के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
विश्वसामु नेपाललाई चिनाउने अनेक कारणहरूमध्ये प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा पनि हो । यहाँ अनेक ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरू छन् । यिनै प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा हेर्न देश विदेशबाट आन्तरिक र बाह्य पर्यटकहरू आउँछन् । पर्यटकहरूको गन्तव्यस्थलको रूपमा रहेका सम्पदाहरू म्हासेर, बिग्रिएर एकपछि अर्को लोप मात्र भएका छैनन्; निजी व्यक्तिले कब्जा गरेर या आफ्नो बनाएर पनि सम्पदाहरू लोप भएका छन् । यसरी देशमा नरहेका अमूल्य सम्पदाहरूमध्ये काठमाडौँको ठमेलस्थित कमलपोखरी पनि हो । ठमेलस्थित सयौँ वर्ष पुरानो, संस्कृति र सम्पदासँग जोडिएको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक कमलपोखरी सत्ता, शक्ति र पैसाको आडमा या ठुलाबडाहरूको धाक धम्कीमा निजी बनाइएको छ र सो कमलपोखरी छायादेवी कम्प्लेक्स भवन बनेको छ । सार्वजनिक सम्पत्ति कसरी व्यक्तिगत हुन गयो ? व्यक्तिको बनाउन क–कसको हात रह्यो र क–कसले के कति डलर कुम्ल्याए भन्ने प्रश्न ठमेल वरिपरिका सम्पदाप्रेमी र राजधानीका जनतामाझ चर्चा परिचर्चा भइरहेको छ ।
ठमेलमा रहेको थँ बहिल (विहार) को निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारको लागि निर्माण गरिएको कमलपोखरी विहारकै ठीक पूर्वतिर रहेको छ । पोखरीमा फुलेको कमलको फूल विहारमा चढाइन्थ्यो । विहारको पोखरी तथा डिल संरक्षणको लागि विहारको गुठीसँग सम्बन्धित व्यक्तिलाई ठेक (ठेक्का) दिने परम्परा थियो । यसरी परापूर्वकालदेखि विहारको पूजा, जात्रापर्व, संस्कारसित सम्बन्धित कमलपोखरी वि.सं.१९७७ सालमा श्री ३ चन्द्रशमशेर राणाका छोरा केशर शमशेरले आफ्नो दरबारको कम्पाउन्डभित्र पारेपछि ठेक दिने परम्परा रोकेको बताइएको छ । केशर शमशेरको मृत्युपछि छोरा केयुर शमशेरले २०२५ सालतया पोखरीको केही भाग सुकाउने गरिएको र पोखरी प्रयोग गरेबापत वार्षिक रू.१२५ पाउने काम रोकेको सम्पदाप्रेमीहरूको भनाइ रहेको छ ।
उक्त पोखरी संरक्षण गर्न केयुर शमशेरविरूद्ध २०२७ सालमा धर्म कीर्ति रक्षार्थ जिल्ला अदालतमा मुद्दा परेको थियो । मोही नलाग्ने प्रकृतिको पोखरीमा दर्तावाला मोही कायम गरी २०३९ सालमा कि.नं. १३७ को पोखरीलाई कित्ताकाट गरी १६१५ कित्ता सुधा पौड्याललाई ०–६–० र कि.नं. १६१७ विना पौड्याललाई २–१०–० राजीनामा गरी बाँकी कित्ता १६१८ केयुर शमशेरले आफ्नै नाममा मोही कायम गरेको देखिन्छ । जबकि पोखरीमा जोताहा मोही कायम हुँदैनथ्यो । केयुर शमशेरको मृत्युपछि २०४२ सालमा श्रीमती अम्बिका राणाले निजीको जग्गा देखाई पोता तिरेको देखिन्छ । जबकि २०४२ सालको गुठी संस्थानको कार्यकालको फिल्डबुकमा सार्वजनिक पोखरी नै कायम छ । २०४४ सालमा तत्कालीन सरकारले सरकारी जग्गा कायम गरिसकेको छ । वि.सं. १९६५ सालको रसिदअनुसार क्षेत्रफल २६.५ रोपनीमा फैलिएको पोखरी र डिलसमेत वि.सं. २०३३ सालको सहरी क्षेत्रमा नापी हुँदा पोखरीलाई कि.नं. १६७ मा पारी क्षेत्रफल १२–१३–२–२ मा सीमित पारेको देखिएको छ ।
सो जग्गा पछि हिमालय शमशेर राणाकी छोरी तथा पृथ्वीबहादुर पाँडेका श्रीमती प्रतिमा राणाको नाममा नामसारी गरिएको थियो । २०६५ सालमा उक्त प्रतिमा पाँडेको नाममा नामसारी गरिएको सो पोखरी पृथ्वीबहादुर पाँडेद्वारा सञ्चालित तथा अध्यक्ष छायादेवी कम्प्लेक्स प्रालिको नाउँमा नामसारी गरिएको थियो । यसरी छायादेवी कम्प्लेक्सले उक्त पोखरी मासेर व्यापारिक भवन बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीय गुठीसँग सम्बन्धित व्यक्तिहरूले भवन बन्नु अघि नै अदालतमा मुद्दा दायर गरेका थिए । त्यस्तै २०७१ सालमा दीपक विक्रमले सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसको मुद्दा अहिलेसम्म टुङ्गो लागेको छैन । स्मरणीय छ, १९७८ सालमा केयुर शमशेरका बुबा केशर र २०२६ सालमा केयुर शमशेरले गुठीको पोखरी भनी स्वीकारेको रेकर्ड छ । गुठीयारहरूलाई गुठीको चल अचल सम्पत्तिको लेनदेन र बेचबिखन गर्ने अधिकार छैन । हकविहीन गुठीयारहरूले गरेको मिलापत्र वैध हुँदैन । विहारसँग जोडिएको कमलपोखरी सार्वजनिक हो । सार्वजनिक पोखरी र जग्गा कुनै व्यक्तिको हुँदैन । अतः कमलपोखरी र सार्वजनिक जग्गा विगतमा झैँ सार्वजनिक नै कायम गर्नुपर्छ या त्यसलाई सरकारले राष्ट्रियकरण गर्नुपर्छ ।
Leave a Reply