भर्खरै :

समय–समयमा यस्ता तालिमहरू आवश्यक

समय–समयमा यस्ता तालिमहरू आवश्यक

भक्तपुर, १० मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजना तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका शिक्षकहरूका लागि सञ्चालित सङ्क्रमण रोकथाम तथा नियन्त्रण (Infection Prevention and Control-IPC) सम्बन्धी तालिम बिहीबार सम्पन्न भयो ।
तालिम समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सकेमात्र तालिम फलदायी हुने बताउँदै उहाँले भक्तपुर नगरपालिका धुलिखेल अस्पतालसँग सहकार्य गर्दै विभिन्न क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।
प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ–नयाँ उपचार विधि र प्रविधिहरू विकास भइरहेको उल्लेख गर्दै उहाँले आफूलाई समयानुकूल अद्यावधिक राख्न समय–समयमा यस्ता तालिमहरू आवश्यक रहेको बताउनुभयो ।
कृत्रिम बुद्धिमत्ता (AI) को माध्यमबाट उपचार गर्ने प्रविधिसमेत विकास भइरहेको अवस्थामा सिक्ने र सिकाउने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान विद्यार्थीहरूलाई प्रभावकारी ढङ्गले सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।
तालिमको प्रभावकारिताबारे बोल्दै शिक्षिका सुमित्रा बुढाथोकीले तालिमबाट सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी विभिन्न विषयमा ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको र आफूलाई नयाँ ज्ञान तथा प्रविधिबारे अद्यावधिक गर्न सहयोग पुगेको बताउनुभयो ।
तालिम प्रशिक्षक तथा धुलिखेल अस्पतालका सुलेखा श्रेष्ठले तालिम आफ्ना लागि पनि नयाँ अनुभव भएको बताउँदै सहभागीहरूको सक्रिय सहभागिताका कारण तालिम अन्तरक्रियात्मक र प्रभावकारी बनेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *