भर्खरै :

बिरामी भानेयेभकहाँ

हुलाकीले हप्तामा दुईचोटी चिठीपत्र ल्याउँथ्यो ।
इष्टमित्रका पत्र आउँथे । यस इलाकामा करिब डेढ सय वेस्र्त (करिब डेढ सय किलोमिटर) को दायरामा ‘सङ्घर्ष लीग’ का धेरै सदस्य निर्वासनको सजाय काटिरहेका थिए । केही साथी टाढा, धेरै टाढा अति गएगुज्रेको, बाह्रैमास बरफले ढाकिने भेगतिर पठाइएका थिए ।
एकदिन भ्लादीमिर इल्यीचको घरमा एउटा पत्र आयो । त्यो पत्र आन्ना इल्यीनिच्नाले पठाएकी थिइन् । पत्रमाथिको छापबाट त्यो एकदम गोपनीय पत्र भएको थाहा हुन्थ्यो । अर्थात् पत्र निकै महत्वपूर्ण थियो । गुप्त रूपमा लेखिएको कागजलाई उल्थाउँदा यो एउटा लेख भएको थाहा भयो । भ्लादीमिर इल्यीचले त्यो लेख पढ्न थाले । उनको आँखीभौँ खुम्चियो । उनलाई आन्ना इल्यीनिच्नाद्वारा पठाइएको पत्र रुचेन । लेनिनकी बहिनीले त्यसलाई एक गैर–रूसी शीर्षक दिएकी थिइन, ‘क्रीडो’ । यसको रूसी अर्थ हुन्थ्यो ः विश्वास वा दृष्टिकोण ।
आन्ना इल्यीनिच्नाले लेखेकी थिइन् – केही दलले माक्र्सवादविरुद्ध प्रचार गर्न थालेका छन् । ती दलहरू साना भएपनि धेरै सक्रिय छन् । तिनको विचारमा मजदुरहरूलाई राजनीतिसँग कुनै सरोकार छैन । उनीहरूलाई खाली ज्यालावृद्धि भए पुग्छ । यसको लागि मालिक वा उद्योगपतिहरूसँग शान्तिपूर्ण सम्बन्ध आवश्यक हुन्छ ।
यस्तो दृष्टिकोणलाई “अर्थवाद” भनिन्थ्यो ।
“के गर्ने होला ?” भ्लादीमिर इल्यीच विचारमा डुबे । “यिनीहरूले त मजदुरहरूलाई क्रान्तिकारी उद्देश्यबाट टाढा भगाइरहेका छन् !”
भ्लादीमिर इल्यीचले मनमा लागेका कुरा बोली पनि रहेका थिए । नादेज्दा कोन्स्तातिनोभ्ना उनको यो बानीसँग परिचित थिइन् । यसकारण उनी केही बोलिनन् । छिट्टै लेनिनले कुनै न कुनै समाधान पहिल्याउनेछन् भन्नेमा उनी ढुक्क थिइन् ।
साँच्चिकै केहीबेर घोत्लिएपछि समाधान मिल्यो पनि ः “साथीहरूलाई बोलाएर ‘क्रीडो’ को विषयमा विचार–विमर्श गर्नेछौँ, विरोधपत्र लेख्नेछौँ, अनि गुप्त रूपमा कारखानाहरूमा पठाउनेछौँ ।”
तुरुन्त उनी नादेज्दा कोन्स्तान्तिनोभ्नासँगै आफ्ना सबै निर्वासित साथीहरूलाई पत्र लेख्न बसे । तर बैठक कहाँ राख्ने ? शूशेन्स्कोये सबैभन्दा उत्तम स्थान थियो । तैपनि भ्लादीमिर इल्यीचले येरमाकोभ्स्कोये गाउँ रोजे । यो गाउँ शूशेन्स्कोयबाट साठी वेस्र्तको दूरीमा थियो । त्यहाँ भ्लादीमिर इल्यीचका एक अनन्य मित्र अनातोली भानेयेभले सजाय काटिरहेका थिए । जेलमा उनलाई क्षयरोगले थला पारेको थियो । रोगले उनलाई बिस्तराबाट उठ्नै नसक्नेगरी भित्र–भित्र खाएको थियो । यसकारण भ्लादीमिर इल्यीचले बैठकको लागि येरमाकोभ्स्कोये गाउँलाई चुने ।
भानेयेभ सेतो ओछ्यानमा पल्टिएका थिए । आफू नै ओछ्यानभन्दा सेतो अनि कमजोर देखिन्थे । ठूला आँखा ज्वरोले गर्दा राता भएका थिए । तैपनि उनी सबैको साझा उद्देश्यमा सामेल हुन पाएकोमा, सहयोगी हुन पाएकोमा खुशी देखिन्थे । उनलाई अझ धेरै बाँच्ने, काम गर्ने र मानिसहरूको भलाइ गर्ने अदम्य इच्छा थियो ।
‘क्रीडो’ को विषयमा बहस भयो । विरोधपत्र लेखियो । शीघ्र नै त्यसलाई देशका सबै शहरका मजदुर–मण्डलीहरूमा यसरी पढिने भयो ः
“साथीहरू, अर्थवादीहरूको विचार सुन्नुहोस् । हाम्रो सामुन्ने एउटै बाटो छ – क्रान्ति ! ”
बैठक सकिएपछि भ्लादीमिर इल्यीच भानेयेभको ओछ्यानछेउ बसे । भानेयेभ थाकेका थिए । निधारमा पसिनाका चिसा थोपा देखिन्थे । आँखाहरू खाल्डामा भासिएजस्ता भएका थिए ।
कठै भानेयेभ ! जारशाही जेल र निर्वासनमा कति कष्ट भोगेका छन ! भ्लादीमिर इल्यीचले उनको दुब्लो हात मुसारे, गफ गरे, अगाडिका योजनाहरूको बारेमा बताए । छिट्टै नै निर्वासनको अवधि सकिन लागेको थियो । भ्लादीमिर इल्यीचले मजदुरको माक्र्सवादी पार्टीँ बनाउने, आफ्नै सर्वहारा समाचारपत्र निकाल्ने अनि जारशाहीविरुद्ध लडिरहने योजना सुनाए ।
भानेयेभ अत्यन्त उत्सुकता र प्रशंसामिश्रित भावले सुनिरहेका थिए । बाहिर अगस्तको साँझ छिप्पिन लागेको थियो । कतै टाढाबाट मनमा हलचल पैदा गर्ने खालको अकार्डियनको धुन आइरहेको थियो । भानेयेभ ज्वरोले सुकाएको ओठबाट बर्बराइरहेका थिए, “धन्यवाद भ्लादीमिर, तिमीले मलाई फेरि जिउँदो बनायौ । मलाई विश्वास छ …..”
यो भानेयेभको अन्तिम सुखी साँझ थियो । तीन हप्ता पनि नबित्दै भ्लादीमिर इल्यीच र नदेज्दा कोन्स्तान्तिनोभ्ना पुनः येरमाकोभ्स्कोये आउनुप¥यो । अनातोली भानेयेभको अन्त्यष्टीको लागि ।
“बिदा भानेयेभ,” मृत शरीरको नजिकै उभिएर भ्लादीमिर इल्यीचले भने । “म वचन दिन्छु, क्रान्तिको उद्देश्यप्रति सधैँ बफादार रहनेछु ।”
बरफका सेताम्य कण हावामा उडिरहेका थिए । मृत अनातोलीको अनुहारमा खसेका कण सग्लै देखिन्थे ।
भ्लादीमिर इल्यीचले लास राख्ने बाक्सामा टाँग्न फलामको पट्टी मगाए । त्यसमा लेखिएको थियो ः “अनातोली अलेक्सान्द्रानोविच भानेयेभ । राजनीतिक निर्वासित । उमेर २७ वर्ष । निधन – ८ सेप्टेम्बर, १८९९ ।”
(‘लेनिनकथा’ बाट, अनुवाद ः माधव अधिकारी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *