भर्खरै :

बारको सदस्यतामा किन पक्षपात ?

काठमाडौँ ७ चैत । नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको चैत १६ गते हुने निर्वाचनको सन्दर्भमा नेपाल मेलमिलापकर्ता समाजको आयोजनामा उम्मेदवार मतदाता साक्षात्कार कार्यक्रम आयोजना ग¥यो ।
निर्वाचनमा सबै अध्यक्ष पदका प्रत्यासीहरुलाई निमन्त्रणा गरी आयोजना गरेको उक्त कार्यक्रममा कानुन अध्ययन समाज नेपालको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता रामप्रसाद प्रजापतिले बार निर्वाचनमा करोडौं खर्च गरेर प्रचारप्रसार गर्ने शैली पँुजीवादी निर्वाचन भएकोले पँुजीवादी निर्वाचन निष्पक्ष नहुनाका साथै लगानीकर्ताहरुकै सेवा गर्ने भएकोले कानुन अध्ययन समाज नेपालले उम्मेदवारी दिएको बताउनुभयो ।
आफ्नो सङ्गठनको समर्थक बन्ने शर्तमा मात्रै बार एशोसिएशनको सदस्यता दिने बार नेतृत्वको पक्षपाती ब्यवहारको विरोध गर्दै अहिलेसम्मका नेतृत्व आ–आफ्नो दलहरुको निर्देशन अनुसार वक्तव्य जारी गर्ने लाउडस्पीकर भएको हुँदा बारको गिरेको शाख जोगाउन त्यस्ता प्रवृतिको विरोधमा निरन्तर खबरदारी गर्न पनि कानुन अध्ययन समाजको उम्मेदवारी भएकोले कानुन अध्ययन समाज नेपालका उम्मेदवारहरुलाई अमूल्य मत दिई न्यायालयमा देखिएको अव्यवस्था अराजकतालाई चिर्न, बारको भागबण्डा र पक्षपाति व्यवहारको विरोध गर्दै नेपाल बारलाई प्राज्ञिक र कानुनी थलो बनाउन अपिल गर्नुभयो ।
उहाँले बार शासक दलका आ–आफ्ना भनाइ प्रचार गर्ने लाउडस्पिकर बन्न नहुने बताउनुभयो ।
कार्यक्रममा अर्का अध्यक्ष पदका प्रत्यासी वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बारको अनियमितता, भ्रष्टाचारका विरुद्ध नेपाल बारलाई “सुदृढीकरणका साथै शुद्धिकरण” गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
त्यस्तै अर्का अध्यक्ष पदका प्रत्यासी अधिवक्ता सुनिलकुमार पोखरेलले नेपाल बारलाई नेतामा होइन नीतिमा ध्यान दिन र स्मार्ट बार स्मार्ट लयर्स बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु अधिवक्ता विराजकुमार भट्ट, अधिवक्ता डा.पुण्यप्रसाद खतिवडाले पनि बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल मेलमिलापकर्ता समाजका अध्यक्ष अधिवक्ता शंकरकुमार सुवेदीको अध्यक्षतामा भएको थियो ।
बिहीबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एकाइको आयोजनामा जिल्ला समन्वय समिति, काभ्रेको सभाहलमा उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी उम्मेदवारहरु अधिवक्ता रामप्रसाद प्रजापति, वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, अधिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नो दृष्टिकोण राख्नुभएको थियो । कार्यक्रम काभ्रे बारका अध्यक्ष अधिवक्ता देवकुमार मोक्तानको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *