भक्तपुर, २४ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा नारी दिवसको अवसरमा कानुनसम्बन्धी साक्षरता कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी संस्थाको उद्देश्य बचत तथा ऋण कारोबारमा मात्र नभई सदस्यहरूलाई सचेत गर्ने पनि सहकारी संस्थाहरूको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले शिक्षामूलक कार्यक्रममा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको बताउनुभयो । उहाँले महिलाले समाजमा आफ्नो अधिकारको लागि आफै लड्नुपर्नेमा जोड दिँदै देश र समाजबारे सचेतना फैलाउन महिलाको पनि जिम्मेवारी रहने बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता एवं अधिवक्ता राजु कैटीले सदस्यहरूलाई शिक्षा प्रदान गर्नु सहकारीको उद्देश्य रहेको तर ९० प्रतिशत सहकारी संस्थाले शिक्षा प्रदान गर्ने कार्य नगरेको उल्लेख गर्नुभयो । सहकारीमा सामुदायिक भावनासहित समान आय भएका सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि सहकार्य गर्नुपर्छ, उहाँले भन्नुभयो ।
कार्यक्रमका सहजकर्ता एवं अधिवक्ता कृति दुमरुले कुनै पनि कागजातमा सही गर्नु पूर्व सो कागजात राम्ररी अध्ययन गरेर मात्र गर्नुपर्ने बताउँदै कुनै पनि उजुरी गर्न अदालतले हद म्याद तोकिने हुँदा समयमै उजुरी दर्ता गरी समस्याको कानुनी समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले जनतामाझ नीति नियमको जानकारी नभएकै कारण भ्रष्टाचारीहरूले त्यसबाट फाइदा उठाइरहेको बताउनुभयो । उहाँले कर छली गर्न आयस्रोत लुकाउनाले आज नेपाल ग्रे लिस्टमा परेको जानकारी दिनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण रोक्न हरेक सहकारी संस्थाले आफ्नो सदस्य पहिचान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संस्थालाई सदस्य पहिचान गर्न टेवा पु¥याउन सदस्यहरूलाई सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply