भर्खरै :

मेक्सिकोसँगको सिमानामा पर्खाल कि अर्को ढाँट ?

ली खिम्सी
गएको पुस ७ (डिसेम्बर २२) गतेदेखि संरा अमेरिकाको सरकार आंशिक रुपमा बन्द छ । बन्दका कारण गृह सुरक्षा विभाग र कृषि विभागलगायत नौ वटा विभागहरूका काम प्रभावित बनेका छन् । आठ लाखभन्दा बढी सङ्घीय सरकारका कर्मचारीको जीवन बन्दका कारण प्रभावित बनेको छ । संरा अमेरिकाको इतिहासमा यो पटकको सरकारी कार्यालय बन्द हालसम्मकै सबभन्दा लामो बन्द हो । यसअघि बिल क्लिन्टन राष्ट्रपति रहँदा भएको बन्द २१ दिनसम्म चलेको थियो । सरकारी सेवामा कटौती गर्ने–नगर्ने विषयमा कुरा नमिल्दा त्यत्तिबेला पनि सरकारी कार्यालय बन्द भएका थिए । तर, २१ दिनमा त्यसले निकास पाएको थियो भने अहिलेको बन्द भने अझै टुङ्गिने छाँटकाँट छैन ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संरा अमेरिका र मेक्सिकोबीचको सिमानामा पर्खाल बनाउन त्यहाँको व्यवस्थापिका (काङ्ग्रेस) समक्ष ५ अर्ब ७० करोड अमेरिकी डलरको माग गरेका थिए । तर, काङ्ग्रेसले सो प्रयोजनको लागि त्यत्ति बजेट दिन अस्वीकार गरेपछि अहिलेको अवस्था निम्तिएको हो । संरा अमेरिकामा अवैधानिक आप्रवासीको प्रवेश रोक्न संरा अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउनेमा ट्रम्प दृढ छन् । आफ्नो चुनावी प्रचार कार्यक्रममा मतदाताले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने वाचा गरेका थिए । तर, डेमोक्रेटिक पार्टीको बहुमत भएको काङ्ग्रेसले भने उनको उक्त वाचालाई पूरा गर्न दिने अवस्था छैन ।
काङ्ग्रेसका सभामुख नान्सी पलोसीले यो विषयमा ट्रम्पसँग वार्तामा बस्न अस्वीकार गरेकी छिन् । सिमाना सुरक्षाको लागि काङ्ग्रेसले १ अर्ब ३० करोड अमेरिकी डलर विनियोजन गरिसकेकोले ट्रम्पसँग थप वार्ता नगर्ने उनको भनाइ छ ।
सन् २०१७ को जनवरीमा डोनाल्ड ट्रम्प संरा अमेरिकाका राष्ट्रपति पदमा पदासीन भएका हुन् । राष्ट्रपति पदमा निर्वाचित भएदेखि नै उनले धेरै समस्या सामना गर्नुपरेको छ । आन्तरिक र वैदेशिक विषय समाधानको लागि उनले बारम्बार आफ्नो सरकार पुनर्गठन गर्नुप¥यो । काङ्ग्रेससँग उनको द्वन्द्वमा पनि कुनै नयाँ कुरा छैन ।
शीतयुद्धको समाप्तिपश्चात् संरा अमेरिकाले धेरैपटक यस्ता सरकार बन्दको अनुभव गर्दै आएको छ । इलोक्टोरेटहरूलाई अनेकथरी वाचा गरेर आफ्नो पक्षमा संरा अमेरिकाका दुवै पार्टीले मत तान्न खोज्दा यस्तो अवस्था दोहोरिने गरेको छ । संरा अमेरिकाको दुई पार्टी बन्दोबस्त नै यसको लागि प्रमुख रुपमा जिम्मेवार छ ।
सामान्यतः कुनै पनि देशको सामाजिक कल्याणकारी सेवा आर्थिक वृद्धिमा निर्भर हुने गर्दछ । संरा अमेरिका भने अझै पनि सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटबाट तङ्ग्रिसकेको छैन । पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा चारचरणका परिमाणात्मक सामाजिक सेवा घोषणा गरेका थिए । तर, तिनको भूमिका त्यहाँको अर्थतन्त्रमा हानी पु¥याउनेसम्मै सीमित रह्यो । ट्रम्पले संरा अमेरिकी अर्थतन्त्रलाई सही बाटोमा हिंडाउने वाचासहित राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गरे । तर, उनले पनि आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् ।
अहिलेको सरकार बन्दको दुष्प्रभावलाई कम आँकलन गर्न मिल्दैन । उदाहरणको लागि, संरा अमेरिकी वित्तीय सेवा कम्पनी स्ट्याण्डर्ड एण्ड पोर्सका प्रमुख अर्थशास्त्री ब्याथ आन बोभिनोले सरकार बन्दले कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा नकारात्मक असर पार्ने बताए । कर्मचारीले आफ्नो पूरा तलब नपाउँदा अहिले नै उनीहरूको दैनिक जीवन प्रभावित बनिसकेको छ । मानिसहरू विरोधमा सडकमा आउन थालिसके । वाशिङ्टन डीसीमा यसै साता यस्तै एउटा विरोध प्रदर्शन भएको थियो । बन्दले संरा अमेरिकाको विदेश नीतिलाई पनि प्रभावित बनाएको छ । स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा पनि ट्रम्प सहभागी बन्ने छैनन् । यसको अर्थ विश्व अर्थतन्त्रमा संरा अमेरिकाको भूमिकालाई खुम्च्याइँदै छ ।
संरा अमेरिकाका सबै समस्याको मूल जरा दक्षिणको खुकुलो सिमाना भएको ट्रम्पको विश्वास हुनसक्छ । पर्खाल बनाएपछि यो समस्या समाधान हुने उनको धारणा हुनसक्छ । तर, पर्खालसम्बन्धी राजनीतिक मतभेदले राजनीतिक ध्रुवीकरणलाई सङ्केत गरेको कुरा ट्रम्पले बुझेका छैनन् । यसले रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीचको बढ्दो अन्तर्विरोधतर्फ सङ्केत गरेको छ । एकप्रकारले पर्खाल बनाउने ट्रम्पको वचनबद्धता उनको लोकप्रियतावादी (पपुलिस्ट) राजनीतिमात्र हो । पर्खाल बनाउने योजना काङ्ग्रेसबाट पारित नहुनुको कारण उक्त योजनाप्रति डेमोक्रेटिक पार्टीको असहमति हो र त्योभन्दा पनि सरोकार समूहहरूबीच नाफाको असमान वितरण नै यसको कारण हो ।
संरा अमेरिकामा प्रजातन्त्रले काम गरिरहेको देखिनुको कारण उसको विश्वव्यापी प्रभुत्व नै हो । विश्वव्यापी प्रभुत्वका कारण संरा अमेरिकाले विदेशी देशहरूमा युद्ध थोपर्ने गरेको छ । खाडी युद्ध, इराक युद्ध, अफगानिस्तानमाथिको हमला, लिविया र सिरियाका गृहयुद्ध यसका केही उदाहरण हुन् । आफ्ना साना स्वार्थ पूरा गर्न उसले यस्ता युद्ध थोपर्दै आएको छ । संरा अमेरिकाले सन् १९९७–९८ को एसियाली वित्तीय सङ्कट र अर्जेन्टिना तथा टर्कीको वित्तीय सङ्कटलाई समेत आफ्नो हितमा उपयोग गरेको थियो ।
संरा अमेरिकाले आफ्ना आन्तरिक समस्या समाधानको लागि सधैं अन्य निर्दोष देशलाई बली चढाउने गर्दै आएको छ । इतिहासले यही कुरा देखाएको छ । संरा अमेरिकाका राजनीतिक शासक वर्ग जब आफ्ना आन्तरिक समस्या समाधान गर्नसक्दैन तब उनीहरू अमेरिकी जनताको ध्यान विदेशी विषयमा भुलाउन खोज्छन् । संरा अमेरिका र मेक्सिकोबीचको पर्खाल निर्माण पनि आज संरा अमेरिकाले सामना गरिरहेको गम्भीर आन्तरिक समस्याबाट ध्यान अन्यत्र तान्न बुनिएको चालबाजीमात्र देखापर्दछ । त्यस्ता आन्तरिक समस्या समाधान गर्न ट्रम्प सरकार असफल भएपछि उसले यस्तो चालबाजी बुनेको देखिन्छ ।
लेखक चीनको रेनमिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक हुन् ।
स्रोतः चाइना डेली
अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *