भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, २९ फागुन । समाज सुधार माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव, शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाबिना समाजको विकास सम्भव नभएको उल्लेख गर्नुभयो । शिक्षासँगसँगै प्रविधिहरूलाई पनि उपयोग गर्न सके शिक्षा सार्थक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयको शैक्षिक विकासको महत्वपूर्ण पाटोमा विद्यालयको भौतिक संरचना विद्यार्थीमैत्री छ वा छैन भन्ने कुरामा पनि ध्यान दिनसके भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अग्रजहरूको परिकल्पना साकार हुने बताउनुभयो ।
समाज विकासको लागि शैक्षिक क्रान्तिकै आवश्यकता भएको औँल्याउँदै उहाँले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने उद्घोष भक्तपुरको सभ्यता विकासको लागि हो भन्नुभयो ।
विद्यालय शिक्षामा नैतिक शिक्षाको आवश्यकताबारे चर्चा गर्दै उहाँले आदर्श समाजको विकासको लागि समाजवादी शिक्षाको आवश्यकता रहेको औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सामुदायिक विद्यालयप्रति अभिभावकहरूमा रहेको भ्रम अन्त्य गर्नुपर्ने उल्लेख गर्दै सामुदायिक विद्यालयको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभयो । नेपालको संविधानमा मावि शिक्षासम्म निःशुल्क भन्ने उल्लेख भए पनि व्यवहारमा लागू नहुनाले अभिभावकहरूले गुणस्तरीय शिक्षाका लागि शुल्क तिरिरहन बाध्य भइरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयको विकास गर्नुभन्दा मर्ज गर्ने सरकारी नीति गलत भएको उल्लेख गर्दै विद्यार्थीहरूले परीक्षामा उत्कृष्ट अङ्क ल्याई मेहनती विद्यार्थीको परिचय दिनसक्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले जनतामा व्यक्तिगत वितरण दर्ता तथा सेवामा समयमा ध्यान पु¥याउन नसक्दा अनावश्यक जरिवाना तिर्न परिरहेको र भक्तपुरमा अग्रजहरूले सुरु गरेको सरसफाइ अभियानले निरन्तरता पाइरहेको तथा भक्तपुर नपाले शैक्षिक, सामाजिक, सम्पदा संरक्षणमा गर्दै आएको गतिविधिको जानकारी गराउनुभयो ।
सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले संयुक्त परीक्षा समितिले स्थापनाकालदेखि विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको शैक्षिक विकास तथा भक्तपुरको शैक्षिक अभियानमा योगदान गर्दै आएको जानकारी गराउनुभयो ।
विद्यालयका पूर्वप्रअ लक्ष्मीनारायण दुवालले समाज सुधार मा.वि.को स्थापना शिक्षासेवी बुद्धिकुमार गोसाईले गर्नुभएको योगदान खेर नगएको बताउनुभयो । उहाँले विद्यालयले देशभरका अभिभावकका छोराछोरीहरूलाई शिक्षा दिन सकेकोमा गर्व लागेको बताउनुभयो ।
विद्यालयका ईसीडी टिचर ट्रेनर दीपिका श्रेष्ठले पूर्व प्रावि, प्रावि तथा आधारभूत स्तरका विद्यार्थीहरूको शैक्षिक विकासमा एउटा विद्यालय परिवारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा शैक्षिक सत्रभरिमा उत्कृष्ट डायरी लेखन गर्ने शिक्षकहरू, २०८१ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका साथै अनिवार्य अवकाश प्राप्त शिक्षक चञ्चला पोटे श्रेष्ठलाई खादा, दोसल्ला, फूलमाला तथा मायाको चिनोसहित प्रमुख अतिथि रजनी जोशीले सम्मान गर्दै विद्यालयबाट प्रकाशित स्मारिका विमोचन गर्नुभयो ।
साथै २०८१ सालको अन्तिम परीक्षामा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी र अतिरिक्त प्रतियोगिताहरूमा सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण, गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम देखाइएको थियो । विद्यालयको शैक्षिक विकास तथा छात्रवृत्ति कोष स्थापनाका लागि सहयोग गर्ने संस्था भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.लाई विद्यालयको तर्फबाट कदरपत्र प्रदान गरिएको सो कार्यक्रममा विद्यालयका विद्यार्थी सुदिना श्रेष्ठ र शिक्षक कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply