भर्खरै :

जनस्तरमा चीन चिनारी

नीरज
चीन नेपालको छिमेकी देश र नेपाल–चीन सम्बन्धको इतिहास निकै पुरानो भए पनि लामो समयसम्म चीन नेपाली जनताको लागि ‘रहस्यको देश’ रह्यो । चीनमा नयाँ राजनीतिक व्यवस्था स्थापनापश्चात राज्यस्तरबाट दुई छिमेकी देशबीच औपचारिक सम्बन्ध स्थापना हुनुअघि नै जनस्तरमा नेपाल–चीन सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुपूर्व नेपाल–चीन मैत्री सङ्घको स्थापना भएको थियो । जनस्तरमा बनेको त्यही सङ्घले दुई देशबीचको मैत्री सम्बन्धको शिलान्यास र विस्तारमा धेरै योगदान गरेको थियो । तथापि नेपालको उत्तरमा रहेको जटिल भूगोल, दुई देशबीचको शुष्क आर्थिक आदानप्रदान, भाषा र संस्कृतिमा रहेका भिन्नता आदि कारणले दुई देशबीचको सम्बन्ध जनस्तरमा अझै व्यापक बन्न सकेको थिएन । चीनमा व्यापार गर्न जाने, चीनमा घुम्न जाने र चिनियाँ विश्वविद्यालयमा पढ्न जाने नेपालीको सङ्ख्या निकै कम थियो । चिनियाँ भाषा बोल्न जान्ने नेपाली औंलामा गन्न सकिन्थ्यो । चीनबारे नेपाली पत्रपत्रिकामा निकै कम मात्र लेखिन्थ्यो । तर, पछिल्लो झण्डै दुई दसकयता भने अरू धेरै देशसँग जस्तै नेपालसँग पनि चीनको सम्बन्धले निकै फराकिलो रुप धारण गरेको छ । चीन सरकार वा चिनियाँ कम्युनिष्ट पार्टीको आमन्त्रणमै पनि चीनको राजधानी र प्रमुख चिनियाँ सहरमा नेपाली प्रतिनिधिमण्डल प्रायशः खाली हुने गर्दैन । नेपाल आउने चिनियाँ सरकारी प्रतिनिधिमण्डल मात्र होइन, चिनियाँ पर्यटकको सङ्ख्या पनि धेरै गुणाले बढेको तथ्याङ्कले देखाउँछ अर्थात् नेपाल र चीनबीच पछिल्लो समय जनस्तरको सम्बन्ध निकै फराकिलो बन्दै गएको देखिन्छ । चिनियाँ विश्वविद्यालयमा पढेका नेपालीको सङ्ख्या वृद्धिसँगै चिनियाँ भाषा जानेका नेपाली पनि बढिरहेको छ । अनि चीन र चिनियाँ संस्कृतिसँग नेपालीहरू क्रमशः नजिकिरहेका छन् ।
चीनको चाइना इन्टरनेशनल रेडियो (सीआरआई) अन्तर्गत नेपाली सेवामा विदेशीविज्ञको रुपमा कार्यरत पत्रकार चेतनाथ आचार्यको पुस्तक ‘चीन चियाउँदा’ मा दुई देशबीच बढ्दो जनस्तरीय सम्बन्धको प्रतिबिम्ब देख्न सकिन्छ । आचार्य बेलाबेला नेपालकै विभिन्न पत्रपत्रिकामा पनि चीनको पछिल्लो अवस्था, नेपाल–चीन सम्बन्ध र चिनियाँ संस्कृति तथा विकासबारे लेखिरहेका हुन्छन् । यो पुस्तकमा पनि उनले बहुकोणबाट चीन र चिनियाँ जनतालाई नेपाली जनतासम्म चिनाउने प्रयास गरेका छन् । उनले पुस्तकमा पस्केका अधिकांश सन्दर्भले आजको चीनसँग नेपालीलाई परिचित बनाउँछ । चीनबारे केही नेपालीले बोकेका पुराना मान्यतालाई यो पुस्तकले भत्काउँछ भने चीनबारे थोरै जानकारी राख्ने नेपालीलाई यो पुस्तकले थप जानकारी दिनेछ । सामान्यतः चीन पढ्दा उसको इतिहास, माओ त्से तुङ, आर्थिक विकास, सुधार र खुलापन, सांस्कृतिक क्रान्ति आदि नीतिगत विषयमा बढी पढेका हुन्छौं । तर, चीनका जनता के गर्दैछन्, के रुचाउँछन्, कसरी सोच्दैछन्, कस्तो संस्कृतिमा रमाइरहेका छन् आदि विषयमा यो पुस्तक केन्द्रित छ ।
पुस्तक मूलतः चीनको राजधानी बेइजिङकै वरपर घुमेको छ । पुस्तक चीनको राजधानी बेइजिङमा नेपाली कलाकार बलबाहु (अरनिको) ले बनाएको श्वेत गुम्बाको प्रसङ्गबाट सुरू गरिएको छ । त्यो गुम्बामा पस्न नेपालीले शुल्क तिर्न नपर्ने कुराले नेपाली कलाकारप्रति चिनियाँको सम्मान बोध गर्न सक्छौं । बेइजिङको बहुमुखी मौसमको वर्णन निकै रोचक छ । बेइजिङको केन्द्र तेनआनमेन स्क्वायरमा रहेको माओ समाधि तथा त्यहाँ दैनिक लाग्ने हजारौं मानिसको भीडले आधुनिक चीन निर्माणका नेता माओ त्से तुङप्रति चिनियाँ जनताको आकर्षण बुझ्न सकिन्छ ।
आर्थिक समृद्धिको उचाई उक्लिंदै गरेको चीनको आजको चुनौती भनेको वातावरणीय प्रदुषण हो । औद्योगिक विकासले निम्त्याएको प्रदुषणले मानव स्वास्थ्य र पर्यावरणमा पारेको प्रभाव चीनको निम्ति टाउको दुःखाईको विषय बनेको छ । त्यसको रोकथामको लागि चीन सरकारले चालेका कदमको चर्चा नेपालकै लागि पनि सिक्न योग्य छ । संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको महानगरमध्ये बेइजिङ पनि पर्दछ । त्यो विशाल नगरको व्यवस्थापन पक्कै सहज होइन । तर, चीन सरकारले गरिरहेको वृक्षारोपणदेखि प्रदुषण नियन्त्रणमा देखाइरहेको अग्रसरता अनुकरणीय छ ।
परिवर्तित चिनियाँ समाजमा नयाँ –नयाँ चुनौती पनि थपिंदैछन् । विवाहको स्वरुपमा आएको परिवर्तनदेखि चीनमा सामाजिक सञ्जालबारेको जानकारी निकै रोचक छ । आधुनिक चीनको मेरुदण्ड बनेको रेल यातायातलाई नेपालको सन्दर्भ जोडेर लेखकले गरेको प्रस्तुति जानकारीमुलक छ । आर्थिक गतिविधिको विस्तारसँगै चीनमा बढेको भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रणको लागि सरकारले चालेको कदमले चीनको अगाडिको बाटो अझ चुनौतीपूर्ण देखिन्छ ।
लेखकले अधिकांश लेख आफैंले देखेभोगेका विषय टिपेर लेखेका छन् । तीमध्ये पनि कतिपय लेख भने संस्मरणात्मक छन् । ‘चिनियाँ केटीको धुस्नु कुटाई’, ‘अविवाहित नारीको रङ्गीन चुल्ठो’, ‘चीनमा नेपाली भाषा’ जस्ता लेखहरू लेखकको प्रत्यक्ष अनुभवमा आधारित छन् ।
चीन भ्रमणमा जाने कोही पनि नेपालीले यो पुस्तक एक सरो पढेर गए चीन गएर धेरै कुरामा अलमलिनुपर्ने र अझ ठगिने अवस्थाबाट जोगिनेछन् । धेरै मानिसले चीन भ्रमण गरेका छन्, धेरै कुराको अनुभव गरेका हुन्छन् । तर, आफूले अनुभव गरेका कुरा लेख्ने गर्दैनन् । तर, पत्रकार चेतनाथ आचार्यले आफूले देखेभोगेका कुरा लेखेर नेपाली साहित्यलाई समृद्ध मात्र बनाएका छैनन् । बरु नेपाली र चीनप्रति समेत आफ्नो दायित्व पूरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *