भर्खरै :

स्ववियुको मिति पछाडि सार्न विप्लवका विद्यार्थीहरुको माग

त्रिविले आगामी फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति सार्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार ज्ञापन पत्र बुझाएको छ । आफ्नो मातृपार्टीको महाधिवेशन फागुन १ देखि १५ गतेसम्म हुने भन्दै त्यसअवधिमा स्ववियु चुनावको घोषित मिति पछाडि सार्न माग गरिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले बुधबार त्रिविका उपकुलपति तीर्थ खनियाँलाई भेटेर चुनावको मिति पछाडि सार्न माग गरेका थिए । ‘नेकपा(माओवादी) को ऐतिहासिक ८ औं राष्टिय महाधिवेशन(फागुन १ देखि १५)सँग अन्तरविरोधी हुने गरी ल्याइएको चुनावी कार्यतालिकामा पुनःविचार गर्न आग्रह सहित २०७३ साल चैत्र मसान्तभित्रै स्ववियु चुनाव सम्पन्न गर्न वातावरण निर्माणको लागि अनुरोध गर्दछौं । अन्यथा चुनाव होइन आन्दोलन एकमात्र विकल्प हुनेछ ।’ ज्ञापन पत्रमा भनिएको छ ।

यसअघि नै नेपाल विद्यार्थी संघको एउटा खेमाले काठमाण्डौ उपत्यकाका क्याम्पसहरुमा २८ वर्षको हदबन्दी खारेजीको माग गर्दै तालाबन्दी गरेको छ । नेविसंघका केन्द्रीय पदाधिकारीहरु कुनै पनि अवस्थामा स्ववियु चुनावमा जाने भन्दै गरेको बेला संघभित्रको पूर्वमहामन्त्री मनोजमणि आचार्य पक्षधर खेमाका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले २८ वर्षको उमेर हदबन्दी खारेज भएको अवस्थामा मात्र चुनावमा भाग लिने बताउँदै आएका छन् । २०६५ सालयता पटक पटक निर्णय भएर पनि हुन नसकेको स्ववियु निर्वाचन अझै पनि अन्योलमा परेको विद्यार्थी संगठनका पछिल्ला क्रियाकलापले संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *