भर्खरै :

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

तेहरान, २३ अक्टोबर (एएनआई) । इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गर्नुभएको छ । उहाँले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताउनुभएको स्मरण गराउनुभयो । उहाँले म्याक्रोनलाई आफ्नो भनाइ स्पष्ट राख्न आग्रह गर्दै इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको दाबीप्रति प्रश्न उठाउनुभयो ।
अराघचीले आफ्नो पोस्टसँगै म्याक्रोनले सन् २०१८ को अप्रिलमा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्नुभएको तस्बिर पनि साझा गर्नुभएको छ । उक्त सम्बोधनमा म्याक्रोनले सन् २०१५ को सम्झौता कायम राख्नुपर्ने धारणा राख्दै त्यसलाई इरानको आणविक कार्यक्रम अनुगमन र नियमन गर्ने अन्तर्राष्ट्रिय ढाँचाका रूपमा प्रस्तुत गर्नुभएको थियो ।
सन् २०१५ जुलाई १४ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत, अमेरिका र युरोपेली सङ्घको सहभागितामा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) सम्झौता भएको थियो । यसको उद्देश्य इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा सीमित रहेको सुनिश्चित गर्नु थियो ।
यसै साता अल जजिरासँगको कुराकानीमा म्याक्रोनले फ्रान्सले इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको बताउनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर अराघचीले उहाँको आलोचना गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *