भर्खरै :

माओ त्से तुङ -संसारका कामदार जनताका नेता

भक्तपुर, ११ पुस । क्रान्तिकारी किसान आन्दोलनको गौरवपूर्ण इतिहास बोकेको भक्तपुर जिल्लामा डिसेम्बर २६ हरेक वर्ष विशेष हुने गरेको छ । चिनियाँ क्रान्तिकारी किसान आन्दोलनबाट प्रभावित भक्तपुरका किसान कार्यकर्ताहरुले हरेक वर्ष डिसेम्बर २६ का दिन चिनियाँ क्रान्तिका नेता माओ त्से तुङको जन्म दिवसको अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् । सोही शिलशिलामा मङ्गलबार भक्तपुरका किसानहरुले माओ त्से तुङको जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम गरे ।
विश्व सर्वहारा वर्गका गुरु माओ त्से तुङको सम्मानमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले माओ त्से तुङ चिनियाँ जनताको मात्र नभई संसारका कामदार जनताका नेता भएको बताउनुभयो ।
पूँजीवादको उत्थान, विकास र पतनको माक्र्सवादी सिद्धान्तलाई चीनको पृष्ठभूमिमा माओले रचनात्मक तरिकाले प्रयोग गरी चिनियाँ जनतालाई सुख दिन सफल भएको भन्दै सांसद सुवालले क्रान्तिले नै मात्र कुनै पनि देशको तीब्र आर्थिक र सामाजिक विकास सम्भव भएको बताउनुभयो ।
निर्वाचन भनेको जनताको चेतनास्तर नाप्ने व्यारोमिटर भएको चर्चा गर्दै निर्वाचनबाट मात्र समाजमा आमूल परिवर्तन सम्भव नभएको प्रष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले माओ त्से तुङले चीनमा गर्नुभएको हुनान किसान आन्दोलनको प्रेरणाबाट भक्तपुरमा किसान आन्दोलन गरेको र किसान आन्दोलनको फलस्वरुप किसानहरुको मोहियानी हक सुरक्षित भएको धारणा राख्नुभयो ।
मोहीलाई जग्गा हदबन्दी लगाउने नयाँ मन्त्रीस्तरीय निर्णय गरीब किसानविरोधी भएको धारणा राख्दै उहाँले बद्लिदो समयअनुसार किसान आन्दोलनको रुप फरक–फरक हुने विचार राख्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले सामन्तवाद र उपनिवेशवादबाट जकडिएको चिनियाँ समाजलाई नयाँ युगमा पु¥याउन माओ त्से तुङले सही समयमा लिएको सही नीतिले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले माओको निधन भएको झण्डै आधा शताब्दी बितिसक्दा पनि चिनियाँ र संसारका कामदार जनताले अझै पनि माओको योगदानको स्मरण गरिरहेको प्रष्ट पार्नुभयो ।
नेक्राकिसङ्घका पूर्व केन्द्रीय सदस्य केदार खड्काले माओको योगदानबाट नेपालका क्रान्तिकारी जनताले पनि सिक्न जरुरी भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले रुसी क्रान्तिको अन्धनक्कल गर्न खोज्दा चीनको क्रान्तिले पनि धेरै क्षति भोग्नुपरेको तर चीनको वस्तुगत परिस्थितिअनुसार माओ त्से तुङले रचनात्मक नीति अघि सार्दा चिनियाँ क्रान्तिको बाटो सफल भएको बताउनुभयो ।
कुनै पनि देशको क्रान्तिबाट सिक्न ठीक तर अन्धनक्कल गर्नु गलत हुने उहाँको भनाई थियो ।
प्रवचनमा किसान कार्यकर्ता गंगाराम ज्याख्वले माओ त्से तुङको जीवनी वाचन गर्नुभयो भने नारायणभक्त न्हेम्हाफुकीले माओको योगदानबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *