भर्खरै :

सुरू पिङपङ राजनीतिबारे

भैरव रिसाल
संयुक्त राज्य अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरले अस्ति बिहीबार (२२ कार्तिक) पेकिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरे । किसिञ्जर ९५ वर्षका छन् । उनी सन् १९२३ मे २७ मा जन्मेका हुन् । त्यस्तै अर्को घटना छ – अस्ति शुक्रबार (२३ कार्तिक) चीनका रक्षामन्त्री वेइ फिङ गेले वासिङटनमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँग भेटे । यी दुई भेटले मलाई यस विषयमा कलम घोट्न कुतकुत्यायो । विगत ४७ वर्षको अन्तरालमा यो विश्वमा भएको अप्रत्याशित परिवर्तन साँच्चै अपत्यारिलो पाराले भएको छ भन्न मन लाग्छ । सन् १९७१ जुन ९ मा पाकिस्तानको औपचारिक भ्रमणमा आएका अमेरिकी सरकारका विदेशमन्त्री हेनरी किसिञ्जर पाकिस्तानबाट उडे । तर १२ घण्टासम्म कतै केही खबर आएन । कता गए उनी ! संसार स्तब्ध भयो । अमेरिकाका त्यतिबेलाका राष्ट्रपति रिचर्ड निक्सनलाई पक्कै थाहा थियो होला र थाहा थियो पक्कै चीनका राष्ट्राध्यक्ष र उच्च नेतृत्वलाई पनि किनकि विदेशी हवाइजहाज चिनियाँ आकाशमा उड्न पेकिङ विमानस्थलमा अवतरण गर्न पनि अनुमति चाहिने नै भयो । किसिञ्जर दुई रात तीन दिन पेकिङमै बसे, ११ जुनमा फर्के ।
किसिञ्जर फेरि पेकिङमा
त्यो बेला पेकिङमा पिङ पङ (टेबुल टेनिस) खेल भइरहेको थियो । किसिञ्जरको त्यो नितान्त कूटनीतिक यात्रालाई ‘पिङपङ पोलिटिक्स’ पनि भनिन्थ्यो । किसिञ्जरले माथिल्लो तहमा कुरा गरे पक्कै पनि त्यो तीनदिने अत्यन्त गोप्य यात्रामा । त्यस मितिसम्म संयुक्त राज्य अमेरिकी सरकार र चीन सरकारबीच कुनै सम्बन्ध त के सम्पर्कसम्म हुँदैनथ्यो । दुई राष्ट्रबीच पानी बाराबार थियो । अमेरिकी सरकारले चीनको ताइवान टापुको सरकारलाई चीन सरकार मान्थ्यो र संरा सङ्घमा पनि ताइवान सरकारले चीनको प्रतिनिधित्व पाएको थियो । राष्ट्र सङ्घमा विश्वका पाँच ठूला शक्तिराष्ट्रले पाउने विशेष अधिकार (भिटो) पनि ताइवानले नै प्रयोग गथ्र्याे । विशाल जनवादी गणतन्त्र चीन सरकार राष्ट्र सङ्घमा उपस्थित थिएन । यो विश्व वस्तुस्थितिमा हेनरी किसिञ्जर सुटुक्क पेकिङ पुगेका थिए । हेनरी पेकिङमा भन्ने समाचार आएपछि विश्व नै छक्क प¥यो । कैयौँलाई त त्यो समाचार पत्याउनै मुश्किल भो । कतिपय शक्तिलाई हेनरी पेकिङमा भन्ने समाचारले सन्निपातको ज्वरो नै आयो होला ! साँच्चै यो घटना त्यतिबेला अप्रत्याशित नै थियो । तिनै किसिञ्जर गत साता पेकिङमा थिए ९५ वर्षको उमेरमा ।
तिनै निक्सनलाई लग्यो वाटरगेटले
किसिञ्जरको यो भ्रमणले चीन–अमेरिकाबीच लागेको भोटेताल्चा खोलिएको हो । त्यत्रो शक्तिशाली एवं विशाल चीनलाई अमेरिकी सरकार गन्दै गन्दैनथ्यो । उही फार्मोसा टापुको लिखुरे कोमिङताङ सरकालाई चीन सरकारको मान्यता दिन्थ्यो र सम्मान गथ्र्यो । यस्तो विश्व राजनीतिक मानचित्रमा संयुक्त राज्य अमेरिकाका ३७ औँ राष्ट्रपति रिचार्ड एम निक्सनका विदेश मामलाका सल्लाहकार हेनरी किसिञ्जर सुटुक्क पेकिङ पुगेपछि विश्वभर ठूलो हल्लीखल्ली भयो । अमेरिकी सरकारको लागि विशाल जनवादी गणतन्त्र चीनको ढोका खुल्यो । त्यसपछि दुई देशबीच दौत्य सम्बन्ध स्थापना भयो । यस बेलासम्म चीन शक्तिशाली बन्दै थियो । त्यसको अर्को वर्ष सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको औपचारिक भ्रमणसमेत गरे । त्यो भ्रमणले निक्सनलाई शक्तिशाली पनि बनायो । फलस्वरूप निक्सन दोस्रो कार्यकालका लागि अत्यधिक मतले विजयी भए राष्ट्रपति पदमा । जनवादी गणतन्त्र चीनसँगको सम्बन्ध गाँस्न सफल भएकै कारण निक्सन भारी मतले पुनरावृत्त भएका हुन् । तर उनले नचाहिँदो काम गरेका कारण वाटरगेट काण्डमा महाभियोग लागी राष्ट्रपति जस्तो गरिमामय पदबाट हटाइए । मलाई लाग्छ किसिञ्जरको चीन यात्रा कसको स्वार्थसँग बढी आकर्षित थियो ? आधिकारिक भनाइ सुन्न पाऊँ ।
कसरी विश्वस्त रह्यो होला ?
आज मात्र ४७ वर्ष भो त्यो विश्व हल्लाउने घटना भएको । त्यसको केही वर्षसम्म त्यतिबेलाको शक्तिशाली संरा अमेरिका र अमेरिकी सरकार जनवादी गणतन्त्र चीनको नामसमेत लिँदैनथ्यो । त्यत्रो विशाल भूभाग, त्यति धेरै जनसङ्ख्या एवं त्यति धेरै वर्ष सशस्त्र सङ्घर्ष, गुरिल्ला युद्ध गरी पुरानु सत्ता र शक्तिलाई परास्त गरी कामरेड माओको नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता चलाइरहेको र सर्वत्तोमुखी विकास गरिरहेको विशाल चीनलाई उपेक्षामात्र हो तथा बहिष्कारै गर्ने अमेरिकी नीति–रणनीति निरर्थक रह्यो । राष्ट्रपति निक्सनलगायत कतिपय शक्ति एवं व्यक्तिहरूले नितान्त गोप्य परामर्शमा किसिञ्जर भ्रमण भएको हो भन्न कुनै शङ्का गर्नैैपर्दैन । अचम्म त मलाई यस मानेमा लाग्छ कि कसरी गोप्य रहन सक्यो त्यत्रो महत्वको त्यो किसिञ्जिर भ्रमण ? कागजपत्रको आदानप्रदान त थाहा हुन्छ एक अर्कोबीचको, परन्तु मान्छेको शरीरको यात्रा ! कसरी गोप्यता पालना भयो होला ? किसिञ्जर चीन पुगेको पनि कति घण्टापछि बल्ल थाहा भयो केहीलाई भने सर्वसाधारणलाई थाहा हुन त औपचारिक सूचना नै पर्खनु प¥यो । हो कति विश्वस्त रहेछ विश्वस्त संसार या विश्वस्त सूत्र ! वास्तवमा विश्वस्त भनेको विश्वस्तै हो ।
सजिलोसँग कहाँ हो र ?
अघिल्लो बिहीबार पेकिङमा चीनका राष्ट्रपति सी खुलारूपमा किसिञ्जरको प्रशंसामा भन्दै थिए – ‘‘संरा अमेरिका र चीनबीचको सम्बन्ध सेतु हो तपाईँ !’’ किसिञ्जरलाई सी भन्दै थिए – ‘‘तपाईँ चिनियाँ जनताका पुराना मित्र हुनुहुन्छ ।’’ यो भनाइभित्र सन् १९७१ जुन ९–११ तारिख उभिएको थियो ती दुई हस्तिका सामु । यो उद्गारभित्र चीन–अमेरिकाबीच पहिलो सम्बन्ध जोड्न हेनरीले पु¥याएको ऐतिहासिक योगदानको उच्चतम् कदर थियो अन्तर्वस्तु वास्तवमा । पुराना मित्र अतिथि किसिञ्जरलाई भन्दै थिए सी, ‘‘हामी त्यो कहिल्यै भुल्न सक्दैनौँ ।’’ यो संसारमा बितेका एकसय वर्षभित्र ठूलाठूला परिवर्तन भइरहे । संरा अमेरिका र चीनबीचको सम्बन्ध मूलरूपमा अगाडि बढेको छ र यो सम्बन्ध सकारात्मकरूपमा अघि बढ्नुपर्छ भन्ने विश्व जनमत छ पनि भन्न भ्याए सीले । यो सम्बन्ध सरल तथा स्वाभाविकरूपमा मात्र अघि बढेको छैन भन्दै सीले भने ‘‘हजार आरोह–अवरोह छिचोलेर पनि लगातार प्रगति कायम छ चार दशकदेखि ।’’
कति मीठा कुरा ?
‘‘अर्जेन्टिनामा निकट भविष्यमा हुने जी २० को शिखर सम्मेलनको बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दैछु ।’’ त्यसबेला आफूहरूबीच दुईपक्षीय साझा हितका धेरै विषयमा विचार आदान–प्रदान हुने आशा गरेको पनि स्पस्ट पारे सीले । चीन स्वयंले चुनेको विकासको बाटो र चीनका वैधानिक अधिकार तथा हितको सम्मान गर्न अमेरिकालाई आग्रह गरेर सीले स्वस्थ एवं स्थायी दुईपक्षीय सम्बन्ध विकसित गर्न जोड दिए । त्यो भेटमा विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिञ्जरले चीन र अमेरिकाबीचको सम्बन्ध निकै संवेदनशील समयबाट अघि बढिरहेको बेला सी जिन पिङसँग भेट्न पाएकोमा खुशी व्यक्त गरे । यसअघि पनि आफूले बरोबर चीन आउजाउ गरेको स्मरण गर्दै उनले त्यस क्रममा चीनले गरिरहेको क्रमिक विकास हेरिरहेको भन्न पनि भुलेनन् । यी दुई देशबीचको सहकार्यले विश्वमा शान्ति र समृद्धिका लागि भूमिका खेल्छ ।
पेकिङ र वासिङ्टन एकैपल्ट ?
एकातिर पेकिङमा चीन अमेरिकाबीचको सम्बन्ध विकासको लागि रणनीतिक सोचाइ र दूरदर्शिताको आवश्यकता रहेको भन्दै अतिथिले दुई देशबीच आपसी समझदारी अझ गहिरो, रणनीतिक संवाद अझ बलियो, आपसी हितलाई फराकिलो बनाउँदै मतभेदलाई राम्ररी सम्हाल्नुपर्ने विचार व्यक्त गरे भने अर्कातिर वासिङटनमा शुक्रबार दुई रक्षामन्त्री विशेष गरी चिनियाँ र अमेरिकी सैन्य सम्बन्धका विषयमा मन्त्रणा गरिरहेका थिए । चिनियाँ रक्षामन्त्री वेइले आफ्ना राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा एक महत्वपूर्ण सहमति बन्दै गएको विषय उठाउँदै त्यस सहमतिले यी दुई देशबीचको रणनीतिक साझेदारीका लागि पनि ठूलो सहयोग पुग्न सक्ने अपेक्षा गरिएको जानकारी दिए । त्यसैबेला दुई मुलुकबीच देखापरिरहेका असमझदारी हटाउनुपर्ने कुरामा पनि जोड दिए । उनले दुवै पक्षले शान्त र सकारात्मकरूपमा सैनिक सम्बन्धमा जोड दिनुपर्ने पनि भने ।
वेइ र म्याटिस उता ः
वेइको भनाइमा एक–अर्काको सम्बन्धको सुधारको लागि आपसमा सम्मानको वातावरण निर्माण हुनुपर्ने र त्यसका लागि प्रक्रिया अब सुरू गर्नुपर्ने भन्ने छ । आपसी वार्ता र सहमतिबाटै अहिलेको असमझदारीको अवस्था हट्ने कुरा राखे । उनले थपे – ‘‘यस्तो सम्बन्ध सुधारको माध्यम चीन र अमेरिकाका राष्ट्रपतिद्वयले पछिल्लो समयमा थालिसकेको र यसले दुवै देशलाई विभिन्न क्षेत्रमा सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।’’ अमेरिकी रक्षामन्त्री म्याटिसले पनि सकारात्मक धारणा राख्दै आफ्नो देश जहिले पनि चीनसँग सैन्य सम्बन्धका माध्यमबाट असल सम्बन्धको विकासमा सकारात्मक रहेको बताए । पछिल्लो समय विकसित असमझदारीलाई असल सम्बन्धमा परिणत गर्न सदा तत्पर र सकारात्मक रहेको पनि भने । यसरी चीन–अमेरिका सम्बन्ध थालिएको ४७ वर्षमात्रको छोटो कालखण्डमा जसरी आजको रूपमा पुगेको छ त्यो देख्दा सन् १९७१÷७२ को पिङ पङ राजनीति भोगेको मलाई सन्तोष लाग्छ । यसको कारण चीनको द्रुत विकासै हो ।
२०७५/७/२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *