भर्खरै :

भैरवको दाइको स्मृतिमा दुई अन्तर्राष्ट्रवादी पत्रकारहरूबारे सङ्क्षिप्त जानकारी

भैरवको दाइको स्मृतिमा दुई अन्तर्राष्ट्रवादी पत्रकारहरूबारे सङ्क्षिप्त जानकारी

आज हामी पुराना वरिष्ठ पत्रकार दिवङ्गत भैरव दाइको स्मरणको निम्ति यो स्मृति सभामा उपस्थित भएका छौँ । त्यस्तै, उहाँका केही कुराको साथै अन्तर्राष्ट्रवादी दुई जना पत्रकार एड्गर स्नो र विल्फ्रेड ग्राहमको छोटो विवरण प्रस्तुत गर्न अनुमति माग्दछु ।
‘श्रमिक’ साप्ताहिकमा समसामयिक स्तम्भमा छापेको उहाँको लेखका महत्वपूर्ण अंशहरू ठुलठुला रङ्गीन अक्षरले लेखी चारपाटे बक्सामा टाँसेर पसलमा झुन्ड्याएको पनि जुम्ला जाँदा देखियो । भैरव दाइले हुम्लामा उज्यालो अभियानलगायत अरु सामाजिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कुनै पुरस्कार पाएमा त्यसको रकम त्यस्तै अभियानमा खर्चिनुहुन्थ्यो ।
प्रत्येक वर्ष आफ्नो जन्म दिन मनाउँदा एउटा न एउटा आफ्नो पुस्तक छपाउने उहाँको लोभ कति रचनात्मक छ भन्ने कुरा हामी आकलनमात्रै गर्नसक्छौँ । उहाँको निधन हुनुभन्दा करिब ७ महिना अगाडि नाति नातिनाहरूलाई आफूले भनेर लेख लेखाउनुभएको थियो । ‘मजदुर’ दैनिकलाई पनि ती लेखहरू उपलब्ध गराइराख्नुभएको थियो ।
कुर्सीमा बसी ‘मजदुर’ पत्रिका हातमा लिने, कतिखेर आफ्नो हातबाट पत्रिका तल झ¥यो चालै नपाउने भनी उहाँकी छोरी शुषम बताउनुहुन्छ । ९७ वर्षको उमेरमा पनि पत्रकारिता र पत्रिकाप्रति उहाँ कतिको आशक्त हुनुहुँदो रहेछ भन्ने कुरा यसले दर्साउँछ ।
अब म भैरव दाइकै सम्मान स्वरूप दुईजना अन्तर्राष्ट्रवादी पत्रकारहरूले निभाएका कर्तव्यबारे केही चर्चा गर्न चाहन्छु ।
एड्गर स्नो (१९०५–१९७२)
एड्गर स्नो चिनियाँ क्रान्तिका नेताबारे जानकारी दिने अमेरिकी पत्रकार हुन् । विश्व भ्रमणको निम्ति पैसा जम्मा गर्न न्युयोर्क पुगे । चीनको साङ्घाईमा पुग्दा उनी २३ वर्षका युवा थिए । विस्तारै उनी दक्षिणपूर्वी एसियाको समेत संवाददाता भए ।
भारतमा उनले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मको यात्रा गरे । त्यो बेला भारतमा उनले दार्शनिक, विचारक, लेखक, कवि, कलाकारहरूसँग भेट गरे, छलफल गरे । तिनीहरूकै माध्यमबाट गान्धीजी, नेहरू र अन्य नेताहरूसम्म उनी पुगे । केही स्थानीय तहका भूमिगत महिला, कम्युनिस्ट कार्यकर्ता, युवा कम्युनिस्ट लीग, मजदुर लीग आदिसँग उनले कुराकानी गरे ।
गान्धीजीको सत्याग्रह, अहिंसा धर्म मिश्रित राजनीति उनलाई दुरुह लाग्यो । पछि उनलाई अफिमको व्यापारी, तस्करको एजेन्टको झूटा आरोपमा पक्राउ पर्ने सम्भावना हुँदा उनी चीन फर्के ।
२७ वर्षको उमेरमा हेलेन फोस्टरसँग विवाह गरी उनी पेइचिङ पुगे । त्यहाँ येनचिङ विश्वविद्यालयमा अध्यापन गर्नुका साथै त्यहाँको पुस्तकालयमा उनले माक्र्सवादी सिद्धान्तको अध्ययन गरे । त्यहीँ उनले कम्युनिस्ट आन्दोलनका युवा, विद्यार्थी र कार्यकर्ताहरूसँग परिचय बढाए । ती युवाहरूमार्फत उनको सम्बन्ध कम्युनिस्ट पार्टीको प्रधानकार्यालयका नेताहरूसम्म पुग्यो । चीनमै बस्ने निर्णय गरी उनले ‘जिउँदा चीन’ पुस्तक लेखे ।
हेलेनसँगै उनी इन्डोनेसियाका टापुको भ्रमणमा गए । डचहरूले उपनिवेश बनाएका ती टापुका जनजीवन र रहनसहनको अनुभूत गरे । साङ्घाईमा बस्दा उनले चिनियाँ विद्वान्, शिक्षक र महान् लेखक ल्यु सुनसँग भेटघाट र छलफल गर्ने मौका पाएका थिए ।
फाँसीवाद र च्याङ काइ–शेक
च्याङ काइ–शेकको राष्ट्रवादी दल (कोमिन्ताङ) फाँसीवादी इटली र हिटलरको नाजीवादबाट प्रभावित थियो । त्यो बेला हजारौँ हजार कम्युनिस्ट र विरोधीहरू पक्राउमा परे । तर अदालतमा पु¥याइन्नथ्यो । हरेक दिन हत्या हुन्थ्यो, त्यसको जानकारी कसैलाई दिइँदैनथ्यो ।
चीनको दोस्रो युवा आन्दोलन
सन् १९३५ मा जापानले मञ्चुरिया र भित्री मङ्गोलिया कब्जामा लियो । च्याङ काई शेक सरकारको (कोमिन्ताङ) पछि हट्ने नीतिले उत्तरी चीनका सबै संवेदनशील जनता आत्तिए । विश्वविद्यालयका विद्यार्थीहरू रोइकराई गरी देशलाई बचाउन आफ्ना विदेशी प्राध्यापक र पत्रकारहरूसम्म पुगे । विद्यार्थीहरूको त्यो भावना स्नो परिवारले बुझ्यो र देश बचाउन विद्यार्थीहरूलाई उत्साहित गर्न थाल्यो । ९ डिसेम्बरका दिन पेइचिङका हजारौँ विद्यार्थीहरूले ‘नक्कली स्वाधीनता आन्दोलन मुर्दावाद !’, ‘विश्वासघातीहरूलाई पक्राउ गर !’, ‘जापानी साम्राज्यवाद मुर्दावाद !’, ‘चीनलाई बचाउ !’ जस्ता नाराहरू लगाए । प्रदर्शन, पर्चा, पोस्टर, पताका उपचार दल र सञ्चालन समिति बनिसकेका थिए । च्याङ काई शेक सरकारको दमन नीतिले स्थिति झन् चक्र्याे । प्रदर्शनमा पसले, महिला, किसान, ज्यामी, भिक्षु, शिक्षक, साहुमहाजन, रिक्सावाल सबैले भाग लिए । त्यो आन्दोलन देशभरि फैलियो । देश–विदेशमा त्यही मुख्य समाचार बन्यो ।
त्यसबेला लाल इलाकाको प्रधान कार्यालयबाट एड्गर स्नोलाई बोलावट आइपुग्यो र उनी लुकीछिपी सियान पुगे ।
कम्युनिस्ट सदरमुकाममा
९२ दिनको घोडा र पैदलको कठिन यात्रापछि पाओ आनमा माओ त्सेतुङसँग स्नोको भेट भयो । ४२ वर्षका, व्यक्तिगत कुरा गर्न नचाहने गुफामा बसेका माओसँग चीनको इतिहास, एसियाली माक्र्सवाद र पार्टीको इतिहासबारे कुराकानी गरे । पाओ आनमा ३ महिना बसेर एड्गर स्नोले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, त्यसपछिका महत्वपूर्ण घटनाहरू, माओ त्सेतुङ नेतृत्वमा आइपुग्दासम्मका पार्टीका सैद्धान्तिक सङ्घर्षहरूको जानकारी पाए र टिपोट गरे । त्यसपछि महत्वपूर्ण केन्द्रीय नेताहरूसँग भेटघाट गरी तिनीहरूका जीवनीहरूको टिपोट बनाए । चीनमै प्रकाशित अङ्ग्रेजीको China Weekly Review मा धाराबाहिक लेखको रूपमा प्रकाशित गरे । सन् १९३७ मा त्यही लेखहरूलाई बेलायतमा ‘चीनको आकाशमा रातो तारा’ (Red Star Over China) भन्ने पुस्तकको रूपमा पहिलोपटक प्रकाशित गरियो ।
दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो । उनी अफ्रिका, भारत र मस्को पुगे । उनले फाँसीवादविरोधी मित्र राष्ट्रहरूको अवस्थाको पक्षमा समाचारहरू लेखे । उनले ‘सोभियत शैलीको सत्ता’ र ‘स्तालिन शान्ति चाहन्छ’ भन्ने पुस्तक लेखे ।
१९५७ मा उनले ‘रातो चीनका टिपोटहरू’, ‘सुरुका यात्रा’ प्रकाशित गरी चीनको कहालीलाग्दो बयान गरे र भ्रमण गरेका देश, जनता र नेताहरूबारे उल्लेख गरे । अमेरिकामा बस्न उनलाई गा¥हो भएको हुँदा उनी स्वीट्जरल्यान्डमा आफ्नी दोस्रो पत्नी लुइस ह्वीलर स्नोसँगै बस्न गए ।
अमेरिकामा भियतनाम युद्धविरोधी जनमत बढ्दै थियो । भियतनाम युद्धबाट उम्कन अमेरिकाले चीनसँग वार्ता नगरी सुख पाउने स्थिति नै थिएन । अमेरिकाले पठाउने दूतलाई चीनले स्वीकार गर्न मानेन भने चीनले भनेको मान्न अमेरिका तयार थिएन ।
सन् १९७० मा स्वीट्जरल्यान्डमा बसेका एड्गर स्नोलाई राष्ट्रपति निक्सनले चीन गई सम्बन्ध सुधारको निम्ति आग्रह गरे । एड्गर स्नो चीनको पुरानो मित्र भएको नाताले चीनले स्वागत ग¥यो । त्यसपछि पिङपङ (टेबुलटेनिस) का खेलाडीहरूको भ्रमणको आदानप्रदान, पत्रकारहरूको भ्रमण र हेनरी किसिङ्गरको चीन भ्रमणपछि अमेरिकी राष्ट्रपति निक्सन चीन पुगे । यसरी एड्गर स्नोले चीन र संरा अमेरिकाबिचको सम्बन्ध सुधार्न भूमिका खेले ।
एड्गर स्नो पेटको क्यान्सरले बिरामी भए । उनका साथी जर्ज हार्टमसँगै प्रम चाउ एन लाइले चिनियाँ डाक्टरहरूको एक टोली स्वीटरजरल्यान्डमा पठाए । १५ फेब्रुअरी १९७२ मा कम्युनिस्टका एक असल मित्र र पत्रकार एड्गर स्नो ६७ वर्षको उमेरमा बिते । तर उनका रचनाहरूमा उनी सदा जीवित रहनेछन् ।
विल्फ्रेड बर्चेट (१९११–१९८३)
दक्षिण–पूर्वी एसिया, खास गरेर हिन्द–चीनको स्थितिको सच्चाइ संसारलाई बताउने पहिलो पत्रकार हुन् विल्फ्रेड बर्चेट । १९५७ मा प्रकाशित ‘मेकोङको जागरण’ का लेखक र सन् १९७२ मा प्रकाशित राजकुमार नरोदम सिंहानोकको ‘अमेरिकी केन्द्रीय गुप्तचर विभागसँग मेरो युद्ध’ का सहयोगी उनी एक चर्चित र सङ्घर्षशील पत्रकार हुन् । लेखक निक शिम्मिनका अनुसार अस्ट्रेलियाका सबभन्दा राम्रो पत्रकार र संसारका अहिलेसम्मका सबभन्दा राम्रा विदेश संवाददाताहरूमध्ये एक हुन् । एक बेलायती विद्वान् बट्र्रान्ड रसेलले भने, “उनी समकालीन इतिहासकार र अति सचेत पत्रकार हुन् ।”
‘कोरिया कोरियालीहरूको’ भन्ने एक गोष्ठीमा विल्फ्रेड बर्चेटले दिएको प्रवचन कोरियाको राष्ट्रिय अधिकारको लागि सङ्घर्ष अत्यन्त समरणीय छ । १८७६ मै उनका हजुरबुबा बेलायतबाट अस्ट्रेलिया बसाइँ सरेको र उनी १६ सेप्टेम्बर १९११ मा बुबा जर्ज बर्चेटको तर्फबाट जन्मनुभएको हो ।
सन् १९२९ तिर विश्व आर्थिक मन्दीको चपेटामा पर्दा उनको परिवार अस्ट्रेलियाको उत्तरतिर लागे† उखु खेती र चिनी कारखानामा काम गरे । कामबाट फुर्सद पाएपछि विल्फ्रेडले आफ्नो स्वअध्ययनलाई चालु राखे । १८–२० वर्षका युवा विल्फ्रेड उखुबारी र मिलमा काम गर्ने मजदुरहरूको मेहनत, अडान, एकता र सङ्घर्षशीलताबाट अति प्रभावित भए । उनले थाहा पाए सङ्गठन र एकताले अनेक सफलता प्राप्त हुन्छ ।
सन् १९३४ को कुरा हो । युरोपमा फासीवादीहरू अगाडि बढ्दै थिए । चेकाली एक लेखक इगोन किस्चले फासीवादको विरोधमा अस्ट्रेलिया पुगी फासीवादविरोधी गतिविधि गरे । अस्ट्रेलियाली गृहमन्त्रीले उक्त गतिविधिलाई निषेध गरी नियन्त्रणमा लिएका किस्चको जहाजबाट हाम फाल्ने क्रममा खुट्टा भाँचियो । पक्राउमा परेका उनी अदालतमा पठाइयो । त्यहाँ उनले बयान दिँदा भने, “मेरो खुट्टा पनि भाँचिएको छ । तर, मेरो मुटु भाँचिएको छैन, युरोपको फासीवादविरोधी आन्दोलनले मलाई यही कर्तव्य पूरा गर्न पठाएको हो, अस्ट्रेलियाली जनताको माझमा बोल्दा मैले आफ्नो कर्तव्य पूरा गरेको अनुभव गर्दै छु ।”
उनको भाषण टुङ्गिएपछि सबै अस्ट्रेलियाली जनतासँगै विल्फ्रेड पनि मुट्ठी उठाउँदै अन्तर्राष्ट्रिय गीत गाउँदै सडकमा उत्रे । अदालतले उनलाई गैरकानुनी बसोबास गरेकोमा ६ महिनाको कैद सजाय ग¥यो । उनी झन् आकर्षण र चर्चाको केन्द्र बन्न पुगे । त्यसकारण, गृहमन्त्रीले उनलाई राहदानी, सामान, १५०० पाउन्ड खर्च र टिकट दिएर युरोप फर्काए । किस्चको मानवीय गुण र नैतिक साहसबाट प्रभावित विल्फ्रेडले मनैबाट उनलाई प्रगतिशील पत्रकारको रूपमा लिए ।
१९३६ अर्थात् २५ वर्षको उमेरमा पर्यटन एजेन्सीमा काम पाएर बेलायत पुगे । सोभियत राजदूतावासबाट पर्यटन कार्यालय खोल्न निमन्त्रणा भयो । तर, बेलायत र सोभियत सङ्घबिच एउटा कूटनैतिक विवाद उठेकोले उक्त कार्यालय बन्द भयो । उनले बेलायतबाटै पत्रकारितालाई अँगाले ।
उनले चीन, बर्मा र अमेरिकी युद्ध अभियानहरूका क्षेत्रका समाचारहरू पनि लेखे । त्यहीँ बेला जापानका दुई सहरहरू हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसाल्यो । लाखौँ जनता मरे, सहर ध्वस्त भयो र इतिहासमा कहिल्यै नभएको संहार भयो । २ सेप्टेम्बर १९४५ को दिन बर्चेट जापानको राजधानी टोकियोको रेलबाटै हिरोसिमा पुगे । उनी नै त्यस विनासपछि ध्वंस भएको उक्त क्षेत्रमा पुगेका पहिलो पश्चिमेली व्यक्ति थिए ।
५ सेप्टेम्बरको दिन बेलायती दैनिक ‘डेली एक्सप्रेस’ ले आणविक विकिरणबाट असर हुने ‘आणविक प्लेग रोग’ भन्ने शीर्षकमा समाचार छाप्यो । बर्चेटले लेखेको उक्त समाचारले सारा पश्चिमी जनमत अमेरिकी आणविक बम वर्षाको विरोधमा हुने अनुमान शासकहरूले गरे । उनलाई निकृष्ट गाली गरी स्तालिनको पिछलग्गू, केजीबीको दलाल आदि आरोप लगाउँदै गर्दा बेलायती दार्शनिक र गणितज्ञ बट्र्रान्ड रसेलले उनलाई ‘एक समकालीन इतिहासकार र सचेत पत्रकार’ भएको बताए ।
बुल्गेरियामा काम गर्दा त्यहाँका नागरिक भोसिलिनासँग विवाह गरेकै कारण बुलगेरियाको उनको अनुमति पत्र खारेज भयो । त्यसपछि लोग्ने स्वास्नी दुवै पेइचिङ र कोरिया पुगेका थिए ।
उनी कहिल्यै नथाक्ने अन्तर्राष्ट्रिय पत्रकारिताको एक शक्ति थिए । उनको समाचारको सधैँ माग भइरहन्थ्यो ।
फ्रान्सको एक प्रसिद्ध समाचार पत्र ‘एल ह्युमानित’ को विदेश संवाददाता बनी बर्चेट १९५१ मा चीन पुगे । ३ महिनापछि ‘चीनको मुक्ति’ शीर्षकमा चीनको समर्थनमा लेखहरू लेखे ।
जुलाई १९५१ मा बर्चेट उत्तर कोरिया पुगे । त्यहाँ उनी अस्थायी युद्धविराम रेखा पानमुनजोनको शान्ति वार्ताको समाचार सङ्कलन गर्नका निम्ति पुगे । उनले नै साम्राज्यवादले गरेका अत्याचारहरू उदाङ्ग्याए । कोरियामा किटाणु युद्ध चलाएको अरोप लगाए ।
उनले भियतनाम, लाओस र कम्बोडियाका महत्वपूर्ण नेताहरू, राजा र राजकुमारहरूसँग भेटे र ‘मेकङको जागरण’ मा ती देशहरूको बारेमा उल्लेख गरे ।
१९६४ मा ५३ वर्षको प्रौढ अवस्थामा उनले दक्षिण भियतनामको जङ्गल–जङ्गलमा साइकल लिएर मुक्त इलाकाहरू गई त्यहाँका जनताबारे समाचारहरू लेखे । हो चि मिन्हका कार्यकर्ताहरूले कसरी पाषाण युगमा रहेका जातजातिहरूमा समेत गई फ्रान्सेलीहरूको विरोधमा सङ्गठित गरेका थिए भन्ने खालका वर्णनहरू उनको रिपोर्टहरूमा उल्लेख थियो र पछि उनले अमेरिकी आक्रमणको विरोधमा कसरी लडे भन्ने विवरणहरू प्रस्तुत गरे । ६० वर्षको उमेरमा पनि युद्धग्रस्त भियतनामी भूमिमा उनले सयौँ माइल पैदल यात्रा गरी समाचारहरू लेखे । सही तथ्यहरू सङ्कलन गर्दै भियतनामी क्रान्तिको निम्ति महत्वपूर्ण योगदान गरे ।
दिवङ्गत भैरव दाइको स्मृतिकै प्रसङ्गमा यी दुई कर्तव्यनिष्ठ अन्तर्राष्ट्रवादी पत्रकारहरूको पनि चर्चा गर्दै बिदा लिन्छु । भैरव दाइप्रति श्रद्धा सुमन । धन्यवाद !
(‘श्रमिक’ साप्ताहिक एवं ‘मजदुर’ दैनिकका स्तम्भकार वरिष्ठ पत्रकार भैरव रिसालको स्मृति सभामा व्यक्त मन्तव्य –सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *