भर्खरै :

सम्पदा जोगाउने चुनौती

सुशिला
भक्तपुरको मल्लकालीन दरबारभित्र एउटा सानो पोखरी छ– दुमाजु पोखरी । पुरातत्व विभागले हालै त्यो पोखरीको जीर्णोद्धार ग¥यो । जीर्णोद्धारको क्रममा त्यहाँ भेटिएका र्इँटा जम्मै त्यहाँको भुईमा सोलिङ गर्न प्रयोग गरियो । मल्लकालीन पहिचान र परिचय बोकेका ती र्इँटाको महत्व निर्माण ठेकेदार र निर्माण मजदुरलाई मतलब भएन । पुराना र्इँटाको उनीहरूले भुई ढलान गर्न ‘सदुपयोग’ गरे । नेपालका केही ऐतिहासिक सम्पदा सिमेन्टको लेपनले ध्वस्त भयो ।

दरबार क्षेत्रकै द्वारिकानाथ मन्दिरका पिंडीमा विभागले नै चारकुने र्इँटा बिछ्यायो । ईँटा मान्छेले सजिलै उप्काउन मिल्ने गरी बिछ्यएको भन्दै स्थानीय नगरपालिकाले आपत्ति जनायो । तर, ईँटा बिछ्याउने निर्माण मजदुरले कमसल गरी ईँटा बिछ्याइएका मात्र थिएनन्, मन्दिरकै काठका देवाकृतिमा ह्वाइट सिमेन्टले पोत्दा युगौं पुराना ती सम्पदा कुरुप मात्र देखिएनन्, कहिल्यै पहिलेको आकृतिमा नफर्कने गरी बिग्रिए ।
यतिबेला काठमाडाँै उपत्यकाका तीन सहरका दरबार क्षेत्रभित्र २०७२ सालको भूकम्पबाट भत्केका सम्पदाको पुनःनिर्माण र जीर्ण सम्पदाको जीर्णोद्धार भइरहेका छन् । अपेक्षित गतिमा पुनःनिर्माण र जीर्णोद्धारका काम भइरहेको छैन । तर, सुस्त गतिमा भइरहेको पुनःनिर्माण र जीर्णोद्धारभन्दा चिन्ताको विषय भने सम्पदाको पुनःनिर्माण वा जीर्णोद्धारमा भएका लापरबाही हुन् ।
सम्पदा क्षेत्र हाम्रो देशको इतिहास र सम्पत्ति हो । वर्षमा लाखौं पर्यटक काठमाडाँै उपत्यकामा यहाँको कङ्क्रिटको जङ्गल हेर्न आउने होइनन् । तिनै मल्लकालीन सम्पदा हेर्न पर्यटक आउने हुन् । त्यसकारण ती सम्पदा हाम्रो इतिहास मात्र नभई अर्थोपार्जनका माध्यम पनि बनेका छन् । पुरानो युगले नयाँ युगको सेवा गर्छ भने जस्तै ती ऐतिहासिक धरोहरले आजको पुस्ताको पनि सेवा गरिरहेका छन् । बिडम्बना आज ती सम्पदा क्षेत्रको पुनःनिर्माण र जीर्णोद्धारमा भएका लापरबाहीले तिनको मौलिकता र महत्वलाई होचो बनाइदिएको छ । पुरातत्व विभागले सम्पदा क्षेत्र जीर्णोद्धार र पुनःनिर्माणबारे अलग कार्यविधि बनाएको छ । तर, त्यो कार्यविधि कार्यान्वयनतिर भन्दा सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार कसैको निजी ढलान घर बनाएजस्तो गर्न खोज्दा सम्पदाको मौलिकता गुम्ने खतरा बढ्दो छ ।
इतिहास स–साना ईटाका टुक्रा र आकृतिमा लुकेर बसेको हुन्छ । काठका साना टुक्रा र फालिएका मसिना ढुङ्गामा संस्कृति र इतिहासको बास हुनसक्छ । तर, त्यो इतिहास र संस्कृति देख्न ज्ञान र अध्ययनको आवश्यकता हुन्छ । चीनको सियान प्रान्तको लिनतोङ जिल्लामा भेटिएको टेराकोट्टा आर्मी स्थानीय केही किसानले इनार खन्ने क्रममा सन् १९७४ मा फेला पारेका थिए । अध्ययन गर्दै जाँदा त्यो चीनका प्रथम सम्राटको चिहान भएको पत्ता लाग्यो । ईशापूर्व २१०–२०९ बीच गाडिएको सम्राट छिन शि ह्वानको चिहानमा ती सैनिक आकृतिहरू पनि गाडिएको भेटियो । इनार खन्दा चिनियाँ सभ्यताको त्यो अनुपम इतिहास पत्ता लाग्यो ।
हाम्रै कपिलबस्तुको बुद्धकालीन दरबार पत्ता लागेको इतिहास पनि त्योभन्दा धेरै फरक छैन । पुरातत्व अध्ययनको लागि जमिनमूनि, निर्जन जङ्गलभित्र नयाँ आविस्कारका अथाह सम्भावना लुकेको हुन्छ । सुर्खेत जिल्लाको काँक्रेबिहार आजभन्दा दस वर्षअघिसम्म जङ्गलमा फालिएका ढुङ्गाबाहेक केही थिएन । आज त्यहीँ ऐतिहासिक धरोहर बन्दैछ ।
काठमाडाँै उपत्यकाभित्रका प्रत्येक सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार गर्दा एकातिर अझै पनि त्यस्ता नउघारिएका कयौं पाटा सतहमा आउने सम्भावनालाई नकार्न सकिन्न भने अहिले रहेका सम्पदाको संरक्षण अर्को महत्वपूर्ण पाटो हो । तर, युगौं पुरानो सम्पदा पुनःनिर्माण र जीर्णोद्धार केही निर्माण मजदुरको जिम्मामा मात्र छोडिंदा नयाँ खोजको सम्भावनाको ढोका बन्द मात्र भएका छैनन्, बरु भएका सम्पदा समेत कुरुप र महत्वहीन बनेका छन् ।
कुनै पनि सम्पदाको पुनःनिर्माण वा जीर्णोद्धारलाई अरु सामान्य भौतिक निर्माण जस्तै ठेक्कामा ठेकेदारको भरमा मात्र छोड्ने गल्ती गर्नु हुन्न । इतिहासविद्, पुरातत्वविद् आदि विज्ञहरू समेतको प्रत्यक्ष संलग्नता र अनुगमनमा सम्पदा पुनःनिर्माण गरिनुपर्दछ । अझ विश्वविद्यालय र अनुसन्धान केन्द्रका अध्येता र विद्यार्थीहरू समेतको संलग्नतामा सम्पदा पुनःनिर्माण गर्न सके भविष्यको लागि समेत विचार गरेको ठहरिनेछ ।
सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारमा उपलब्ध भएसम्म रैथाने जनशक्तिको प्रयोग र परिचालन आवश्यक छ । सम्पदासँग जोडिएको समुदाय र संस्कृतिका अनुयायीलाई नै यसको सम्भारमा परिचालन गर्न सक्दा कालान्तरमा त्यसको संरक्षणमा पनि स्थानीयले स्वामित्वबोध गरी संरक्षण हुन जान्छ । तर, यतिबेला विशेषतः पुरातत्व विभागमार्फत ठेक्कामा दिइएका पुनःनिर्माण वा जीर्णोद्धार कार्यमा सम्पदाको महत्वबारे जानकारी नभएका र कहीँ कतै पनि नजोडिएका जनशक्ति परिचालन गर्दा न त तिनले आफूले बनाउँदै गरेको सम्पदाप्रति संवेदनशीलता देखाउन सकेका छन् न स्थानीय बासिन्दाले नै त्यसप्रति स्वामित्वबोध गरेका छन् । कतिपय सम्पदा जीर्णोद्धारमा स्थानीय बासिन्दा र ठेकेदारबीच द्वन्द्व समेत भएका छन् । ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरी गुणस्तरहीन निर्माण गर्दा रैथानेले विरोध गरेका घटना पनि छन् । पुनःनिर्माण वा जीर्णोद्धार कार्यमा विज्ञ जनशक्तिको अनुगमन नहुँदा इतिहास बोकेका ईँटाका टुक्रा ‘काम नलाग्ने’ ठानिएका छन् । पुरातात्विक महत्व बोकेका काठमा खम्बालाई बलेंसीको पानीले कुहाएर ती काठे खम्बाको सट्टा ढलान गरिएका छन् ।
कतिपय सम्पदा क्षेत्रको रक्षाका लागि तैनाथ प्रहरीले पुरातात्विक महत्वका काठ बाल्ने समेत गरेका छन् । ऐतिहासिक खोजको सम्भावनाको दुरभविष्यबारे जानकारी नभएका निर्माण मजदुर, ठेकेदार वा सुरक्षाकर्मीलाई यसको निम्ति दोषारोपण गर्नुभन्दा सरकारी निकायले यसको निम्ति जिम्मेवारी बोध गर्न आवश्यक छ ।
सम्पदा संरक्षण (पुनःनिर्माण र जीर्णोद्धार) को निम्ति अर्को चुनौती दक्ष जनशक्तिको क्रमशः अभाव हुँदै जानु हो । ईँटा बिछ्याइएको बाटो बनाउने, झिङ्गटीले छाना छाउने, मन्दिरको गारो बनाउने आदि सीप जान्ने मानिस क्रमशः कम हुँदै गएको छ । सीपालु मानिस नहुँदा अर्धदक्ष र अदक्ष मानिस अथवा अर्को काममा सीपालु भएर त्यस्तो काममा सीप नभएका मानिसलाई कामको जिम्मा लगाउनुपर्दा सम्पदाको जीर्णोद्धारमा खेँलाची वा अपूर्णता हुने गरेको छ । त्यसको निम्ति पुरातत्व विभाग, विश्वविद्यालय, सीटीईभीटी आदि जिम्मेवारी निकायले नियमित विशेष तालिमको बन्दोबस्त गर्न सके पुर्खाले जानेको सीपको क्रमशः पुस्ता हस्तान्तरण हुँदै जानेछ । त्यसरी तालिम प्राप्त मजदुरलाई नै त्यस्ता काममा परिचालन गर्नु उपयुक्त हुनेछ । विशेषतः काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहले पनि यसमा अग्रसरता देखाउन जरुरी छ ।
सम्पदा जीर्णोद्धारको लागि आवश्यक सामग्री समेतको अभाव आगामी दिनको चुनौती हुनेछ । झिङ्गटी, कलात्मक तोरण, बुट्टार्इंटा, काष्ठकला आदिको उत्पादन बिना पुराना सम्पदाको मौलिकता जोगाउन सकिन्न । तर, ती सामग्री उत्पादन गर्ने सीपालु मानिस र उद्योगहरू क्रमशः कम हुँदै गएको छ । अधिकांश मन्दिरमा रहेका काष्ठकला र बुट्टाको आफ्नै मिथक र किवंदन्ती हुने गरेका छन् । खोजी पस्दा तिनमा इतिहास भेटिन्छ, तत्कालीन समाजको प्रतिविम्ब भेटिन्छन् । आज काष्ठकला, धातुकला र बुट्टेदार र्इँटा बनाउने कर्मीलाई तिनको बारे जानकारी दिन नसक्दा त्यस्ता किवंदन्ती लोप हुँदै जाने अवस्था पनि छ । तसर्थ अध्येताको अध्ययन किताबको पानाबाट बाहिर ती कर्मीसम्म पनि कसरी पु¥याउने हो, चुनौतीको विषय हो । यस्ता सबै कुरामा घोत्लिएर विचार गर्दा आज ठेकेदारीमा सम्पदा निर्माण र जीर्णोद्धार गरिनु झारा टार्ने र परिणाममा सम्पदाको आत्मा मार्ने काम हुने देखिन्छ ।
निःसन्देह सयौं वर्षअघि बनेका सम्पदाको मौलिकता जोगाउन आज एक प्रकारको चुनौती हो । तर, त्यो मौलिकता नै हाम्रो परिचय र सम्पत्ति भएकाले यसमा लापरबाही गर्ने छुट कसैलाई छैन । नजाने जान्न सकिन्छ तर अल्पज्ञानमा चुनौतीको समाधान खोजी गर्नु भने बुद्धिमानी होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *