भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद–३

  • कार्तिक २१, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद–३

(धातु मजदुर अलेक्सेइ बादायेभ बोल्शेभिक कार्यकर्ता थिए । उनी पुरानो बोल्शेभिक गार्डका सदस्य थिए ।
सन् १९१२ मा रुसी संसद् ‘ड्युमा’ को चौथो निर्वाचन भयो । यसलाई चौथो ड्युमा÷संसद् भनिन्छ । बादायेभ पिटर्सबर्ग सहरबाट सांसद् बने । बादायेभलगायत पाँच बोल्शेभिक कार्यकर्ता संसद्मा निर्वाचित भएका थिए ।
सन् १९१४ को अगस्तमा प्रथम विश्वयुद्ध सुरु भयो । युरोपका साम्राज्यवादी देशहरू गरिब उपनिवेशका प्राकृतिक स्रोतसाधन लुछाचुँडी गर्न नृशंस युद्धमा होमिए । त्यही वर्ष नोभेम्बर महिनामा बोल्शेभिक सांसदहरूलाई पक्राउ गरी साइबेरिया निर्वासनमा पठाइयो ।
सन् १९१७ मा लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति भयो । क्रान्तिका १५ वर्षपछि सन् १९२९ मा बादायेभको आत्मवृत्तान्त प्रकाशित भयो । पुस्तकको नाम थियो – ‘जारशाही संसद्मा बोल्शेभिक सांसद’
(The Bolsheviks in the Tsarist Duma) । यो पुस्तक बादायेभको निजी अनुभव, टिपोट र ऐतिहासिक दस्तावेजहरूमा आधारित छ ।
सन् १९०५ को क्रान्तिपछि क्रान्तिकारी उभार कसरी सेलायो ? संसद्मा बोल्शेभिक पार्टीको नीति र कार्यशैली कस्तो थियो ? जारशाही रुसका विसङ्गतिहरूलाई बोल्शेभिक सांसदहरूले कसरी उदाङ्गो पार्दै गए ? रुसका कामदार जनतालाई राजनीतिक शिक्षा दिन संसद् र ‘प्राभ्दा’ पत्रिकाको भूमिका कस्तो रह्यो ? क्रान्तिकारी सङ्घर्ष के–कस्ता उतारचढावबाट गुज्रियो ? सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले कस्तो परिवेशमा आकार लियो ? यी तमाम विषयको जीवन्त चित्रण छ पुस्तकमा । यस हिसाबले बादायेभको आत्मवृत्तान्त संसद्को क्रान्तिकारी उपयोगबारे एक गम्भीर साहित्य तथा ऐतिहासिक दस्तावेज पनि हो ।
अक्टोबर क्रान्ति दिवसको अवसरमा ‘मजदुर’ दैनिक का आगामी अङ्कमा यही पुस्तकको अनौपचारिक अनुवाद प्रकाशित गरिनेछ । सम्पादक)
क्याडेटहरूले आफ्ना उम्मेदवारहरूको पक्षमा प्रचारबाजी गर्ने आँट गरेनन् । तर, तिनले सामाजिक जनवादीहरूको प्रचार अभियानलाई बिथोल्ने खसखस पनि रोक्न सकेनन् । तिनले निर्वाचनको दुईचार दिनअगाडि सामाजिक जनवादीहरूले निर्वाचन बहिष्कार गरे भनी हल्ला चलाए । अघिअघिका निर्वाचनहरूमा पनि क्याडेटहरूले यसरी नै अफवाह फैलाउने गर्थे ।
एकातिर, दक्षिणपन्थी र उदारवादी पार्टीहरू प्रतिस्पर्धाबाट बाहिर थिए । अर्कोतिर, समाजवादी क्रान्तिकारीहरूले संसद् बहिष्कार गरे । यसरी मजदुरहरूबिच (निर्वाचन मण्डल वा मजदुर पकेटमा) सामाजिक जनवादी पार्टीले मात्र निर्वाचनको मोर्चामा पकड जमायो । सङ्घर्ष खालि बोल्शेभिक र मेन्शेभिकहरूबिच भयो । यति नै बेला अपेक्षा नै नगरेको केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुने सम्भावना पनि थियो । तिनले निर्वाचकहरू छनोट गर्नमा भूमिका खेल्न सक्थे । यस्ता पार्टी नभएका व्यक्तिले प्रायः दलका उम्मेदवारविरुद्ध तर्क गर्थे । उनीहरू भन्थे – पार्टीको भाउँतोमा (लहैलहै) लाग्नु हुँदैन; मजदुरहरूले चिन्नेजान्ने इमानदार व्यक्तिलाई निर्वाचित गर्नुपर्छ ।
बोल्शेभिकहरूले लगातार यो तर्कको खण्डन गरे । बोल्शेभिकहरूले सम्झाए – यस्तो विचार मजदुरवर्गको लागि हानिकारक छ । पार्टी नभएका व्यक्तिहरूमा प्रस्ट अठोट र सिद्धान्त हुँदैन । त्यसैले सजिलै गलत दिशामा बहकिन सक्छन् । मजदुरवर्गको सही प्रतिनिधित्व निश्चित कार्यक्रम र मञ्च भएका अनि आफ्ना प्रतिनिधिलाई अनुशासन बाहिर जान नदिने पार्टीका सदस्यले मात्र गर्न सक्छन् ।
निर्वाचन नजिकिँदै गर्दा चुनावी सङ्घर्ष झन्झन् चर्किन थाल्यो । निर्वाचन ठ्याक्कै कुन दिन हुन्छ भन्ने अज्ञात थियो । यो सरकारी चालबाजी थियो । अकस्मात् चुनावको दिन तोकेर त्यसको समाचार नसुनेका मजदुरहरूको मत घटाउन सरकारले यस्तो खेल खेल्दै आएको थियो ।
सेन्ट पिटर्सबर्गमा सेप्टेम्बर १६ मा आइतबारको दिन मजदुरहरूको निर्वाचन मण्डलीमा प्रतिनिधिको निर्वाचन हुने भयो । तर, मजदुरहरूले शुक्रबार (सेप्टेम्बर १४) मा मात्र यो कुरा थाहा पाए । कुनैकुनै कारखानामा त आइतबार मात्र यो खबर पुग्यो । सेम्यानिकोभ्स्की कारखानामा तीनदिने बिदाको मुखमा निर्वाचनको सूचना टाँसियो । मजदुरहरू सबै घर–घर गइसकेपछि त्यो सूचना टाँसिएको थियो ।
निर्वाचनको समय आउँदासम्म बोल्शेभिक र मेन्शेभिकहरूले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरिसकेका थिए । कानुनअनुसार कारखाना प्रशासनले निर्वाचनको लागि मतदान केन्द्र उपलब्ध गराउनुपथ्र्यो । तर, यो कानुनी प्रावधान जहिल्यै पालना गरिँदैनथ्यो । सेन्ट पिटर्सबर्गको सबैभन्दा ठुलो कारखाना ओबुखोभमा निर्वाचन हुन सकेन किनभने तोकिएको समयमा उद्योग परिसर बन्द गरिएको थियो । इजोस्र्की कारखानामा निर्वाचनको लागि हल उपलब्ध गराइएको थियो तर मतदाताहरूको लागि मूल ढोका पन्ध्र मिनेटसम्म मात्र खुल्यो । पन्ध्र मिनेटपछि मूल ढोका बन्द गरियो र ताल्चा ठोकियो । पछि आएका मतदाताहरूलाई मतदान स्थलमा जानै दिइएन । साइमन्स एन्ड हाल्स्की, इन्टरनेसनल स्लीपिङ कार कम्पनीलगायत धेरै उद्योगले पनि यस्तै रवैया देखाए । खासगरी सहरबाहिरका उद्योगले निर्वाचनमा भाँजो हाले । ती कारखानाका प्रशासकहरूले त्यहाँ काम गर्ने मजदुरहरूको नाम मतदाता नामावलीमा दाखिला गरेका थिएनन् । यो कुरा थाहा पाएपछि मजदुरहरूले निर्वाचन आयोगसामु विरोध जनाए । आयोगका अधिकारीहरूले नाम दाखिला गर्ने म्याद गुज्रिसकेको र तिनलाई मताधिकार दिलाउन आफूले केही गर्न नसक्ने जवाफ दिए ।
निर्वाचन स्थलको माहोल सरकारी अधिकारीहरूले चाहेअनुसार अघि बढ्यो । यसको लागि अनेक उपाय लगाइएको थियो । केही स्थानमा प्रहरीले सम्भावित प्रतिनिधि र सबैभन्दा सक्रिय क्रान्तिकारी मजदुरहरूलाई पक्राउ ग¥यो । कानुनी हिसाबले हेर्दा कारखाना प्रशासक र प्रहरी जस्ता बाहिरियालाई मतदान केन्द्रमा घुस्ने अधिकार थिएन । तर, कारखानावरपर खटाइएको बलियो प्रहरी गस्ती हेर्दा प्रहरीको दबाब सजिलै बुझ्न सकिन्थ्यो । निर्वाचन खारेज गराउनका लागि बहाना तयार गर्न कतिपय कारखाना प्रशासनले कार्य अवधिका हिसाबले योग्यता पुगेका मजदुर मतदाताको सूची नै दिएनन् । पुतिलोभ कारखानामा प्रशासनले निर्वाचनको बेला मजदुरहरूलाई विभिन्न ज्यासलमा बाँड्न थाले । कारखाना प्रशासनले मजदुरहरूलाई मर्मतसम्भार, सिकर्मी, रञ्जितकारजस्ता अनेक ज्यासलमा बाँडेर अलग्गै मतदान गर्न लगायो ।
चुनावी दाउपेचका अनेक उदाहरण दिन सकिन्छ । तर, माथि उल्लेख केही उदाहरणबाट सेन्ट पिटर्सबर्गको प्रतिनिधि चुन्ने निर्वाचन कस्तो माहोलमा भइरहेको थियो भन्ने छर्लङ्ग हुन्छ । जताततै कारखाना प्रशासनहरूले मजदुरहरूको मताधिकार कटौती गर्न सरकारलाई सक्रिय सहयोग गरे । तर, तिनका दाउपेच निम्छरा साबित भए । जति गरे पनि दक्षिणपन्थीहरूको एउटै उम्मेदवार पनि सफल भएन । लगभग सर्वत्र मजदुरहरूले त्यो बेलाका जल्दाबल्दा विषयमा आफ्नो स्पष्ट धारणा प्रचार गरी जनतालाई जागरुक तुल्याएका थिए । ट्रेड युनियनका प्रतिनिधिलाई कारखाना निरीक्षण सभामा जान नदिँदा मजदुरहरूले आन्दोलन उठाए । सामाजिक बीमा परिषद्को निर्वाचन गराउन मजदुरहरूले तत्काल सम्मेलन गर्नुपर्ने माग राखे । सबैको सरोकारका राजनीतिक मुद्दाहरूमा मजदुरहरू मुखर भए । यस्ता अनेक आन्दोलनकारी गतिविधिले जनता जागरुक बनेका थिए । मजदुर प्रतिनिधिहरूको निर्वाचनको क्रममा सेन्ट पिटर्सबर्गका समस्त सर्वहाराले क्रमशः क्रान्तिकारी अडान लिइसकेको स्पष्ट भयो ।
म त्यसबेला निकोलाइएभ्स्की रेलवेमा काम गर्थेँ । (यो रेलमार्गले मस्को र सेन्ट पिटर्सबर्गलाई जोड्थ्यो ।) त्यहाँको मर्मतसम्भार ज्यासलमा पनि सेन्ट पिटर्सबर्गका अन्य उद्योगकै ढर्रामा निर्वाचन भयो । हाम्रो कारखानामा ३ हजार मजदुरले काम गर्थे । त्यहाँका मजदुरहरूको क्रान्तिकारी चरित्रको चर्चा पुरानो थियो । मतदान केन्द्र ‘यामा’ (दुलो) मा थियो । यो एउटा विशालकाय ज्यासल थियो । त्यहाँ करिब १० हजार मान्छे अटाउँथे । सन् १९०५ को क्रान्तिको बेला र पछि पनि ती ऐतिहासिक ज्यासलमा जिल्लाभरिका मान्छे भेला हुने गरी ठुलठुला बैठकहरू भएका थिए । निर्वाचन तयारीका क्रममा भएको बैठकमा सुरुमा निर्वाचनबारे सामान्य प्रतिवेदन वाचन भयो । त्यसपछि निर्वाचन अभियानका कार्यभार, संसद् र निर्वाचनमा मजदुरहरूको भागिदारीको विषयमा छलफल चल्यो ।
निर्वाचन हुनुभन्दा धेरै महिनाअघि गर्मी याममा पार्टीले मलाई उम्मेदवार बनाएको छ भन्ने थाहा पाएको थिएँ । निर्वाचन नजिकिँदै जाँदा विभिन्न ज्यासलहरूमा उम्मेदवारको विषयमा तातो बहस चल्न थाल्यो । कारखानाका सबै मजदुरहरू पुरानो योगदानका कारण मलाई चिन्थे । त्यसैले मेरो उम्मेदवारीमा सबैको साथ–समर्थन रह्यो । म अत्यधिक बहुमतले निर्वाचित हुनुपर्छ भन्ने अपेक्षा थियो । बोल्शेभिकहरूले प्रस्ताव गरेका दोस्रा उम्मेदवार थिए कामरेड मेल्निकोभ । त्यस्तै, मेन्शेभिकहरूका केही उम्मेदवार थिए भने केही स्वतन्त्र उम्मेदवार पनि उठे ।
उम्मेदवारीको विषयमा ठुलै वादविवाद भयो । बैठकहरूमा प्रत्येक उम्मेदवारका गुण–बैगुन केलाइयो । राजनीतिक बहस त भयो नै । साथमा एक–एक उम्मेदवारका निजी विशेषता, क्रियाकलाप, कारखानामा उसको प्रभाव, उसको राजनीतिक दृढता आदिबारे छलफल भयो । गोप्य मतदान भयो । मत गन्दा मलाई ठुलो बहुमतले चुनिएको रहेछ । हाम्रो दोस्रो उम्मेदवार मेल्निकोभ पनि यसैगरी चुनिए । बाँकी अन्य उम्मेदवारले दुई–तीन मत मात्र पाए ।
सेन्ट पिटर्सबर्गको मजदुर निर्वाचन मण्डलमा ८० प्रतिनिधि चुनिए । तीमध्ये ठुलो बहुमत सामाजिक जनवादी पार्टीको थियो । धेरै प्रतिनिधि त पहिलेका नामी क्रान्तिकारी थिए । तिनलाई प्रहरीले झूटा मुद्दामा फसाएर अदालतबाट दण्ड गराई सुदूर निर्वासनमा पठाएका थिए । तीमध्ये केही प्रतिनिधि पार्टीमा भएका मतभेदबारे स्पष्ट भइसकेका थिएनन् । त्यसैले उनीहरू पार्टीका दुई खेमाबिच यता र उति गर्दै थिए । यी यावत कारणले दोस्रो चरणको निर्वाचनमा को निर्वाचित हुन्छ भन्ने स्पष्ट थिएन । यो निर्वाचनबाट मजदुरहरूको निर्वाचन मण्डलीबाट भावी सांसद तय गर्ने निर्वाचकहरूको छनोट हुन्थ्यो ।
मेन्शेभिक र बोल्शेभिक दुवैले प्रतिनिधिहरूबिच सघन अभियान चलाए । प्रस्ट नभएका प्रतिनिधिको मन जित्न खोजे । निर्वाचकहरूबिचको अभियान पहिलो चरणको भन्दा जोडदार थियो । यहाँ पनि संसदीय निर्वाचन कानुनले हाम्रो बाटोमा अनेक अड्चन तेस्र्यायो । प्रतिनिधिहरूको बैठक डाक्न अनुमति थिएन । कुनै न कुनै बहानामा यस्तो बैठक डाक्न खोजिन्थ्यो । तर, सबै प्रयास विफल भयो । कहिले बैठक बस्नै लाग्दा प्रहरीले रोक्थ्यो । मजदुरका प्रतिनिधिहरूले आपसमा सरसल्लाह नगरून् भनेर प्रहरीले कडा निगरानी राखेका थिए ।
यही कारणले प्रेस अभियानले दोस्रो चरणको निर्वाचनमा ठुलो भूमिका खेल्यो । ‘प्राभ्दा’ (सत्य) र ‘लुच’ (किरण) ले आ–आफ्ना खेमाको प्रचार गरे । (लुच मेन्शेभिक विध्वंसकारीहरूको मुखपत्र थियो ।) प्रतिनिधिहरूलाई आआफ्ना उम्मेदवारको पक्षमा मत खसाल्न आह्वान गरे । दुवै खेमाले आफ्ना तर्कहरूको भकारी खोले । यी दुई पत्रिकाबिच खण्डन–मण्डनको चर्को लहर चल्यो । यो चर्काचर्की पहिलो चरणको निर्वाचनमा भन्दा तिक्त थियो ।
(टिपोट : चुनावी अभियानको सञ्चालन लेनिनको निर्देशनमा हुन्थ्यो । त्यसबेला लेनिन पोल्यान्डको क्राकोफ सहरमा हुनुहुन्थ्यो । उहाँले ‘प्राभ्दा’ लाई लेख र पत्र पठाइरहनुहन्थ्यो । ती लेख र पत्रमा चुनावी लडाइँसम्बन्धी उहाँका सुझाव र निर्देशन दुवै हुन्थे । सेन्ट पिटर्सबर्गको सङ्गठन त्यसबेला कामरेड स्तालिनको नेतृत्वमा थियो । उहाँले लेनिनका निर्देशनहरू पालन गर्दै बोल्शेभिक मञ्चहरूमा कठोर सङ्घर्ष चलाउनुभयो ।)
बोल्शेभिकहरूविरुद्ध मेन्शेभिक विध्वंसकारीहरूले अघि सारेको मूल तर्क खासमा एउटा आरोप थियो । उनीहरू ‘बोल्शेभिकहरूले मजदुरवर्गको एकता तोड्दै छन्’ भन्थे । एकताको गफ दिएर मेन्शेभिकहरूले राजनीतिक कार्यक्रमको मूल मुद्दालाई ओझेलमा पार्न खोजे । किनभने, त्यो बहसमा आफू पराजित हुने उनीहरूलाई थाहा थियो । राजनीतिक मुद्दालाई सकेसम्म पन्छ्याउँदै मेन्शेभिकहरूले ‘तालमेल’, ‘एकता’ र ‘उम्मेदवारविशेष’ को रोइलो रोइरहे ।
लुचले लेख्यो, “यो जटिल परिस्थितिको एकमात्र निकास हो – सामाजिक जनवादी पार्टीका विभिन्न खेमाबिचको तालमेल । त्यसो नभए कम्तीमा सामाजिक जनवादी पार्टीका प्रतिनिधिहरूबिच तालमेल हुनुपर्छ । तबमात्र प्रतिनिधिहरूको सभामा एकमुष्ट काम गर्न सकिनेछ र प्रतिनिधिका खेमा नहेरी सामाजिक जनवादी प्रतिनिधिहरूलाई निर्वाचित गर्न सकिनेछ । प्रतिनिधिका निजी योग्यताका आधारमा सबैभन्दा दृढनिश्चयी उम्मेदवारलाई छनोट गर्नुपर्छ ।”
मेन्शेभिकहरूसँग एउटै चारा थियो । ‘निजी योग्यताका आधारमा सबैभन्दा दृढनिश्चयी उम्मेदवारलाई छनोट गर्नुपर्छ’ भन्ने झन्डा फहराएर उनीहरूले जुनसुकै राजनीतिक खेमाको व्यक्तिलाई निर्वाचित गर्ने माहोल बनाउन सक्थे । त्यो स्थितिमा मेन्शेभिकहरूसँग बहुमत नभए पनि तिनको उम्मेदवार निर्वाचित हुने सम्भावनाको ढोका खुल्थ्यो ।
‘प्राभ्दा’ ले मेन्शेभिकहरूको चालबाट पर्दा हटाइदियो । ‘प्राभ्दा’ ले मजदुरवर्गबिच हुने सङ्घर्षबाट डराउनुपर्ने कुनै कारण नभएको र यस्तो सङ्घर्षले एकता तोडिँदैन बरु भविष्यमा त्यो एकता झन् बलियो हुन्छ भनी लेख्यो ।
“यो सङ्घर्ष अपरिहार्य छ । किनभने, संसद्ले सामाजिक जनवादीहरूको कुन खेमाको कार्यनीति अङ्गीकार गर्ने त भनी मजदुरहरूले निधो गर्नुपर्छ । हामी विशेष बल गर्दै के भन्छौँ भने यो सङ्घर्षका कारण मजदुरवर्गको एकतामा कति पनि आँच आउँदैन । किनभने, अहिले यो प्रतिनिधिलाई निर्वाचक चुन्ने कि अर्कोलाई भन्ने सवाल मात्र उठेको छ । मजदुरहरूले एकढिक्का भएर काम गर्नुपर्छ र गर्नेछन् पनि । तर, यो एकता बलियो पार्न मजदुरहरूको संसद् सदस्यले बहुमतको प्रतिनिधित्व गर्नुपर्छ । अल्पमतको प्रतिनिधिले मजदुरहरूलाई एक बनाउन सक्दैन ।”
बोल्शेभिकहरूले सामाजिक जनवादीहरूको दुवै खेमाबिच बैठक डाकेर राजनीतिक बहस चलाई आन्तरिक मतदान गर्नुपर्छ भनी प्रस्ताव राखे । तर, मेन्शेभिकहरूले नचाहेको यही बहस थियो । बहसको परिणाम आफ्नो पक्षमा आउँदैन भनेर उनीहरू थर्कमान थिए ।
बोल्शेभिकहरूको आँखामा निर्वाचकको छनोट खासमा राजनीतिक खेमाबिचको द्वन्द्व थियो । मूल प्रश्न सामाजिक जनवादीहरूमध्ये पनि कसको कार्यनीति पछि गएर संसद्मा अपनाउने भन्ने थियो । तर, मेन्शेभिकहरूले व्यक्तिमुखी सिद्धान्त वा व्यक्तिविशेषका निजी गुणहरूका आधारमा यो लडाइँ (द्वन्द्व) जित्न खोजे ।
बोल्शेभिक र मेन्शेभिकहरूबिचको विवाद झन् चर्को भयो । नेताहरूबिच मात्र होइन कार्यकर्ताकै तहमा तिक्तता आयो । कलकारखाना र ज्यासलहरूमा यसको छाप देखियो । कतिसम्म भने प्रतिनिधिहरूबिच नै विवाद चर्कियो ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *