भर्खरै :

पर्सामा प्रशिक्षण कार्यक्रम सम्पन्न

माघ १५, पर्सा । नेपाल मजदुर किसान पार्टी पर्सा जिल्ला समितिको आयोजनामा पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार वीरगञ्जको रेल्वे माध्यमिक विद्यालयमा सम्पन्न भयो ।
कार्यक्रममा प्रशिक्षण दिनुहुँदै नेमकिपा केन्द्रीय सदस्य उकेश कवांले नेपालको कम्युनिष्ट आन्दोलनलाई भड्काउने उद्देश्यले नै नेपालका कम्युनिष्ट पार्टी भनाउँदाहरुले जातीय र क्षेत्रिय मुद्दा उठाएको बताउनुभयो । जातीय, क्षेत्रीय नारा दिने पार्टी कम्युनिष्ट हुनै नसक्ने स्पष्ट पार्दै नेपालमा छिमेकी देश चीनको समाजवादी विचारको प्रभाव पर्न नदिन भारतले षड्यन्त्रमुलक खेल खेलेको बताउनुभयो । उहाँले प्रचण्ड सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक देशघाती भएको हुँदा त्यसको विरोधमा संघर्षलाई चर्काउन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै नेक्राविसंघ केन्द्रीय अध्यक्ष नीरज लवजूले नेमकिपा स्थापनाका आधारहरुबारे प्रशिक्षण दिनुहुँदै नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाले प्रकाश स्तम्भको भूमिका खेल्दै आएको बताउनुभयो ।
नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज कुमार साहको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा संस्थागत विद्यालय संघ (इसान)का सचिव राम कासुला, नेपकिपा पर्साका श्यामगान्धी साह र अरविन्द चौरसियाले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *