भर्खरै :

माघे सङ्क्रान्ति

हाम्रो देश अपार प्राकृतिक सौन्र्दयले धनी छ । यहाँका सांस्कृतिक सम्पदाहरू अमूल्य निधिहरू हुन् । यी अमूल्य सांस्कृतिक सम्पदामा एकातिर मठ, मन्दिर, देवालय, शिवालय, पोखरी, ढुङ्गेधारा, दरबार, सत्तल, पाटीपौवाजस्ता मूर्त सम्पदाहरू छन् भने अर्कोतिर यहाँ वर्षभरि मनाउने जात्रा, चाडपर्व, पूजाआजाले हाम्रो सांस्कृतिक आयामको प्रतिनिधित्व गरिरहेको छ । यसमा पनि काठमाडौं उपत्यकाभित्र मनाइने यस्ता सांस्कृतिक चालचलनको महत्व अझ बढी छ । काठमाडांै उपत्यकाका प्रायः सांस्कृतिक गतिविधि चन्द्रमाको गतिअनुसार चलेको हुन्छ । त्यसमा केही जात्रा एवम् चाडपर्व सूर्यको गतिमा आधारित भएको हुन्छ । प्रत्येक वर्षको माघ १ गते अर्थात् सङ्क्रान्तिको दिन विशेष दिनको रुपमा लिइन्छ । यो दिन माघे सङ्क्रान्तिको नामले प्रख्यात छ । काठमाडौं उपत्यकालगायतका नेवारहरूबीच घ्योचाकु सल्हुँको नामले चिनिन्छ । यसदिन घिउ र चाकु खाने सङ्क्रान्ति भएर घ्योचाकु सल्हूँ भनिएको हो । यो दिनबाट सूर्य कर्कट राशीबाट मकर राशीमा प्रवेश हुने भएकोले यो दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । उक्त दिन घरघरमा घ्यू, चाकु, तरुल, सिद्रा माछा, हरियो लसुनको टाउको आदिसाथ भोज खाने चलन छ । साथै नुहाई धुवाई गरी जीउमा तेल राखिन्छ । ठाउँ ठाउँमा लाग्ने मेलामा सरिक हुन्छ । विशेषगरी तीन वटा नदीको सङ्गमस्थलमा स्नान गर्नेको घुइँचो लागेको हुन्छ । यसमा भक्तपुरको हनुमानघाट, पनौतीको खोह«, पशुपति आर्यघाट, टेकु, शङ्खमूल, विष्णुमति, देवघाटजस्ता प्रसिध्द तीर्थहरूमा स्नान गरी ब्राह्मणलाई घ्यू चाकु र तरुल आदि दान दिइन्छ ।
यता भक्तपुर नगरमा दीपङ्कर बुध्दको जात्रा हुन्छ । स्थानीय हिन्दूहरूबीच पाँच पाण्डवले चिनिने दीपङ्कर बुध्दलाई दिइने सम्यकदानजस्तै सांस्कृतिक गतिविधि हेर्नलायकको हुन्छ । यता टौमढीको तिलमाधवनारायण चोकमा पनि अर्को मेला लाग्छ । तिलमाधव नारायणको जिउभरि घ्यू चाकु दल्ने र गाईलाई पकाएको गहँु ख्वाउने चलन छ । यो दिन विवाहित छोरीबेटीहरू लोग्नेको घरमा केही खाँदैनन् । यता ज्वाइँहरू पनि ससुरालीमा केही खाँदैन् । यसदिन विवाहित छोरीबेटीहरू चाड मनाउन माइती पुगेको हुन्छ । यसदिन विशेषगरी खानपानकै सन्दर्भमा काँचो घ्यू, चाकु, तरुल, लसुनको टाउको आदि खानुलाई वैज्ञानिक एवम् समयानुकूल मान्न सकिन्छ । जाडो याम भएको कारण घ्यू चाकुजस्ता वस्तु जमेर ढिक्को हुने र खानको लागि सजिलो हुने छँदैछ । जाडोमा शरिरलाई आवश्यक ऊर्जासमेत घ्यू, चाकु, तरुल, लसुनको टाउको खाँदा प्राप्त हुने अर्को पक्ष छ । जाडोको समयमा घरघरमा खानको लागि प्रशस्त चाकु हुने समय हो । केही समय अगाडिमात्र सकिएको योमरी पूर्णेको लागि पनि चाकु घर भित्याएको हुन्छ । यी सबै चाकु सकाउने उद्देश्यले माघे सङ्क्रान्तिको दिन चाकु खाने परम्पराको विकास भएको छ । त्यस्तै अहिले जाडोको समयमा गाईवस्तुले धेरै दूध दिने भएर खपतभन्दा बढी दूधको घ्यू उत्पादन हुन्छ । जाडोको समयमा चाकुझैं घ्यू पनि जम्ने भएकोले खानको लागि सजिलो हुन्छ । त्यस्तै तरुल पनि यो समयमा प्रशस्त पाइने एउटा कन्दमूल हो । जसरी सकिमना पूर्णेको दिन जमिनमुनि पाइने पिँडालु र सखरखण्ड उसिनेर खाने चलन छ त्यस्तैगरी माघे सङ्क्रान्तिको दिन तरुल भुटेर खाने गर्छ । यही बेला खेतमा प्रशस्त हरियो लसुन हुन्छ । शीतले लसुन असाध्यै मीठो हुन्छ । आयुर्वैदिक हिसाबले लसुन औषधि पनि हो । माघे सङ्क्रान्तिको दिन लसुनको टाउको खाने चलन छ । यस्तै सिद्रालाई पनि शत्रुको टाउको मानी खाने चलन छ । वास्तवमा माघे सङ्क्रान्तिको दिन खाने प्रायः चिजबिज जस्तो घ्यू, चाकु, तरुल, माछाको सिद्रा, लसुनको टाउको आदि काँचो खानुको अर्थ यो समयमा तागतिलो तर पचाउन गाहारो खानेकुरा खान सकिन्छ भन्ने सन्देश दिन नै हो । जाडोको समयमा यस्ता तागतिलो चिज खाई आउने गर्मी यामको लागि शक्ति सञ्चय गर्नु नै चाडको प्रमुख उद्देश्य हो । वास्तवमा घ्यू चाकुमा रहेको शक्तिको पहिचान हाम्रा पुर्खाहरूले हजारौं वर्ष पहिले नै पत्ता लगाइसकेको र यसको वैज्ञानिक पुष्टि माघे सङ्क्रान्तिबाट भएको छ । यो दिनबाट सूर्य उत्तरायणबाट दक्षिणायन लाग्ने हुँदा मौसममा न्यानोपन आउने र त्यही न्यानोपनलाई हाम्रो शरिरले आत्मसात गर्न सकोस् भन्ने अभिप्रायले माघे सङ्क्रान्ति चाड मनाएको देखिन्छ । यसैलाई मनन गरी माघे सङ्क्रान्तिको दिन अझ तागतिलो चिज खाने परम्परा बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *