भर्खरै :

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २७ फागुन । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कारबाहीस्वरूप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरूत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारबाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताउनुभयो । “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारबाहीस्वरूप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उहाँले भन्नुभयो ।
मंसिर ८ गतेदेखि सुरू गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारबाही गर्रिदै आएको हो । महाशाखाले सडकलाई अवरोध पु¥याउने गरेर जथाभावीरूपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रू. ५०० देखि एक हजारसम्म जरिवाना गर्दै आएको छ ।
ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।
महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै महाशाखाले लेन अनुशासन कारबाही, मादकपदार्थ सेवन (मापसे) कारबाही, सिसीटिभी कारबाही, गोप्रो बडिवान क्यामरालगायतका कारबाही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *