भर्खरै :

राष्ट्र सङ्घको चौथो वातावरण सभा : सम्भावित त्रासद् परिणामप्रति चिन्ता

काठमाडौँ, ३० फागुन । संसारभर प्रदूषणको दुष्प्रभावले भयावह रूप लिन थालेको छ । संयुक्त राष्ट्र सङ्घको चौथो वातावरण सभामा सहभागी १९३ भन्दा बढी देशका प्रतिनिधिहरूले पृथ्वीमा दिनहुँ फैलिएको प्रदूषणको सम्भावित त्रासद परिणामप्रति चिन्ता व्यक्त गरेका छन् ।
सभामा वातावरण संरक्षणकर्मीहरूले वातावरण संरक्षणसम्बन्धी उचित कानुन बनाई कार्यान्वयनमा गएन भने आगामी सन् २०५० सम्ममा प्रदूषणकै कारण दसौँ लाख मानव भ्रुण मारिने र उत्तरी धु्रवको बरफ धेरै मात्रामा पग्लिने बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार संसारमा प्रदूषणकै कारण आज–भोलि वार्षिक झण्डै ७० लाखको मृत्यु हुने गर्दछ । रसायनको बढ्दो प्रयोगको कारण उनीहरूले एन्टिवायोटिक क्रमशः निष्प्रभावी बन्दै जाने बताएका छन् । यही अवस्था रहिरहे सन् २०५० सम्ममा संसारमा मानिसको असमयमै निधन हुनुको प्रमुख कारण प्रदूषण नै हुने उनीहरूले बताएका छन् ।
“सबै महादेशमा स्वच्छ पानीमा विभिन्न प्रकारका विषाक्त रसायनको प्रयोग व्यापक मात्रामा भइरहेको छ । यसले भ्रुणको विकास
र पुरुषको नपुसंकताको लागि दीर्घकालीन प्रभाव पार्नेछ ।”, वैज्ञानिकहरूले सम्मेलनमा भने ।
सबै प्रकारका नयाँ–नयाँ शारीरिक समस्या र रोगको कारण विश्वव्यापी पर्यावरणीय परिवर्तन भएको प्रस्ट पार्दैै संसारमा जलवायु परिवर्तनमा रोकथाम गर्न २२ त्रिलियन अमेरिकी डलर लाग्ने तर त्यसो नगर्दा मानिस शरीरमा पार्ने प्रभावको मूल्य भने त्यो भन्दा बढी ५४ त्रिलियन अमेरिकी डलर पर्ने बताएका छन् ।
विज्ञहरूले सहरी क्षेत्रमा बसाइ सराइ रोक्न ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारको विकासको लागि राज्यहरूले ध्यान दिनुपर्ने चर्चा गर्दै सन् २०५० सम्ममा संसारका ७० प्रतिशत मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्ने पूर्वानुमान प्रस्तुत गरे ।
संसारमा तापमान यही गतिमा बढे उत्तरी धु्रवको बरफ पग्लेर समुद्रको सतह बढ्ने चर्चा गर्दै उनीहरूले त्यसको रोकथामका लागि यथाशक्य चाँडो कदम चाल्नुपर्ने विचार राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *