भर्खरै :

एकताको अहङ्कार गर्ने कि काम गरे देखाउने !

एकताको अहङ्कार गर्ने कि काम गरे देखाउने !

देशका ठुला र अन्य केही राजनीतिक दलका नेताहरूले देशको राजनीतिलाई धमिल्याउने काम गरिरहेका छन् । हल्ला गरेर, लोभ देखाएर, धाक धम्की दिएर, भोज खुवाएर, झूट कुरा फलाकेर जनताको मत लिने काम कुनै दलले गर्छ भने त्यो गलत राजनीति हो । कार्तिक १९ गते माओवादी केन्द्र र एकीकृत समाजवादीसमेत १० वाम पार्टी मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको घोषणा गरियो । एकीकृत पार्टी घोषणाको क्रममा एक नेताले पार्टीमा एक करोड पार्टीको सदस्य बनाउने उद्घोष गरे । अर्का नेता अबको निर्वाचनमा एक नम्बरको पार्टी बनाउने भनी गर्जे भने अर्का नेताले समाजवादी क्रान्तिको लागि अघि बढ्ने वाचा गरे । उनीहरूले अबको एकीकृत पार्टी कहिल्यै नफुट्ने बताए । एकीकृत पार्टीका नेताहरूको यी अभिव्यक्ति के साँच्चिकै पूरा होला ? नेताहरूको यी भाषण या गर्जन के व्यवहारमा लागु होला ?
एकीकृत पार्टीको संयोजक रहेका नेताले एक नम्बरको पार्टीको घोषणा गर्नु छोरो पाउने कहिले कहिले भोटो सिउने पहिलेझैँ हुँदैन र ? यसअघि कुन पार्टीले कति सांसद जिते ? कति मत ल्याए ? त्यसको लेखाजोखा गरे थाहा हुन्छ – एक नम्बरको पार्टी हुन्छ कि अर्को नम्बरको पार्टी । समाजवादी क्रान्तिको कुरा गर्नु गलत होइन । तर, समाजवादी क्रान्तिको कुरा फलाकेर पुँजीवादी राजनीति गर्नु बेइमानी हो । समाजवादी क्रान्तिको निम्ति नयाँ गठित ‘नेपाली कम्युनिस्ट पार्टी’ को अल्पकालीन र दीर्घकालीन उद्देश्य के हो ? स्पष्ट पार्नुपर्छ । नयाँ दलको मार्ग निर्देशक के ? स्पष्ट हुनुपर्छ । मार्गनिर्देशक माक्र्सवाद–लेनिनवाद नै हो भने त्यस विचारअनुसार दलले राजनीति गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादअनुसार वर्गसङ्घर्षको राजनीति रोज्नुपर्छ । के दलले वर्गसङ्घर्षको राजनीति रोज्ला ?
एकीकृत भएको दलका नेताहरूले माक्र्सवादी र लेनिनवादी मान्यताबारे केही बोलेनन्, केही प्रकाश पारेनन् । कम्युनिस्ट पार्टीहरूको एकता भनिएको त्यो घोषित सभामा कम्युनिस्टको सिद्धान्त र विचारबारे किन गहन छलफल भएन ? त्यो एकता पार्टी नेतृत्वको निम्ति भएको विश्लेषण पनि कतिले नगरेका होइनन् । अबको निर्वाचनमा एक्लाएक्लै निर्वाचन लड्दा पार्टीको अस्तित्वमा धक्का पुग्ने देखेर पनि पार्टी एकता भएको टिप्पणी राजनीतिक वृत्तमा नभएको होइन । गएको निर्वाचनमा एकीकृत समाजवादीको ३ प्रतिशत मत आएको थिएन । हो, कम्युनिस्ट पार्टीहरूको उद्देश्य समाजवादी क्रान्ति हो† समाजवादी क्रान्तिको निम्ति लड्ने हो; बाटो तयार गर्ने हो; जनतालाई सचेत र सङ्गठित गर्ने हो । तर, समाजवादी क्रान्ति कुनै नेताले फुकेर, आवेशमा बोलेर आउने होइन ।
पार्टी एकता गरेका दलका नेताहरू नै पार्टी एकताप्रति सन्तुष्ट छैनन् । पार्टी एकताको विषयमा विशेषतः माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू सन्तुष्ट छैनन् । उनीहरू असन्तुष्ट भएरै कति नेताहरू अर्कै दलतर्फ लागे भने कति दल पुनर्गठन गर्न राष्ट्रिय भेलाको आयोजना गर्न अघि सरे । वरिष्ठ नेता भनिएका झलनाथ खनाल त एमालेमा जान ओलीसँग भेट्न गए । के कुराले चित्त बुझेन फेरि फर्केर घोषणासभामा सरिक भए र आफू ढिलो आएको भनी प्रायश्चितको अभिव्यक्ति दिए । वरिष्ठ नेताहरूको अडान खोइ ? कतै पदको कुरा नमिलेर एमाले छोडेर गठित नयाँ पार्टीमा फर्केको होइन ? यही हो, वरिष्ठ नेताहरूको राजनीति ?
अब कहिल्यै नफुट्ने सङ्कल्पसहित १० वाम पार्टी एकता भएको कुरामा पनि दम छैन । पार्टी एकतामा सरिक दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी, नेकपा समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट समाजवादी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), देशभक्त समाजवादी पार्टी र माओवादी कम्युनिस्ट केन्द्रका नेताहरू के समाजवादी क्रान्तिको निम्ति सङ्घर्ष गर्लान् ? सङ्घर्षको बाटो रोज्लान् ? ती दलका नेताहरू सबै सच्चा कम्युनिस्ट हुन् भने हिजो के गरेर बसे ? त्यसमध्ये कुन दलले समाजवादी प्रचार अभियान थालेको छ ? कुन दलले कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरेको छ ? दल खोलेर कुनामा थन्किएका या मौन रहेका दलका नेताहरू के अब सच्चिएलान् ? सच्चिएर साँच्चै समाजवादी गणतन्त्र स्थापनाको निम्ति उनीहरू अघि सर्लान् ? समाजवादी क्रान्ति गर्ने दलका नेताहरूले फुस्रो कुरा गर्दैनन्, हावादारी गफ फलाक्दैनन्, झूट राजनीति गर्दैनन् । दलहरूबिच पार्टी एकता भयो भनेर गम्किने होइन, उफ्रिने होइन, आवेशमा बोल्ने होइन देश र जनताको निम्ति केही काम गरेर देखाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *