भर्खरै :

भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम

भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम

नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएको चार वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश गर्दै छौँ । यो वर्ष हाम्रो कार्यकालको अन्तिम वर्ष हो । यो कार्यकालको अन्तिम बजेट पेस गर्ने अवसर पनि हो । २०७९ साल जेठ ६ गते दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेदेखि नै निरन्तर जनताको सेवामा समर्पित भएर काम गर्दै छौँ । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राख्दै निर्वाचन घोषणापत्रअनुसार काम गर्दै छौँ ।
भक्तपुरलाई आजको अवस्थासम्म ल्याई पु¥याउन हाम्रा धेरै अग्रजहरूले दुःख गर्नुभयो । पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकाल र त्यसपछिका अवधिमा धेरै राजनीतिक कार्यकर्ताहरूले कुनै पद र पैसाको लोभ नगरी आफ्नो जीवनको महत्वपूर्ण समय जेलको कठोर चौघेरामा बिताउनुभयो, प्रवास र भूमिगत भएर जनताको सुख दुःखमा साथ दिनुभयो र आजको गणतान्त्रिक व्यवस्था स्थापना गर्न योगदान गर्नुभयो । जनप्रतिनिधि भएर वा नभएर पनि भक्तपुरको गौरव बढाउने काममा महत्वपूर्ण योगदान गर्नुभएका ती तमाम अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
भक्तपुर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चर्चामा रहँदै आएको छ । ई.ए. पावेलले सन् १९२९ मा आफ्नो पुस्तक ‘द लास्ट होम अफ मिस्ट्री’ मा भक्तपुर दरबार क्षेत्रको प्रशंसा गर्दै लेख्नुभएको थियो, “भक्तपुरको दरबार क्षेत्र अवलोकन गर्दा संसारको आधा भूगोल भ्रमण गरेसरह हुनेछ ।” विद्वान् जगदीश शमशेर राणाले भक्तपुरलाई ‘नाचगानको राजधानी’ को उपमा दिनुभयो भने जर्मन वास्तुकलाविद् निल्स गुत्सोभले भक्तप¬रलाई ‘संसारकै ठुलो जीवित सङ्ग्रहालय’ को संज्ञा दिनुभएको छ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको यस सांस्कृतिक नगरको नेतृत्वमा रहेर जनताको सेवा गर्न पाएकोमा हामी अत्यन्त खुसी छौँ ।
भक्तपुर सम्पदा र सभ्यताको सहर हो र यहाँका सम्पदाहरू विश्व प्रसिद्ध छन् । ती सबैको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुलाई हामीले आफ्नो कर्तव्य र जिम्मेवारी ठानेका छौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ ले हामीलाई काम गर्न दिशानिर्देश गरिरहेको छ । नगरवासीहरूको रचनात्मक सल्लाह, सुझाव र आलोचनालाई आत्मसात गर्दै हामी सम्पूर्ण जनप्रतिनिधिहरू भक्तपुरको विकासको निम्ति अगाडि बढ्दै छौँ ।
नगरपालिकाका स्रोत र साधनहरू सीमित छन् । त्यसको आधारमा हाम्रा असीमित आवश्यकताहरू पूरा गर्नुपर्ने बाध्यता हामीसँग छ । भक्तपुर नगरपालिकाको आन्तरिक र बाह्य सीमित स्रोत र साधनहरूको आधारमा जनताको असीमित आवश्यकतालाई पूरा गर्नुपर्ने जिम्मेवारी पनि हामीसँग छ । प्राथमिकता क्रमको आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छौँ :
क) शिक्षा :
१) नगरपालिकाले ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज अफ ल, ख्वप बहुप्राविधिक अध्ययन संस्थानलगायत सात वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नगरपालिकाद्वारा सञ्चालित ती शैक्षिक संस्थाहरूमा समयको आवश्यकता र विद्यार्थीहरूको मागबमोजिम नयाँ नयाँ विषयहरू थप गर्दै लगिने छ ।
२) विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, वातावरण र पर्यावरण, संस्कृति–सम्पदा संरक्षण, अर्थतन्त्र, स्वास्थ्यलगायतका विषयमा अध्ययन अनुसन्धान, प्रकाशन, नवप्रवर्तनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।
३) नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई नगरपालिकाको कार्यालय, वडा कार्यालय, कलेज, अस्पताल तथा नपाअन्तर्गतका संस्थाहरूमा इन्टर्नसीप र स्वयंसेवक भई कार्य गर्ने अवसर प्रदान गरिनेछ ।
४) भक्तपुरको बौद्धिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि बौद्धिक सम्पत्तिसम्बन्धी कानुनी विश्लेषण, डिजिटल प्रवद्र्धन र रणनीतिक कार्य योजना बनाइनेछ ।
५) भक्तपुर नगरपालिकामा आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाबारेमा अध्ययन तथा अनुसन्धान सुरु गरिनेछ ।
६) भक्तपुर नगरपालिकाभित्र विभिन्न विषयहरूमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ता विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट प्रदान गरिँदै आएको अनुसन्धान वृत्तिलाई निरन्तरता दिइनेछ । राजनीतिशास्त्र, नेपालभाषा, संस्कृति, अर्थशास्त्र र दर्शनशास्त्र विषय लिई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्म छात्रवृत्ति प्रदान गर्ने नीतिलाई निरन्तरता दिइनेछ । यस वर्षदेखि अर्वान डिजाइन एन्ड कन्जरभेसन विषय लिई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था मिलाइनेछ ।
७) गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ । खेलकुदका विभिन्न विधाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी विद्यार्थीहरूलाई नगरपालिकाद्वारा सञ्चालित मावि तथा कलेजहरूमा छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
८) शैक्षिक गुणस्तर वृद्धि गर्न हाजिरीजवाफ प्रतियोगिता, चित्रकला, वक्तृत्वकला, निबन्ध, वादविवादलगायतका अतिरिक्त गतिविधिहरू सञ्चालन गरिनेछ । विद्यालयहरूमा सांस्कृतिक र खेलकुद प्रशिक्षकको व्यवस्था गरिनेछ ।
९) नगरभित्रका विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा विज्ञान, गणित तथा सामाजिक प्रयोगशालाहरू स्थापना गर्दै लगिनेछ ।
१०) शिक्षकहरूको लागि विभिन्न विषयहरूमा आवश्यक तालिमको बन्दोबस्त गरिनेछ । विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक सङ्ख्या नपुगेका विद्यालयहरूका लागि अनुदानको व्यवस्था र सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये एसईई परीक्षा नतिजाको आधारमा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिनेछ ।
११) विद्यालय तहदेखि नै सीपमूलक तथा व्यवसायिक तालिमहरू प्रदान गरी शिक्षालाई उत्पादन श्रमसँग जोड्न पहल गरिनेछ । विद्यालयहरूमा सूचना प्रविधिको (क्ष्ऋत्) विस्तार, एआई (ब्क्ष्) तालिम र विद्यालयलाई प्रविधिमैत्री बनाउन स्मार्टबोर्डहरूको व्यवस्था मिलाइनेछ ।
१२) पठन संस्कृतिको विकास गर्ने उद्देश्यले वडा वडामा रहेका पुस्तकालय, वाचनालय तथा सामुदायिक सिकाइ केन्द्रहरूलाई आवश्यक सहयोगको व्यवस्था गरिनेछ ।
१३) ‘एक विद्यालय, एक सम्पदा सरसफाइ’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१४) हाल सञ्चालनमा रहेका वडा–वडाका शिशु स्याहार केन्द्रको स्तरोन्नति गरी वडा नं. १० मा निर्माणाधीन शिशुस्याहार केन्द्र सञ्चालनमा ल्याइनेछ ।
१५) स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूलाई तालिमसँगै आवश्यक शिक्षण सामग्रीहरू उपलब्ध गराइनेछ । नेपालभाषा र लिपि कक्षाको प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
१६) ख्वप मेडिकल कलेज सञ्चालनको लागि भनपा १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।
१७) वडा–वडामा बालबालिकाका लागि गृहकार्य कक्षा सञ्चालनको लागि आवश्यक शिक्षकको व्यवस्था गरिनेछ र शैक्षिक ऋण रकमको सीमा वृद्धिका साथै सोमा लाग्ने ब्याजको प्रतिशतलाई समय सापेक्ष बनाइनेछ ।
ख) स्वास्थ्य :
१८) ख्वप अस्पताललाई स्तरोन्नतिसँगै आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण गरी एम.आर.आई. सेवा, आई.सी.यू. सेवालगायत आधुनिक स्वास्थ्य उपचार सेवा सञ्चालनको तयारी गरिनेछ । साथै मृगौला रोगको उपचारका लागि डायलाइसीस सेवा विस्तारमा पहल गरिनेछ ।
१९) भक्तपुरमा सञ्चालित सरकारी तथा निजी अस्पतालहरूसँग समन्वय र सहकार्य गरी भक्तपुर नपालाई स्वास्थ्य उपचार सेवाको गन्तव्य बनाउन पहल गरिनेछ ।
२०) नगरवासीहरूमा बढ्दो रूपमा देखिएका चिनी रोग, उच्च रक्तचाप र कोलेस्ट्रोलजस्ता नसर्ने रोगहरूको अध्ययन अनुसन्धान गर्ने र ‘घरदैलो नर्सिङ सेवा’ लाई थप प्रभावकारी बनाइनेछ । नगरवासीहरूको स्वास्थ्य विवरण प्रोफाइल तयार गर्ने र क्यान्सर, मृगौला, नाक, कान, घाँटी र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगहरूको नियमित स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
२१) वडा–वडामा सञ्चालित स्वास्थ्य केन्द्रहरूलाई क्रमशः स्तरोन्नति गर्दै विशेषज्ञ उपचार सेवा विस्तार गर्दै लगिनेछ । भनपा–७ खँचामा आधारभूत स्वास्थ्य उपचार केन्द्र सञ्चालन गरिनेछ र नगरवासीहरूलाई रगत, अक्सिजन तथा शव वाहन सेवा, मनोपरामर्श सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
२२) नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नागरिक आरोग्य केन्द्र, श्वास प्रश्वास पुनः स्थापना केन्द्रको सेवा विस्तार र नगरवासीहरूलाई स्वस्थ राख्न शारीरिक व्यायामशाला निर्माण गर्दै थप प्रभावकारी बनाउँदै लगिनेछ ।
२३) ख्वप तिलगङ्गा आँखा अस्पतालको स्तरोन्नति गर्दै आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत आँखा उपचार सेवा विस्तार गरिनेछ ।
२४) महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरू तथा फोहरमैला व्यवस्थापनमा लाग्ने कर्मचारीहरूलाई नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवाको प्रबन्ध मिलाइनेछ ।
२५) नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज उपचार सेवाको व्यवस्था गरिनेछ ।
ग) सम्पदा र संस्कृति :
२६) भक्तपुरलाई ‘सांस्कृतिक नगर’ घोषणा गर्न पहल गरिनेछ । दाफाभजन र परम्परागत बाजागाजाको बोल लिपिबद्ध गर्नुका साथै संस्कृतिको संरक्षण तथा अभिलेखीकरण गरिनेछ । परम्परागत बाजा तथा भजनको प्रतियोगिता एवम् प्रदर्शनीहरू गरेर सांस्कृतिक संरक्षणमा जोड दिइनेछ ।
२७) परम्परागत एवम् आधुनिक विधाका सांस्कृतिक गतिविधिसँगै समय–समयमा नगरका विभिन्न ठाउँमा आलोपालो गरी मेला र उत्सवहरू सञ्चालन गरेर आर्थिक गतिविधि बढाइनेछ । भक्तपुरलाई जीवन्त सम्पदा सहरको रूपमा विकास गर्न बिहान र बेलुकीको समयमा सत्तल, पाटीपौवामा भजनलगायतका सांस्कृतिक गतिविधिहरू गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरिनेछ ।
२८) ऐतिहासिक थन्थु दरबार निर्माण सम्पन्न गरी सङ्ग्रहालयको रूपमा विकास गरिनेछ र परम्परागत शैलीमा निर्मित हाडा छेँको समुचित प्रयोगको नीति अवलम्बन गरिनेछ । खौमास्थित उमा महेश्वर, क्वाछेँको नारायण मन्दिर, चासुखेलको दही विनायक द्योछेँ र टौमढीको नवदुर्गा द्योछेँ पुनःनिर्माण प्रक्रिया अगाडि बढाइनेछ । ऐतिहासिक नवदुर्गा जात्रा सञ्चालनमा नगरपालिकाको तर्फबाट सहजीकरण गरिनेछ ।
२९) परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई नगरपालिकाको तर्पmबाट प्रोत्साहनस्वरूप दिँदै आएको अनुदानलाई निरन्तरता दिँदै ऐतिहासिक महत्वका निजी घर निर्माणमा सहजीकरण गरिनेछ ।
३०) सम्पदा क्षेत्रमा रात्रिकालीन बत्ती तथा सीसी क्यामेराको व्यवस्था गरिनेछ ।
३१) भक्तपुरमा पर्यटकहरूको बसाइँ लम्ब्याउने उद्देश्यले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गरी नियमित सांस्कृतिक प्रदर्शनी थालनी गरिनेछ ।
३२) टोल–टोलको मौलिक नामकरणका साथै मन्दिर, द्योछेँ, देवालय, शिवालय, बहाबही, चोक, ननी, पाटी, सत्तल, ढुङ्गेधारा, पोखरीलगायतका सम्पदाहरूको संरक्षण गरी डिजिटल अभिलेखीकरण गरिनेछ ।
३३) भक्तपुरको पहिचानको रूपमा रहेका जुजु धौ, तका तपुली (भादगाउँले टोपी), कवाँचा प्याखँ, बिस्काको घातु म्ये र कसिमला पायँ् सूचीकरण प्रक्रियामा छन् भने यहाँका मूर्त र अमूर्त सम्पदाहरूको राष्ट्रिय सूचीकरणमा समावेश गर्न प्रक्रिया अगाडि बढाइनेछ । भक्तपुरका परम्परागत एवम् मौलिक उत्पादनहरूको प्रवद्र्धन गर्दै पर्यटन विकाससँग जोड्ने नीति अगाडि बढाइनेछ ।
घ) पर्यटन :
३४) भक्तपुरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसमेतको आकर्षण केन्द्र बनाउन अल्पकालीन तथा दीर्घकालीन योजनाहरू निर्माण गर्न इतिहास र संस्कृतिका विज्ञहरू तथा सरोकारवाला समूहहरूको प्रतिनिधित्व गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरिनेछ ।
३५) भक्तपुरका चाडपर्वहरूको परिचयसहित सांस्कृतिक क्यालेन्डर निर्माण र सांस्कृतिक सम्पदा पदयात्रालगायत पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ ।
३६) भक्तपुरको पर्यटन प्रवद्र्धनका लागि भक्तपुर पर्यटन विकास समिति, होटल एसोसियसन अफ भक्तपुर, ट्राभल एजेन्सी र डिजिटल विषयवस्तु सर्जक (कन्टेन्ट क्रियटर) हरूसँग समन्वय र सहकार्य गरिनेछ ।
३७) नगरका मुख्य–मुख्य सम्पदा क्षेत्रहरू, गल्ली र चोकहरूमा समेत पर्यटन प्रवद्र्धनका गतिविधिहरू सञ्चालन गरिनेछ । होमस्टे, फेमिलिस्टे र पथप्रदर्शक तालिमहरू सञ्चालन गरिनेछ ।
३८) आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि भाज्यापुखु, नपुखु, बाहारे पुखु (कमलविनायक पोखरी) लगायतका स्थानहरूमा नियमित रूपमा स्थानीय तथा घरेलु उत्पादन, सांस्कृतिक गतिविधिसहित मेला तथा उत्सवहरू सञ्चालन गरिनेछ । नःपुखुमा वाटर साइक्लिङ सञ्चालनमा ल्याइनेछ ।
ङ) खेलकुद :
३९) शिक्षा र खेलकुदलाई सँगसँगै लाने नीति लिइनेछ । विद्यालयका खेल प्रशिक्षकहरूलाई आवश्यक तालिमसँगै खेलको स्तर वृद्धि गर्ने प्रयास गरिनेछ ।
४०) राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न नियमित प्रशिक्षण तथा आवश्यक खेलकुुद पूर्वाधारहरू तयार गर्ने र नगरभित्रका खेल मैदानहरूको सुधार तथा स्तरोन्नति गरिनेछ । विद्यालयस्तरीय तथा अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ । खेलाडीहरूको बीमा गर्ने कार्य आरम्भ गरिनेछ ।
४१) वडा–वडामा सञ्चालनमा रहेको छिकोङ व्यायामलाई स्तरोन्नति गर्दै त्यसलाई विद्यालय स्तरसम्म विस्तार गर्ने नीति लिइनेछ ।
४२) खेल विकासको लागि उपयुक्त स्थानमा कभर्ड हल तथा फुटसल खेलका निम्ति खेलमैदान निर्माण गर्ने तयारी गरिनेछ । नगरको उपयुक्त स्थानमा पौडी पोखरी निर्माण गरिनेछ । महेश्वरी खेलमैदान र सहिद स्मृति खेल मैदानको स्तरोन्नति गरिनेछ ।
४३) स्थानीय खेलकुद समिति, टीम–क्लव, पुस्तकालय, वाचनालयहरूलाई परिचालन गर्दै वडास्तरीय, नगरस्तरीय खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
च) वातावरण र सरसफाइ :
४४) नगरभित्रका सम्पदा क्षेत्र, खुला क्षेत्र, खोला, पोखरीलगायतका स्थानहरूमा नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूको नेतृत्वमा स्थानीय जनताको उपस्थितिमा नियमित पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै उपयुक्त स्थानहरूमा वृक्षरोपण गरी हरियाली व्यवस्थापन गरिनेछ ।
४५) हनुमन्त्ते खोला तथा कासन खोला सुधार गर्दै खोलाको डिलमा टेवा पर्खाल (रिटेनिङ वाल) निर्माण गरी वृक्षरोपण गरिनेछ ।
४६) नगरका उपयुक्त स्थानहरूमा पार्कहरू निर्माण गरिनेछ र सम्पदास्थललगायतका महत्वपूर्ण स्थानहरूमा बिरुवासहितको गमला राखी सौन्दर्यकरणमा प्राथमिकता दिइनेछ ।
४७) बिजुली, टेलिफोन तथा इन्टरनेटका तारहरू अव्यवस्थित भई दृश्य प्रदूषण देखिएकोले ती तारहरूको उचित व्यवस्थापन गरी भूमिगत तार व्यवस्थापन शीघ्र सम्पन्न गरिनेछ । नगरको मुख्य बजार क्षेत्रमा पसल कवलमाथि पाखा राख्नेमा एकरूपता ल्याउनुका साथै रात्रिकालीन बत्ती र आकर्षक गमलाहरूको व्यवस्था गरिनेछ ।
४८) सल्लाघारी र हनुमानघाट (खँचा) मा निर्माणाधीन उपचार पोखरीहरूको निर्माण कार्य सम्पन्न गरी उपचारपछिको पानी खोलामा पठाई खोलाको पर्यावरणलाई स्वस्थ र जीवन्त बनाउन पहल गरिनेछ ।
४९) वातावरणीय प्रदूषण घटाउन प्लास्टिकको झोलालगायत सामग्रीहरूको प्रयोगमा न्यूनीकरण गरिनेछ ।
५०) सरोकारवाला सरकारी निकायहरूसँग समन्वय गरी नगरको ढल निकास व्यवस्थापनमा सुधार तथा आवश्यक पूर्वाधार निर्माण गरिनेछ । योसिंख्योदेखि सल्लाघारीसम्मको प्रस्तावित ढललाई औचित्यको आधारमा खारेज प्रक्रिया अगाडि बढाइनेछ ।
५१) नगरको मूल सडकमा भारी सवारीसाधनहरूलाई क्रमशः निषेध गर्दै पैदलयात्रीमैत्री बनाउँदै लगिनेछ । नयाँ आवास क्षेत्रहरूमा भारी सवारी साधन प्रवेश निषेध गर्ने नीति लिइनेछ ।
५२) नगर क्षेत्रलाई ध्वनि, वायुलगायतको प्रदूषण न्यूनीकरण गर्न तथा नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै साइकल यात्रालाई प्रोत्साहित गरिनेछ ।
५३) आधुनिक प्रविधि जडान गरी कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन तथा नकुहिने फोहरलाई पुनः प्रयोग, पुनः उत्पादन विधि प्रयोग गरी फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न पहल गरिनेछ ।
छ) खानेपानी :
५४) परम्परागत खानेपानीको स्रोतको रूपमा रहेका इनार, कुवा, ढुङ्गेधारा र अन्य स्रोतको पहिचान गरी सुधार र संरक्षण गरिनेछ ।
५५) नगरका सबै बस्तीहरूमा मेलम्ची र नगरकोटको खानेपानीको पहुँच पु¥याउन वितरण प्रणालीलाई सुधार गर्ने र उचित स्थानमा डिप बोरिङ, खानेपानी ट्याङ्कीलगायत अन्य आवश्यक पूर्वाधार निर्माण र आकासेपानी सङ्कलन तथा जमिनमुनि पानी पुनर्भरणको वैज्ञानिक विधि अपनाइनेछ ।
ज) कृषि :
५६) नगरपालिकाबाट उत्पादित कम्पोस्ट मल र कृषि चुन सहुलियत दरमा बिक्री गरी यसको प्रयोगमा नगरवासीहरूलाई उत्साहित गरिनेछ ।
५७) भनपा ८ मा निर्माणाधीन चिस्यान केन्द्र सञ्चालन गरिनेछ । भनपा ५ मा निर्मित तरकारी बजार सञ्चालनमा ल्याई समय–समयमा कृषि उत्पादन मेला सञ्चालन गरिनेछ ।
५८) समय–समयमा सस्तो बजार सञ्चालन गरी कृषि बजार प्रवद्र्धन गरिनेछ ।
५९) नगरवासी कृषकहरूको सूचीकरण गर्दै कृषि अभ्यास, उन्नत बीउबिजनको प्रयोग तथा जैविक विषादी प्रयोगसम्बन्धी विज्ञहरूबाट तालिम र माटो परीक्षणको व्यवस्था गरिनेछ । कृषकहरूलाई सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था गरिनेछ ।
झ) सहकारी :
६०) सहकारी संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुका साथै सीपमूलक तालिमहरू दिएर युवाहरूलाई आत्मनिर्भर बनाउने नीति लिइनेछ । नगरवासीहरूलाई वित्तीय साक्षरता अभियान सञ्चालन गरिनेछ ।
६१) सहकारी संस्थामा रहेका बचतकर्ताहरूको बचत रकम सुरक्षित गर्न सहकारी संस्थाहरूको नियमित अनुगमन गरिनेछ । बचतकर्ताहरूको बचत रकम हिनामिना गर्ने तथा ऋण लिएर समयमा चुक्ता नगर्नेहरूबाट असुल गर्न नगरपालिकामार्फत बचत रकम सुरक्षाको लागि आवश्यक सहजीकरण गरिनेछ ।
६२) सहकारी संस्थाको सामुदायिक विकास कोषलाई समुदायको हितमा प्रयोग गरिनेछ । ‘एक सहकारी एक क्षेत्र सरसफाइ’ नीतिलाई निरन्तरता दिइनेछ ।
६३) सहकारी संस्थाहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत आदर निकेतन, स्वास्थ्य केन्द्र स्थापना र स्वास्थ्य शिविर सञ्चालन, व्यायामशाला सञ्चालनलगायतका अतिरिक्त गतिविधि सञ्चालन गर्न उत्साहित गरिनेछ ।
ञ) युवा, महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम :
६४) नगरवासी युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सिकर्मी, डकर्मी, पाकशिक्षा, सिलाइ, विद्युत्, कम्प्युटर, हेयर कटिङ, व्युटिसियन, फ्रिज, वासिङ मेसिन, मोबाइल, मोटरसाइकल, पानी तान्ने पम्प मर्मतलगायत सीपमूलक तालिमहरू दिइनेछ । साथै चिनियाँ, जापानी, अङ्ग्रेजी भाषा, साङ्केतिक भाषालगायतका भाषा प्रशिक्षण तथा कृत्रिम बौद्धिकता (एआई), डिजिटल व्यवसाय प्रवद्र्धन, फोटोग्राफी, भिडियोग्राफी, सङ्गीत, नृत्यलगायतका तालिमहरू सञ्चालन गरिनेछ ।
६५) सम्भावित आगलागी, बाढी पहिरोलगायतका विपद् प्रतिकार्यको तालिम दिई युवा स्वयम्सेवक टोली गठन गरी परिचालन गरिनेछ । साथै आवश्यक ठाउँमा फायर हाइड्रान्टहरू स्थापना गरिनेछ ।
६६) नगरवासी युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशीलता ऋणको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
६७) भक्तपुरको कला, संस्कृति, जीवनशैली, इतिहासलगायतमा अनुसन्धानका साथै डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न युवाहरूलाई आवश्यक तालिम र सहजीकरण गरिनेछ ।
६८) शिक्षित युवाहरूका लागि लोकसेवा, शिक्षक सेवालगायत अन्य प्रशिक्षणको व्यवस्था गरिनेछ ।
६९) ज्येष्ठ नागरिकका लागि भनपा ६ अँचा पुखु परिसरमा आदर निकेतन सञ्चालनसँगै ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम गरिनेछ ।
७०) अपाङ्गता भएका नगरवासीहरूलाई आवश्यक तालिम तथा अपाङ्ग सहायक सामग्रीहरू उपलब्ध गराउनुका साथै खेलकुद र अतिरिक्त क्रियाकलापहरू गरिनेछ । अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिइनेछ ।
७१) युवाहरूलाई लागूपदार्थ तथा मादक पदार्थको दुव्र्यसनीबाट टाढा राख्न सचेतनामूलक अभियान सञ्चालन गरिनेछ ।
७२) नगरवासी ज्येष्ठ नागरिकहरूको सीपको उपयोग गर्नुका साथै एकल महिलाहरूलाई लक्षित गरी सीपमूलक तालिम तथा मनोपरामर्शका गतिविधिहरू सञ्चालन गरिनेछ ।
ट) भौतिक पूर्वाधार निर्माण :
७३) भनपा २ स्थित इन्द्रायणी द्योछेँ, भनपा ३ स्थित थन्थु दरबार, भनपा ४ स्थित इखालाछी मठ, भनपा ६ स्थित छुमा गणेश द्योछेँ र सुन्दरीगोपाल मन्दिर, भनपा ८ स्थित न्याकी देगः नारायण मन्दिर पुनः निर्माण र पुरानो जगाती पुल जीर्णोद्धार सम्पन्न गरिनेछ । भक्तपुरको गौरवको योजनाको रूपमा रहेका निर्माणाधीन भनपा ६ स्थित अरनिको सभाभवन, भनपा १ स्थित तकोकिवा बहुउद्देश्यीय भवन, भनपा ३ स्थित ऐतिहासिक पाहाँ छेँको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ । त्यसैगरी, भनपा वडा नं. ७ हनुमानघाटको सत्तल पाटी पुनःनिर्माण, भनपा ९ स्थित ख्वप अस्पतालको निर्माणाधीन प्रवेशद्वार, क्यान्टिन ब्लक तथा एम.आर.आई. भवन सम्पन्न गर्न आवश्यक बजेटको बन्दोबस्त गरिनेछ ।
७४) हनुमन्त्ते खोलामा टेवा पर्खालसहित खोला किनारको सडक (करिडोर) निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
७५) ख्वप कलेज अफ लको भवन निर्माणको लागि आवश्यक बजेट व्यवस्था मिलाइनेछ ।
७६) आदिपद्म महाबिहार आगंछेँ निर्माण सम्पन्न गरिनेछ, थथुबहीको मूल प्रवेशद्वार निर्माण गरिनेछ ।
७७) ऐतिहासिक ९९ चोक उत्खनन् कार्यलाई अगाडि बढाउन दरबार क्षेत्रमा रहेका सरकारी कार्यालयहरूलाई उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिनेछ । भक्तपुर दरबार क्षेत्रस्थित वसन्तपुर दरबारको पुनःनिर्माणसम्बन्धी अध्ययन गरिनेछ ।
७८) ऐतिहासिक ब्रह्मायणी मन्दिर तथा घाट पुनः निर्माणसँगै मङ्गलतीर्थ घाट तथा ताहाफल्चा, महेश्वरी घाट, कालीघाट, धालाखुसी घाटलगायत पुनः निर्माण कार्य अगाडि बढाइनेछ ।
७९) भनपा १० लाञ्चाफल्चादेखि ब्यारेकसम्मको नगरकोट सडक खण्डमा ढल निकास र पेटीसहित कालोपत्रे गरिनेछ । लिबाली आवास योजना तथा देको मिवा इटापाके आवास योजनाका सडकहरूको स्तरोन्नतिसँगै कालोपत्रे कार्य अगाडि बढाइनेछ ।
८०) कय्तामरु घाटको पुल निर्माण गरी सवारी साधनहरूलाई योसिंख्योबाट अरनिको राजमार्गसम्म आवतजावत गर्ने वैकल्पिक व्यवस्था गरिनेछ ।
८१) नगर प्रवेश गर्ने प्रमुख नाकाहरूमा सरसफाइ तथा हरियाली व्यवस्थापन गरिनेछ ।
८२) वडा वडाका सम्पदाहरू पुनः निर्माणका लागि छुट्टै बजेटको बन्दोबस्त गरिनेछ ।
८३) भनपा ५ स्थित पसिखेल सवारी पार्किङ क्षेत्र सञ्चालनमा ल्याइनेछ र अन्य उपयुक्त स्थानहरूमा पार्किङको व्यवस्था गरिनेछ ।
८४) देको मिवा इटापाके आवास योजनाका बाँकी भौतिक निर्माण कार्य सम्पन्न गर्न सहजीकरण गर्ने तथा गुठी जग्गासँग सम्बन्धित समस्या समाधानका लागि पहल जारी राखिनेछ ।
ठ) विविध :
८५) भनपा २ सानो ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला तथा घरेलु उत्पादनमा आधारित औद्योगिक ग्रामको रूपमा विकास गर्न पहल गरिनेछ । भक्तपुर क्राफ्ट उद्योग सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
८६) सरकारी, पर्ती तथा सार्वजनिक जग्गाहरूको अभिलेखीकरण गरी संरक्षण गरिनेछ र उक्त जग्गालाई सामूहिक हितमा उपयोग गरिनेछ ।
८७) नगरका महत्वपूर्ण पर्यटकीय स्थल तथा सम्पदा क्षेत्रहरूमा फ्रि वाइफाइको व्यवस्था गरिनेछ ।
८८) कर टोलीहरू परिचालन गरी घरदैलो कर सङ्कलन तथा अनलाइन कर सङ्कलन कार्य र अनलाइन नक्सा पास प्रक्रियाको थालनी गरिनेछ ।
८९) माटो जोडाइका घर निर्माणको नक्सापास प्रक्रियालाई सहजीकरण गरी नक्सापास दस्तुरमा छुट दिइनेछ ।
९०) बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाइनेछ । व्यवसायीहरूको ढक तराजुको नवीकरणको व्यवस्था नगरपालिकामा नै गरिनेछ ।
९१) छाडा कुकुर तथा दोपाया, चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ ।
९२) नगरपालिका क्षेत्रमा अस्थायी बसोबास तथा डेरामा बस्ने सबैको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गरिनेछ ।
९३) २०७२ सालको भूकम्प पीडितहरूलाई भग्नावशेष व्यवस्थापन तथा नक्सापास प्रक्रियामा सहजीकरण गरिनेछ ।
९४) कर्मचारी प्रशासनलाई चुस्त तथा सेवाग्राहीमैत्री बनाइनेछ । कर्मचारीहरूको कार्य मूल्याङ्कनको आधारमा दण्ड पुरस्कारको व्यवस्था गरिनेछ । कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरी सेवा प्रवाहमा चुस्तता ल्याइनेछ ।
उपयुक्त नीति तथा कार्यक्रमको आधारमा आ.व. २०८३/८४ को बजेट प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
(भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा असार ७ गते आइतबार नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *