भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
सांस्कृतिक तथा प्राकृतिक सम्पदाको क्षेत्र नीलबाराहीमा पहिरोमा कारण खतरामा परेको बिसौँ वर्षदेखि देख्दै आएको हो । तर सम्बन्धित निकायबाट पाइप ठोक्ने, वृक्षारोपण गर्नेलगायतका भूक्षय रोकथामका सानातिना पहलबाहेक केही भएको देखिएन । ८/१० वर्षअघि मन्दिरको अगाडि भूक्षयका कारण क्रमशः मन्दिरै भासिएला कि जस्तो थियो । भक्तजनहरू हिँड्ने मन्दिर अगाडिको मूल बाटो भासिएर प्लास्टिकले छोपिएको पनि ४/५ वर्ष नै भयो । गणेश मन्दिर र ‘हफ’ मन्दिर नपुग्दैको बाटोमा हिँड्दा हिँड्दै भासिएला कि जस्तो डराइ डराइ हिँडेको पनि धेरै वर्ष भयो । त्यतिका फराकिलो बाटो भासिँदा मोटरसाइकलमा जाँदा जीउ सिरिङ्ग हुनेगथ्र्याे । त्यसको पूर्वतर्फको अग्लो ढिस्को खस्दा बाटोमै हानिई सक्दा पनि सम्बन्धित निकाय ब्युँझिएको छैन । २/३ वर्ष अघिसम्म गणेश मन्दिर र ‘हफ’ मन्दिर घुम्न मिल्ने बाटो भएकोमा अहिले फलामे बार भएकैले मुस्किलले हिँड्न मिल्ने भएको छ । स्थानीय तह, जिल्लास्थित सम्बन्धित निकाय र प्रदेश तथा केन्द्र सरकार के बेखबर छन् ? कि इस्काभेटर र डोजर मालिक वा बालुवा खानीका ठेकेदारसँग ठेक्कापट्टा वा कमिसनको खेलमा व्यस्त छन् ?
स्थानीय जनता जागेको बेला
दशकौैंदेखि बेथिति, भ्रष्टाचारसँगै सम्पदाको दुरावस्था देख्दै आएका स्थानीय युवाहरू अहिले जागेका छन् । सरकारको मुख ताकेर ऐतिहासिक सम्पदाको जगेर्ना हुन सक्दैन भन्ने तिनीहरूको उद्घोष सामाजिक सञ्जालभरि प्रतिध्वनित भएका छन् । विकासमा राजनीतिको चरम दुर्गन्ध देखेका, राजनीतिमा भ्रष्टाचार र भ्रष्टाचारको राजनीति संस्थागत भएको अवस्थामा जागरुक युवाहरू आफैले भोट दिएर जिताएका नेता हुँदैमा अब चुप लागेर बस्दैन ।
संस्कृति र सम्पदाको महत्व बुझेका पढेलेखेका वकिल, इन्जिनियर, व्यवसायी र अभियन्ता तथा साधारण युवाहरूले सरोकार समिति, संरक्षण समिति निर्माण गरेर स्वस्फूर्त रूपमा दबाब समूह वा कार्यकारी समूहको रूपमा स्थापित गरेका छन् । सुरुमा स्थानीय निकायमा दबाब सिर्जना गर्दै, मन्दिर दर्शन गर्न आउने भक्तजनहरूसँग स्वैच्छिक चन्दा सङ्कलन, आफ्नै तर्फबाट श्रमदान गरी पहिरो नियन्त्रणका कार्यहरू प्रारम्भिक कार्यबाट थालनी गर्दै प्रत्येक शनिबार श्रमदानको लागि आह्वान गरेकोमा आठौँ शनिबारसम्ममा पुग्दा कीर्तिपुर, भक्तपुर, मनहरालगायत क्षेत्रबाट हजारौंको सङ्ख्यामा महिला, पुरुष, ज्येष्ठ नागरिकलगायतले स्वैच्छिक चन्दा र श्रमदान गरेका छन् । प्रचारको व्यापकताको लागि दोस्रो वा तेस्रो शनिबार भर्खरै सेवाबाट हटाइएर चर्चामा रहेका कुलमान घिसिङलाई निमन्त्रणा गरिएको थियो ।
शनिबार श्रमदान गर्नेमा महिलाहरूको सङ्ख्या उल्लेख्य थियो । १८/२० वटा मिनी ट्रकबाट निरन्तर माटो ओसारिरहेको, खन्याइएको माटो माथिदेखि तह तह श्रमदाताहरूको लावालस्करले साबेल, कोदाली, बाँसको चिर्पट र हातैले खाल्डो मुनिसम्म झार्दै, सबभन्दा मुनि बोरामा माटो भर्दै अनि काँधमा बोकेर पहिरो नियन्त्रणको लागि तह तह बाँस गाडेर बाँसकै भाटाले जाली बुनेर मिलाइएको क्षेत्रमा माटो भरिएको बोराहरूको चाङ, लगाई पर्खाल बनाउँदै, तह मिलाउँदै, कुल्चेर मजबुत बनाउँदै गरेको दृश्य हेर्न लायकको थियो ।
सरोकार समिति र स्थानीयहरू आगन्तुक श्रमदाताहरूलाई काम सम्झाउने, सामान जुटाइदिने, खानेपानी पु¥याउने, गाडीले माटो खन्याउने बेलामा सूचना दिएर सतर्क पार्ने, श्रमदाताहरूको साटिएको झोला, सामान र अन्य आवश्यक विषयमा माइक फुकेर सूचित गर्ने, विभिन्न युट्युब वा मोबाइल पत्रकारलगायतलाई अन्तर्वार्तामार्फत धन्यवाद दिने, आह्वान गर्ने, पुकार गर्ने, सवारी व्यवस्थापन गर्ने, साइज साइजका बाँस काटेर आवश्यक क्षेत्रमा पु¥याउने, चन्दा सङ्कलनलगायत कार्यमा व्यस्त थिए ।
विभिन्न क्षेत्रका श्रमदाता आयोजकहरूको सल्लाहअनुसार काममा जुटे पनि श्रमदान गर्नेहरूले आ–आफ्नो विशेष सीप, दक्षता र अनुभवअनुसार भूक्षय रोक्ने उपायहरू अपनाइरहेका थिए । दिउँसो टन्टलापुर घामको पर्वाह नगरी काम गरिरहँदा बोटलको पानी, मोही खुवाउने र समूह समूहमा आ–आफूले पकाएर ल्याएको आलु, अचार बाँडचुँडी गर्दै, हाँसो, ठट्टा रमाइलो गर्दै, गीत गाउँदै, नाच्दै, फोटो, भिडियो खिच्दै खिचाउँदै, मादल र अन्य धूनमा नाचगान गर्दै काममा उत्प्रेरणा जगाउँदै गर्दा लाग्छ त्यहाँ भूक्षय नियन्त्रण वा श्रमदान नभई युद्धको अभ्यास हुँदैछ । यस्तो तदारुकता, समर्पण वा भावना, निःस्वार्थ सेवा देश निर्माणको सानो नमुना भनेझैं थियो ।
अर्काेतर्फ शनिबार दिनभरिमा करिब १२ लाख चन्दा पनि सङ्कलन भएको रहेछ । अघिल्लो शनिबारभन्दा करिव ४ लाख बढी उठेको थियो । साबेल, बोरा, बाँस, पञ्जालगायत जिन्सी र खानेपानी, मोही, दहिलगायत चिसो पेय र खाना खाजाको व्यवस्थाको लागि सहयोग गर्नेहरू पनि उल्लेख्य थिए ।
भक्तपुरको श्रमदान संस्कृति
साना ठुला विकास निर्माण, सम्पदा संरक्षण, सरसफाइ, जनचेतना जगाउने कार्यमा श्रमदान गर्ने भक्तपुरको बेग्लै पहिचान वा संस्कृति बनिसकेको छ । उपभोक्ता समितिमार्फत विकास निर्माणको काममा श्रमदान, स्वैच्छिक चन्दा सङ्कलन र प्राविधिक इस्टिमेटभन्दा अति कम खर्चमा निर्माण सम्पन्न र पारदर्शिता भक्तपुरको विशेषता हो । भक्तपुरमा श्रमदान नभएको निर्माण र स्वैच्छिक चन्दा नउठेको विकास नै पाइन्न । पाँचतलेको नामले प्रख्यात ङातापोल्हँ मन्दिर, भैरवनाथ मन्दिरलगायत राष्ट्रिय र विश्व सम्पदाको पुनर्निर्माणमा स्थानीय जनप्रतिनिधिसम्मले श्रमदान गर्छन् । अनि त सर्वसाधारण जनता पालो पर्खेर श्रमदानको लागि समर्पित हुने गर्दछन्† आवश्यकताअनुसार वा आह्वान भए अनुसार बाँस, झिँगटी, माटोलगायत जिन्सी दान गर्छन् ।
नीलबाराही पुरानो भक्तपुर बजारबाट केही दूरीमा भए पनि प्रत्येक वर्ष भक्तपुरका घरघरबाट अनिवार्य पूजा र दर्शनको लागि पुग्ने धार्मिक क्षेत्र पनि हो । नीलबाराहीलाई तिनिग्य वा धनबाराहीको रूपमा पनि पुजिँदै आएको छ । त्यही कारण श्रमदान वा स्वैच्छिक चन्दाको आह्वान हुनेबित्तिकै भक्तपुरका टोलटोलबाट श्रमदाता भक्तजनहरूको ओइरो नै लागेको देखियो ।
टोल टोलका सङ्गीत वा भजन समूह, महिला वा युवा समूह, खेलकुद वा व्यायाम समूह बाजागाजासहित बाटो बाटोमा आह्वान गर्दै श्रमदाता बटुल्दै नीलबाराही क्षेत्रमा पुगेपछि स्थानीय र नजिकका बस्तीलाई जागृति दियो । सेवा, भक्ति, आस्था, भावना वा समर्पणका कारण मिल्ने समूहका साथीहरूसँग हिँड्न र श्रमदान गर्न पाउँदा जस्तै बेफुर्सदी मान्छे पनि पुग्ने गरेका छन् । त्यसमा पनि सामाजिक सञ्जालमार्फत भइरहेको व्यापक प्रचारबाट पनि श्रमदान संस्कृतिलाई सर्वत्र पुनर्जागृत गरिएको छ ।
सरोकार समूहलाई सुझाव
स्थानीय, प्रदेश र सङ्घीय सरकार उदासीन भएको वा सरकारप्रति जनताको वितृष्णाको अवस्थामा स्थानीय जागरुक युवाहरूको सरोकार समितिले स्वयंसेवाको लागि गरेको आह्वान सार्थक बन्दै छ । अप्रत्याशित ढङ्गबाट श्रमदान र चन्दा सङ्कलन भएपछि अहिले पक्कै केही त होला भने जस्तो अवस्थामा पुगेको छ ।
एकैदिन ठुलो सङ्ख्यामा श्रमदाता पुग्दा र एकैचोटि काम थाल्नलाई पक्कै अप्थ्याराहरू छन् । चिताएभन्दा बढी सहभागिताले आयोजकहरूमा केही अन्योल भए पनि आ–आफै सम्हालिँंदै र कामको व्यवस्थापन भएको देखिन्छ । इमानदारिता सबभन्दा ठुलो सत्य हो भने पारदर्शिता अर्को शक्ति हुन सक्छ । त्यसकारण, दिनदिनको आर्थिक सहयोग र आजसम्मको आय र व्यय सकेसम्म लिखित रूपमा सकेसम्म पत्रिकामार्फत नभए सामाजिक सञ्जालमार्फत पारदर्शी गर्दै जानु उपयुक्त हुन्छ । सरकारी वा ठेकेदारी काममा अपारदर्शी योजना, मनपरी खर्च, गुणस्तरको कमीले नकारात्मक सन्देश फैलिएको वर्तमानमा आर्थिक सङ्कलन मात्र नभई जिन्सी र खर्चको पारदर्शिता प्रत्येक दिन वा महिनामा सम्प्रेषण गर्नु सान्दर्भिक हुनेछ । कुनै तरिकाबाट श्रमदाताको सङ्ख्या यकिन गर्न, माटो ओसार्ने गाडीको सङ्ख्या वा अन्य आवश्यक विषयहरू क्रमशः पारदर्शी गर्दै जानु उचित हुन्छ । सरोकार समिति र स्थानीयको सम्पदा संरक्षण अभियान सफल होस् ।
Leave a Reply