सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
गोविन्द भट्ट
शस्त्रीय या शिक्षित दार्शनिक र साहित्यकारको दर्शन या दृष्टिकोणमा धेरै अन्तर पाइन्छ । शास्त्रीय विचारकहरू बर्ता सिद्धान्तवादी हुन्छन् र उनीहरूको ज्ञान तर्कशास्त्र या तत्वशास्त्रका पुस्तकहरूको अध्ययनमा अथवा विश्वविद्यालयका पाठ्यक्रमअनुसार पाइएको बुद्धि–विवेचन या शास्त्रार्थमा आधारित हुन्छ । तर, साहित्यकार ज्यादा व्यावहारिक, विशेष उपयोगितावादी, सर्वसाधारणसँग सम्बन्धित हुन खोज्ने र उनकै समकालीन समस्याहरूप्रति जागरुक भएर उनकै समाधान पाई कलात्मक रुपले छर्लङ्ग्याउने बौद्धिक कलाकार हुन्छ । दार्शनिकहरू समाजबाट धेरै माथि हुन सक्छन् र अग्राह्य पनि । उनीहरूको चिन्तनको आधार गणितको सङ्केतात्मक रुप या तर्कका प्रत्ययमा हुनसक्छन् र अग्राह्य समाजबाट उदासीन हुने साहित्यकारको न कुनै अभितत्व हुनसक्छ न महत्व नै । त्यसैले दर्शनमा कृत्रिमता र बौद्धिकताको गूढता विशेष पाइन्छ । अतः साहित्यकारको दृष्टिकोण आफ्नो आसपासको अनुभव, वातावरण अथवा चालचलनबाट ज्यादा प्रभावित हुन्छ । ऊ शास्त्रीय दार्शनिकहरूजस्तै एक विशेष वाद वा सिद्धान्ततालाई बलजफ्ती विश्वमा थोपर्न चाहँदैन बरु उसको दृष्टिकोणको आधार उसको आफ्नो दिनानुदिनको अनुभूति र भावना नै हुन्छ । तर्कभन्दा बर्ता भावना, सिद्धान्तभन्दा बर्ता यथार्थ वा व्यवहार मनपराउनु उसको स्वभाव हुन्छ किनभने ऊ आफूलाई समाजकै अंश बुद्धिजीवी सम्झन्छ । ऊ जे देख्छ, जे अनुभव गर्छ त्यै लेख्छ । त्यसैले उसमा सुग्राह्यता र जनसाधारणको हृदय दार्शनिकझैँ साहित्यकारको कुनै ‘सिस्टम’ स्थापित गर्ने ध्येय हुँदैन । फेरि दर्शनमा ज्ञानमीमांसाको जिज्ञासा भए पनि साधारणतः साहित्यकार कुनै तत्व विज्ञानको व्यापक विवेचना गर्दैन । त्यसैले उसको विचारलाई हामीले दर्शनको नाउँ नदिएर दृष्टिकोण भन्नु ज्यादा तर्कपूर्ण होला । साहित्यकार आफ्नो दृष्टिकोण वा विचारधारालाई खास गरेर साहित्यका विभिन्न अङ्ग, जस्तै नाटक, कथा, उपन्यास, कविता, निबन्ध, आलोचना इत्यादिबाट व्यक्त गर्छ, जहाँ दार्शनिकको मुख्य माध्यम बुद्धिवादी तर्कविवेचना नै हुन्छ ।
हृदयचन्द्र कवि, उपन्यासकार, कथाकार, आलोचक र निबन्धकार पनि हुनुहुन्थ्यो । उहाँका अनेकौँ विचारहरू यसरी उहाँका सबै कृतिहरूमा छरिएका छन् र उहाँको दृष्टिकोण अथवा दर्शन छर्लङ्ग गरी बुझ्नका निम्ति उहाँका सारा कृतिहरूलाई हामीले विवेचनात्मक दृष्टिकोणबाट हेर्नुपर्छ । यसरी ती सबैको विवेचन अथवा व्याख्या गर्नु सानो लेखमा सम्भव नभएकाले यहाँ म केही प्रमुख विषयहरूबारे उहाँका विचार–दृष्टिकोण अघि सार्ने चेष्टा गर्नेछु ।
हृदयचन्द्रलाई लेखक या साहित्यकारका रुपमा सबैले चिनेका हुन्ः तर दर्शन वा दृष्टिकोण साहित्यकारको वास्तविक आत्मा हो । वास्तविक रुपमा साहित्य पढ्नाको अर्थ किताब सक्नु नभएर लेखकको व्यक्तित्व र दृष्टिकोणलाई आफूले राम्ररी बुझ्नु हो । त्यसैले शिक्षा, अध्यात्मवाद, साहित्य, विज्ञान, ईश्वर, राजनीति, समाज, नारी जाति, धर्म इत्यादि विषयहरूबारे उहाँका विचार र दृष्टिकोणको व्याख्यामात्र गरे पनि उहाँलाई विचारकका रुपमा हामी बुझ्न पाउनेछौं । आजसम्म हाम्रो साहित्यमा यतिका विभिन्न विषयवस्तुहरूबारे यति स्पष्ट, सुन्दर र यर्थावादी दृष्टिकोण लिए । आफ्नो विचार प्रकट गर्ने लेखक हृदयचन्द्र नै हुनुहुन्छ । त्यसैले आफ्ना साहित्यिक कृतिहरूपछि पनि उहाँको महत्व विचारकको रुपमा प्रभावशाली छ ।
हृदयचन्द्र वैज्ञानिक दृष्टिकोण र जनवादी भावना भएका यथार्थवादी लेखक हुनुहुन्थ्यो । त्यसैले हरेक विषयमा आफ्नो विचार प्रकट गर्दा उहाँले आफ्नो दायित्व र दृष्टिकोणलाई कहिल्यै बिर्सनुभएको छैन । उहाँ सधैँ विचार स्वतन्त्रतामाथि खुब जोड दिनुहुन्छ । मानवताको इतिहासलाई चार्र्वाक, बुद्ध, इसा, मोहम्मद गान्धी, माक्र्सहरूले आफ्नो स्वतन्त्र विचारधाराले धेरै संस्कृत र सभ्य बनाएर यसको मानवीकरणमा अतुलनीय योगदान दिएका छन् । मानवको लामो इतिहास विचार स्वतन्त्रताको इतिहास हो । मनुष्यमा वास्तविकताको भोक र जिज्ञासाको प्रवृत्ति अमिट छ । त्यसैले मानव इतिहास सधैँ अगाडि बढ्दैछ । विज्ञान र विशाल परिवर्तनहरू जसले आज हामीलाई जङ्गली अवस्थाबाट यति माथि उठाएका छन् विचार स्वतन्त्रताकै देन हुन् । हाम्रो युगलाई माक्र्स र गान्धीले विशेषरुपबाट हल्लाएका छन् जसरी पहिले बुद्ध र इसाले हल्लाएका थिए । “एकै रीति, एकै नीति, एकै साधन र एकै सिद्धान्त हरेक युग र स्थितिमा उचित ठर्हछन्” भनी ठान्नु मुर्खतामात्र होइन, अन्धविश्वास पनि हो । वातावरण र परिस्थितिले विचारमाथि अकाट्य प्रभाव पार्दछन् । चार्वाकको नास्तिकवादले हिन्दुधर्मको शिक्षासम्बन्धी उहाँका विचार पनि यही भावनाबाट प्रभावित छन् । त्यसैले उहाँ केटाकेटीहरूलाई उपदेश दिने पक्षमा हुनुहुन्न किनभने यसले बालककालदेखि नै केटाकेटीहरूमा सङ्कीर्णता ल्याइदिन्छ र उनीहरूको मौलिक विकासमाथि आघात पु¥याउँछ । उपदेशमा पनि हुकुम र आज्ञाको अप्रत्यक्ष प्रवृत्ति हुन्छ र बलप्रयोगको अंश पनि । “हामीहरूले उपदेशका निम्ति मान्छे खोज्ने होइन न मान्छेका निम्ति नै उपदेश खोज्ने खाँचो छ । उपदेशको कठबारमा पोषितपालित पुत्रबाट मौलिक चिन्तन सम्भव छैन । ऊ त केवल पिताको बौद्धिक सीमाभित्रमात्रै घुमिरहनेछ, ऊ आदेशको अन्धो आज्ञाकारी मात्रै रहने छ । यसबाट परिवर्तक, विद्रोही तथा क्रान्तिकारी व्यक्तिको कहिल्यै जन्म हुन सक्दैन जसको हाम्रो संसारलाई ठूलो आवश्यकता छ ।” उपदेशले मानसिक दासता ल्याउँछ । उपदेशक आज्ञा दिने हो, उपदेश लिने मान्छे उसको पछुवामात्र रहन्छ । हाम्रो शिक्षाप्रणालीमा अथवा घरेलु व्यवहारमा हामीहरू कोमल मास्तिष्कका बालकहरूलाई यसरी नै बिगार्दछौँ र उनीहरूलाई चाकरीबाज र खुसामदी बनाएर उनीहरूको व्यक्तित्व निमोठिदिन्छौँ । जस्तै घरमा केटाकेटीहरूलाई हामीले रुढिवादी उपदेश र आज्ञाहरूबाट पङ्गु बनाएका छौँ, त्यसै गरी समाजमा तल्लो वर्गका जनतालाई आफ्नो स्वार्थपूर्तिको लागि अनेकाँै वर्ग र वर्णमा विभाजित गरेर आफ्नो काम गर्ने तर आफ्ना अधिकार नखोज्ने धर्म सिकाएका छौँ । पुराणपन्थी शिक्षाशस्त्र र धेरैजसो धार्मिक पुस्तकहरूले अवैज्ञानकता, परतन्त्रता र किताबी गौरवका मात्र प्रचार गरेकै छन् । सबभन्दा दयनीय दशा गाउँले किसानहरूको छ । हामीहरूले अब गाउँतिर ध्यान दिनुपरेको छ जहाँका अन्नदाताहरूलाई हामीले अन्धविश्वासको इन्द्रजाल हालेर हाम्रा पुख्र्यौली नोकर बनाइराखेका छौँ । त्यहाँ गएर आजका बुद्धिजीवीहरूले स्वतन्त्र विचारको प्रचार गर्नुछ, नयाँ शिक्षाप्रणालीका माध्यमबाट तबमात्र लोकतन्त्र बलियो हुन पाउनेछ । खाली सहर, गद्दीमञ्चबाट कराएर वास्तविक लोकतन्त्र कहिले आउने होइन किनभने उहाँको विचारमा ‘‘भोकको समस्या उति भयानक छैन, जति शिक्षाअभावको समस्या !” भोकले गर्दा केही मानिसहरू मर्न सक्छन् तर शिक्षाबाट मानवताकै नाश हुनेछ र जब “मनुष्य नै सकिनेछ तब संसारमा त केवल ढुङ्गा, लट्टी, खुकुरी, भाला र अन्धकारमात्र बाँकी रहनेछन् ।” यसरी उहाँका मतमा शिक्षाको वास्तविक उद्देश्य हो, स्वतन्त्र चिन्तनको प्रेरणा दिनु र मानवताको सुरक्षा गर्नु । सहशिक्षाका पक्षमा उहाँले दिएक
ा तर्कहरू पनि निकै घतलाग्दा छन् ।
हामीहरू हाम्रो समाजमा ‘धर्म’ शब्द खुब सुन्छौँ । तर, के कसैले गहिरिएर सोचेको छ –यसको भित्री अर्थ के हो ? धर्म केवल ‘झूट भावुकता, अन्धविश्वास र मृतहितको भावना’ (बाँचेकाहरूको हितमाथि आघात पु¥याएर पनि ।) मात्र हो । हामीलाई यस्तो धर्म होइन नैतिकता, अध्यात्म हैन वैज्ञानिकता, ईश्वरको पूजा हैन मनुष्यको सेवा चाहिएको छ । धर्म शोषकहरूको बलियो हतियार हो जसले हाम्रो आत्मालाई लुलो, लङ्गडो र अन्धो बनाएर हामीमा नैतिक र मानसिक दुर्बलता ल्याइदिएको छ । धर्म परलोकी छ, त्यसैले यो जीवनदायिनी हुन सक्दैन । परलोक असत्य र काल्पनिक भएकोले नै परोकवादीहरूको विश्वास र धारणा अनेकौँ र परस्परविरोधी छन् । धर्मले कहिल्यै धर्मात्मा जन्माउन सक्दैन । धर्म मान्ने जनताहरूले बरु निरङ्कुश दैवी अधिकार प्राप्त राजा र दुराचारी कुकर्मी पण्डितहरू जन्माएका छन् । धर्मले साम्प्रदायिकता, दासत्व, आपसी युद्ध र अशान्ति उत्पन्न गरेको छ । हाम्रा आँखा अगाडि भारतमा भएका हिन्दु–मुसलमान मारकाट यसको छर्लङ्ग उदाहरण छ । युरोपको इतिहास धार्मिक युद्धहरूले भिन्नभिन्न भयो । त्यसैले हामीले एक धर्मवाद ल्याउने प्रयास (जस्तै स्वामी दयानन्दको हिन्दु साम्राज्यवाद र मुसलमानहरूको इस्लामी साम्राज्यवाद आदि) भन्दा धर्मनिरपेक्षताको प्रचार गर्नुपरेको छ किनभने एक धर्मवाद या धार्मिक एकता ल्याउने विचार सर्वथा अव्यावहारिक कल्पना हो । हामीले अँगालेको धर्म राष्ट्रिय एकता र सामाजिक एकरुपता र विश्वभ्रातृत्व भावनाको ठूलो तगारो भएको छ ।
धर्मसँग जोडिएका अरु दुई शब्द छन् जो हाम्रो देशमा सबैका जिब्राका टुप्पामा झुण्डिएका छन्, ‘ईश्वर’ र ‘अध्यात्मवाद’ । यिनको आधार पनि धर्मझैँ निरर्थक र अस्पष्ट छ । दुःखको कुरा के छ भने अध्यात्मवाद वा ईश्वरवाद छ भने पनि यसले व्यक्तिगत लाभ वा वैयक्तिक मोक्षमात्रै दिनसक्ला, समाज वा राष्ट्रलाई मुक्ति दिने शक्ति यसमा छैन । बरु इतिहासबाट हामी थाहा पाउँछौ, अनेकौं मानिसहरू र अनेकौं राष्ट्र पनि यसको भ्रमजालमा परेर जीवनभरि भ्रममै रहेर झन् अगतिशील हालतमा मरे । अध्यात्मवादीहरू आँखा चिम्लेर काल्पनिक सत्यका पछि लागि यस संसारलाई र हाम्रा वैज्ञानिक भौतिक प्रगतिलाई सराप्छन् । उनीहरू भन्छन्, भौतिकवादले संसारमा अशान्ति र भ्रष्टाचार ल्याएको हुन्छ, धर्मको नाश गरेको छ आदि । तर, घोरिएर हेर्ने हो भने अध्यात्मवादीहरूको तर्क परस्परविरोधी छन् । सबैमा एकै आत्मा छ भने, जातिवाद र छुवाछुतको पाखण्ड किन ? अध्यात्मवाद मानसिक कमजोरी हो । भौतिकवादबाट हामी कहिल्यै अलग हुन सक्दैनौँ । मरेपछि आध्यात्मिक भए पनि बाँचुन्जेल त कुनै न कुनै रुपमा भौतिक जगतसँग हाम्रो सम्बन्ध रहन्छ । त्यसैले संसार शून्य होइन । त्यसैले नकारात्मक हैन, सकारात्मक जीवनदर्शन चाहिएको छ । अध्यात्मवादले हामीलाई भौतिक र वैज्ञानिक उन्नतिबाट उदासीन बनाउँछ तर उतातिर के दिन्छ ? के अध्यात्मवादी भएर अरु भौतिक मुलुकहरूभन्दा हामी शुद्धआत्मा, नैतिक र आदर्शवान छौँ ? के हाम्रो व्यवहार–जगतबाट बेग्लै हुनु नै अध्यात्मवाद हो भने त्यस्तो अध्यात्मवाद हामीलाई चाहिँदैन बरु हामीलाई सुखसुविधा दिने वैज्ञानिक भौतिकवाद नै चाहिएको छ । भौतिक तत्वमै आधारित भए के हामीहरू कहिल्यै भौतिकवादलाई त्याग्न सक्छौँ ? बरु “हामी न अध्यात्मवादका अनुसार नै पवित्र हुन सक्यौँ न भौतिक उन्नति पाएरै सुखी !”
अध्यात्म सामूहिक र समष्टिरुपमा मनुष्यजातिमा व्याप्त हुन सक्दैन । अध्यात्वादी भएकोले के हामीमा साँच्चिकै मानवता वा सबैमा एकै आत्मा छ भन्ने भावना आएको छ ? के हाम्रो समाजमा फैलिएको अज्ञानता, गरिबी र मारामार नै अध्यात्मवादको शान्तिदेन हो … ? अध्यात्मवादले मान्छेलाई बाटो देखाइदिनुभन्दा झन् अल्मलाइदिएर भौतिक जगतमा पनि यता न उताको बनाइदिएको छ । वैज्ञानिक साधन र भौतिक सिद्धिलाई हामी समस्त समाजको सेवामा लगाउन सक्छौं’ त्यसले यी व्यावहारिक र अनुकरणीय छन् । “अध्यात्मवाद कुनै वियोगिनी या वियोगीको वियोग शान्त गर्ने उपायमात्र हो, अनाथ अथवा असहाय व्यक्तिहरूले आफ्नो पुत्र वा पति निधनको वेदना बिर्सने उपायमात्र हो र संसारका दुःखदरिद्रताबाट डराएर पलायन गर्ने र यहाँका सुखदुःखमा रुची नलिने बैरागी प्रवृत्ति भएका दुईचार जोगीहरूको खुट्टा टेक्ने आधारमात्र हो ।” हामीहरूकहाँ वेदन्ती गफीहरूको कमी छैन । उनीहरू जगन्मिथ्यावादको झूटो प्रचार गरेर जनतालाई भाँडिरहेका छन् । वास्तवमा यस प्रकारको विचारधाराले हामीलाई मानसिक रुपबाट नपुंसक बनाइदिएको छ । हामीकहाँ पण्डित हुनाको अर्थ संसारलाई झुट्टा भनेर गाली गर्नु हो र पण्डित्याइँको अर्थ यस्तै कसैले नबुझ्ने सनकी कुरा काट्नु । खास गरेर हाम्रो शिक्षित अशिक्षित दुवै समाजमा ‘ब्रम्ह सत्यम जगन्मिथ्यावाद’ भन्ने एक किसिम थेगो चलिसकेको छ । यसले हामीलाई स्वतन्त्र चिन्तन र भौतिक उन्नति गर्न कहिले दिनेछैन । त्यसैले हामीले यो अन्धसंस्कारलाई नै जारो खनेर उखेल्नुपरेको छ । वेदान्तको बितन्डवाद हामीलाई चाहिँदैन किनभने जिन्दगीलाई निरर्थक सम्झिने र हामीलाई रहस्यमा भुलाएर आफ्नो स्वार्थसिद्ध गर्ने पुराणपन्थीहरूको बकबकलाई हामीहरू निकम्मा ठान्छौँ । यो भयानक सङ्क्रामक रोगझैँ फैलिएको छ जसलाई हामी वैज्ञानिक र स्वतन्त्र शिक्षाबाट र्न उन्मूलन गर्न सक्छौँ, अरु कुनै बाटो छैन । अध्यात्म पनि सम्माननीय हुनसक्छ, “यदि अध्यात्मको सम्बन्ध ईश्वर, परलोक र पारलौकिक मोक्षलाई छोडेर जीवनलाई उज्जवल र सुखी बनाउने नैतिकता र जीवनमा सत्यम् शिवम् सुन्दरम् ल्याउने प्रेम, दया, करुणा, ममता, समता र अहिंसासँग प्रतिष्ठित छ” भने, जस्तै गान्धी र बुद्धको विचार छ । अध्यात्मवाद एक–दई योगीहरूको जिज्ञासाको विषय हुनसक्छ र ज्ञानका रुपमा यसको आफ्नो स्थान रहन सक्ला । तर, यसलाई सहर्ष स्वीकार नगरेर बरु खोजेको विषयका रुपमा यसलाई लिन सक्छौँ । हामीहरू सामाजिक प्राणी हौँ र हाम्रा सामाजिक गाह«ाखाँचाहरूलाई वेदान्त वा अध्यात्मले कहिल्यै पूरा गर्न सक्दैन । हाम्रा आर्थिक समस्याहरू भौतिकवाद (विज्ञान) ले मात्र पूरा गर्नसक्छ । अध्यात्मवाद नकारात्मक छ र विज्ञान सकारात्मक । अब लिऊँ ईश्वर ! ईश्वर कल्पना हो । संस्कारिक विश्वासमात्र । मानसिक अड्कल । तर, युगौंदेखि यो कति बलियो रुपले हामीभित्र भिजिसकेको छ भने ठूलठूला अन्वेषक र विचारहरू पनि यसलाई छाड्न अन्कनाउँछन् । कार्यकारणवादलाई ईश्वरको प्रमाण मान्ने प्रशस्त पाइन्छन् । तर, यो तर्कमात्र हो, वास्तविकता हैन । आजसम्म बयान गरेअनुसार ईश्वर कहाँ पाइयो ? यो प्रमाण्मा हैन, कल्पना या असाधारण मानसिक अनुभूतिमा (त्यो पनि स्पष्ट र बोधगम्य छैन) निर्भर छ । त्यसैले यो दिवास्वप्न या मनोवैज्ञानिक छायामात्र हो । फेरि तर्ककै आधारमा लिने हो भने पनि ईश्वरजस्तो अनजान र असम्बन्धित वस्तुमा प्रेम या भक्ति हुनु असम्भव छ । फेरि उहाँले ईश्वरवादीहरूसँग केही महत्वपूर्ण प्रश्न सोध्नुभएको छ–के मान्छेको स्थान ईश्वरका दृष्टिमा प्रयोजनहीन र व्यर्थ छ ? नत्र के ईश्वर स्रष्टामात्रै हो, पालक हैन ? आज संसारमा भइरहेका अराजकता र अन्यायलाई हेर्दाहेर्दै पनि ईश्वर किन तटस्थ छ
? के ऊ बाजिगर या चटके हो ? यदि ईश्वरले धर्मात्मालाई स्वर्ग र पापीलाई नर्क दिन्छ भने अर्काको घाँटी काट्ने, रगत चुस्ने, दुनियाँ अन्यायी शोषक र शासकहरू जो आज महल र राजदरबारमा बस्छन् र भोगबिलासीको अत्तरे नदीमा पौडी खेल्छन्, धर्मात्मा हुन् ? के सामाजिक, राजनीतिक अन्यायविरुद्ध क्रान्ति गर्ने हाम्रो नैतिक अधिकार केही छैन ? के पुराणको ईश्वरले आफ्नो कर्तव्य र जिम्मेवारी बिर्सिसक्यो ? कि ऊ निर्धो अथवा बूढो भयो ? भयले ईश्वरको जन्म दियो र भय देखाउँदै बाठाहरू लाटामाथि उसको धाक जनाइरहेका छन् । जब दुनियाँमा गुण्डयाइँ र मनपरि हुँदाहँुदै पनि उसले केही गर्दैन भने ऊ भएरै हामीलाई के लाभ ? किन हामीले आफै कम्मर नकस्ने अन्यायका विरुद्ध खुकुरी उठाउन ? सृष्टिको अनादर गर्ने ईश्वरवाद कस्तो हो र मानवआत्माको अपमान–अपहेलना गर्ने आत्माको सिद्धान्तको के अर्थ हो ? मानिसको मानहानी गर्ने र शोषण बढाउने कर्मको आवश्यकता नै के छ ? खाली ईश्वर छ भनेर मात्रै सन्तोष गर्ने हो भने, पुलिसमात्र भएर के संसारमा चोरी, डकैती बन्द हुन्छ ? उहाँ दुःख मान्दै भन्नुहुन्छ–“साँच्ची नै कति राम्रो हुने थियो यदि पुराणमा वर्णन गरेको ईश्वरले संसारमा जति बैमनस्यता र पारस्परिक भेदभाव बढाएको छ, त्यति कुनै चीजले छैन । हाम्रा केटाकेटीहरू बिनाईश्वरको पनि सुखी र उन्नतिशील रहन सक्नेछन् ।”
गीतालाई उहाँ विवचेनशील र मननयोग्य ग्रथ मान्नुहुन्छ । तर, हामीले त्यसलाई आलोचनात्मक रुपले पढ्ने र बुझ्ने प्रयत्न गर्नुपर्छ । गीताको अवतारवाद झुट्टा सान्तोवनाझैँ छ । कृष्ण मनुष्यको रुपमा अवश्य महापुरुष हुन् तर मनुष्त्न्दा माथि उठेर जब उनी ईश्वर हुन खोज्छन् तब दार्शनिक दासता आउन थाल्छ । गीतालाई स्वयम् भगवान् कृष्णको अकाट्य प्रवचन भनेर “यसमा आलोचनाको सवालै छैन ” भन्ने अन्धविश्वास कति जनाले प्रकट गरेका छन् । तर, गीताले सामन्तवादको प्रोत्साहन र वर्णजातिभेदको प्रचार गरेको छ । “नाराणम् च नराधिपम्” भन्ने दैवीअधिकारको सिद्धान्त स्थापित गरेर निरङ्कुश राजतन्त्रको व्याख्या गीताले गरेको छ । एकै ईश्वरको सृष्टिमा ईश्वरीय नियम नीति विधान आदिम विभिन्नता पाइएको कारण के ईश्वरको असमर्थता या शासनकुशलताको कमीले गर्दा हो ? सामन्तवाद, पुरोहितवाद र पुँजीवादको समर्थन गर्ने गीतालाई हामीले आँखा चिम्लेर पाठ गर्नु कहाँसम्म उचित छ ? ईश्वर भेट्न परलोक जानुपर्छ भने इन्द्रलोकमा बसेर हामीले उसलाई भजी के पाउँला ? त्यसैले अध्यात्मवाद, ईश्वरवाद, आत्मावाद, धर्मवाद
आदिको प्रपञ्चमा नपरेर हामीले एउटा कुरा सम्झिराख्नुपर्छ –त्यो हो मानवताले नै मनुष्यलाई सच्चा मनुष्य बनाउन सक्छ र यसद्वारा नै मनुष्यलाई सुख शान्ति र सफलता प्राप्त हुन सक्छ । मानवता नै परममोक्ष र कल्याणको विषय हो । “मनुब्यत्व बाँचेन भने मनुष्य पनि मर्नेछ” । त्यसैले भौतिकवादलाई गाली गर्ने फटाह अध्यात्मवादीहरूसँग केही प्रमाण छैन । अध्यात्मवादमा अनेकौँ परस्पर विरोधी तत्वहरू छन् । त्यसैले अब यो बाँच्नसक्दैन । अध्यात्मवादले बाँच्ने हो भने भौतिकवादकै आधारमा उभिनुपर्छ, त्यसै निराधार भएर कल्पनाबाट नै मनुष्यलाई यसले सुख र शान्ति कदापि दिन सक्दैन । विज्ञानले जीवनको उच्चस्तर बढाउँछ, अध्यात्मवाद माग्ने भएर रामनाम सिकाउँछ ।
राजनीतिक चेतनाबारे उहाँ भन्नुहुन्छ, हरेक मानिसमा यो चेतना हुनु आवश्यक छ । सामाजिक र राजनीतिक चेतनाबिना समाज, कला, सम्पदा र संस्कृति पङ्गू हुन जान्छन् । रस्सियाली र चिनियाँ क्रान्तिहरूले हाम्रो युगमा विश्वराजनीतिमाथि चीरकालीन प्रभाव पारेका छन् । क्रान्ति वर्गस्वार्थको प्रतिक्रिया हो । भारतीय क्रान्तिको पनि महत्व छ । नेपालबाट राणाशाही उखाली फाल्न यी सबै चेतनाहरूले हामीलाई निकै मद्दत गरेका हुन् । राजनीतिक चेतनाले हामीलाई भाग्यवादबाट मुक्त गराएर आफ्नो भाग्य आफ्नै हातमा भन्ने स्वावलम्बी टेक दिन्छ र राजनीतिक चेतनाको अर्थ राजनीतिक उच्छृङ्खलता होइन बरु शोषण र अन्यायप्रति विद्रोहको प्रवृत्ति हो । त्यसैले राजनीति जनताको विषय पनि हो, पुरोहित राजा–महाराजाहरूको मात्र होइन । दुनियाँमा बढ्दो राजनीतिक चेतना मानवमुक्तिको अनन्त आशावादी चित्र खडा गर्छ । उहाँका विचारमा अहिल्यै विश्वसरकारको स्थापना सम्भव नभए पनि संयुक्त राष्ट्र सङ्घ त्यस दिशामा महत्वपूर्ण खुड्किलो हो ।
नारी स्वतन्त्रता र सम्मानको उहाँ अघोर पक्षपाती हुनुहुन्छ । नारीमा मातृरुप छ । नारी शिक्षा त्यसैले हाम्रो सामाजिक क्रान्तिको मूल अङ्ग भएको छ । नारीलाई कामवासनाको साधन ठानेर व्यवहार गर्नु उनको व्यक्तिमाथि कुठाराघात गर्नु हो । पुरुषहरूले गरेका नासमझी अविवेकपूर्ण र एकलकाँटे व्यवहारले उनीहरूलाई दयनीय तुल्याइदिएको छ । उनीहरू सहनशील हुन्छन् भनेर हामीले त्यसको फाइदा उठाउनु अनुचित हो । “रुखमा बसेर फेद काट्ने अधिनायकत्वको अधिकारलिप्सा” लाई हामीले छाड्नुपर्छ र नारीप्रति समानताको वैज्ञानिक दृष्टिकोण लिनुपर्छ । नारीजातिले सधैँ पुरुषको अधीनमा रहनुपरेको छ । विवाह नहुञ्जेल पिताको अधीनमा, विवाह भएपछि पतिको अधिनायकत्व र निर्भरतामा, विधुवा भए छोराको, हाम्रो समाजका पाखन्डीहरूको दोधारे नीति पनि गज्जबको छ । नारी सम्मानको कुरा आयो भने देवीपुराण, भागवतजस्ता पुस्तकहरू देखाएर हाम्रो धर्ममा नारीको स्थान उच्च देखाउनेछन् । तर, व्यवहारमा भने उनीहरूलाई कोपरा फाल्ने, कुचो लाउने, भाँडा माझ्ने चिरदासी बनाएर आफ्ना गोडा मिचाएका छन् । नारी मानवसमाजकी संरक्षिका हुन् र मानवीय गुणहरूकी साक्षात मूर्ति । त्यसैले हाम्रो कर्तव्य हो–उनको उचित सम्मान गर्नु, उनको सहयोग र सहायता लिएर संसारलाई झन् संस्कृत बनाउने । हाम्रो समाजका पाखण्डीहरूको दोधारे नीतिको हामीले विरोध गर्नुपरेको छ । हाम्रो समाजले युवकयुवतीहरूको कुसंसर्ग हुने भयले बालविवाहको चलन चलायो, तर त्यो चलन पछि गएर हाम्रा निम्ति एक अर्कै किसिमको जटिल समस्या हुन गयो । अनमेल विवाह, बालविवाह आदि कुचलनहरूलाई, जो हाम्रो समाजका कलङ्क र नारीजातिका अभिशाप हुन्, हामीले चाँडै मिल्काउनुपरेको छ ।
समाजका अरू अगतिशील तत्वहरू जस्तैः– वर्णव्यवस्था, जातिवाद इत्यादि कुसंस्कारहरूलाई हामीले निर्मूल पारेर नवीन समाजको स्थापना गर्न सामाजिक क्रान्ति गर्नुपरेको छ । होटेल, यातायात र सहशिक्षा प्रणालीका साथै वैज्ञानिक आविष्कारहरूले हाम्रा आँखा खोल्दैछन् । विस्तारै–विस्तारै मानिसहरूमा स्वयं चेतना आउँदैछ जो खुसी लाग्दो कुरा हो । यस विषयमा सहशिक्षा र प्रेमविवाहसम्बन्धी उहाँका विचारहरू आफ्नै किसिमका र अनौठा छन् । उहाँ भन्नुहुन्छ, वर्णशङ्करको उत्पत्तिले नयाँ जातिपाती, धर्महीन समाजको स्थापना गर्नेछ जो कतैतिर नलागेर विश्व समानता र एकताको पक्षपाती हुनेछ । त्यसैगरी प्रमेविवाहको प्रचारले जातिभेद, वर्णभेद, धर्मभेद आदि मेटिनेछन् र मनुष्यलाई एकअर्कासँग बेग्ल्याउने समाजका अनेकौँ बाधा अप्ठ्याराहरू आफैँ समाप्त हुनेछन् । त्यसैले हामीले विवाहसम्बन्धी स्वतन्त्रतामा कुनै प्रकारको अवरोध उत्पन्न गर्नुहुँदैन किनभने यो नवीन समाजको स्थापना गर्ने अत्यन्त उपयोगी साधन हो । हो, विवाह महत्वपूर्ण वस्तु भएकाले हामीले आफ्नो जीवनसाथी रोज्दा खुब विचार गर्नुपर्दछ, त्यो यसै हतार या अविववेकपूर्ण निर्णय या उच्छृङ्खलतामा लागेर गलत रोजाई गर्ने होइन ।
यी सबै विषयहरूमाथि उहाँका दृष्टिकोण जानेपछि, अब उहाँको साहित्यबारेका विचार पनि पठनीय छन् जो उहाँले ‘साहित्य ः एक दृष्टिकोण’ भन्ने पुस्तकमा व्यक्त गर्नुभएको छ । साहित्य ‘सत्यम् शिवम् सुन्दरम्’ को अद्वितीय समन्वय हो जसको उद्देश्य मानवकल्याणको चेष्टा गर्दै उसलाई सौन्दर्यानुभूतिको माध्यमबाट सत्यको दर्शन गराउनु हो । तर, साहित्यले नग्न रुपमा शिवम्को प्रतिष्ठापन गर्नु ठीक छैन, किनभने यसले गर्दा यो थोत्रो उपदेशमात्र रहन जानेछ । साहित्यमा प्रभुवाक्य सकेसम्म नरहून् । शिवम् फूलमा सुगन्ध अदृश्य रहेझैँ रहनुपर्छ । तबमात्र यसमा सुग्राह्यताको चरम आकर्षक रुप बाँच्न सक्नेछ । साहित्य भावुकतामात्र हैन, न यो कोरा उपदेश या नाराबाजी हो । यसको लक्ष्य महान् छ र यसको सौन्दर्यको सुसंस्कृत रुप भएर साहित्यमा कला र कल्याण दुवै मिलेको हुनुपर्छ ।
कला (साहित्य उत्कृष्ट र विशेष कला हो) को प्रयोजन या उद्देश्यबारे अनेकौँ मतमतान्तर साहित्यशास्त्रमा प्रचलित छन् । जस्तै, कला आनन्द या मनोरञ्जनका निम्ति या कला सृजनप्रवृत्तिको पूर्तिको निम्ति या जीवनका निम्ति या कला कलाकै निम्ति या कला जीवनका वास्तविकताबाट बाँच्नका निम्ति आदि आदि । यीमध्ये अरु विचारहरूको सापेक्ष महत्व हुनसक्छ तर “कला जीवनको बास्तविकताबाट बाँच्नका निम्ति” भन्ने मत एकदम अवाञ्छनीय र त्याज्य छ किनभने “जीवनदेखि कलाको अप्रयोजनीयता कहिल्यै सिद्ध हुनसक्दैन । कुनै न कुनै रुपमा कला र जीवनको सम्पर्क र सुसान्निध्य अवश्य छ, तत्वतः कला कलाका लागि र कला जीवनका लागि भन्ने दुई मतमा उहाँको विचारले केही विभिन्नता देख्दैन । साहित्यको सङ्गममा कला र जीवनको आत्मसात होस् । “साहित्य वा काव्यको अमरताका निम्ति कला र जीवन न्यायी तत्व हुन् । कला र जीवन एक अर्काका पूरक हुन् र दुवैमा अन्योन्याश्रित सम्बन्ध छ । कला के कुनै कुरा पनि जीवनबाट अलग्ग हुन सक्दैन ।” फेरि अर्को विवादस्पद प्रश्न छ, आदर्शवाद र यथार्थवादको । हृदयचन्द्रज्यूले यहाँ पनि समन्वयात्मक दृष्टिकोण लिनुभएको छ । साहित्यमा वादविवादको केही महत्व या स्थान छैन । आदर्शवादी र यथार्थवादी दुवै पक्षका मानिसहरू अतिवादी भएकाले त्यहाँ निरपक्षेताको दोष आइरहन्छ । आदर्शवाद र यथार्थवादी दुवैको परस्पर मेलबाट सच्चा र चिरस्थायी साहित्यको जन्म हुन्छ । सत्य निरपेक्षतामा होइन, समन्वयमा छ । यथार्थवाद र आदर्शवाद दुवै सत्यका विभिन्न पक्ष हुन् । तिनलाई कलात्मक रुप दिएर जनआत्मालाई ज्योति र अमृत प्रदान गर्दै उच्चस्तरमा लैजानु साहित्यको श्रेयस्कर सन्देश हो । साहित्यले संस्कृतिको हृदयलाई आप्लावित गरेर मानववादको भावना प्रसारित गर्नुपर्छ । संस्कृतिमा आधारित साहित्य या कलाले नै जनतालाई प्रभावित गर्न सक्छ । संस्कृति जनभावनाको द्योतक हुन्छ । सुन्दर हृदय नै सुन्दर हुनसक्छ । सुन्दर हृदय अर्थात् संस्कृत व्यक्तित्व नै मानवकलाको केन्द्रबिन्दु हो । ‘‘यस्तै संस्कृतिमा मुछिएको साहित्यले हृदयलाई परितुष्ट गर्दै त्यसलाई विराट, विशाल, विभु र आनन्दमग्न तुल्याउँछ । कला र साहित्यले व्यक्तिगत स्वार्थभन्दा जनरुचिलाई हेर्नु उचित छ किनभने सत्यम् शिवम् या सौन्दर्यमा व्यक्तिगत स्वार्थ या सम्पर्कता केही पाइन्न । संस्कृतिलाई उहाँ “शिवत्व तथा शुभ आकांक्षाको प्रकाशपुञ्ज र सभ्यताको सारभूत तत्व” मान्नुहुन्छ । यसरी संस्कृति र साहित्यमा, व्यष्टिबाट समष्टिसम्म फैलिने गुण हुन्छ ।
“वस्तुत ः कला र संस्कृतिको एकाकार नै हो– सभ्यताको चरम अवस्था । कला र सभ्यताको त्यो एकाकारतालाई मानवताको मापदण्ड पनि भन्न सकिन्छ ।” सुन्दर मनोवृत्ति (शिवत्वको भावना) नै सभ्यता, संस्कृति या मानवता हो र त्यो साहित्यबाटै आउन सक्छ । यो भावना मानवआत्माको तीव्र अनुभूतिबाट मात्र प्राप्त हुनसक्छ । व्यक्तित्वलाई कलङ्कित पार्ने बुद्धिको भत्र्सना उहाँले खुब गर्नुभएको छ किनभने बुद्धिवादले हाम्रो संस्कृतिमाथि कुठाराघात गरेर हामीलाई कृत्रिम, पलायनवादी र जीवनलाई चिनाउने, संस्कृति र सभ्यतालाई रसाप्लावित गर्ने सत्साहित्यको निर्माणमा उदात्त सौन्दर्य र शिवम् भावनाको प्रधानता हुन्छ । किन आजका साहित्यकार जनताका हृदयलाई छुन सक्दैनन् ? किनभने आज उनीहरू ज्यादै बुद्धिवादी र अग्राह्य हुने व्यङ्ग्य रच्दछन् । तर, यो अहंवाद हो । “बुझ्नै नसकिने पार्नु गम्भिरता हैन, अर्थहीन भएपछि पनि बुझिँदैन ।” शब्दजाल र क्लिष्टता (आजको नक्कली बुद्धिवादको प्रभाव) ले कोही ठूलो गनिँदैन । तुलसीदास र भानुभक्त सरल भएर पनि सर्वश्रेष्ठ छन् । बुद्धिवादमा अनुभूतिशीलता हुँदैन जो सत्साहित्यको अन्तरात्मा हो । जुन रचनाले हाम्रो हृदय छुनसक्छ त्यही महान रचना हो । आजका च्याउँकिरी र कलपुर्जे कविहरूले काव्यको आत्मालाई दूषित पारिदिएका छन् । त्यसैले कविता आज जनसाधारणको दृष्टिबाट लुप्त प्रायःहुँदैछ तर कविताको आवश्यकता सधैँ रहनेछ किनभने काव्य मनुष्यहृदयको अभिन्न माग हो । साहित्य पानसुपारी हैन, यो हाम्रो मानवअस्तित्वका लागि अत्यन्त आवश्यक खुराक हो । त्यसैले सत्साहित्यको सिर्जनाको जिम्मेवारी सच्चा संवेदनशील लेखकमाथि आइपरेको छ । त्यसै कारणले लेखक देश, जनता र आफ्नो प्रगतिप्रति उत्तरदायी हुन्छ ।
संक्षेपमा यही हो, हृदयचन्द्रको विचार र दृष्टिकोण । हृदयचन्द्रले केवल ध्वसंकारी आलोचनामात्र गर्नुभएको छैन, रचनात्मक र मौलिक सुझाउहरू पनि दिनुभएको छ । उहाँ ईश्वर, धर्म या अध्यात्मवादलाई हटाएर हाम्रो समाजमा नैतिक या सांस्कृतिक अराजकता ल्याउन चाहनुहुन्न । उहाँले बरु सारा कुराको सट्टा एक कुराको प्रतिस्थापना गर्ने इच्छा प्रकट गर्नुभएको छ, “मानववाद” । उहाँ यथार्थवादी ख्याल राख्दै आदर्शवादतिर औंल्याउनुहुन्छ । उहाँको दृष्टिकोण समन्वयात्मक र सापेक्षवादी छ । यद्यपि समन्वयवाद कहीँकहीँ ज्यादै अव्यावहारिक र आदर्शमूलक हुन जान्छ, जस्तै ः साहित्यमा सबै वादविवाद मेटेर समन्यवाद स्थापना गर्ने उहाँको प्रस्ताव । उहाँ साहित्यका विभिन्न वाद, जस्तै कलावाद, उपयोगितावाद, आदर्शवाद, यथार्थवाद आदिलाई साहित्यका वाद नमानेर विभिन्न शैली, तन्त्र, तत्व वा सङ्घमात्र मान्नुहुन्छ किनभने सुख र सौन्दर्यको ध्येय सबै साहित्यको उद्देश्य हो र मानवहृदय सबै देशमा एकै छ । वास्तवमा हुनु त त्यस्तै पर्ने हो, तर साध्य र साधनको द्वन्द्वझैँ साहित्यमा वादविवाद चल्नु स्वाभाविक र अनिवार्य छ । विश्वसाहित्यवाद र आदर्शवाद मानववाद उहाँका लक्ष्य हुन्, तर ती कहाँसम्म ग्राह्य छन् ? फेरि उहाँले बुद्धिलाई मानवताको अभिशाप मान्नु पनि एकतर्फी दृष्टिकोण हो । एकातिर हृदयचन्द्र बुद्धि र चिन्तन स्वतन्त्रतालाई सभ्यता र प्रगतिको ठूलो उत्पादन मान्नुहुन्छ । अर्कातिर त्यसैलाई मानवताका लागि श्रापस्वरुप । यसरी बुद्धिबारे उहाँको विचारमा विरोधाभास पाइन्छ । बुद्धिको विभाजन नैतिक या वैज्ञानिक रुपमा गरेर एकअर्काको पक्षी–विपक्षी हुने हो भने पनि बिल्कुल भिन्न रुपमा विभाजन न सैद्धान्तिकरुपमा न व्यवहारमा नै साध्य छ । बुद्धि स्वयंमा एक बरदान हो । त्यसको व्यापार या व्यवहार अनुचित या अकल्याणकारी हुनसक्छ । त्यस्तै वर्णशङ्कर र सहशिक्षा वा प्रेमविवाहका माध्यमबाट समानतामा आधारित र जातिपातिहीन नयाँ समाजको निर्माण गर्न उहाँको सुझाउ जो उद्देश्यका दृष्टिले प्रशंसनीय भए पनि व्यवहारका दृष्टिबाट प्रयोग गर्न गा¥हो छ । तर जे होस्, उहाँ एक संवेदनशील, जीवन, जनता र जगतसित प्रेम गर्ने र समाजको निर्माण अन्याय र अस्वाभाविक संस्कार र तर्कहीन मान्यताहरूका कुट आलोचना गर्ने मानवतावादी लेखक हुनुहुन्थ्यो । उहाँको विचारधारा स्वतन्त्र, प्रगतिशील, आशावादी र वैज्ञानिक छ र उहाँको हृदय आदर्श भावना र विश्वबन्धुत्वको शुभेच्छाले परिपूर्ण । जीवन र जगतलाई उहाँले प्रगतिशील दृष्टिकोणबाट हेर्नुभएको छ र यसका दुर्बलता र दुराचारको खुब संयमित र सूक्ष्मरुपमबाट विवेचना गर्ने सफल प्रयत्न गर्नुभएको छ । लेखकको जिम्मेवारी स्वतन्त्र र निर्भीक रुपबाट समाजको विश्लेषण गर्दै आफ्नो बुद्धिभर अरुलाई बाटो देखाउनुभएको छ । मानवजीवन र विश्वलाई स्वर्ग बनाउने हो भने उहाँको दृष्टिकोणमा हामीले सत्यम्, शिवम् र सुन्दरम्को पूर्ण एवम् सुसन्तुलित समन्वय गर्ने चेष्टा स्वतः गर्नुपर्छ । आफूलाई सभ्य, सुखी र सांस्कृतिक तुल्याउने हो भने हामीले तिनै सिद्धिलाई समानरुपमा प्राप्त गर्नुपर्छ र मानिसलाई केवल खोक्रो सौन्दर्यले केही दिँदैन न असत्यता र कुरुपतामा आधारित देखावटी बाहिर कल्याणको भावनाले न कटु र नाङ्गो सत्यले मात्रै । सत्यलाई अँगाल्दै सुखी र सन्तुष्ट भएको सुन्दर जीवन नै सबभन्दा पूर्ण र साध्य जीवन हो । हुन पनि हो, पूर्णता समन्वयमा नै छ किनभने सत्य एकाङ्गी र पक्षपाती कहिल्यै हुनसक्दैन ।
स्रोत ःगोविन्द भट्टका समालोचना
Leave a Reply