भर्खरै :

जौ र यसका फाइदाहरू

डा. अरुणा उप्रेती
जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पीठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फरजस्ता सूक्ष्म पोषणतत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले मधुमेहका बिरामीलाई पनि सहायता पु¥याउँछ ।
जौले आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’ को रक्षा गर्छ । जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ । जौको प्रयोग मुटु रोग भएका व्यक्तिहरूका लागि पनि लाभदायक हुने अमेरिकामा प्रकाशित एक अनुसन्धानले देखाएको छ । करिब १९ वर्षसम्म चलेको उक्त अनुसन्धानमा १० हजार वयस्क महिला र पुरुषले भाग लिएका थिए ।
अनुसन्धानको क्रममा दिनको २१ ग्राम (चार चम्चा) रेशादार पदार्थ सेवन गर्ने व्यक्तिमा १२ प्रतिशत मुटुको रोग कम भएको देखियो । रेशादार पदार्थको प्रयोगले मधुमेह भएका व्यक्तिहरूको रगतमा चिनीको मात्रा कम गर्न पनि मद्दत मिलेको पुष्टि भएको छ । रेशादार पदार्थबाहेक जौमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ, जसले शरीर स्वस्थ राख्छ ।
रजोविती भइसकेका महिला–का लागि विभिन्न समस्या रोक्न जौ एउटा राम्रो भोजन मानिन्छ । बोसो घटाउन र मुटुको रोग लाग्नबाट बचाउन पनि जौले मद्दत गर्छ । रजोविती भइसकेका दुई सय २० महिलामा गरिएको अनुसन्धानले मुटुका धमनीहरूमा पाइने बोसो घटाउन पनि जौले भूमिका निर्वाह गर्ने गरेको देखाएको छ । यो अनुसन्धान अमेरिकी हर्ट जर्नलमा प्रकाशित भएको थियो ।
जौ म्याग्नेसियम पाइने उत्तम स्रोत हो । म्याग्नेसियमले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ र मधुमेहका बिरामीलाई पनि सहायता पु¥याउँछ । रेशादार पदार्थमात्र होइन, विभिन्न किसिमका अन्य सूक्ष्म पोषण भएको कारणले जौ एउटा उत्तम भोजन हो ।
हर्लिक्स जौबाट नै बन्छ तर त्यो अति महँगो छ , त्यसमा चिनी पनि मिसिएकोले त्यो अस्वस्थकर छ जौको सत्तु खाए सस्तो पनि, स्वस्थ पनि राम्रो, के गर्ने आफँै विचार गर्नुस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *