भर्खरै :

दुई संशोधनवादी पार्टीबीच एकता

बिहीबार नेपालका दुई संशोधनवादी पार्टीहरु–एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा भयो । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । ‘कम्युनिष्ट’ शब्दको ट्रेडमार्क झुण्ड्याएर नेपालको कम्युनिष्ट आन्दोलनलाई विगत लामो समयदेखि पूँजीवादी दलदलमा धकेल्दै आएका दुई पार्टीको एकताले नेपाली श्रमिक जनताको सङ्घर्षलाई प्रहार गरेको छ । यो एकताले श्रमिक जनतामाथिको शोषणलाई अझ चर्को बनाउने नयाँ शासक पार्टीलाई जन्म दिएको छ ।
२०७४ मंसिरमा सम्पन्न सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा ‘आर्थिक समृद्धि’को नारा दिएर यी दुवै पार्टी सँगै चुनावी मैदानमा होमिएका थिए । आर्थिक समृद्धि र विकासको नारा दिंदै गर्दा दुवै पार्टीले वर्ग सङ्घर्षको मुद्दालाई त्यागेका छन् । लेनिनले ‘माक्र्सवाद र संशोधनवाद’ शीर्षकको लेखमा लेख्नुभएको छ,‘राजनीतिमा संशोधनवादले माक्र्सवादको वर्ग सङ्घर्षको सिद्धान्तलाई बङ्ग्याउने प्रयास गर्दछ ।’ एमाले र माओवादी केन्द्रले यो प्रयास हिजोदेखि नै गर्दैआएका थिए र आज उनीहरुको एकताले यो प्रयासलाई अझ बलियो बनाएको छ । यसले अन्ततः नेपालको कामदार जनतामाथि हुने शोषणलाई छुट दिनेछ । वर्ग सङ्घर्षबारे कम्युनिष्ट विचारधाराको आधारलाई क्षीण बनाउनेछ ।
मदन–आश्रित स्मृति दिवसको अवसर परेर दुई पार्टीबीच एकताको साइत जुराइयो । नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी विचारलाई भित्र्याउने प्रमुख नेताहरुमध्ये मदन भण्डारी पनि हुन् । मदन भण्डारीद्वारा प्रतिपादित भनिएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा एडुआर्डो बर्नस्टिनले भित्र्याएको वर्गसमन्वयवाद र संशोधनवादी लाइनको नेपाली अनुवाद हो । यसले नेपालका किसान र मजदुर वर्गको शोषणविरोधी सङ्घर्षलाई कमजोर बनाएको थियो । कम्युनिष्ट आन्दोलनमा पूँजीवादी रोगको संक्रमण गरेको थियो । आज तिनै नेतालाई साक्षी राखी दुई पार्टीबीचको एकताले उनीहरुको वास्तविक राजनीतिक धरातल के हो भन्ने कुरा प्रष्ट बनाएको छ ।
तात्कालीन नेकपा माओवादीले एमालेको राजनीतिक र सैद्धान्तिक दिशाको खण्डन गर्दै ‘जनयुद्ध’ को शुरुवात गरेको थियो । सशस्त्र विद्रोहमा दसौं हजार नेपाली कामदार जनताका छोराछोरीले बलिदान दिएका थिए । तर आज त्यही बलिदानमा उभिएको माओवादी पार्टी एमालेसँग वस्तुतः विलय भएको छ । यसले ‘माओवादी जनयुद्ध’मा बलिदान दिएका योद्धाहरुको अपमान भएको छ ।
कुनै पनि दुई राजनीति पार्टीबीचको एकताको आधार सिद्धान्त र कार्यक्रम हुने गर्दछ । कम्युनिष्ट पार्टीहरुको सन्दर्भमा यो झन् सत्य हो । विश्व कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक सङ्घर्षका क्रममा आफ्नो जीवन बलिदान दिएका धेरै योद्धाहरुको गौरवशाली इतिहास छ । जर्मनी समाजवादी नेता कार्ल काउत्स्कीसँगको सैद्धान्तिक सङ्घर्षको क्रममा रोजा लक्सम्बर्गजस्ता योद्धाहरु बलिदान दिन तयार भए तर सिद्धान्तहीन एकता गर्न तयार भएनन् । तर एमाले र माओवादी केन्द्रबीचको एकता कुनै सैद्धान्तिक एकता होइन । लोकलाज जोगाउन ‘जनताको जनवाद’ नामको पूँजीवादी कार्यक्रम अघि सारेर सिद्धान्तको लेप लगाउन खोजिएको छ । यर्थाथतः ‘जनताको जनवाद’ दुई पार्टीले जर्बरजस्ती बनाएको शाब्दिक कार्यक्रम मात्र हो । यसले कामदार जनताको हितमा स्थापना गरिने वैज्ञानिक समाजवादको कुनै गुण नबोक्ने वर्तमान ओली नेतृत्वको सरकार र यसअघिका एमाले र माओवादी केन्द्रका सरकारबाट प्रष्ट हुनेछ । दुई पार्टीको एकता पूँजीवादी सत्तामा भाग खाने र भागवण्डामा ठूलो अंश खाने स्वार्थ मात्र हो । बिना राजनीतिक सिद्धान्तको एकताले राजनीतिक दल बन्दैन, भाँडभैलोमात्र बन्न सक्छ । ‘दर्शन बिनाको राजनीति पक्षपात मात्र हुने गर्दछ ।’
आजको सन्दर्भमा वामपन्थी आन्दोलनको प्रमुख विशेषता भनेको साम्राज्यवाद र दक्षिण एसियाको विशेष अवस्थामा भारतीय बिस्तारवादविरोधी सङ्घर्ष हो । तर बिहीबार एकता भएका दुई पार्टीहरुले यी दुवै सङ्घर्षमा आत्मसमर्पण गरिसकेका छन् ।
विश्व कामदार जनताका गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस सम्पन्न भएको केही दिनमै माक्र्सकै नाम अलापेर संसारमा एक अर्को संशोधनवादी पार्टीको जन्म हुनु विडम्बनाको कुरा हो ।
हरेक वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन हुने विश्व कम्युनिष्ट आन्दोलनको अनुभव आज नेपालको सन्दर्भमा पनि सिद्ध भएको छ । हिजो सशस्त्र सङ्घर्षको नीति लिएर वामपन्थी अवसरवादी दिशामा अघि बढेका दुवै पार्टीहरु आज दक्षिणपन्थी अवसरवादको रछ्यानमा डुबिरहेका छन् । संसारमा गलत नीति लिएका कथित कम्युनिष्ट पार्टीहरु सरकारमा गएका छन्, तर कसैले पनि कामदार जनताको हित गर्ने समाजवादी बन्दोबस्त स्थापना गर्न सकेका छैनन् । एमाले र माओवादी केन्द्रको आजको सत्तागमन कुनै क्रान्ति होइन, बरु प्रतिक्रान्ति हो । यसले समाजवादी आन्दोलनलाई क्षति मात्र पु¥याएको छ । समाजवादी भविष्यलाई अझ टाढा पु¥याएको छ ।
हरेक कालो बादल वरपर चाँदीको घेरा देखिन्छ । एमाले र माओवादी केन्द्रबीचको एकताले नेपालका श्रमिक जनता र अन्तर्राष्ट्रिय जगतमा उनीहरुबारे रहेका केही भ्रमको बादल पनि उघारिएको छ । पूँजीवादी भासमा फसिसकेका पार्टीहरुभित्र कम्युनिष्ट चरित्र खोज्ने व्यर्थ प्रयास गर्नेहरु कम्तीमा अब कुन पार्टी के हो भन्ने कुरामा स्पष्ट बन्न सजिलो बनेको छ । संसारमा ‘कम्युनिष्ट’ नाम झुण्ड्याएर पूँजीवादको सेवा गर्ने नक्कली कम्युनिष्ट पार्टीको सूचीमा बिहीबारबाट एउटा अर्को नाम थपिएको छ–कथित नेपाल कम्युनिष्ट पार्टी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *