भर्खरै :

माक्र्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग

भी. आई. लेनिन
माक्र्सवादी शिक्षाप्रति समस्त सभ्य संसारमा सम्पूर्ण बुर्जुवा (नोकरशाही र उदारवादी) विज्ञानको तर्फबाट ठूलो शत्रुता र घृणा दर्शाइन्छ र माक्र्सवादलाई एक प्रकारको “अहितकर सम्प्रदायको” रुपमा हेरिन्छ । यो स्वाभाविकै पनि हो किनभने वर्गसङ्घर्षमा आधारित समाजमा निष्पक्ष सामाजिक दर्शनको अस्तित्व हुँदैन । समस्त नोकरशाही र उदारवादी दर्शनले शोषण प्रथाको नै हर प्रकारले रक्षा गरेको हुन्छ, माक्र्सवादले चाहिँ यस प्रथाको विरुद्ध कठोर सङ्घर्ष सुरु गरेको छ । शोषण प्रथामा आधारित समाजमा निष्पक्ष दर्शनको आशा राख्नु त्यत्ति नै मूर्खतापूर्ण हुन जानेछ, जस्तो पुँजीको लाभांशमा कटौती गरेर मजदुरहरूको पारिश्रमिक बढाउनु ठीक होला भन्ने प्रश्नमा उद्योगपतिहरूको विरोधरहित उत्तरको आशा राख्नु ।
तर यत्ति भन्नु पर्याप्त छैन । दर्शनशास्त्र र सामाजिक विज्ञानको इतिहासले स्पष्ट सिद्ध गरेका छन् कि माक्र्सवादमा अन्तरभिमुख र गतिरहित शिक्षाको अर्थमा यस्तो ‘साम्प्रदायिकता’ को कुनै आभास पाइँदैन, जुन विश्व सभ्यताको मूल बाटोबाट अलग प्रादुर्भाव भएको होस् । यसको विपरीत, माक्र्सको महानता नै यसमा छ कि उहाँले प्रगतिशील मानवतासमक्ष रहेका प्रश्नहरूको सही उत्तर दिनुभएको छ । दर्शन, राजनैतिक अर्थशास्त्र र समाजवादका महानतम प्रतिभाहरूको शिक्षाको नै प्रत्यक्ष र सन्निकट क्रमको रुपमा उहाँको सिद्धान्तको प्रादुर्भाव भएको हो ।
माक्र्सको सिद्धान्त सर्वशक्ति सम्पन्न छ किनभने यो सत्य छ । यो सम्पूर्ण र सुसङ्गत छ, यसले मानिसहरूलाई सम्बद्ध विचारधारा प्रदान गरेको छ । कुनै पनि अन्धविश्वास, कुनै पनि प्रतिक्रियावाद तथा कुनै पनि पुँजीवादी उत्पीडनको यो घोर विरोधी छ । यो विचारधारा जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको रुपमा उन्नाइसौं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।
माक्र्सवादका यी नै तीन स्रोत र तीन सङ्घटक अङ्गहरूको विषयमा हामी सङ्क्षेपमा उल्लेख गर्ने छौँ ।

माक्र्सवादको दर्शन हो–भौतिकवाद । युरोपको सम्पूर्ण नवीन इतिहासको अवधिमा विशेषतः अठारौँ शताब्दीको अन्त्यमा जहाँ हर प्रकारको मध्ययुगीन अवशेषहरूको विरुद्ध, विचारधारा र संस्थाहरूमा भूदास प्रथाको विरुद्ध निर्णायक सङ्ग्राम चालू थियो, भौतिकवाद मात्र एउटा यस्तो दर्शन सावित भयो, जुन प्राकृतिक विज्ञानको शिक्षानुकूल र अन्धविश्वास, अशिक्षाको प्रतिकूल थियो । तसर्थ, प्रजातन्त्रका शत्रुहरूले भौतिकवादको ‘खण्डन’ गर्नमा, मुलोच्छेदन गर्नमा, झूठो आरोप लगाउनमा समस्त शक्ति लगाएका थिए र दार्शनिक अध्यात्मवादको विभिन्न रुपहरूको समर्थन गरेका थिए, जसद्वारा सदैव धर्मको नै रक्षा र पुष्टि हुन सक्थ्यो ।
माक्र्स र एँगेल्सले दार्शनिक भौतिकवादको दृढतापूर्वक समर्थन गर्नुभएको थियो र यस आधारमा हुने कुनै पनि विचलनका गम्भीर त्रुटिहरूबारे बारम्बार व्याख्या गर्नुभएको थियो । उहाँहरूको विचार स्पष्ट एवम् विस्तृत रुपमा एँगेल्सका कृतिहरू ‘लुदभिग फेयेरबाख’ तथा ‘ड्यूहरिङ्ग मत–खण्डन’ मा ८ वर्णित छ, जो ‘कम्युनिष्ट घोषणापत्र’ झैँ प्रत्येक चेतनशील मजदुरको प्रियतम पुस्तक हुन् ।
परन्तु माक्र्स अठारौँ शताब्दीको भौतिकवादमा मात्रै सीमित रहनुभएन र दर्शनशास्त्रलाई अझ विकसित तुल्याउनुभयो । उहाँले त्यसलाई जर्मन आदर्शवादी दर्शनका उपलब्धिहरूद्वारा, विशेषतः हेगेलको प्रणालीद्वारा समृद्ध तुल्याउनुभयो, जसद्वारा नै फेयेरबाखको भौतिकवादको अभ्युत्थान भएको थियो । यी उपलब्धिहरूमध्ये विशेष उल्लेखनीय छ–द्वन्द्ववाद अर्थात् यथा–सम्भवपूर्ण, गहन र एकोहरोपनाबाट मुक्त विकाससम्बन्धी शिक्षा, मानव ज्ञानको सापेक्षतासम्बन्धी शिक्षा, जसले हामीलाई सततः विकासवान जड वस्तुको प्रतिबिम्ब प्रदान गर्दछ । पुरानो सडिसकेको अध्यात्मवादलाई ‘नयाँ’ रुप दिने बुर्जुवा दार्शनिकहरूको शिक्षाको बाबजुद, रेडियम, इलेक्ट्रोन, तत्वहरूको रुपान्तरण जस्ता विज्ञानका नवीनतम अविष्कारहरूले माक्र्सको द्वन्द्वात्मक भौतिकवादको दृढतापूर्वक पुष्टि गरे ।
भौतिकवादी दर्शनलाई गहन र विकसित तुल्याउँदै माक्र्सले त्यसलाई अन्तिम रुप दिनुभयो र त्यसको प्रकृतिज्ञानलाई मानव समाजको ज्ञानमा पनि प्रयोग गर्नुभयो । माक्र्सको ऐतिहासिक भौतिकवाद वैज्ञानिक विचारको महानतम उपलब्धि थियो । इतिहाससम्बन्धी दृष्टिकोणहरूमा अहिलेसम्म रहेको अराजकता र स्वेच्छाचारीता आश्चर्यजनक रुपले सामन्जस्यपूर्ण र अखण्डनीय वैज्ञानिक सिद्धान्तमा बदलिए, जसद्वारा कसरी सामाजिक जीवनको कुनै एक व्यवस्था, उत्पादन शक्तिमा वृद्धिको फलस्वरुप अर्को, अझ उच्चस्तरको व्यवस्थामा विकसित हुन्छ भन्ने सिद्ध भयो, जस्तो कि सामन्तवादबाट पुँजीवादको जन्म हुन्छ ।
जस्तो मानव ज्ञानले उसबाट स्वतन्त्र रहेको प्रकृतिको अस्तित्वलाई अर्थात् विकासशील वस्तुलाई प्रतिबिम्बित गर्दछ, ठीक त्यस्तै मानिसको सामाजिक ज्ञान (अर्थात् विभिन्न विचारधाराहरू र दार्शनिक, धार्मिक, राजनैतिक शिक्षा इत्यादि) ले समाजको आर्थिक व्यवस्थालाई प्रतिबिम्बित गर्दछ । राजनैतिक संस्थाहरू आर्थिक आधारमा खडा हुने भवन हुन् । उदाहरणः हामी देख्दछौँ आधुनिक युरोपेली राष्ट्रहरूका विभिन्न राजनैतिक रुपहरूले सर्वहारामाथि बुर्जुवाहरूको प्रभुत्वलाई दरिलो तुल्याउन टेवा दिएका छन् ।
माक्र्सको दर्शन भौतिकवादी दर्शनको त्यो परिमार्जित रुप हो, जसले मानवलाई र विशेषतः मजदुरवर्गलाई ज्ञानका महान साधनहरू प्रदान गरेको छ ।

आर्थिक व्यवस्था त्यो जग हो, जसमा राजनैतिक व्यवस्था आधारित हुन्छ भन्ने कुरा स्वीकार गर्दै माक्र्सले यस आर्थिक व्यवस्थाको अध्ययनमा सबैभन्दा बढी ध्यान दिनुभएको थियो । माक्र्सको प्रमुख कृति ‘पुँजी’ मा वर्तमान अर्थात् पुँजीवादी समाजको आर्थिक प्रणालीको विवेचना गरिएको छ ।
माक्र्सभन्दा पहिले शास्त्रीय राजनैतिक अर्थशास्त्रको अभ्युदय सबैभन्दा उन्नत पुँजीवादी राष्ट्र बेलायतमा भएको थियो । एडम स्मिथ र डेभिड रिकार्डोले आर्थिक प्रणालीको अनुसन्धान गर्दै मूल्यसम्बन्धी श्रम सिद्धान्तको प्रतिपादन गरेका थिए । माक्र्सले उनीहरूको कार्यलाई अगाडि बढाउनुभयो । उहाँले के प्रमाणित गर्नुभयो भने, प्रत्येक वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा खर्च गरिने आवश्यक सामाजिक श्रम–अवधिको परिमाण बराबर हुन्छ ।
जहाँ बुर्जुवा अर्थशास्त्रीहरूले मात्र पदार्थहरूको सम्बन्ध (वस्तुविनिमय) देखेका थिए, त्यहाँ माक्र्सले मानिसहरूबीचको सम्बन्धको रहस्योद्घाटन गर्नुभयो । वस्तु विनियमद्वारा बजारको माध्यमबाट विभिन्न उत्पादकहरूकाबीच सम्बन्धको अभिव्यक्ति हुन्छ । मुद्राको अर्थ के हुन्छ भने यो सम्बन्ध झन् दृढतर हुँदैछ, विभिन्न उत्पादकहरूको समस्त आर्थिक जीवन अटुट रुपले एक पूर्णत्वमा सुगठित हुँदैछ । पुँजीले यस सम्बन्धको अझ गहिरो विकास दर्शाउँछ–मानवको श्रमशक्ति पनि वस्तुमा परिणत हुन जान्छ । मजदुरले भूमि, कलकारखाना तथा श्रम साधनको मालिकालाई आफ्नो श्रम शक्ति बेच्दछ । मजदुरले श्रम दिनको एक भाग आफू र आफ्नो परिवारको भरण पोषणमा खर्च गर्दछ (ज्याला) र अर्को चाहिँ भाग सित्तैमा काम गर्नुपर्ने हुन्छ जसद्वारा नै पुँजीपतिको निमित्त अतिरिक्त मूल्यको सृजना हुन्छ, जुन नाफाको स्रोत हो, पुँजीपतिवर्गको सम्पन्नताको स्रोत हो ।
अतिरिक्त मूल्यको सिद्धान्त नै माक्र्सको आर्थिक सिद्धान्त आधारशिला हो । मजदुरको श्रमद्वारा सृजित पुँजीले मजदुरलाई नै दबाउँछ, मध्यम वर्गलाई दरिद्र तुल्याउँदै बेकारीहरूको जमात खडा गर्छ । उद्योगमा बृहत् उत्पादनको विजय तत्कालै देखिन्छ तर कृषि व्यवस्थामा पनि हामी यही प्रक्रिया देख्दछौँ–विशालतम पुँजीवादी कृषि व्यवस्थाको महत्व बढ्दै जान्छ, मेसिनको प्रयोग बढ्दै जान्छ, किसानको खेत पुँजीको पासोमा अल्झँदै जान्छ, पिछडिएको प्रविधिको मारमा परेर उसको टाट उल्टिँदै जान्छ । कृषि व्यवस्थामा लघु–उत्पादनको ह्रासले अर्कै रुप लिएको हुन्छ तर यसको अवनति चाहिँ अवश्यम्भावी छ ।
लघु–उत्पादनलाई ढालेर पुँजीले श्रमको अवनति चाहिँ अवश्तवी छ र ठूलठूला पुँजीपतिहरूको सङ्घको एकाधिकार स्थापना गर्दछ । उत्पादनले चाहिँ बढी से बढी सामाजिक रुप लिँदै जान्छ–लाखौँ र करोडौँ मजदुरहरू सुनियोजित आर्थिक अङ्गमा एकत्रित हुँदै जान्छन् र सामूहिक श्रमद्वारा उत्पादित वस्तुमा मुठ्ठीभर पुँजीपतिहरूको आधिपत्य कायम रहन जान्छ । उत्पादनमा अराजकता, आर्थिक सङ्कट, बजारको निमित्त होडबाजी बढ्दै जान्छ र आम जन–समुदायको अस्तित्व नै साधनहीन बन्न जान्छ ।
मजदुरहरूलाई पुँजीमाथि बढी निर्भर तुल्याएर पुँजीवादी व्यवस्थाले सम्मिलित श्रमको महान शक्ति निर्माण गर्दछ ।
वस्तु उत्पादनको प्रारम्भिक लक्षण साधारण वस्तु विनिमयदेखि लिएर माक्र्सले पुँजीवादी विकासको उच्चतम रुप–बृहत् उत्पादन सम्मको विश्लेषण गर्नुभएको थियो । के पुराना, के नयाँ समस्त पुँजीवादी मुलुकहरूको अनुभवले वर्षानुवर्ष बढी से बढी सङ्ख्यामा मजदुरहरूलाई माक्र्सको यस शिक्षाको उपयुक्तताको प्रत्यक्षतः बोध दिलाएको छ ।
पुँजीवादले समस्त विश्वमा विजय प्राप्त गरेको छ, किन्तु यो विजय पुँजीमाथि श्रमको विजयको सङ्घारमात्र हो ।

जब सामन्तवादको मुलोच्छेदन गरियो र संसारमा ‘स्वतन्त्र’ पुँजीवादी समाजको जन्म भयो, त्यसैबेला नै पत्ता लागेको थियो कि यस स्वतन्त्रताको अर्थ पनि श्रमिकहरूको उत्पीडन र शोषणको नयाँ तरिकामात्र हो । यसै उत्पीडन र त्यसको विरोधको प्रतिबिम्बको रुपमा तत्कालै विभिन्न प्रकारका समाजवादी सिद्धान्तहरूको प्रादुर्भाव भएको थियो । तर, त्यो प्रारम्भिक समाजवाद काल्पनिक समाजवाद थियो । त्यसैले पुँजीवादी समाजको आलोचना गरेको थियो, विरोध गरेको थियो, भत्सर्ना गरेको थियो र शोषण गर्नु अनैतिक कार्य हो भन्ने कुरामाथि धनीहरूलाई विश्वास दिलाउने प्रयास गरेको थियो ।
परन्तु काल्पनिक समाजवादले वास्तविक मार्गको निर्देशन गर्न सकेन । उसले पुँजीवादमा श्रमिक दासत्वको सार बताउन सकेन, न त्यसको विकासको नियम नै बुझाउन सक्यो, न त त्यस सामाजिक शक्तिको नै भेउ पाउन सक्यो, जो नयाँ समाजको निर्माता बन्ने सामथ्र्य राख्दथ्यो ।
तैपनि समस्त युरोपमा र खास गरेर फ्रान्समा सामन्तवादलाई ढाल्ने क्रान्तिको उर्लँदो बाढीद्वारा स्पष्ट भएको थियो कि वर्गसङ्घर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो ।
घोर प्रतिरोधबिना सामन्तवर्गमाथि राजनैतिक स्वतन्त्रताको कुनै पनि विजय प्राप्त हुन सकेको थिएन । पुँजीवादी समाजका विभिन्न वर्गहरूका बीच जीवन–मरणको सङ्घर्ष नभइकन अपेक्षतया स्वतन्त्र, प्रजातान्त्रिक आधारमा कुनै पनि पुँजीवादी देशको स्थापना भएको थिएन ।
माक्र्सको प्रतिभा नै यस कुरामा निहीत छ कि उहाँले यसद्वारा सबैभन्दा पहिले विश्व इतिहासको शिक्षा अनुरुप ठोस निष्कर्ष निकाल्नुभएको थियो । यो निष्कर्ष थियो–वर्गसङ्घर्षको सिद्धान्त ।
जबसम्म मानिसहरूले हर प्रकारको नैतिक, धार्मिक, राजनैतिक, सामाजिक, प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजिनिती गर्न जान्ने छैनन्, तबसम्म उनीहरूले राजनीतिमा सधैँ नै धोकाबाजी र आत्मवंचनाको शिकार बनिरहनुपर्ने छ । हर प्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतित भए तापनि कुनै न कुनै सत्तारुढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका संरक्षकहरूले सुधारवादीहरूलाई मूर्ख बनाइरहेकै हुन्छन् । यी वर्गहरूको प्रतिरोधलाई रोक्न एउटै मात्र साधन हो– हाम्रै वरिपरि रहेको समाजभित्र त्यस्ता शक्तिहरूको खोजी गर्नु, सङ्घर्षको निमित्त तिनलाई शिक्षित र सङ्गठित पार्दै लैजानु, जो आफ्नो सामाजिक स्थितिवश पनि त्यस्तो शक्ति बन्न सक्दछन् र बन्नु पनि पर्दछ, जसले पुरानोको मुलोच्छेदन गरेर नयाँको निर्माण गर्न सक्दछ ।
मात्र माक्र्सको भौतिकवादी दर्शनले सर्वहारावर्गलाई बौद्धिक दासत्वबाट, जसमा अहिलेसम्म समस्त उत्पीडित वर्गहरू जकडिएका थिए, मुक्ति पाउने मार्गतर्फ औंल्याएको छ । मात्र माक्र्सको आर्थिक सिद्धान्तले पुँजीवादी अर्थव्यवस्थामा सर्वहारावर्गको वास्तविक स्थितिको व्याख्या गरेको छ ।
अमेरिकादेखि जापानसम्म र स्वीडेनदेखि दक्षिणी अफ्रिकासम्म समस्त संसारभरि नै सर्वहारावर्गको स्वतन्त्र संस्थाहरूमा वृद्धि हुँदैछ । वर्गसङ्घर्षको दौरानमा सर्वहारावर्ग सुशिक्षित र अनुशासित हुँदैछ, एकबद्ध छ र आफ्नो सफलताको मूल्याङ्कन गर्न सिक्दै छ, आफ्नो शक्ति तिखो पार्दैछ र निर्वाध रुपले विकसित हुँदैछ ।
‘प्रोस्वेशेनिए’, अङ्क ३ मार्च सन् १९१३ ।
खण्ड २३, पृष्ठ ४०–४८
स्रोत ः लेनिनका सङ्कलित रचना भाग –१

Leave a Reply

Your email address will not be published. Required fields are marked *