जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम खसाली संसारमा आफ्नो सामरिक शक्ति देखाएर संसारका सबै क्रान्तिहरूलाई हाँक दिइरहेको थियो । संसारलाई त्राहिमाम पारेको बेला अन्ना लुइस स्ट्रङ (Anna Louise Strong) येनानको गुफामा माओ त्सेतुङसँग अन्तर्वार्ता लिन पुगिन् । माओ त्सेतुङले उत्तरमा भन्नुभयो, “साम्राज्यवाद कागजको बाघ हो ।”
“आणविक बम संहारक वस्तु हो तर त्यसलाई नियन्त्रण गर्न सकिन्छ । साम्राज्यवाद लाई रणनीतिकरूपले चानचुन सम्झनुपर्छ भने कार्यनीतिकरूपले उसका स–साना गतिविधिबारे पनि ध्यान दिनुपर्छ ।” माओ त्सेतुङको यस अभिव्यक्तिले संसारका जनताले अमेरिकी साम्राज्यवादको आणविक आतङ्कबाट मुक्ति पाए ।
संसारलाई अमेरिकी आणविक आतङ्कबाट मुक्ति दिलाउन माओ त्सेतुङको सन्देश विश्वसामु पु¥याउने महिला पत्रकार अन्ना लुइस स्ट्रङको जन्म संरा अमेरिकाको नेब्रास्का (Nebraska) राज्यमा सन् १८८५ मा भएको थियो । उनको परिवारको पृष्ठभूमि नै प्रगतिशील परम्पराको थियो । उनको परिवार सन् १६३० तिर बेलायतबाट अमेरिका बसाइँ सर्दा राजतन्त्रविरोधी थियो र अमेरिकी स्वतन्त्रता आन्दोलनमा सहभागी थियो ।
स्ट्रङका बुबा सिड्ने स्ट्रङ (Sydnay Strong) समाज सुधारका पक्षपाती थिए भने आमा रुथे टे«सी (Ruth Tracy) पनि विश्वविद्यालयमा अध्ययन गरेकी शिक्षित महिला थिइन् र समुदायको हितको निम्ति सक्रिय थिइन् । खानदानी परिवारका भएका हुँदा आफ्ना छोरीलाई साहसी, स्वतन्त्र विचारमा हुर्कने अवसर प्रदान गरेका थिए ।
७ वर्षकै उमेरमा स्ट्रङलाई घरबाट टाढा सिन्सिन्नाटि (Cincinnati) महानगरमा पढ्न पठाए । १२ वर्षको उमेरमा उनी रात बिताउने रेलको यात्रामा गइन् । युवा अवस्थादेखि नै उनी आफ्नो व्यक्तिगत स्वार्थभन्दा व्यापक जनताको हितलाई महत्व दिन्थिन् ।
सन् १९०७ मा २३ वर्षको उमेरमै स्ट्रङले सिकागो (Chicago) विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरिन् । समाजको न्याय, कल्याण र सुधारको निम्ति उनी लागिपरिन् ।
विश्वविद्यालयको अध्ययनपछि स्ट्रङ बालश्रमविरोधी कार्यमा लागिन् । सन् १९१५ मा पश्चिमको वासिङ्गटन राज्यको सियाटल (Seattle) महानगरको विद्यालयको सुधार समितिको उनी सदस्य भइन् । त्यसपछि उनी पहिलो विश्व युद्धमा आफ्नो सरकार साम्राज्यवादी नीतिमा लागेको विरोध गर्न सक्रिय भइन् । त्यसैबेला उनी क्रान्तिकारी र माक्र्सवादीहरूको सम्पर्कमा पुगिन् । काठ चिर्ने कारखानाका मजदुरहरू संविधानले दिएको वाक् स्वतन्त्रताको निम्ति लडिरहँदा तिनी त्यही सङ्घर्षको पक्षमा उभिइन् । सन् १९१९ मा सियाटल (Seattle) मा मजदुरहरूको देशव्यापी हडताल भयो, संरा अमेरिकामा त्यो ऐतिहासिक हडताल थियो । मजदुर सङ्घको समाचारपत्र ‘सङ्घको दस्ताबेज’ (Union Record) का सम्पादक स्ट्रङ थिइन् । उनका सशक्त सम्पादकीयहरू र ‘आनिज’ (Anise) नामबाट लेखिने कविताहरू पछिसम्म त्यहाँका जनतामा चर्चा भइरह्यो ।
पक्राउ
स्ट्रङले एक लेखमा भनिन्, “समाजमा सबै वर्गको उन्मूलन गरी सबै सम्पत्ति एक वर्गको रूपमा मजदुरहरूको नियन्त्रण र तिनीहरूको हितमा हुनुपर्छ ।” यसै लेखको कारण उनी पहिलो पटक पक्राउ परिन् । उनी निरन्तर आफ्नो सिद्धान्तप्रति निष्ठानवान् रहिन् । आफ्नो बाटोलाई मोड्न खोज्नेहरूलाई उनी सबै कामदारहरू त्यही सिद्धान्तमा रहेको बताउँथिन् ।
रुसमा सन् १९१७ मा अक्टोबर क्रान्ति भएको थियो । सन् १९१८ मा लेनिनको एउटा भाषणलाई तिनले सम्पादन गरेर २० हजार प्रति छपाएर उत्तर–पश्चिम अमेरिका र क्यानाडामा वितरण गराएकी थिइन् । त्यसले अमेरिकी मजदुरहरूमा सङ्घर्षको नयाँ वातावरण बनेको थियो । त्यस्तै सियातलको मजदुर आन्दोलन भइरहँदा चीनमा मई ४ को युवा आन्दोलन चर्र्कँदै थियो त्यसबेला तिनी ३४ वर्षकी थिइन् ।
रुसमा ३० वर्ष
रुसमा सन् १९२१ तिर भोल्गा (Volga) क्षेत्रमा अनिकाल भयो । स्ट्रङ भोकमरीलाई सहयोग गर्न विदेशी राहत दिने पहिलो मजदुरको रूपमा रुस पुगिन् ।
दोस्रोपटक तिनी रुस पुगिन् र मस्कोमै स्थायी बसोबास गरिन् । पछि एक रुसी कम्युनिस्टसँग विवाह गरिन् । पत्रकार र अनुवादक एवम् विभिन्न देशमा गई द्वेभाषीको रूपमा काम गरिन् । देश–विदेशका घटनाहरूको बारेमा पनि तिनले धेरै पुस्तकहरू लेखिन् ।
सन् १९३० देखि १९५० सम्म ‘मस्को दैनिक खबर’ (Moscow Daily News) मा काम गरिन् । तिनका पुस्तकहरूमध्ये सबभन्दा उत्कृष्ट पुस्तक उनको आत्मकथाको रूपमा लेखिएको ‘मैले संसारलाई फेरेँ’ थियो । त्यो पुस्तक सन् १९३५ मा प्रकाशित भयो र तिनले रुसमा ३० वर्ष काम गरिन् ।
चीन भ्रमण
सन् १९२५ मा हङकङमा ठुलो हडतालबारे समाचार सङ्कलन गर्न स्ट्रङ पहिलोपटक चीन पुगिन् । चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रवादी पार्टी कोमिनताङ (Kuomintang) बिच पहिलो क्रान्तिकारी एकता (Alliance) भएको थियो । त्यसको केन्द्र क्यान्टन Guang-Zhouग थियो । त्यहाँ तिनले श्रीमती सन यान–सेन (Madam Sun Yat-Sen) अर्थात् सुङ चिङ लिङ (Soong Ching-Ling), अन्य प्रगतिशील व्यक्ति र जननेताहरू भेटेकी थिइन् । त्यसबेला तिनले ‘करोडौँ चिनियाँ जनता’ (China’s Millions) लेखिन् । त्यसबेला स्ट्रङ ४० वर्षकी थिइन् । अमेरिकाबाट प्रकाशित त्यस पुस्तकलाई मानिसहरू खोजीखोजी पढ्थे ।
मेक्सिकोको प्रजातान्त्रिक आन्दोलनको अवलोकनपछि सन् १९२७ मा तिनी एक रुसी सल्लाहकारसँग मंगोलियाको राजधानी उलाम्बाटोर हुँदै रुसी साइबेरियाली रेलमार्गबाट दोस्रोपटक चीन पुगिन् । त्यसबेला राष्ट्रवादी पार्टीका सभापति च्याङ काई–शेक (Chiang Kai-Shek) र वाङ चिङउई (Wang Jingeuei) ले क्रान्तिलाई विश्वासघात गरिसकेका थिए । मजदुर र किसानहरूको आन्दोलन अगाडि बढ्दै थियो र साम्राज्यवादीहरूको धाप पाएर विश्वासघातीहरूले गृहयुद्धमार्फत जनतालाई दबाउँदै थिए । त्यसैबेला माओ त्सेतुङले आफ्नो पार्टीमा ‘हुनान प्रान्तको किसान आन्दोलनबारे जाँचबुझको एक रिपोर्ट’ पेस गर्नुभएको थियो ।
स्ट्रङले माओ त्सेतुङको त्यसै रिपोर्टलाई समेत ध्यान दिई सन् १९२८ मा ‘करोडौँ चिनियाँ जनता’ को दोस्रो भागमा सामेल गरिन् र ‘मैले संसारलाई फेरेँ’ मा पनि चीनको परिस्थितिबारे लेखिन् । त्यसबेला उहान (Wuhan) र अन्य क्षेत्रमा उनले भ्रमण–अवलोकन गरेकी थिइन् ।
युरोपमा फासीवादको जगजगी बढ्दै थियो । स्पेनियाली गणतन्त्र त्यसको थिचोमिचोको विरोधमा सङ्घर्ष गर्दै थियो । सन् १९३६ मा स्ट्रङ स्पेन पुगिन् र केही महिना त्यहाँको अध्ययन गरिन् र ‘स्पेनमा हातहतियार’ (Spain in Arms) भन्ने पुस्तक लेखिन् ।
सन् १९३७–३८ मा अन्ना लुइस स्ट्रङ तेस्रोपटक चीन पुगिन् । चीन जापानी आक्रमणको विरोधमा लड््दै थियो । कम्युनिस्टहरूको आठौँ पैदल सेनाको सदरमुकाम दक्षिण–पूर्वी शान्सि (Shanxi) मा थियो । त्यहाँ जनरल चु तेह (Chu Teh) हुनुहुन्थ्यो । जापानसँगको त्यस भिडन्तको बेला तिनले त्यहाँ यात्रा गरिन् र चाउ एन–लाई र उहाँको जहान तङ यिङ चाओ (Deng Ying Chao) सँग मित्रता गाँसिन् । त्यसबेला अन्ना ५२–५३ वर्षकी प्रौढ थिइन् ।
चौथोपटक चीन भ्रमण
सन् १९४० मा जापानविरोधी प्रतिरोध युद्ध साह्रै अप्ठेरो स्थितिमा थियो । जापानी आक्रमणले चीनका मुख्यमुख्य महानगरहरू आफ्नो कब्जामा लिइसकेको थियो भने च्याङ काई–शेकले जापानको अगाडि आत्मसमर्पण गर्दै थियो । त्यसैबेला अन्ना लुइस स्ट्रङ चौथोपटक चीन पुगिन् । च्याङ काई–शेक जापानसँग लडिरहेको कम्युनिस्ट नेतृत्वको चिनियाँ शक्तिहरूमाथि जाइलाग्न तयारी गर्दै थियो ।
त्यस्तो विकट अवस्थामा स्ट्रङ चाउ एन–लाइसँग भेट्न चोङछिङ (Chongquing) पुगिन् । देशको स्थिनिबारे चाउ एन–लाइले तिनलाई सन् १९२७ को भन्दा विकराल भएको बताउनुभयो । तर, उहाँले यसबारे कसैलाई नबताउने भन्नुभयो । किनभने, स्थिति च्याङ काई–शेकले थाहा पायो झन् ठुलो आक्रमणको योजना बनाउनेछ भनेर । तर, तिनले साथीहरूसँग यस गम्भीर विषयमा छलफल गर्दा संसारसामु च्याङ काई–शेकका गतिविधिहरूलाई उदाङ्ग्याउनुपर्ने सल्लाह दिइन् ।
कोमिनताङ शक्तिहरू याङसी (Yangtze) नदी तरेर उत्तरतिर आउँदा कम्युनिस्टहरूको नयाँ चौथो सेनालाई बाटैमा समाप्त पार्न खोज्दै थिए । यसबारे स्ट्रङले सारा संसारमा फासीवादविरोधी प्रचार अभियान सुरु गरिन् । संसारका सारा प्रगतिशील जनता र शान्ति चाहने जनता तथा देशहरूमाझ जापानको विरोधमा अडान लिने चिनियाँ कम्युनिस्टहरूको पक्षमा लोकमत तयार भयो । यस्तो गम्भीर स्थितिमा चीनमा गृहयुद्ध भड्केमा दोस्रो विश्वयुद्धको नक्सा फेरिने सम्भावन थियो । यस्तो अवस्थामा स्ट्रङको प्रचार अभियानले सकारात्मक भूमिका खेल्यो ।
पाँचौँपटक चीनमा
दक्षिण–पूर्वी चीनमा हार्दै थियो र कम्युनिस्टहरूको प्रभाव बढ्दै थियो । उत्तर कोरिया, चीन, हिन्द–चीन, इन्डोनेसिया, मलेसिया, बर्मा आदि ठाउँमा जापानको ठाउँ कम्युनिस्टहरूले लिँदै थिए । जापानलाई छिट्टै आत्मसमर्पण गराउन नसके अमेरिकी सेनाको थप बलिदान हुन्थ्यो र अरु हातहतियार एवम् रसद पानीको आवश्यकता हुन्थ्यो । त्यस स्थितिले कम्युनिस्ट आन्दोलनको निम्ति सहयोग पुग्थ्यो र पश्चिममा पनि कम्युनिष्ट आन्दोलनलाई थप मलजल पुग्थ्यो । यसकारण, संरा अमेरिकाले जापानलाई छिट्टै आत्मसमर्पण गराउन आणविक अस्त्र प्रयोग गर्ने निर्णय ग¥यो ।
६ अगष्ट सन् १९४५ को दिन जापानको हान्शु (Honshu) टापुको हिरोशिमा (Hiroshima) सहरमा संरा अमेरिकाले आणविक बम खसाल्यो ।
दोस्रो आणविक बम जापानको क्युशु (Kyushu) टापुको नागासाकी (Nagasaki) सहरमा खसाल्यो ।
संरा अमेरिकाको त्यस संहारक अस्त्रको प्रयोगले सारा मानव जाति आतङ्कित भयो । जून १९४६ मा अन्ना लुइस स्ट्रङ पाँचौँपटक चीन पुगिन् र चिनियाँ कम्युनिस्ट पार्टीको सदरमुकाम येनान पुगी अध्यक्ष माओ त्सेतुङसँग संसारको त्यस स्थितिबारे प्रश्न गरिन् । उत्तरमा माओले भन्नुभयो, “युद्धको निर्णय एक दुईवटा नयाँ हातहतियारले गर्दैन बरु जनताले गर्छन् । साम्राज्यवादीहरू जस्तै अणु बम पनि ‘कागजी बाघ’ हो, हेर्दा डरलाग्दो छ , तर तिनीहरूमाथि विजय प्राप्त गर्न सकिन्छ ।”
माओ त्सेतुङको त्यस अन्तर्वार्ताले संसारका जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा थप ऊर्जा प्राप्त ग¥यो । त्यसैबेला तिनले माओ त्सेतुङसँग अर्को पनि अन्तर्वार्ता लिइन् र त्यहाँ ल्यु शाओचि (Liu shaoqi) पनि थिए । माओ त्सेतुङ विचारधाराबारे उहाँले माक्र्सवाद–लेनिनवादलाई चीनको माटोमा प्रयोग गर्दाको अनुभव हो र त्यो विचारधारा सबै देशमा जस्ताको तस्तै लागू हुन्छ भन्ने होइन । हरेक देशको आ–आफ्नै परिस्थतिअनुसार अनुसरण गर्नुपर्ने बताउनुभयो । त्यसबेला स्ट्रङ ६१ वर्षकी परिपक्व पत्रकार थिइन् ।
सन् १९४७ मा चिनियाँ कम्युनिस्ट पार्टी र कोमिनताङबिच नयाँ युद्ध सुरु भयो । संरा अमेरिकाले कोमिताङलाई सबै किसिमले मद्दत ग¥यो । माओ त्सेतुङ र चाउ एन–लाइले येनानलाई खाली गरी घुमन्ते र नियमित युद्धमा प्रवेश गराउँदै हुनुहुन्थ्यो ।
त्यसैबेला अन्ना लुइस स्ट्रङले येनानको जीवनशैलीको बारेमा लेखिन्, “त्यहाँ कुनै ऐश–आराम छैन बरु केही बन्दोबस्त छ । …जनताको राम्रो विचार छ, गम्भीर छन् र विश्व दृष्टिकोण छ । … यहाँ केही नभए पनि क्रान्तिको कठिन अग्रगमनको भरपर्दो इतिहास देखिन्छ ।”
प्रगतिशील अमेरिकी पत्रकारहरूको टोलीले ‘संयुक्त श्रम समाचार र टेलीप्रेस समिति’ (Allied Labour News and Telepress Committee) को स्थापना ग¥यो । अमेरिकी ट्रयुमानको सरकारले च्याङ काई शेकको समर्थन गर्दै थियो । त्यस नीतिको विरोधमा अमेरिकी पत्रकारहरूको टोलीले चीनबाट स्ट्रङले पठाएका समाचारहरूलाई अमेरिका र संसारमा प्रसार गर्दै ग¥यो । उत्तरी शान्सि (Shanxi) मा अङ्ग्रेजी भाषाको समाचार संस्था अर्थात् सिन्ह्वा समाचार संस्था (Xinhua News Agency) बाट एउटा सानो घुम्ती प्रसारण सेवा सुरु गरिएको थियो । त्यस्तो सानो स्रोतले पनि ठुल्ठुला काम ग¥र्यो । चीनबाट स्ट्रङका समाचारहरूलाई सङ्कलन गरी उनको ‘भोलिको चीन’ (Tomorrow’s China) प्रकाशित गरियो ।
सन् १९४८ मा स्ट्रङ न्युयोर्कबाट मस्को गइन् । त्यहाँबाट उनी छैटौँ पटक चीन जान चाहन्थिन् । तर, मस्कोमा तिनी पक्राउ परिन् ।
मस्कोमा सङ्घर्ष
मस्कोमा अन्ना अचानक पक्राउ परिन् र उनीमाथि ‘अमेरिकी गुप्तचर’ को आरोपमा मुद्दा चलाइयो । माओ त्सेतुङको “साम्राज्यवादीहरूको एटम बम ‘कागजी बाघ’ हो” भन्ने ठम्याइमा कति रुसी नेताहरू सहमत थिएनन् र अनुमानको भरमा ‘अमेरिकी गुप्तचर’ को रूपमा उनीमाथि अभियोग लगाइयो । त्यसैले उनी सन् १९४९–१९५८ सम्म अमेरिकाकै क्यालिफोर्नियामा बस्न बाध्य भइन् । स्तालिनको मृत्युपछि सन् १९५७ देखि १९६० सम्मको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी संशोधनवादी गुटसँग चिनियाँ कम्युनिस्ट पार्टीको सैद्धान्तिक सङ्घर्षमा ख्रुश्चेभ गुटले अमेरिकी साम्राज्यवाद ‘कागजी बाघ’ हो तर ‘आणविक दाँत’ भएको भनी त्यस ठम्याइलाई ‘वामपन्थी अवसरवाद’ र ‘युद्ध पिपासु’ को लाञ्छनासमेत लगायो । खुश्चेभ गुटले इटालीयाली कम्युनिस्ट नेता टोग्लियाटि र फ्रान्सेली कम्युनिस्ट नेता थ्रोजे आदिलाई समेत चिनियाँ कम्युनिस्ट पार्टीको विरोधमा प्रयोग ग¥यो ।
क्यालिफोर्नियामा अन्नाको घरको राम्रो बन्दोबस्त थियो र उनी ‘टुडे’ (Today) भन्ने पत्रिका निकालेर सोभियत सङ्घ र अन्य २० देशमा प्रगतिशील आन्दोलनमा लागिरहिन् ।
प्रगतिशील जगतमा सोभियत सङ्घ र त्यसको कम्युनिस्ट पार्टीको प्रतिष्ठा र प्रभाव व्यापक थियो । अन्नामाथिको त्यो अभियोगको कारण तिनका पुस्तक र प्रकाशनमा ग्रहण लाग्यो । तैपनि, तिनी ७ वर्षसम्म त्यस अभियोगको विरोधमा एक्लै सङ्घर्ष गर्दै गइन् किनभने अन्य ‘वामपन्थीहरू’ भ्रममा परे । त्यसैबेला दक्षिणपन्थीहरूले तिनलाई कम्युनिस्टविरोधी शिविरमा तान्न खोजे, तिनले त्यस्ता प्रस्तावहरूलाई आगोलाई जस्तै अस्वीकार गरिन् । उनी मेक्सिकोमा समेत गएर निरन्तर समाजवादको प्रचार अभियानमा लागिरहिन् ।
सन् १९४९ मा चीन मुक्त भयो र जनवादी गणतन्त्र चीनको स्थापना भयो । तिनले ‘चिनियाँ जनताले चीनमाथि विजय प्राप्त गरे’ (The Chinese Conquer China) शीर्षकको पुस्तक लेखिन् र आफैले प्रकाशन एवम् वितरण गर्ने बन्दोबस्त गरिन् ।
अन्ना लुइस स्ट्रङमाथिको अभियोग सन् १९५५ मा झूटा साबित भयो र पुनः उनको सम्बन्ध संसारका साथीहरू र चीनसँग पनि स्थापित भयो । अमेरिकी सरकारले उनको प्रगतिशील विचारको कारण उनको राहदानीलाई प्रतिबन्ध लगायो र यात्रामाथि रोक लगायो । तर, उनको विचार र कलमलाई रोक्न भने अमेरिकी सरकार असफल रह्यो । उनले ‘स्तालिन युग’ (The Stalin Era) पुस्तक लेखिन् । त्यसबेला रुसमा स्तालिनको विरोधमा खुश्चेभ गुट सक्रिय थियो, त्यस पुस्तकले त्यस गुटमाथि प्रहार ग¥यो ।
सन् १९५८ मा उनी मस्को पुगिन् र एक जनसभामा आफ्नो बाँकी जीवन समाजवादबारेप्रचारमा लगाउने बताइन् । त्यहाँ तिनलाई आफ्नो लोग्नेका परिवारले बस्न सबै बन्दोबस्त गर्ने प्रस्ताव राख्यो तर सिद्धान्तकै कारण तिनले त्यस प्रस्तावलाई अस्वीकार गरिन् । छैटौँपटक तिनी चीन पुगिन् ।
७२ वर्षको उमेरमा चीन
चीन पुगेर अन्ना लुइस स्ट्रङले ‘७२ वर्षको उमेरमा म किन चीन आएँ’ (Why I come to China at the age of 72) लेखिन् । त्यस पुस्तकलाई तिनले पहिले लीथो (Mimeographed) बाट ६९ वटा पत्रको रूपमा छापिन् र वितरण गरिन् । पछि त्यस पुस्तकको जर्मनी, इटालियाली र स्वीडेली भाषामा पनि अनुवाद भयो ।
जीवनको पछिल्लो भागमा चीन बसाइँमा स्ट्रङले सन् १९५८ देखि सुरु भएको जनकम्युनको स्थापना र कम्युनहरूमा ध्यान दिइन् । सन् १९६० मा तिनले चीनका कम्युनहरूको भ्रमण गरिन् र ‘जनकम्युनको उत्थान’ (The Rise of the People’s Communce) लेखिन् । चीन र संसारमा पनि धेरै चर्चा र विवाद भएका कम्युनहरूको अध्ययन–भ्रमणपछिको त्यस पुस्तकले धेरैलाई कम्युनबारे बुझ्न सजिलो पारेको थियो ।
सन् १९५९ मा तिब्बतको धर्मराज र दास मालिकहरूको राजा दलाई लामा गुटले विद्रोह गर्यो । विद्रोहपछि पश्चिमी साम्राज्यवादी र भारतीय विस्तारवादीहरूकै निर्देशनमा विद्रोहीहरू भारत पुगे । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) र भारतको संरक्षणमा आज पनि दलाई लामाको गुट भारतको धर्मशालाबाट गतिविधि गर्दै छ ।
तिब्बतको वास्तविक स्थिति संसारलाई बताउन सन् १९५९ मा ‘पेचिङ जन दैनिक’ (Peking People’s Daily) को आयोजनामा १९ देशका लेखक र पत्रकारहरू पहिलो पटक ल्हासा पुगेका थिए । त्यसमा अन्ना पनि थिइन् । पोताला दरबार, गाउँ, बस्ती र जनताका सभा, आलोचना सभा र सांस्कृतिक गतिविधिको अवलोकन गरिन् तथा मुक्त दास र भूदासहरूसँग पनि तिनले कुराकानी गरिन् ।
त्यही विवरण र कुराकानीको आधारमा ‘तिब्बतका भू–दासहरू उठ्दा’ (When Serfs Stood up in Tibet) लेखिन् र सन् १९६० मा त्यसको पहिलो प्रकाशन भयो । तिनी त्यसबेला ७३ वर्षकी थिइन् । (उक्त पुस्तकको नेपाली अनुवाद ‘तिब्बतका भू–दासहरू उठ्दा’ पत्रकार समाज भक्तपुरले वि.सं. २०६६ असोजमा प्रकाशित गरेको छ ।)
हुन त अन्नाले सन् १९६० देखि नै ‘चीनका चिट्ठीहरू’ (Letters from China) लेख्न सुरु गरेकी थिइन् । सन् १९६२ को ३१ अक्टोबरको चिट्ठीको शीर्षक थियो ‘चीन–भारत सीमा विवाद’ (Sino-Indian border) । यसरी ती चिट्ठीहरूमा चीन र संसारका समसामयिक विषयमा लेख्दै गइन् ।
सन् १९६१ मा अन्ना लुइस स्ट्रङ लाओस पुगिन् र त्यहाँका नेताहरू, महत्वपूर्ण व्यक्तिहरू र साधारण जनतासम्म पुगिन् । त्यहाँको स्थितिबारे जानकारी लिइन् ।
अमेरिकी साम्राज्यवादले कसरी भियतनाम, कम्बोडिया र लाओसलाई आफ्नो मुट्ठीमा पार्न खोजेको थियो र लाओसका जनता र नेताहरूले त्यसको जवाफ कसरी दिए भन्ने जानकारी ‘लाओसमा पैसा र हिंसा’ (Cash and Violence in Laos) पुस्तक लेखिन् र प्रकाशित गरिन् । यसरी जीवनको उत्तराद्र्धमा पनि तिनले ६ वटा पुस्तक लेखिन् । (उक्त पुस्तक नेपाली भाषामा अनुवाद भएर ‘मजदुर’ दैनिकमा धारावाहिकरूपमा छापिसकिएको छ ।)
सन् १९६७ जून महिनामा ‘माओ त्सेतुङको साहित्य र कलाबारे येनान गोष्ठीको प्रवचन’ को २५ औँ दिवसको अवसरमा अन्ना लुइस स्ट्रङले एफ्रो एसियाली लेखक सङ्घको कार्यशालामा ‘मुख्य शक्ति जनतामा भर पर्नुपर्ने र प्रतिक्रियावादीहरूलाई बलियो सम्झनु जनताको अज्ञानता हुने हुँदा जनतालाई सचेत पार्नुपर्ने’ बारे बोलिन् ।
स्ट्रङका अन्तिम दिनहरू
अन्ना लुइस स्ट्रङ चिनियाँ नेताहरू, बुद्धिजीवी र चिनियाँ जनताले उच्च सम्मान गरिने व्यक्तिहरूमध्ये एक हुन् । एक अथक मजदुर, प्रतिबद्ध लडाकु, आफ्नो विश्वासमा अटल र सिद्धान्तनिष्ठ मित्रको रूपमा चिनियाँ जनता उनलाई मन पराउँछन् । अध्यक्ष माओ त्सेतुङले धेरैपटक तिनलाई भेट दिनुभयो । प्रधानमन्त्री चाउ एन–लाई, उहाँको जहान तङ यिङ चाओ, परराष्ट्रमन्त्री छन् । अन्य नेताहरू तिनको जन्मदिनमा तिनलाई शुभकामना व्यक्त गर्न जानुहुन्थ्यो र ती भेटहरूमा औपचारिकता मात्रै नभई देश–विदेश र समसामयिक विषयमा छलफल र विचारको आदानप्रदान पनि हुने गर्दथ्यो ।
तिनी आफ्ना लेख र समाचारहरूलाई छैटौँ पटकसम्म सच्याउने र परिमार्जित गर्ने गर्थिन् । तिनी आफ्नो लेखाइलाई सकेसम्म भित्री मनदेखि मिलाउँथिन् र रातरातभर आफ्नो टाइपराइटरमा काम गर्थिन् ।
तिनी साह्रै प्रकृतिप्रेमी थिइन्, फूलको बिरुवा र त्यसको सजावटमा तिनी अत्यन्त रुचि राख्थिन् । विश्वका अत्यन्त नाउँ चलेका पत्रकारहरूमध्ये एकजना अन्ना लुइस स्ट्रङ थिइन् ।
सन् १९७० को मार्च महिनामा ८५ वर्षको उमेरमा तिनको टाइपराइटरको आवाज बन्द भयो र तिनी पेचिङमा बितिन् । ८५ वर्षको जीवनमा तिनले ६० वर्ष प्रगतिशील पत्रकारितामा आफूलाई समर्पित गरिन् । चार महादेशका ऐतिहासिक घटनाहरू, विभिन्न पुस्तक, लेख र चिट्ठीहरूमा तिनी अझै जीवितै छिन् । तिनले सदा हरेक दुःख–कष्टलाई सहेर प्रगतिको पक्षमा लडिरहिन् । तिनी आफ्ना अमेरिकी प्रगतिशील पत्रकारहरू र अन्य विदेशी पत्रकारहरूका प्रिय र आदरका पात्र थिइन् ।
अन्नाका केही महत्वपूर्ण रचनाहरू
1. China’s Million
2. I Change Worlds, The Remaking of an American
3. Mass Revolt in Central China (1925-26)
4. From Nankou to Moscow
5. The Road to The Gray Parrer (1920-29)
6. The Value of Trutor Station (1928-30)
7. The Chinese Conquer China (1947)
8. Tibetan Interview (1958)
9. When Serfs stood up in Tibet (1960)
10. Cash and Violence in Laos (1963)
11. China fights for Green
12. Letters from China (1963)
13. Spain in Arms (1937)
14. One fifth of Mankind (1936-37)
15. Tomorrow’s China (1947-48)
16. The Stalin Era (1955)
अन्नाले काम गरेका पत्रपत्रिका
1. Seattle Union Record
2. Moscow Daily News
3. Today
साभार : विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply