भर्खरै :

जिल्ला जिल्लामा व्यवस्थित सहर आवश्यक

जिल्ला जिल्लामा व्यवस्थित सहर आवश्यक

हिजोआज दैनिकजसो र हप्तैपिच्छेजस्तो गाउँघर रित्तिएका र मानिसहरू सहरमा बसाइ सरेका समाचार आइरहेका छन् । गाउँघर रित्तिनु चिन्ताको विषय भए पनि त्यसको समाधानको निम्ति सरकार र सम्बन्धित मन्त्रालय, विभाग र निकायहरूले चासो राखेको हामी पाउँदैनौँ । सरकारको जनताप्रतिको गैरजिम्मेदार नीतिका कारण युवाहरू रोजगारका निम्ति गाउँघरमात्र होइन देशै छोडेर विदेशतिर धाउन बाध्य छन् । ५० लाखभन्दा बढी युवा बर्सेनि वैदेशिक रोजगारको नाममा विदेश गइरहेका र त्यहीँ बसिरहेका छन् ।
नेपाल गाउँ नै गाउँबाट बनेको देश हो । तर, त्यसो भन्दैमा गाउँ सधैं पूर्वाधाररहित र गाउँले सधैँ पिछडिएकै अवस्थामा रहनुपर्छ भन्ने होइन । आजको युगमा हरेक व्यक्ति र परिवार आफ्नो जीवनमा सुधार र परिवर्तन ल्याउनका लागि लागिपरेका छन् । गाउँ र पाखाको जीवनसित सन्तुष्ट हुन कठिन भइरहेको देखिरहेका छौँ । गाउँका मानिसहरू शिक्षा, स्वास्थ्य, रोजगार आदिका लागि गाउँ छोडेर सहर पस्नुलाई नकारात्मक कोणले मात्र हेरेर हामी समस्याको सही समाधानमा पुग्न सक्देनौँ । आजको युग सूचनाप्रविधिको युग हो भनिन्छ तर हाम्रा गाउँघरमा भरपर्दो सूचनाप्रविधि पुग्न सकेको छैन । आफ्ना बालबालिकालाई स्तरीय शिक्षा प्रदान गर्ने चाहना राख्ने अभिभावक राजधानी काठमाडौँ र सहरतिर लाग्नुको विकल्प छैन । सुविधा र पूर्वाधारहरूको केन्द्रीकरणले देशभरका मानिसहरूको पहिलो रोजाइ काठमाडौँ उपत्यका हुन पुगेको छ ।
अबका दिनहरूमा राज्यले गाउँ र सहरको भेद हटाउने उपाय र आयोजनाहरूमा व्यवहारमै जोड दिनुपर्छ । गाउँहरूको मौलिकता कायम गर्दै त्यहाँ आधुनिक जीवनका पूर्वाधारहरू पु¥याउनुपर्छ । गाउँहरूलाई पर्यटकीय आकर्षणको केन्द्र र कृषि उत्पादनको क्षेत्रको रूपमा विकास गरेर स्थानीय जनताले स्थानीय स्तरमै पर्याप्त आम्दानी हुने रोजगारको अवसर प्राप्त हुने अवस्था सिर्जना गरिनुपर्छ । गाउँमा कतिपय मानिसका धेरै आवश्यकता पूरा हुन नसक्ने हुनाले जिल्ला जिल्लामा मध्यम आकारका तर व्यवस्थित र सुविधासम्पन्न सहरहरूको विकास गरिनुपर्छ । त्यहाँ विद्यालय, कलेजदेखि लिएर सम्भव भए विश्वविद्यालयसमेत हुनुपर्छ । ती सहरमा सञ्चार र सूचना प्रविधिको राम्रो सुविधा पु¥याउनुपर्छ । व्यवस्थित सडक संरचनादेखि खानेपानी, अस्पताल, पार्क, सभागृह, होटेललगायत सुविधाहरू विकास गरिनुपर्छ । यसतर्फ नेपाल सरकार र प्रदेश सरकारहरूले ध्यान दिनुपर्छ । त्यसले एकातिर राजधानी काठमाडौँलगायत केही सहरमा जनसङ्ख्याको केन्द्रीकरणलाई रोक्ने छ भने अर्कोतिर नेपालीहरूको जिल्लान्तर बसाइसराइमा कमी ल्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *