नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
तेहरान, २६ चैत (मिडिलइस्ट आइ) । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै देशले युद्धमा ‘ऐतिहासिक’ विजय हासिल गरेको र नियोजित वार्ताअघि अमेरिकालाई १० बुुँदे प्रस्तावको रूपरेखा स्वीकार गर्न बाध्य पारेको दाबी गरेको छ ।
परिषद्का अनुसार उक्त प्रस्तावमा अनाक्रमणको ग्यारेन्टी, स्ट्रेट अफ हर्मुज’मा इरानको निरन्तर नियन्त्रण, प्रतिबन्धहरूबाट राहत, सो क्षेत्रबाट अमेरिकी सेनाको फिर्ता र युद्ध क्षतिपूर्तिका विषयहरू समावेश छन् ।
विज्ञप्तिमा थप भनिएको छ– शुक्रबार पाकिस्तानी राजधानी इस्लामावादमा सुरू हुने वार्ता विवरणहरूलाई अन्तिम रूप दिनमा केन्द्रित हुनेछ तर यसको अर्थ ‘युद्धको अन्त्य’ भने होइन ।
यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिलाई अगाडि बढाउन वाशिङ्गटनले इरानमाथिका आक्रमणहरू दुई हप्ताका लागि स्थगित गर्ने बताएको एक दिनपछि आएको हो ।
ट्रम्पले यस स्थगनलाई स्ट्रेट अफ हर्मुज पुनः खोल्नेसँग जोडिएको ‘दुईतर्फी युद्धविराम’ को रूपमा वर्णन गरे र इरानको १०–बुँदे प्रस्तावले वार्ताका लागि ‘कार्ययोग्य आधार’ प्रदान गरेको बताए ।
इरानको शीर्ष सुरक्षा निकायले तेहरानले आफ्नो योजना पाकिस्तानमार्फत अमेरिकालाई बुझाएको र वाशिङ्गटनले त्यसका सिद्धान्तहरूलाई वार्ताको आधारको रूपमा स्वीकार गरेको जनाएको छ । वार्ता १५ दिनसम्म चल्ने र आवश्यक परे थप गर्न सकिने उल्लेख गर्दै कुनै पनि सम्झौतालाई अन्तर्राष्ट्रिय संयन्त्रहरूसहित औपचारिक रूप दिनुपर्ने इरानले बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यसको अर्थ युद्धको अन्त्य होइन । यदि हाम्रा मागहरू पूर्ण रूपमा पूरा भएनन् भने इरानले सैन्य कारबाही जारी राख्नेछ ।”
विज्ञप्तिमा इरानी सेना र सम्बद्ध समूहहरूले यस क्षेत्रभरि आफ्ना विरोधीहरूलाई ठुलो क्षति पु¥याएका छन् र उनीहरूलाई युद्धविराम खोज्न बाध्य पारेको पनि दाबी गरिएको छ ।
इरानका उद्देश्यहरूमा आफ्नो ‘शक्ति र सर्वोच्चता’ मा आधारित नयाँ क्षेत्रीय सुरक्षा व्यवस्था स्थापना गर्ने र उपलब्धिहरू सुदृढ नभएसम्म दबाब कायम राख्ने समावेश रहेको बताइएको छ ।
परिषद्ले वार्ताको अवधिमा राष्ट्रिय एकताका लागि आह्वान गरेको छ र विरोधीहरूको कुनै पनि गलत कदमको कडा बल प्रयोगद्वारा सामना गरिने चेतावनी पनि दिएको छ । यसले इरानले आफ्नो प्रस्तावका सर्तहरू पूर्ण रूपमा पारित भएपछि मात्र युद्धको औपचारिक अन्त्य स्वीकार गर्ने थप स्पष्ट पारेको छ ।
यी वार्ताहरूमा स्ट्रेट अफ हर्मुजमार्फत सामुद्रिक पारवहन, प्रतिबन्ध फुकुवा र यस क्षेत्रमा अमेरिकी सेनाको भविष्यमा रहने उपस्थितिजस्ता प्रमुख मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानमाथिका ‘बमबारी र आक्रमणहरू’ दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको बताएका छन् । उनले यसलाई इरानले हर्मुज जलडमरू पुनः खोल्नेसँग जोडिएको दुईतर्फी ‘युद्धविराम’ को संज्ञा दिएका छन् ।
ट्रम्पले यो निर्णय पाकिस्तानी नेताहरूसँगको वार्तापछि लिएको बताए र इरानी १०–बुँदे प्रस्तावलाई वार्ताका लागि ‘कार्ययोग्य आधार’ मान्दै यो स्थगनले सम्झौतालाई अन्तिम रूप दिन समय दिने उल्लेख गरे ।
“पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल असिम मुनिरसँगको कुराकानीको आधारमा, जसमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्तिलाई रोक्न अनुरोध गरे र इरानको इस्लामिक गणतन्त्र स्ट्रेट अफ हर्मुज पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुने सर्तमा, म दुई हप्ताको अवधिका लागि इरानमाथि गरिने बमबारी र आक्रमण स्थगित गर्न सहमत छु । यो दुईतर्फी युद्धविराम हुनेछ” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।
ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबिचका विवादित लगभग सबै बुँदाहरूमा सहमति भइसकेको दाबी गरे ।
“यसो गर्नुको कारण यो हो कि हामीले हाम्रा सबै सैन्य उद्देश्यहरू प्राप्त गरिसकेका छौँ र त्योभन्दा पनि बढी सफलता हासिल गरेका छौँ । हामी इरानसँगको दीर्घकालीन शान्ति र मध्यपूर्वको शान्तिका लागि निश्चित सम्झौताको निकै नजिक छौँ । हामीले इरानबाट १०–बुँदे प्रस्ताव प्राप्त गरेका छौँ र यो वार्ताका लागि उपयुक्त आधार हो भन्ने हाम्रो विश्वास छ”, ट्रम्पले थपे ।
यसअघि मङ्गलबार, राष्ट्रपति ट्रम्पले इरानको ‘सम्पूर्ण सभ्यता’ नष्ट गर्न तोकेको पूर्वी मानक समयअनुसार राति ८ बजेको समयसीमा अगाडि, पाकिस्तानले अमेरिका–इजरायल र इरानबिचको युद्ध अन्त्यको लागि वार्ता गर्न अन्तिम समयमा दुई हप्ताको समय थप्न अनुरोध गरेको थियो ।
इरानका सर्त मानेर संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ दिने युद्धविराम घोषणा गरेपछि युद्धमा विजय भएको भन्दै इरानको सडकमा खुसीयाली मनाइरहेका इरानी जनता ८ अप्रिल २०२६ को बिहान । तस्बिर : प्रेस टिभी
Leave a Reply