भर्खरै :

बढ्यो बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा

बढ्यो बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा

भक्तपुर, २४ असार । आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप र तिनीहरूले प्रवाह गरेको कर्जा दुवै बढेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा ती संस्थाहरूमा रहेको निक्षेप रु. ५ खर्ब १७ अर्ब ६० करोडले र ती संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ खर्ब ७ अर्ब ६२ करोडले बढेको छ । सो अवधिमा यस्तो निक्षेप र कर्जा दुवै २०८१ असार मसान्तको तुलनामा ८.० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको ११ महिनाको अवधिमा यस्तो निक्षेप रु.५ खर्ब १४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले र कर्जा रु.२ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले र ती संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।
२०८२ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा कर्जाको यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो । २०८२ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ जुुन २०८१ जेठ मसान्तमा ३६.० प्रतिशत थियो ।
२०८२ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैङ्कहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ । २०८२ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाह भएको कर्जाको अंश १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा प्रवाह भएको कर्जाको अंश ६५.० प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो कर्जाको अंश क्रमशः १२.० प्रतिशत र ६८.५ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ४२.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ६२.२ प्रतिशतले, हायर पर्चेज कर्जा ५.५ प्रतिशतले, नगद प्रवाह कर्जा ०.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १३.२ प्रतिशतले घटेको नेपाल राष्ट् बैङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *