भर्खरै :

हेरचाह र मर्मतको अभावमा व्यायाम सामग्रीहरू बिग्रिन थाले

हेरचाह र मर्मतको अभावमा व्यायाम सामग्रीहरू बिग्रिन थाले

भक्तपुर, ५ कार्तिक । भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा राखेका खुला व्यायामहरूमा रहेका व्यायाम सामग्रीहरूमध्ये केही केही त काम नलाग्ने गरी बिग्रिन थालेका छन् । नगरवासीहरूको शारीरिक व्यायामको लागि खुला ठाउँमा राखिएका ती व्यायाम सामग्रीहरू हेरचाह र मर्मतको अभावमा बिग्रिन थालेको देखिएको हो ।
भनपा वडा नं. ८ लिबाली न्हुजःटोलस्थित खुला स्थलमा रहेका व्यायाम सामग्रीहरू प्रायः सबै कामै नलाग्ने गरी बिग्रिएका छन् । स्थानीय बासिन्दा विष्णुलक्ष्मी प्रजापतिले आफ्नो नातिलाई खेलाउन ल्याउँदा सामग्रीहरू प्रायः सबै बिग्रिएको पाउँदा सा¥है नरमाइलो लागेको बताइन् । उनले नगरपालिकाले लाखौँ खर्चेर राखेका ती महँगा सामग्रीको हेरचाह र समयमै मर्मत गरेको भए उपयोेग भइरहने पनि बताइन् ।
उनका अनुसार लिबालीकै इन्जिनियरिङ कलेज परिसरभित्रका व्यायाम सामग्रीहरू भने सुरक्षित रहेका छन् । आफूहरू प्रायः त्यही कलेजकै व्यायाम सामग्रीहरूमा खेल्ने गरेको बताउँदै उनले अहिले बिदामा त्यहाँ बन्द होला भनेर यता आउँदा यस्तो बिजोग अवस्था देखेको सुनाइन् ।
वडा नं. ९ को गरुङकुण्ड मन्दिर परिसरभित्रका सामग्रीहरू तुलनात्मक रूपमा सुरक्षित छन् भने वडा ९ कै बनसीका सामग्रीहरू पनि राम्रो अवस्थामै रहेको देखिन्छ । तर, महेश्वरी पिठको दक्षिण पश्चिमतर्फका सामग्रीहरू पनि धेरै बिग्रिएका छन् भने त्यहीँ पूर्वतर्फ भने अझै धेरैले उपयोग गरिरहेको देखिन्छ ।
नगरवासीहरूको जीवनशैलीमा आएको परिवर्तनसँगै नयाँ संस्कारको रूपमा नगरपालिकाले व्यायामको संस्कृति बसाल्न खोज्नु राम्रो उद्देश्य भए पनि त्यसलाई नगरवासीले सोहीअनुरूप नअँगाल्दा माल पाए पनि चाल नपाएको जस्तो भएको छ । नगरपालिकाले ढिलै भए पनि नगरभरिकै खुला व्यायामस्थलको निरीक्षण गरी आवश्यक मर्मत र व्यायामस्थलको सुरक्षाको व्यवस्था गरे बिस्तारै व्यायाम संस्कृति समाजमा बस्दै जाने विश्वास गर्न सकिन्छ ।
– अन्वेष प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *