भर्खरै :

विदेशमा बस्ने नाति–नातिनाहरूलाई चिट्ठी

हरिबहादुर श्रेष्ठ
प्रिय नाति–नातिना,
मीठो सम्झना !
तिमीहरूको जिज्ञासाअनुसार यो पत्र विद्यालय र युवा–विद्यार्थीहरूको स्थितिबारे लेख्दै छु । नेपालमा धेरै वर्षदेखि दुई प्रकारका विद्यालयहरू चालू छन्, एउटा शासक वर्ग तयार गर्ने विद्यालय र अर्को साधारण जनता मजदुर, किसान वा कम आय भएका स–साना पसले, शिक्षक, तल्ला कर्मचारी एवं स–साना व्यवसाय चलाउने कामदार वर्गका छोरा–छोरी पढाउने विद्यालयहरू ।
विद्यालयहरू नेपालमा पहिलेदेखि विदेशीहरूले चलाएका विद्यालयहरूमा शासक वर्ग तयार गर्न पढाउँदै आएका छन्, केही विद्यालय राजदूतावासहरूमै चलाएका छन् भने केही दूतावासहरू बाहिरै चलाएका छन् । ती विदेशीहरू नेपाल सदा तिनीहरूकै आदेश मान्ने र तिनीहरूकै देशमा सामान र सेवा किन्ने बजार होस् र तिनीहरूलाई आवश्यक श्रमशक्ति पनि नेपालबाटै लान सकियोस् भन्ने उद्देश्य राख्छन् ।
त्यस्ता विद्यालय र महाविद्यालयहरूबाट तयार पारिएका युवाहरूले धेरैजसो बेलायत, अमेरिका, अष्टे«लिया आदि देशमा लडाकू (गोर्खा) देखि पाले, पिउन र अन्य कार्यालयका कर्मचारी, पेट्रोल पम्पदेखि खाने पसलसम्म तिनीहरूले नै सेवा गर्छन् । ती युवाहरू मनमनै काम गा¥हो छ, हामी मेसिनका पुर्जाजस्तो मात्र छौँ, हाम्रो कुनै अधिकार छैन, हामी हेला गरिएका छौँ र हामी नबाँधिएका बन्दी छौँ भन्ने अनुभव गर्छन् । कोही खाली आलुको बोक्रा फाल्छन् त कोही भाँडामात्र माझ्छन्, तिनीहरूले कुनै नयाँ सीप सिकेका हुँदैनन् ।
ती विदेशी विद्यालयहरूकै रिपोर्टको आधारमा नेपालका माथिल्ला वर्गका छोरा–छोरीहरूलाई नेपालमा शासक बनाउने उद्देश्यले तयार गर्छन् ।
नाति र नातिना,
त्यस्ता काममा नेपालका एमएसम्म पढेका वा कलेजका शिक्षकहरूसमेत अध्यापन सेवा छोडेर नयाँ दरवान, कुल्ली र पिउन बन्न जान्छन् भन्ने तिमीहरूले सोचेको पनि छैन हौला । तिमीहरूमध्ये केही देश हेर्न, बुझ्न र कमाउने उद्देश्यले गएका हुन् । आफ्नै देशका खाता–पिता परिवारका युवाहरूसमेत बढी पैसा कमाउन ‘पाताल’ पुगेका छन् । तिमीहरूलाई राम्रो थाहा छ, यदि एक डलर वा एक स्टलिङ्ग पाउण्डको नेरु १०० भन्दा बढी रुपैयाँ साट्न नपाउने हो भने नेपालमा (इज्जतदार) परिवार र माथिल्ला ‘जाति’ का युवाहरू ती देशमा पसिना बगाउने थिएनन् । डेढ सय र दुई सय वर्षअगाडि अफ्रिकाबाट सिक्रीले बाँधेर, सबैलाई एउटै सिक्रीले बाँधेर भाग्न नपाउने गरी ती देशमा बेचिन्थे । आज नेपाल र भारतजस्तो तेस्रो विश्वमा देशका युवाहरूलाई आ–आफ्नै सरकारले आ–आफ्नै देशमा रोजगार दिन नसक्दा पढे लेखेका युवाहरूलाई सय गुणा ज्याला पाउने भन्ने लोभ देखाएर विदेश पठाउँदै छन् । त्यस्ता गल्लावाला कम्पनीहरूलाई आज म्यानपावर कम्पनी भन्ने गर्छन्, वास्तवमा ती कम्पनीहरू विदेशी नयाँ प्रकारका अधिकारबाट बञ्चित कामदारहरू पूर्ति गर्ने ‘दलाल’ कम्पनीहरू हुन् ।
त्यस्ता कम्पनीहरू सारमा शासक दलकै नेताहरूकै हिस्सा वा भागवण्डा भएका कम्पनीहरू हुन् । पहिले राणाहरूको तर्फबाट बेलायतमा गोर्खाली वा लडाकूहरू (सिपाहींहरू) पठाउँथे र भारतमा ठूलाबडाका घर–घरमा कान्छा र कान्छी पठाउँथे । नेपालमा पुँजीवादी प्रजातन्त्र स्थापना भएपछि नेपाली काङ्ग्रेससँग सम्बन्धित व्यक्तिहरूले नै पछि माथिल्ला पञ्चहरू भारतमा अनेकौं बेश्यालयहरूमा नेपाली चेलीहरू पठाउँथे ।
अब त नेपाली चेलीहरू अरब देशमा खुला बजारमा भँेडा–बाख्राजस्तै बेचिन्छन् र अफ्रिकामा समेत चेलीहरू नाच–गान र जीउ बेच्न लगाउँदै छन् ।
देशभित्र र बाहिर नेपाली शासकहरू धेरै बदनाम भएपछि केही परिवर्तनवादीहरूले संसदमा समेत सरकारहरूको कुकृत्यलाई छोरा–छोरी बेच्ने गल्लावालाहरू भनी उदाङ्ग्याएपछि त्यसलाई रोक्ने उद्देश्यले ऐन–कानुनहरू बने । तर, ती कानुन व्यवहारमा कहिले गम्भीर रूपले लागू भएन र देखावटीमात्र भयो । १०–१५ पटकसम्म बेचेको नेपाली चेलीहरू व्यक्ति पक्राउ पर्दासमेत ३ महिना जेलमा बन्दी बनाएर छोडिन्छ र केहीलाई ५–१० हजार रूपैयाँ जरिवाना गरेर छोडिन्छ । किन ? शासक दलका नेताहरू आफ्नो फाइदाको लागि भागवण्डा गर्छन् र छोडाउँछन् । अन्य शासक दलहरूबारे त सबैलाई थाहा छ । तर, सबभन्दा आश्चर्यको विषय हो, कम्युनिष्ट पार्टी भनिने राजनैतिक दलका नेता, सांसद र महिला नेतृत्वसमेत त्यस व्यापारमा संलग्न छन् ।
केही ‘कम्युनिष्ट’ शासक दलका ‘मजदुर फाँट’ का नेताहरू त्यस्ता कामदारहरूलाई विदेश पठाउने कामबाट वाक्कदिक्क भएर पार्टी नै छोड्ने विचार पनि राख्छन् । केही त विवाहित महिलाहरूलाई समेत लोग्नेसँग सल्लाह गरेर छोरा–छोरीहरू छोडी जापान र दक्षिण कोरिया अरु लोग्नेसँग विवाह गरी सम्पत्ति ओसार्ने उद्देश्य राखेर देश छोडछन् । भुक्तभोगीहरूको यस्ता अनुभवकै कारण शासक दलहरूमा राम्रा कार्यकर्ताहरू जान छोडेपछि राजनीतिमा गुण्डा, ठेकेदार, कालाबजारी र अपराधीहरूको बाहुल्य बढेको जानकारहरू बताउँछन् ।
यी सबै कुकृत्यमा सजिलै कम समयमा धेरै पैसा कमाउने लाभ देखाएर ठूलाबडाले फसाउँछन् बेरोजगार युवाहरूलाई ¤ हिजो अस्तिका समाचारहरूमा प्रधानमन्त्रीको निवास, राजधानीको टुँडिखेल, मन्दिरहरूका घर–जग्गा, नदी–नालाका किनारका भूमि, पोखरी आदि सबै प्रकारका खाली सार्वजनिक जग्गा जालसाझी गरी माल अड्डाबाट निजी नाममा कागज मिलाउँछन् । ती सबै प्रकारका कुकर्ममा राणा शासनको बेला राणाहरूमा चाकडीबाजहरू, नेकाको सरकारमा काँग्रेस नेताहरूकै आउरे बाउरे र निर्वाचनको लहर आउन सुरु गरेपछि जिल्ला–जिल्ला ठूलाबडा पञ्चहरू, एमालेको सरकारमा एमाले, एमाओवादी, मधेसवादी, राप्रपाका ठूलाबडा सबै यस्तै काममा संलग्न हुँदा आए । ती शासक दलमा फटाहा, गुण्डागर्दी गर्ने खालका कार्यकर्ताहरू मुद्दामा व्यापारी र धनी मानिसलाई समेत फसाई प्रहरीबाट पक्राउ गर्न लगाउँछन् । प्रम, गृहमन्त्री र शासक नेताहरूमार्फत भनसुन गर्न लगाई प्रहरीबाट छोडाउँछन् र पार्टीलाई चन्दा भन्दै लाखौँ रुपैयाँ तान्छन्, त्यस्ता गुण्डा कार्यकर्ता आफ्नो सरकार भएसम्म ती व्यक्तिहरू पार्टी कार्यकर्ता र चन्दादाता बन्छन् ।
यसरी युवाहरूलाई विद्यालयमा नैतिक शिक्षा नदिँदा र पुँजीवादी प्रजातन्त्रका गुण र दोषबारे अग्रीम जानकारीहरू नदिँदा सङ्गतले धेरै युवाहरू बाटो बिराउँदै छन् ।
पत्र लामो भयो आज यतिमै कुराकानी टुङ्ग्याउँछु । बाँकी जिज्ञासालाई अर्को पत्रमा लेख्नेछु ।
तिमीहरूलाई धेरै धेरै माया गर्ने हजुरबुबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *