भर्खरै :

साहित्यले जनताको कसरी सेवा गर्छ ?

आज देशको कुनाकाप्चामा किसानहरू बढी तिरोतिरान र कूतको विरोध गर्छन् । जग्गा धनीहरू जोताहा किसानहरूलाई जग्गाबाट निकाल्न खोज्छन् । उनीहरु अनेक छलकपट गर्छन्, मुद्दा लगाउँछन् । त्यसको विरोधमा किसानहरू ‘बाली काट्ने आन्दोलन’ चलाउँछन् । आफूले जोतेको खेतमा किसानहरू बीऊ छर्छन्, रोप्छन्, गोड–मेल गरेर बाली हुर्काउँछन् । त्यही जग्गामा जमिनदारले किसानलाई जग्गाबाट निकाल्न मुद्दा लगाएको हुन्छ । किसानले आफ्नो किसान सङ्गठनको बलले त्यस खेतबाट बाली काटेर लैजाने सङ्घर्षलाई ‘बाली काट्ने आन्दोलन’ भनिन्छ । त्यस सङ्घर्षमा किसानलाई जग्गाबाट निकाल्न खोज्ने जग्गा–धनी, जमिनदार या शोषकसँग मुक्कामुक्की हुन्छ, रगतसम्म बग्छ । जमिनदारको पक्षमा किसानलाई दबाउन पुलिस आउँछ । तर किसान पुलिससँग पनि सङ्घर्ष गरेर आफ्नो पसिनाको कमाइ घरमा लैजान्छन् । सङ्घर्ष बिस्तारै सशस्त्र सङ्घर्षमा विकास हुन्छ । त्यो सशस्त्र सङ्घर्ष राजसत्ता कब्जा गर्ने सङ्घर्षमा विकास हुन्छ । यस सङ्घर्षलाई लिएर लेखक र कलाकारहरू कलम चलाउँछन् । किसानहरूको पक्षमा तस्वीर लेख्छन् । किसान सङ्घर्षमा भाग लिने निडर र लडाकू किसान कार्यकर्ताहरूको गुणलाई अगाडि सारेर कथा लेख्नु, गीत गाउनु, कविता लेख्नु लेखक र कलाकारहरूको कर्तव्य हो । निःस्वार्थी र क्रान्तिकारी कार्यकर्ताहरू वास्तवमा जनताका वीर पात्रहरू हुन् । तिनीहरूलाई प्रकाशमा ल्याउनु र प्रचार गर्नु नै साहित्यले जनताको सेवा गर्नु हो । यस्तो जनतालाई सेवा गर्ने साहित्यलाई प्रगतिशील साहित्य भनिन्छ किनभने यसले समाजको प्रगतिमा टेवा दिन्छ, जनतालाई सङ्घर्ष गर्न हौसल्याउँछ ।
प्रगतिशील साहित्यकारहरू ‘बाली काट्ने आन्दोलन’ र सशस्त्र किसान आन्दोलनलाई समर्थन गरेर निबन्ध र रिपोर्टिङ कथाहरू लेख्छन् । कविता र गीतहरू गाएर प्रचार गर्छन् । किसान कार्यकर्ताहरूको लडाकू भावनालाई तारिफ गर्छन् । निःस्वार्थी कार्यकर्ताहरूलाई आफ्नो कथा र काव्यका पात्र बनाउँछन् । कलाकारहरू सङ्घर्षको तस्वीर लेख्छन् । किसान कार्यकर्ता र नेताहरूको तस्वीर लेखेर प्रचार गर्छन्, नाटक लेख्छन् र खेल्छन् । शोषक, सामन्त, जमिन्दार र भ्रष्टाचारीहरूलाई गिज्याउँछन् । व्यङ्ग्य हान्छन् र निन्दा गर्छन् । किसानहरूको सङ्गठन र सङ्घर्षको समर्थन र तारिफ गर्छन् । सामूहिक भावनाको जीवन राम्रो छ भनेर त्यसको पक्षमा कलम कोर्छन् ।
आज देशका, चाहे त्यो पूर्व होस् या पश्चिम, पहाड होस् या तराई, सबै ठाउँमा किसान सङ्घर्ष हुँदैछ । नारायणी अञ्चलमा शोषक, सामन्त र खराब पञ्च र धनीहरूको विरोधमा किसानहरू लड्दै छन् । लुम्बिनी अञ्चलमा किसानहरूले जालीफटाहाविरोधी सङ्घर्ष गर्दै छन् । महाकाली र कर्णाली अञ्चलमा सुकुमवासी जनता र सरकारी प्रशासनबीच मारपिट, मुक्कामुक्की हुँदैछ । जिल्ला पञ्चायत, अञ्चलाधीश अफिस, वन विभाग र पुलिसहरू मिलेर सुकुमवासी जनताको झोपडी र खेतबारीमा आगो लगाइँदै छन्, हात्ती छोडेर घरमा बर्बाद गरिँदै छन् । सुकुमवासी गरिब किसाहरू बाध्य भएर जीउधनको निम्ति प्रशासन र पुलिसको विरुद्ध लड्छन् । मन्त्रीलाई घेर्छन् । अञ्चलाधीश अफिसमा घेरा हाल्छन् । सङ्गठन गर्छन् ।
कोसी र मेचीको अवस्था पनि त्यस्तै छ । जँगल फाँडेर बसेका सुकुमवासीहरूको जग्गालाई झोरा भनिन्छ । तर गरिब सुकुमवासी जनताले फाँडेको त्यस जग्गा ठूलाबडा, साहु– महाजन, काजी र मन्त्रीहरूको नाउँमा दर्ता हुन्छ । आफ्नो रगत–पसिना बगाएर आवाद गरेको जग्गा धनी मानिस, शोषकहरूको नाउँमा दर्ता हुन्छ । सुकुमवासी जनता जरुरै रिसाउँछन् । जनता तिनीहरूको घरबाट उठाउँदा जरुरै सङ्घर्ष गर्छन् । आत्मा–रक्षाको निम्ति पुलिस र प्रशासनमाथि जवाफी हमला गर्छन् । शोषकहरूमाथि प्रहार गर्छन् । बदला लिन्छन् । कोसी अञ्चलका झोरा काण्डदेखि लिएर झापाको सशस्त्र किसान विद्रोहको कारण शोषक वर्गको किसान जनतामाथिको अन्याय, अत्याचार हो । तर सरकार जालीफटाहा, शोषक र भ्रष्ट कर्मचारीहरूको इसारामा जनतालाई दमन गर्न पुलिस र सेना पठाउँछ । लठी र गोली चलाउँछ । अनेक निहुँ पारेर राजनैतिक बन्दी र किसान कार्यकर्ताहरूलाई गैरकानुनी गुप्त हत्या गर्छ । सरकार आफ्नो वर्ग स्वार्थको निम्ति आफूले बनाएको कानुनलाई पनि च्याखामा हाल्छ ।
जनकपुर अञ्चलमा भोकमरी हुन्छ । सबै जग्गा धनी र सामन्तहरूले अन्न लुकाउँछन् । बढी मोल लिएर बेच्छन् । जनता र किसानहरूको थाल र गहनासमेत सस्तोमा हात पार्छन् । विदेशले दिएको सहायता पनि सरकारले राम्रो वितरण गर्दैन । आधाभन्दा बढी ठूलाबडा भनाउँदाकै पेटमा पुग्छ । गाउँ र जिल्लातिर ल्याएको अन्न आधा पञ्च र प्रशासकहरूकै पेटमा जान्छ । अति भएपछि सहन नसकेर जनता एक हुन्छन् । भोकै मर्नुभन्दा लडेर मर्न तम्सन्छन् । सी.डी.ओ. अफिस घेर्छन् । पञ्च र प्रशासनमाथि दबाब दिन्छन् । भोकानाङ्गा जनता मिलेर राजधानीमा अन्न माग्न पुग्छन् । बाह्रबिसेमै पुलिसद्वारा तिनीहरू रोकिन्छन् । भोकानाङ्गा जनताको पक्षमा पर्चा छरिन्छ । पुलिससँग सङ्घर्ष हुन्छ । राप्ती, गण्डकी र धवलागिरी अञ्चलमा पनि त्यस्तै भोकमरी र सङ्घर्ष हुन्छ । खेत–खेतमा जग्गा धनी र जोताहा किसानबीच सङ्घर्ष हुन्छ ।
बागमती अञ्चलका किसान र प्रगतिशील जनता देशमा सबै किसान र जनताको सङ्घर्षलाई समर्थन गर्छन् । आफू पनि आफ्नो अञ्चलमा ‘बाली काट्ने आन्दोलन’ र भ्रष्टाचारविरोधी आन्दोलन गर्छन् । संयुक्त राज्य अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा लडिरहेका भियतनाम, लावस र कम्पुचियाली जनताको समर्थन गर्छन् । विदेशी आक्रमण र दमनको विरोधमा मुक्ति र स्वतन्त्रताको निम्ति लडिरहेका विभिन्न देशका जनताको समर्थनमा सङ्घर्ष गर्छन् । अमेरिकी साम्राज्यवाद र आक्रमणको विरोध गर्छन् । रुसी सामाजिक–साम्राज्यवादको विरोध गर्छन् । देशको कुना–काप्चामा विद्यार्थी र बुद्धिजीवी वर्गमा पनि यो भावना बढ्दै गएको छ । आजको देशको तस्वीर यही हो । यो यथार्थ हो । यस्तै कुराहरूबारे लेख लेख्नु, कथा लेख्नु साहित्यकारहरूको कर्तव्य हो । सङ्घर्षशील किसान र जनताको विषयमा कविता लेख्नु र गीत लेख्नु कवि र गायकहरूको काम हो । तिनीहरूकै सङ्गठन र मेहनतलाई समर्थन गरेर तस्वीर लेख्नु र नाच नाच्नु कलाकाहरूको काम हो । शोषक, अन्यायी, अत्याचारीहरूको विराधमा लेख, व्यङ्ग्य र कविताहरू लेखेर जनताको मनोबललाई उठाउन लेखक, कवि र कलाकारहरूले मद्दत गर्नु राम्रो कुरा हो । यस्तै काम र गतिविधिलाई साहित्य र कलाले जनताको सेवा गर्नु भनिन्छ । यस्तै साहित्यलाई जनताको साहित्य भनिन्छ । जनताको पक्षमा लेखिएको साहित्य मात्र प्रगतिशील साहित्य हुन्छ । यसरी साहित्य र कलाले जनताको सेवा गर्छ ।
स्रोत ः जनताको साहित्य र साहित्य–हरिबहादुर श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *