरिका, विशेषगरी पश्चिमी मुलुकका मुस्लिम महिलाहरू यो आन्दोलबाट पश्चिमी शैलीको पारिवर्तन र समानता स्थापित गर्न चाहन्छन् । तर अरब मुलुक पाकिस्तान र एसियाली मुष्लमान महिलाहरूको दाबी भने सरियत कानुन नै लैङिक समानताको लागि पर्याप्त छ । यो खेमाका महिलाहरू उदार पनि छन् । पाँचौं–छैटौं शताब्दीमा मोहम्मदले महिलाको निम्ति जति उदारता कानुन बनाउँदा देखाएका थिए, त्यो हालको लैङिक समानताको निम्ति पर्याप्त छ । कुरानको कानुनअनुसार पुरुष महिलाको भरणपोषण र संरक्षण गर्ने व्यक्ति हो र महिला पुरुष दुवै एक अर्काका निम्ति बनेका प्राणी हुन् । पुरुषले आफ्नो कमाइ महिलाको भरणपोषणका निम्ति खर्च गरेका हुन्छन् । इस्लाम मान्यताअनुसार महिलाको भूमिका पुरुषको आमा र पत्नी बन्नु हो भने पुरुषको भूमिका महिला र उसको बालबच्चाको निम्ति आर्थिक व्ययभार बहन गर्नु हो ।
क्रिश्चियन धर्म र महिला
बाइबलका अनुसार महिला पुरुषका सहायक हुन् । संसारमा पुरुष एक्लो भएपछि उसकै करङको हाड झिकी त्यसैबाट स्त्री जातिको उत्पति ईश्वरले गरेका थिए । तसर्थ, महिला पुरुषको हाड, रगत मासुबाट बनेका पुरुषका नै अभिन्न अङ हुन् भन्ने क्रिश्चियन धर्मको भनाइ छ । यस धर्ममा ईश्वरको प्रतीकको रुपमा पुरुषलाई मानिन्छ । बाइबलमा यशुले महिलाका दुःख बुझेका छन् भनी उल्लेख गरिएको छ । यशुले महिलाको सम्बन्धमा तिनको कष्टका बारेमा सभामा बोल्ने गर्दथे । क्रिश्चियन धर्मको सुरुवातको समयमा प्रशस्त महिलाहरू यसबारे प्रचार–प्रसार गर्न भनी अगाडि बढे र धर्मका अनुयायी बने । चर्चसम्बन्धी इतिहासको अध्ययन गर्दा सुरुका दिनहरूमा महिलाहरू क्रिश्चियन आन्दोलनका सदस्य भएको देखिन्छ तर उनीहरूले चर्चको पूजाआजामा सामेल भएका प्रमाणहरू भने पाउन सकिन्न । क्रिश्चियन धर्ममा महिलालाई चर्चको प्रमुख बन्ने अधिकार छैन ।
महिलाहरूले गृहस्थी जीवन छोडेर अविवाहित रुपमा पाठशालामा शिक्षा दिने कार्य र धर्मसम्बन्धी शिक्षा दिने जस्ता धार्मिक कार्यहरू पाँचांै शताब्दीदेखि सुरु गरेका थिए । मध्ययुगमा ज्यादै चर्चित क्रिश्चियन धार्मिक महिलाहरूका नाम आउँदछ । सन्त क्याथारिना, सन्त टे«सा दुई महिला सन्तहरू उच्च स्थानमा छन् ।
क्रिश्चियन धर्मका दुई पन्थीहरू छन् । समानतावादी र पूरकतावादी । समानतावादीहरूको भनाइअनुसार क्रिश्चियन धर्ममा लैङिक समानता पाउन सकिन्छ भनी उल्लेख गरिएको छ । साथै धर्मगुरु यशु र बाइबलले लैङिक विभेद नगरी स्त्री र पुरुषबीच समानता छ भन्ने कुराको क्रिश्चियन धर्माधिकारीहरूको आधिकारिक वक्तव्य सन् १९८९ मा प्रकाशित भएको देखिन्छ । समानतावादी क्रिश्चियनहरू आधुनिक थिए र उनीहरूको विचार अनुसार महिलाहरूलाई पुरुषसरह चर्चको हक–अधिकार प्रदान गर्नुपर्दछ । समानतावादी क्रिश्चियनको यस सम्बन्धमा रहेका विचार यसप्रकार छन् –
– महिला र पुरुष ईश्वरका समान उपलब्धि हुन् ।
– यशुले पतनको दोषी पुरुष–स्त्री कसैलाई पनि मानेका छैनन् ।
– क्रिश्चियन धर्मका व्याख्याकार तारुखले व्याख्या गर्दै भनेका छन्, ‘नारी र नर यी बीचमा केही अन्तर छैन । यशुले सबैलाई समान ठानेका छन् ।’ अर्का व्याख्याकार ग्यालिटियनले भनेका छन् ‘न त यहुदी हुन्, न त ग्रीकका हुन्, न दासी हुन्, न महिला हुन्, न पुरुष नै हुन् । सबै तिनीहरू, हामीहरू एउटै यशुमा समाहित छौं ।’ यस्तै पुरकतावादी क्रिश्चियनहरूले महिला र पुरुष दुवैलाई ईश्वरले बनाएको मान्दछन् । तर उनीहरूको भनाइअनुसार महिला र पुरुषको भूमिका फरक छ । महिलाको काम घर गृहस्थी र बालबच्चा हुर्काउने र पुरुषको भूमिका चर्चमा रहेको बताउँदछन् ।
सिख धर्म र महिला
सिख धर्ममा महिलाहरू सम्मानित छन् । यस भनाइलाई अझ स्पष्ट पार्न सिख धर्मका प्रवर्तक गुरु गोविन्द नानकले महिलाका बारेमा यसो भनेका छन्, ‘महिलाबाट पुरुषको जन्म हुन्छ, पुरुषको विवाह महिलासँग हुन्छ र मित्रता पनि हुन्छ । किन फेरि पुरुष महिलाको बदनामी गर्दछन् ? जबकि एउटी महिलाको गर्भबाट राजा, महाराजाको जन्म हुन्छ । महिलाबाट महिला पनि जन्मन्छन्, कसैको पनि अस्तित्व महिलाको अभावमा हुनसक्दैन ।’ सिख धर्ममा महिला र पुरुषको एउटै आत्मा हुन्छ भन्ने मान्यता रहेको छ । तसर्थ महिला र पुरुष समान मानिन्छन् । उनीहरूको समान अधिकार रहेको छ । सिख महिलाहरू पनि विभिन्न धार्मिक कर्मकाण्डमा भाग लिने गर्दछन् । सिख धर्मअनुसार महिला र पुरुष एउटा सिक्काका दुई पाटा हुन् । सिख पुरुषझैं महिलाहरू बहादुर छन्, प्रस्ट बोल्ने र शारीरिक सुसङ्गठनमा पनि स्वस्थ हुन्छन् । उनीहरू पहिला युद्ध लड्दथे । त्यस्तै महिला पनि सहिद बनेका छन् । पुरुषको जीवनको सफलता महिलाको माया र सहयोगबाट मात्र सम्भव छ । यसरी सिख धर्मको पनि महिलालाई सम्मानित तहमा राखेको पाइन्छ ।
विभिन्न धर्ममा लैङिक समानताको अवस्थाबारे चर्चा गर्दा प्रायः धर्मले महिला र पुरुषलाई समान तहमा राख्नुपर्ने कुरामा जोड दिएको पाइन्छ । इतिहासलाई खोतल्ने हो भने घुमन्ते र फिरन्ते युगमा महिला र पुरुषबीचमा समानता देखिन्थे । पुरुषहरू शिकार गर्थे भने महिलाहरू कन्दमूल खोज्ने र पुरुषले ल्याएको शिकारलाई बाँडेर खुवाउने गर्थे । शारीरिक रुपमा को बालियो छ भन्ने चर्चा खासै नभएको पाइन्छ । आफ्नो क्षमताले सकेको काम दुवैले गर्थे । तर जब हामी आधुनिक युगमा प्रवेश गरयो त्यति नै असमानता बढेको पाइन्छ । नारी र पुरुष एकै रथका दुई पाङग्रा हुन दुवै पाङग्रा बराबर भए मात्र रथ गुड्न सक्दछ । त्यसैले धार्मिक अन्धविश्वासको जालोलाई तोडदै समतामूलक समाजको सृजना गर्नुपर्छ ।
(लेखिका ख्वप कलेजका शिक्षक हुुनुहुन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *