भर्खरै :

समाजवादी शिक्षा व्यवस्था आमूल परिवर्तनको आधार – १

समाजवादी शिक्षा व्यवस्था आमूल परिवर्तनको आधार – १

सन् १८४८ मा प्रथमपटक प्रकाशित माक्र्स र एङ्गेल्सकृत कम्युनिस्ट घोषणापत्रमा शिक्षाबारे यस्तो कुरा उल्लेख छ– ‘सार्वजनिक विद्यालयमा सबै बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिने । बालबालिकालाई अहिलेजस्तो कारखानामा काम गराउन प्रतिबन्ध लगाउने । शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्ने ।’
सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सले शिक्षाबारे सूत्रवत्रूपमा लेख्नुभएको यही हरफ समाजवादी शिक्षा व्यवस्था सञ्चालनको निम्ति मार्गदर्शक बनेको छ । राज्यले सम्पूर्ण बालबालिकाको शिक्षाको जिम्मेवारी लिने र शिक्षालाई उत्पादन श्रमसँग मिलाउने शिक्षा नै समाजवादी शिक्षाको आधारभूत विशेषता हो । माक्र्सको यो सिद्धान्तलाई लागु गर्दा विभिन्न देशले विभिन्न अनुभवहरू सँगालेका छन् । समाजवादी देशहरूले थोरै समयमा गरेको आर्थिक–सामाजिक प्रगतिको एक मुख्य कारण क्रान्तिपछि त्यहाँ लागु गरिएको समाजवादी शिक्षा व्यवस्था हो ।
समाजवादी शिक्षा क्रान्तिको आधार
कुनै पनि देशमा कामदारवर्गको नेतृत्वमा हुने क्रान्तिबाट समाजवादी व्यवस्था स्थापना हुन्छ । समाजवादी व्यवस्थामा उत्पादनका मुख्यमुख्य साधनहरू राष्ट्रियकरण वा सामाजिकीकरण गरिएका हुन्छन् र सत्ताको बागडोर मजदुरवर्गको हातमा हुन्छ । सीमित पुँजीपति एवम् सामन्त वर्गद्वारा बहुसङ्ख्यक जनतामाथि हुँदै आएको शोषण एवम् दमनको अन्त्य हुन्छ ।
क्रान्ति एक निरन्तर प्रक्रिया हो । कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभएझैँ अहिलेसम्मको मानव समाजको इतिहास नै वर्गसङ्घर्षको इतिहास हो । मजदुरवर्गले शासनसत्ता आफ्नो हातमा लिइसकेपछि पनि समाजवादी क्रान्तिलाई जारी राख्नुपर्ने हुन्छ । राज्यसत्ता कब्जा गर्न कामदारवर्गमा राजनीतिक एवम् वर्गीय चेतना आवश्यक हुन्छ भने समाजवाद निर्माणको निम्ति पनि समाजवादी शिक्षा उत्तिकै आवश्यक हुन्छ । शिक्षाबिना न सामाजिक विकास सम्भव हुन्छ न त राष्ट्रिय समृद्धि नै । त्यसैले शिक्षा क्रान्तिको निम्ति एक निर्णायक तत्व हो भने शिक्षाले क्रान्तिको रक्षा पनि गर्दछ ।
समाजवादप्रति उत्तरदायी नागरिक
पुँजीवादी समाजमा सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकता दिइन्छ भने समाजवादी समाजमा समाजको उन्नतिबाट व्यक्तिले स्वतः प्रगति गर्छ भन्ने अवधारणा रहेको हुन्छ । पुँजीवादी समाजमा एक बालकलाई आमाबुबाले आफ्नो सम्पत्तिको रूपमा लिई उसको स्याहारसुसार, पढाइलेखाइको जिम्मेवारी आफैले लिन्छन्, मानिस बुढो भएपछि छोराछोरीले हेरविचार गर्छन् र आफूले कमाएको सम्पत्तिको हकदार छोरा वा छोरीमात्र हुन्छन् । त्यसैले छोराछोरी पनि आमाबुबाप्रति मात्र उत्तरदायी हुन्छन् । मेरो पढाइको निम्ति मेरा बाबाआमाले यति रुपियाँ खर्च गर्नुभयो, अब मैले त्यो लगानी उठाउनुपर्छ भन्ने विचार उसको दिमागमा खेलिरहन्छ ।
यता समाजवादी शिक्षा व्यवस्थाले ‘मेरो छोरा’ वा ‘मेरी छोरी’ को ठाउँमा ‘समाजको छोरा वा छोरी’ भन्ने भावनाको विकास गराउँछ । व्यक्ति समाजको सम्पत्ति हो वा मानव जातिकै सम्पत्ति हो भन्ने भावना नै समाजवादी भावना हो । समाजको अस्तित्वविना कोही बाँच्न र हुर्कन सक्दैन ।
शिक्षालाई उत्पादन श्रमसँग कसरी जोड्ने
समाजवादी शिक्षा व्यवस्थाले श्रम र श्रमिकप्रति आदरभाव जगाउँछ र विद्यार्थीलाई उत्पादनमुखी काम गर्न उत्साहित गर्छ । श्रमले नै मानव समाजको विकास एवम् समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । यो संसारका अनगिन्ती भव्य सम्पदा र विकास निर्माणहरू मानव श्रमकै उपज हुन् ।
शोषणमा आधारित पुँजीवादी व्यवस्थामा बसिखाने शोषक–सामन्तहरू मिठोमिठो खान्छन्, राम्रोराम्रो लगाउँछन् र तजाततै उनीहरूकै रवाफ हुन्छ भने भारी बोक्ने, भाँडा माझ्ने, बाटो र चर्पी सफा गर्ने, खेत खनजोत गर्ने र कारखानामा काम गरी गुजारा चलाउने श्रमिकले अघाउँजी खान पाउँदैनन्, एकसरो कपडा लाउन पाउँदैनन्, ओत लाग्ने छानो हुँदैन र अन्य हेलाहोचो सहनु पर्दछ । समाजवादी व्यवस्थामा काम नगर्ने, अल्छी वा ठगले खान पनि पाउँदैन र काम नगर्नेलाई घृणा पनि गरिन्छ ।
सन् १९४९ को क्रान्तिपछि चीनमा शिक्षालाई उत्पादन श्रमसँग जोड्ने समाजवादी सिद्धान्त लागु गरियो । हरेक प्राथमिक विद्यालयले विद्यार्थीको कार्यशाला बनाए । ती कार्यशालाहरू नजिकका कारखानासँग साझेदारीमा सञ्चालन हुन्थे । कारखानाहरूले कच्चा पदार्थ उपलब्ध गराउँथे र विद्यार्थीलाई कसरी काम गर्ने र सामानको गुणस्तर कायम गर्ने भन्ने तालिम दिन्थे । यस्ता प्राथमिक कक्षाका केटाकेटीलाई व्याडमिन्टनका ककहरू प्याकेजिङ गर्ने, खेलौनाहरूमा रङ्गरोगन गर्नेजस्ता सजिला कामहरू दिइन्थ्यो । ३–४ कक्षासम्मका केटाकेटीलाई कक्षाकोठा तथा आँगन सफा गर्नेजस्ता सजिलो काम गर्न दिइन्थ्यो ।
५–६ कक्षाका विद्यार्थीले १५ दिनमा जम्मा ६ घण्टा जति समय उत्पादनमुखी काममा लगाउनुपथ्र्यो । उनीहरूले बनाएका सामानहरू कारखानाले किन्थे र विद्यार्थीहरू नजिकका कारखाना र ग्रामीण कम्युनहरूमा समेत अध्ययन भ्रमण गर्थे ।
यता माध्यमिक तहका विद्यार्थी पनि विद्यालयको कार्यशालामा काम गर्नुको साथै वर्षमा एक महिने कलेज बिदामा घर नजिकैको कारखाना वा कम्युनमा काम गर्थे ।
चिनियाँ नेता माओ त्सेतुङ भन्नुहुन्थ्यो, “तपाईँ कालोपाटीमा हलो जोतेर अन्न उत्पादन गर्न सक्नुहुन्न ।”
समाजवादी देशका विद्यार्थीलाई आफ्नै पौरखले देश बनाउनु र आत्मनिर्भर हुनु गौरवपूर्ण काम हो भन्ने सिकाइन्छ । विद्यार्थीले किताबबाट मात्र नभई शारीरिक श्रमबाट पनि धेरै कुरा सिक्छन् । यसै सन्दर्भमा माओ त्सेतुङले सन् १९६६ मा शिक्षाको विषयमा एउटा महत्वपूर्ण निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, “विद्यार्थीको मुख्य काम पढ्नु हो । पढ्नुको साथै उनीहरूले अरू कुरा जस्तै औद्योगिक काम, कृषि र सैनिक विषय पनि सिक्नुपर्दछ ।”
प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा सन् १९५३ मा विद्यालयमा ‘अनिवार्य काम प्रणाली’ लागू गरिएको थियो । जसअनुसार प्राथमिक तहका विद्यार्थीले वर्षमा १० दिन, निम्न माध्यमिक तहका विद्यार्थीले २ देखि ४ हप्ता र माध्यमिक तहका विद्यार्थीले ५ हप्ता र कलेज तहमा पढ्ने विद्यार्थीले ३ महिनासम्म काम गर्नुपथ्र्यो ।
एकजना बालकले पुस्तक र शिक्षकका शब्दहरूबाट भन्दा आफ्नो निजी अनुभवबाट बढी सिक्छ । त्यतिमात्र होइन, शारीरिक र मानसिक विकासको निम्ति श्रम गर्नु धेरै आवश्यक छ ।
एउटा समाजवादी देशमा हुने विकास निर्माणको काममा जनसहभागिताको कारण तीव्रतर परिवर्तनहरू भइरहेका हुन्छन् । प्राविधिक क्षेत्रमा दैनिक नयाँनयाँ प्रगतिहरू भइरहेका हुन्छन् । त्यसैले एक विद्यार्थीले समय र स्थितिअनुसार नयाँनयाँ सीप सिकिराख्नुपर्ने हुन्छ ।
सैद्धान्तिक ज्ञानमात्र पाएको व्यक्ति व्यावहारिक जीवनमा असफल हुनसक्छ । विद्यालयमा पढाएको कुरालाई प्रयोगात्मकरूपमा व्यावहारिक क्रियाकलापसँग जोड्दा त्यस्तो शिक्षा प्रभावकारी हुन्छ । उत्पादन कार्यमा संलग्न विद्यार्थीले आधुनिक उत्पादन प्रविधिका साथै ज्यावल र यन्त्रहरू चलाउन सिक्छन् । विद्यार्थीलाई उत्पादनमुखी काममा लगाउँदा भने उनीहरूको पढाइमा हानि नपुगोस् भन्ने कुरामा ख्याल गरिएको हुन्छ ।
शिक्षालाई उत्पादन श्रमसँग जोड्न सकिएमा बेरोजगारी समस्या समाधान हुन्छ । शिक्षा आर्जन गर्न विद्यार्थी थप उत्साहित हुन्छन् किनभने सीप र योग्यता भएको व्यक्तिले रोजगारी पाउने सम्भावना बढी हुन्छ ।
समाजवादी व्यवस्थामा शारीरिक श्रम र मानसिक श्रमको पारिश्रमिकमा देखिएको अन्तरलाई घटाउँदै लगी आर्थिक समानता कायम गरिन्छ । एउटा इन्जिनियरको तलब र गाडी चालकको तलबमा खास अन्तर हुँदैन । यसले गर्दा समाजवादी देशमा शारीरिक श्रमप्रति सम्मान बढ्दै जान्छ ।
अनिवार्य र निःशुल्क शिक्षा
समाजवादी देशमा शिक्षा अनिवार्य र निःशुल्क हुन्छ । समाजको सानो समूह र थोरै व्यक्तिले मात्र शिक्षा पाउने पुँजीवादी व्यवस्थाको रोगको उपचार गरी सबैको निम्ति शिक्षाको अवसर दिइएको हुन्छ । यसलाई व्यक्तित्व विकासमा समान अवसर पनि भन्न सक्छौँ । समाजवादी व्यवस्थामा शिक्षालाई अधिकारको रूपमा स्थापितमात्र गरिएको हुन्न, बरु शिक्षालाई अनिवार्य पनि बनाइएको हुन्छ । शिक्षालाई निःशुल्क गरेपछि अनिवार्य गर्न सकिन्छ ।
प्रजग कोरियाको संविधानको धारा ४५ मा ११ वर्षको अनिवार्य शिक्षाबारे उल्लेख गरिएको छ, त्यस्तै धारा ४७ मा विद्यालयका विद्यार्थीलाई निःशुल्क शिक्षा दिने र कलेज एवम् विश्वविद्यालयका विद्यार्थीलाई भत्ता दिने बन्दोबस्त गरिएको छ ।
त्यहाँ सन् १९५६ मा प्राथमिक तहमा अनिवार्य शिक्षा लागु गरिएको थियो । त्यस्तै सन् १९५८ मा माध्यमिक तहमा र सन् १९६७ मा नौवर्षे अनिवार्य प्राविधिक शिक्षा र सन् १९७२ मा ११ वर्षे अनिवार्य शिक्षा लागु गरिएको थियो ।
समाजवादी क्युवाको संविधानको धारा ३९ मा र चीनको संविधानको धारा १९ मा अनिवार्य र निःशुल्क शिक्षाबारे उल्लेख छ ।
अनिवार्य शिक्षा लागु गर्न शिक्षा निःशुल्क हुनैपर्छ । निःशुल्क शिक्षाविनाको अनिवार्य शिक्षा नाममात्रको हुनजान्छ । समाजवादी देशमा जनतालाई शिक्षा दिने पूर्ण जिम्मेवारी राज्यले लिने भएकोले अनिवार्य शिक्षा पूर्ण सफल हुन्छ ।
पुँजीवादी देशमा पैसाअनुसारको शिक्षा प्राप्त हुन्छ, निःशुल्क शिक्षा पनि नाममात्रको हुन्छ, कुनै न कुनै बहानामा शिक्षालयहरूले शुल्क उठाइरहेका हुन्छन् । किनभने, सबै पुँजीवादी एवम् सामन्तवादी समाजमा धनी र गरिब वा पुँजीपति र श्रमिक या सामन्त र किसान गरी दुई वटा वर्ग हुन्छन् । धनीवर्गको शासनसत्तामा गरिबलाई राम्रो शिक्षा दिने, अनिवार्य र निःशुल्क शिक्षा लागु गर्ने कुरा नारामा सीमित हुन्छ । समाजवादी देशको अनिवार्य र निःशुल्क शिक्षाको अर्थ पढाइ शुल्कमात्र लिइँदैन भन्ने होइन । राज्यले विद्यार्थीको निम्ति आवश्यक सम्पूर्ण शैक्षिक सामग्री, विद्यालयको पोसाकलगायत खाजा र छात्रावासको समेत बन्दोबस्त गरेको देखिन्छ ।
पुँजीवादी देशमा अभिभावकले कामबाट फुर्सत नपाउँदा छोराछोरीलाई पर्याप्त समय दिनसकेका हुँदैनन् । कतिपय अभिभावकसँग केटाकेटीको पठनपाठनमा सघाउने क्षमता पनि हुँदैन । अधिकांश समय केटाकेटीसँग बिताउने आमाले कखरा पनि चिनेको हुँदैन भने शिक्षण विधि र पाठ्यक्रम एवम् पाठ्यपुस्तकमा छिटोछिटो परिवर्तन भएको अवस्थामा साक्षर वा प्रवेशिका उत्तीर्ण गरेको अभिभावकले छोराछोरीको पाठ बुझेर पढाउन वा सहयोग गर्न सक्दैनन् । पैसा नहुनेले घरमा कोही शिक्षक बोलाएर पढाउन वा ‘ट्युसन’ को व्यवस्था गर्न सक्दैनन् । राज्यले त्यसको निम्ति केही पनि बन्दोबस्त गरेको हुँदैन ।
त्यस्तै पुँजीवादी समाजमा अधिकांश केटाकेटीको घरको वातावरण राम्रो हुँदैन, गृहकार्य गर्न शान्त कोठा हुँदैन, आरामपूर्वक बस्ने कुर्सी हुँदैन । घरको कोठा सा¥है सानो हुँदा एकै ठाउँमा कोचिएर बस्नुपर्ने हुन्छ । पढाइको निम्ति आवश्यक कापीकलमजस्ता न्यूनतम शैक्षिक सामग्री पनि पाउन गा¥हो हुन्छ । छोराछोरीको पढाइमा हौसला दिने मान्छेको अभाव हुन्छ । त्यसैले पुँजीवादी समाजमा व्यक्तित्व विकासमा समान अवसरको कुरा ‘आकाशको फल’ मात्र हुन्छ ।
समाजवादी व्यवस्थामा गाउँ र सहरबिचको भेद हटाउने प्रयासअन्तर्गत गाउँगाउँमा समेत विद्यालय सञ्चालन गरिन्छ भने विद्यालय नभएका गाउँका केटाकेटीलाई समुदायमै पढाउन शिक्षक पठाइएको हुन्छ ।
काम गर्दै पढ्ने प्रणाली
विभिन्न उत्पादनशील काममा लागेका मजदुर र किसानले कामको साथै अध्ययनसमेत गर्ने बन्दोबस्त समाजवादी देशमा मात्र गरिएको छ । ८ घण्टा काम, ८ घण्टा अध्ययन एवम् मनोरञ्जन र ८ घण्टा आराम गर्ने नीति समाजवादी देशहरूमा लागु हुन्छ ।
कलेज शिक्षा नपाएका तर शिक्षामा निरन्तरता दिन चाहने नागरिकलाई कामसँगै पढ्ने बन्दोबस्त चीनमा लागु छ । चीनमा किसान कलेज, मजदुर कलेज, रात्रि विद्यालय तथा दूर शिक्षामा सहभागी भई श्रमिकहरू आफ्नो अध्ययन जारी राख्न सक्छन् । त्यस्तै प्रौढ मावि र प्रौढ प्राविधिक तालिम केन्द्रहरूसमेत खोलिएका छन् ।
प्रजग कोरियामा पनि मजदुरहरूलाई मजदुरकै कलेजमा नयाँ प्रविधि र सिप सीकाइन्छ । हरेक दिन उद्योगको काम सकेपछि २ घण्टा राजनीतिक एवम् प्राविधिक विषयमा कक्षा सञ्चालन हुने गरेको पाइन्छ । ग्रामीण कृषि मजदुरहरू कृषि कलेजमा गई आफ्नो मनपर्ने विषय अध्ययन गर्दछन् । यसबाट जीवनमा अध्ययन गर्ने बानी बस्नुका साथै त्यसअनुकूलको वातावरण पनि बन्दै जान्छ ।
साभार : समाज सुधार माध्यमिक विद्यालयको स्मारिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *