भर्खरै :

युरोपमा पहेँलो भेस्ट आन्दोलन

युरोपमा पहेँलो भेस्ट आन्दोलनमूल्यवृद्धिको विरोधमा फ्रान्सबाट सुरू भएको जनआन्दोलन युरोपका अन्य देशहरूमा पनि डढेलोझैं सल्किंदै छ । फ्रान्सको म्याक्रों सरकारले इन्धन, विद्युत् र ग्यास वितरणमा गरेको मूल्यवृद्धि फिर्ता गरे आन्दोलन रोकिने छाँटकाँट छैन । बरू उनीहरूको माग मूल्यवृद्धि फिर्ताबाट माथि उठेर राष्ट्रपति म्याक्रोंको राजीनामाको मागसम्म पुगिसकेको छ । प्रदर्शनकारीहरूले पहेँलो भेस्ट लगाउने गरेकाले आन्दोलनको नाम नै ‘पहेँलो भेस्ट’ आन्दोलन बनेको छ । चार सातादेखि पेरिसलगायत फ्रान्सका अधिकांश सहरमा आगो बलिरहेको छ ।
फ्रान्समा भएको आन्दोलनलाई लामो समयदेखि युरोपेली देशमा गुम्सेको जनआक्रोशको विस्फोटनको रुपमा लिइएको छ । पहेँलो भेस्ट आन्दोलनकारीहरूले सडकमा युरोपेली समाजमा फराकिलो बन्दै गएको आर्थिक विभेद अन्त्यको मुद्दा उठाउन थालेका छन् । उनीहरूले तलब, निवृत्तिभरण, सामाजिक सुरक्षा भत्ता र न्यूनतम ज्यालावृद्धिको मागलाई जोड दिन थालेका छन् । विश्लेषकहरूले यो आन्दोलनलाई सम्पत्ति वितरणका लागि भइरहेको सङ्घर्षको रुपमा लिएका छन् । फ्रान्सबाट सुरू पहेँलो भेस्ट आन्दोलन एक प्रतिशतमा सीमित धनी वर्गविरुद्ध ९९ प्रतिशत जनताको आन्दोलन भएको उनीहरूको भनाइ छ ।
फ्रान्सको यो आन्दोलन देशको सिमाना नाघेर अन्य देशमा पनि फैलिएको छ । हङ्गेरीका मजदुरहरू पनि त्यहाँको सरकारले प्रस्तुत गरेको श्रम विधेयकको विरोधमा पहेँलो भेस्ट लगाएर सडकमा उत्रेका छन् । गएको शनिबार हजारौं हङ्गेरियाली मजदुर र विद्यार्थीहरूले सरकारविरुद्ध प्रदर्शन गरे । बेल्जियममा पनि आन्दोलनको अर्को स्वरुप देखापरेको छ । त्यहाँ शनिबार भएको प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो भिडन्त भएको थियो । सयौं प्रदर्शनकारीलाई गिरफ्तारसमेत गरिएको थियो ।
वास्तवमा युरोप सन् २००८ को आर्थिक मन्दीबाट राम्ररी तङ्ग्रिसकेको पनि छैन । त्यसमाथि पछिल्लो समय युरोपले सामना गरिरहेको शरणार्थी समस्या र युरोपका अधिकांश देशले आफ्नो संरक्षक मान्दै आएको संरा अमेरिकाको राजनीतिक नेतृत्वले आफूमाथि हात झिकेपछि युरोपको लागि यो समय निल्नु न ओकल्नुको समय बनेको छ । आप्रवासीको युरोप आगमनसँगै युरोपमा राष्ट्रवादी र नाजीवादी आन्दोलन व्यापक बनेको छ । फासीवादी आन्दोलनले त्यहाँको सामाजिक सद्भाव र एकतालाई खलबल्याइदिएको छ । आप्रवासी र शरणार्थीमाथि युरोपका राष्ट्रवादीहरूले लगातार हमला गर्दै आएका छन् । फलतः शरणार्थीहरूबाट पनि बेलाबेला प्रतिकार हुने गरेको छ । परिणामतः युरोपको सामाजिक एकतामा दख्खल पुगेको छ ।
संरा अमेरिकासँगको तिक्तताका कारण आज युरोप ‘भुइँ न भाँडोमा’ भएको अवस्था छ । जलवायु परिवर्तन, इरान आणविक सम्झौता, नाटोमा युरोपको लगानी वृद्धिलगायतका विषयमा संरा अमेरिका र युरोपेली देशबीच द्वन्द्व पटक –पटक सतहमा आइसकेको छ । युरोपेली नेताको ट्रम्पले र ट्रम्पलाई युरोपेली नेताहरूको आलोचनाले विश्व राजनीति बेलाबेला तातिरहेको हुन्छ ।
युरोपमा आज फैलिएको आन्दोलन वर्गसङ्घर्षको रुप हो । बाहिर जतिसुकै सौम्य देखिए तापनि भित्रभित्रै युरोपेली समाज विस्फोटक बनिरहेको छ । पहेँलो भेस्ट आन्दोलन त्यस्तै आन्दोलनको एउटा अभिव्यक्ति हो । यो आन्दोलनको अन्तिम परिणाम युरोपमा आमूल परिवर्तन नै नहोला । संरा अमेरिकामा कुनै समयमा चलेको वालस्टि׫ट आन्दोलनको युरोपेली संस्करणझैं हुने सम्भावनालाई भने नकार्न सकिन्न । तथापि सयौं आन्दोलन र सङ्घर्षले एउटा ऐतिहासिक क्रान्तिको गर्भाधान गर्ने कुरासँग आजको युरोपको जनविद्रोहलाई जोडेर हेर्न उपयुक्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *