भर्खरै :

स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्नु जरुरी

स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्नु जरुरी

स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारद्वारा उच्च प्राथमिकता दिई सञ्चालन गरिएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवाप्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ ।
करिब ३० महिना स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय रुकुम पश्चिमको जिल्ला संयोजकको जिम्मेवारीमा रहँदा अनुभूति गरिएका पक्षहरूलाई नजिकबाट नियाल्दा वास्तवमै सकारात्मक भविष्यलाई वर्तमानको कालो बादलले छोपिएको आभास भइराख्यो । त्यसैले पनि विषय सम्बन्धित कौतुहलतालाई भावनामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु ।
स्वास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत महाशाखा स्थापना गरी सञ्चालन गरिनुपर्छ र स्थायी संरचनाको विकास गरियो भने स्रोत, साधनको उपलब्धतामा सहजता प्रदान हुन्छ ।
बिमित परिवारको विवरण डिजिटल प्रणालीमा आधारित, कार्डरहित बनाउन सकियो भने दोहोरो सदस्यता हुने क्रम रोकिन्छ र अर्काको परिचयपत्रको दुरुपयोग हुने कार्य बन्द हुन्छ ।
– नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूलाई एकद्वार प्रणालीको रूपमा स्वास्थ्य बीमा कार्यक्रममा समेटिनु आवश्यक छ । जसले गर्दा उपचार पद्धतिमा सहजता, सेवाग्राहीहरूको औषधि र सेवा नपाएको गुनासो केही हदसम्म सम्बोधन हुन्छ ।
– सेवाप्रदायक संस्थामा स्वास्थ्य बीमा कार्यक्रमको एकाइ स्थापना र जनशक्ति व्यवस्थापन गर्न आवश्यक छ ।
– स्वास्थ्य बीमा कार्यक्रममा आबद्व सदस्यले जुनसुकै अवस्थामा पनि सेवा प्राप्त गर्ने, सेवा प्राप्त गरेका व्यक्तिको उपचार पद्धति, विवरण आवश्यकताअनुसार सजिलै जानकारी प्राप्त गर्न सक्ने, उपचार पद्धतिको औचित्यपूर्ण स्पष्टता र सेवाग्राहीले पूर्ण विश्वसनीय हुने गरी सेवा, रोग, औषधि, परीक्षण र खर्च भएको रकमको बारेमा जानकारी पाउने प्रणालीको विकास हुन आवश्यक छ । जसले गर्दा अनावश्यक उपचार, परीक्षण, औषधिको दुरूपयोग हुन पाउँदैन । साथै सेवाप्रदायक संस्थाहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई दुरूपयोग गर्ने कार्य धेरै हदसम्म कम गर्न सकिन्छ ।
– प्रत्येक वडामा कार्यरत दर्ता सहयोगीहरूलाई सूचना–प्रविधिमैत्री दक्ष जनशक्तिका रूपमा परिचालन गरिनुपर्छ । साथै दर्ता सहयोगीहरूले पाउने प्रोत्साहन रकम प्रत्येक महिनामा प्राप्त गर्ने व्यवस्था गर्न सकियो भने योगदान रकम प्रत्येक महिना प्राप्त हुन आउँछ र ३/३ महिनाको एकमुष्ट रकममा हुने झन्झटिलोपना हट्छ । बिमितले दिने योगदान रकम बुझाएको मिति प्रणालीमा प्रविष्ट हुने र उक्त रकम १÷२ दिनमै जम्मा गरिनुपर्ने व्यवस्था गर्नुपर्ने हुन्छ ।
– सेवाप्रदायक संस्थाले दाबी भुक्तानी गरेको विवरण अटो जेनेरेट हुने जस्तो उपचार पद्धति, औषधि, औषधिजन्य सामग्रीको उपयोग, परीक्षण आदि स्वचालित प्रतिवेदनको रूपमा सम्बन्धित बिरामीको बीमा नम्बरमा प्रविष्ट हुने र दाबी रकम ३ दिनभित्र सेवाप्रदायकको नाममा भुक्तानी हुने प्रणालीको विकास हुनुपर्छ ।
– औषधि र औषधिजन्य सामग्रीहरूको व्यवस्थापन स्वास्थ्य बीमा कार्यक्रममार्फत व्यवस्थापन गर्ने जसले गर्दा पर्दापछाडिबाट हुने अस्वाभाविक गतिविधिमा कमी आउन सक्छ ।
– प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य सदस्यता प्रदान गर्ने वातावरणको सिर्जना नीतिगत रूपमा गरिनुपर्छ ।
– विपन्न नागरिक उपचार कोष, दीर्घरोग औषधि उपचारजस्ता कोषहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नुपर्छ र सम्पूर्ण उपचार यसै कार्यक्रममार्फत हुनुपर्छ । जसले गर्दा राज्यले प्रदान गर्ने सेवा सुविधाको दोहोरोपना हट्छ ।
– स्वास्थ्य बीमा कार्यक्रमलाई सफल रूपमा नागरिककेन्द्रित गराउन सकिएन भने यो कार्यक्रम केही जाने–बुझेका, शिक्षित जनता र सेवाप्रदायक संस्थाहरूको लागि मात्र हुने निश्चित यसकारण कार्यक्रम सञ्चालनमा गति अवरुद्व हुने अवस्था सिर्जना हुँदै छ ।
(जनस्वास्थ्य निरीक्षक रावल मुसिकोट नगरपालिका स्वास्थ्य शाखा रुकुम पश्चिममा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *