भर्खरै :

जीवनको पक्षमा क्युवाका दुई विजय

  • कार्तिक २१, २०८२
  • एल्सन कन्सेप्सियोँ पेरेज
  • विचार
जीवनको पक्षमा क्युवाका दुई विजय

(मेलिस्सा आँधीले विध्वंसको छाप छोड्यो । आजका दिनसम्म हाइटी र जमाइकामा गरेर ३० भन्दा बढीको ज्यान लिइसकेको छ । मेलिस्साले पूर्वी क्युवामा पनि ठुलै विपत्ति ल्यायो । मेलिस्सा विगत १५० वर्षको सबैभन्दा बलियो आँधी हो । अहिलेसम्ममा क्युवामा कसैको ज्यान गएको छैन । यसको एउटै कारण क्युवाको राष्ट्रिय एकता र तम्तयारी हो । जसले गर्दा बेलैमा ७ लाख मानिस र तिनका जायजेथालाई क्युवाले सकुशल स्थानान्तरण गर्न सक्यो । सम्पादक)
“जीवन नै हाम्रो विजय हो । पूर्वी प्रान्तका जनताले आफूलाई मेलिस्साको प्रहारबाट आफूलाई जोगाउन सफल भए । उनीहरूको जीवन समग्र राष्ट्रको जीवन पनि हो । उनीहरूले निडर भएर धूर्त र मैमत्त साम्राज्यको नाकैमुनि आफ्नो प्रतिरक्षा गरे ।” राष्ट्रपति मिगुएल डायज–कानल बर्मुडेजले भन्नुभयो । उहाँले चर्चित टेलिभिजन कार्यक्रममा यो भनाइ राख्नुभएको थियो ।
राष्ट्रपतिको सङ्क्षिप्त भनाइ यसप्रकार छ ः
“हामी निकै चुनौतीपूर्ण र तनावपूर्ण स्थितिबाट गुज्रिँदै छौँ । तथापि, हाम्रो लागि यो समय शिक्षाप्रद पनि छ । जनपरिचालन गर्ने र जनतालाई एकगठ गर्ने हाम्रो पार्टीको क्षमता कति छ र हामीबिचको एकता कति शक्तिशाली छ भनी हामी प्रत्यक्ष देख्दै छौँ । यति बेला अग्रमोर्चामा रहेर क्रान्तिको रक्षा गर्ने हाम्रो क्षमताको प्रदर्शन भइरहेको छ ।
खतरा टरिसकेको छैन । आँधीले बलियो हावाहुरी र दर्के झरी छोडेर गएको छ । नदीमा बाढी छ । रुखबिरुवा र बिजुलीका पोलहरू ढलेका छन् । यसले गर्दा प्रदूषण बढेको छ । यो स्थितिमा थप नोक्सानी हुन सक्छ, महामारी फैलिन सक्छ वा जिउधनको क्षति हुन सक्छ । हामीले निकै कष्ट सहेर मानिसको जीवन र भौतिक पूर्वाधारलाई जोगाएका थियौँ । हामी असावधान भए वा हामीले लापरबाही गरे हामीले तिनलाई गुमाउन सक्छौँ ।
अब सबै क्षतिको जाँचबुझ गर्न, सरसफाइ गर्न र महामारी लाग्न सक्ने स्थितिलाई नियन्त्रण गर्न जरुरी छ । त्यस्तै ऊर्जा, सञ्चार र खानेपानी सेवालाई ब्युँताउन जरुरी छ । खतरा टरेको स्थितिमा विस्थापित जनतालाई व्यवस्थित र जिम्मेवारीपूर्ण ढङ्गले यथास्थान फर्काउन जरुरी छ । तत्कालै सबै तहको स्वास्थ्य र शिक्षा सेवा पुनः सुचारु गर्न जरुरी छ । खाद्यान्न उत्पादन र वितरणको प्रत्याभूति दिन जरुरी छ । उखु र कफी भण्डारबाट जेजति जोगाउन सकिन्छ† जोगाउन जरुरी छ । जनतालाई दिइआएका सम्पूर्ण सेवा पुनःस्थापित गर्न जरुरी छ । ध्वस्त पूर्वाधारको जतन र खासगरी आवासहरूको पुनःनिर्माण गर्न थालिहाल्नुपर्छ ।
आज हामी सबै फिडेल र राउल हौँ । आज हामी सबै जीवन जगेर्ना गर्ने एकताबद्ध पार्टी हौँ । यस्तो बेला हामीलाई पूर्वी प्रान्तहरूमा मेलिस्सा आँधीको सामना गरिरहेका जनताबाट चिनिन्छ† साम्राज्यवादको सामना गरिरहेका राष्ट्रसङ्घका सदस्य देशहरूको हारमा राखेर हेरिन्छ ।
यी लडाइँहरू छिचोल्नुको अर्थ आगामी दिनका हरेक लडाइँहरूमा विजयी हुनेछौँ भन्ने प्रतिबद्धता पनि हो ।”

अर्को नकार ! संसारदेखि नाकाबन्दीसम्म
क्युवालाई फेरि एकपल्ट राष्ट्रसङ्घका बहुमत देशको अत्यधिक बहुमतले अर्थात् १६५ देशले साथ दिए । ती देशले क्युवामाथि संरा अमेरिका सरकारले थोपर्दै आएको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी हटाउनुपर्छ भन्ने पक्षमा मत दिए ।
यद्यपि, यो युद्ध अघिल्ला वर्षहरूको जस्तो विजय होइन । किनभने, यसअघि ह्वाइट हाउसले कहिल्यै पनि क्युवाको पक्षमा मत नदिन वा मतदान प्रक्रियाबाट बाहिर बस्नका लागि क्युवा पक्षधर देशहरूलाई दबाब दिएको थिएन । यो पालि संरा ह्वाइट हाउसले क्युवा पक्षधर अनेक देशलाई बदनाम गर्ने, दबाब दिने र ठाडै ब्ल्याकमेल गर्ने उर्दी जारी ग¥यो । क्युवाविरुद्ध अमेरिकी आर्थिक युद्ध वा नाकाबन्दीको मुटुमा एकप्रकारको जातिसंहारक बदनियत छ ।
तथापि, क्युवाली जनताको प्रतिरोध पनि अपूर्व रह्यो । तर्कयुद्धमा आज पनि क्युवाली जनता नै विजयी भए । १६५ देशले क्युवाको पक्ष लिए । १२ देश मतदान प्रक्रियाबाट बाहिर बसे । वासिङटनको नेतृत्व वर्गको विशेषता नै हो । पुराना आउरेबाउरे देशहरूसँग मिलेर कूटनीतिको फोहरी खेल खेलेको हुनाले अमेरिकाले १२ देशलाई बाहिर राख्न सकेको हो ।
नाकाबन्दीको पक्ष लिने देशहरूको सूचीमा निश्चय पनि संरा अमेरिका र इजरायलको नाम नै माथि थियो । क्युवाविरुद्ध संसारकै सबैभन्दा लामो आर्थिक घाँटी थिचाइ नीतिको रटान तिनीहरूले यसपालि पनि गरे । संसारमा यसखाले अर्को घटना बिरलै पाइन्छ । यो देख्दा कोही अचम्मित पनि छैन । किनभने, गाजामा ७० हजार प्यालेस्टिनीहरूलाई मिसाइल हानी हाकाहाकी मार्ने र त्यस्तो कार्यको वित्तीय पृष्ठपोषण गर्ने देश यिनै हुन् । यस्तो देशले क्युवामा जनतालाई भोक, रोग र अभाव दिएर मार्ने नीतिको नेतृत्व गर्नुमा कोही किन अचम्मित हुने ?
१६५ देश क्युवाको पक्षमा उभिए । साम्राज्यवादी अहङ्कारले फेरि अर्को धुलो चटाइ भेट्यो । राष्ट्रसङ्घमा एन्टिल क्षेत्रको सबैभन्दा ठुलो टापुको रूपमा प्रतिनिधित्व गर्ने देश हो क्युवा । विश्वको महाबली भनिने अमेरिकाले डरधम्की दिएर र राजनीतिक लेनदेनको औजार प्रयोग गरेर क्युवामाथिको आपराधिक नाकाबन्दीमाथि वैधताको जामा लगाउन खोज्यो । उसको यो दुस्प्रयासलाई १६५ देशले लोप्पा खुवाएका छन् ।
– ‘ग्रान्मा’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *